धर्मको आडमा यौनलीला, गेरू वस्त्रकाे चर्तिकला

शनिबार, २१ मङि्सर २०७६, १२ : १५ अमर खड्का
धर्मको आडमा यौनलीला, गेरू वस्त्रकाे चर्तिकला

हिन्दु संस्कारमा अनुयायी आफ्नै सन्तानजस्तै हुन् तर सबै बाबा अभिभावक कहाँ हुन्छन् र ! धर्म र संस्कारको प्रवचन दिएजस्तै संस्कारित हरकोही कहाँ हुन्छन् र ? संस्कारमा बसिदिएको भए सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको बास आश्रममै हुन्थ्यो। तर बोली र व्यवहार फरक हुँदा छोरी समान अनुयायीलाई बलात्कार गरेको अभियोगमा अहिले उनको दैनिकी सुनसरी प्रहरीको हिरासतमा बितिरहेको छ।

दुई वटा नागरिकता लिएको, सरकारी जग्गा कब्जा गरेको, ठगी गरेको लगायतका दर्जनौँ आरोप लाग्दै आए पनि सत्ता र शक्तिको आडमा जोगिदैआएका गिरीमाथि भारतीय बाबाहरु आशाराम बाबु, रामरहिम लगायतलाई झैँ उनकी एक अनुयायीले गिरीमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्।

बराह क्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्दै हरित क्रान्ति, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडिबुटी प्रशोधन र उत्पादन गर्ने बहानामा चतरामा आश्रम बनाएर बस्दै आएका गिरीमाथि उनकै एक अनुयायीले बलात्कार गरेको आरोप लगाए पनि पक्राउ भने परेका थिएनन्।

प्रहरीमा परेको जाहेरीअनुसार गिरीले कात्तिक ४ मा आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेका थिए। उनीविरुद्ध कास्की घर भई काठमाडौं बस्दै आएकी अनुयायीले प्रहरीमा उजुरी दिएकी हुन्। दुई सन्तानकी ती महिलाका अनुसार गिरीले उनलाई आश्रममा बोलाएर बलात्कार गरेका थिए।

महिलाको दाबीअनुसार प्रहरीले सो दिन उनको र गिरीको मोबाइल लोकेशन हेरेको थियो। मोबाइल लोकेसनअनुसार उनले दाबी गरेको दिन र समयमा यी दुवैको मोबाइल एकै लोकेसनमा देखिएका थिए। तापनि गिरीलाई पक्राउ गर्ने आँट प्रहरीले गर्न सकेको थिएन।

नक्कली हृदयाघातले जोगाएन
उनीमाथि बलात्कारको आरोप लागेको लामै समय भयो। शक्ति र सत्ताको आडमा मैमत्त भएका कृष्णदासविरुद्ध पीडित महिलाले जाहेरी दिन खोजे पनि प्रहरीले लिनै मानेन। सुनसरी प्रहरीले उनको जाहेरी अस्वीकार ग¥यो। यसपछि महिला महानगरीय प्रहरी परिसर काठमाडौं आइन्। काठमाडौँले पनि उनको जाहेरी लिएन। पीडित महिला संगठित अपराधको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्युरो पुगेपछि ब्युरोले जाहेरी लिएर अनुसन्धान गर्न सुनसरी प्रहरीलाई जिम्मा लगाएपछि कृष्णदासको दशा बल्ल शुरु भयो।

बुधबार सुनसरी प्रहरीले जाहेरी त लियो तर तत्काल पक्राउ गर्ने संकेत देखाएन। बाबाको आवरणमा कृष्णदासले गरेको कुकृत्य छाताछुल्ल भएपछि प्रहरीले महिलाको जाहेरी बोकेर अदालत पुग्यो। बिहीबार अदालतबाट पक्राउको आदेश आएसँगै शक्तिशाली व्यक्तिले चिकित्सकको सहयोगमा रच्ने बिरामीको नाटक रच्दै उनी हृदयघातको नक्कली बिरामी बनेर शुक्रबार अस्पताल भर्ना भए। नैतिकता हराएका चिकित्सकले पनि उनलाई साथ दिए।

हृदयाघात भएर गम्भीर अवस्थामा रहेको भन्दै आइसियुमा भर्ना गरिएका उनी जोगिन आफ्ना निकटकाहरुसँग भने भेटिरहन्थे, विराट नर्सिङ होममा। अदालतले उनको नाममा पक्राउ आदेश जारी गरिदिएपछि सोमबार प्रहरीले उनलाई विराट नर्सिङ होमबाटै नियन्त्रणमा लियो। नियन्त्रणमा लिन गएका प्रहरीलाई चिकित्सकहरुले ‘सञ्चो नभएको बिरामी लैजाने ?’ भन्दै अवरोध गरे पनि सवा ११ बजे प्रहरीले नियन्त्रणमा लियो।

नर्सिङ होमबाट बाहिरिँदा गेरु वस्त्र लगाएका कृष्णदास शख्त बिरामीझैँ ह्विल चेयरमा अक्सिजनको पाइप नाकमा लगाउँदै बाहिरिएका थिए। प्रहरीले उनलाई विराट नर्सिङ होमको बा १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर जिल्ला अदालतमा पेश ग-यो। अदालतमा उनका पक्षधरहरुले बाबाको स्वास्थ्य अवस्था नाजुक रहेकाले बोल्न सक्ने अवस्था पनि नभएको भन्दै उपचारपछि मात्र हिरासतमा राख्ने म्याद दिन माग गरे।

तर अदालते पत्याएन। जिल्ला न्यायाधीश धर्मराज पौडेलले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए। बल्ल बाबालाई हिरासतमा राखेर अनुसन्धान गर्ने आधार प्रहरीले पायो। यसपछि प्रहरीले इनरुवास्थित जिल्ला अस्पताल पु¥याएर स्वास्थ्य परिक्षण गर्दा सामान्य देखियो र विराट नर्सिङ होमका नैतिकहीन चिकित्सकको पोल खुल्यो। अहिले बाबा प्रहरी हिरासतमा छन्।

पहिलो हैन घटना
कृष्णदास यौनकाण्डमा परेका यो पहिलो घटना भने हैन। डेढ वर्षअघि उनीमाथि अहिले भन्दा गम्भीर अपराधको आरोप लागेको थियो, ‘बालिकामाथि यौन दुव्र्यवहार’।

डेढ वर्षअघि इटहरीको बालग्रामका दुई बालिकालाई आश्रममा पठनपाठनको व्यवस्था मिलाई दिने भनी अभिभावकको स्वीकृतिमा लगेर यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो। आश्रम गएको केही समयमै बालिकाले आश्रममा बस्न नमानेपछि उनको कुकृत्य खुलासा भएको थियो।

आश्रम सञ्चालक समितिका पदाधिकारीले बालिकाप्रति चासो राखे। बालिकाकी आमाले असुरक्षाका कारण छोरीहरुले आश्रममा बस्न नमानेको आश्रम सञ्चालक समितिका पदाधिकारीलाई जवाफ दिइन्। गिरीले सञ्चालक समितिका पदाधिकारीलाई ती बालिकाहरुलाई भारतमा लगेर पढाए आफूले सहयोग गर्ने पासा फ्याँकियो। गिरीकै योजनामा बालिकालाई भारत लगियो।

तत्कालीन सुनसरी सिडिओ रामप्रसाद थपलियाको सहयोगमा ती बालिकालाई पढाउन भनेर भारतमा रातारात पठाइएकोमा उनीहरु अहिलेसम्म सम्पर्कमा छैनन्। कृष्णदास बलात्कार काण्डमा पक्राउ परेपछि सो घटनाबारे समेत प्रहरीले चासो देखाएको छ।

बदमासको प्रयास  
बलात्कारको आरोप लगाउने महिलाले गिरीलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको म्यासेज पठाएको जनाइएको छ। गिरीले कार्तिक १९ गते महिलाविरुद्ध गाली बेइज्जती गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् तर बलात्कार काण्डको प्रहरीमा उजुरी दर्ता भएसँगै गिरीले महिलासँग क्षमा मागेको र बचाइदिन हारगुहार गरेको अडियो सार्वजनिक भएको छ। अडियोअनुसार अब महिलाले बयान नै फेरे पनि घटनाको अनुसन्धान प्रभावित नहुने प्रहरी अधिकारीले जनाएका छन्। गिरीले पनि केही पत्रकारसामु अस्पतालबाटै अडियोमा आफ्नो आवाज नभएको जिकिर गरेका छन्। अनि, पत्रकारलाई प्रभावमा पार्न गिरीका सहयोगी लागिपरेका छन्।

भन्ने ब्रह्मचारी, खाने यौनवद्र्धक औषधी
ब्रह्मचर्यको अर्थ यौन शक्तिको संरक्षणको रुपमा लिइन्छ। अर्थात्, आजीवन अविवाहित रहने, यौन सम्बन्धबाट टाढै रहने। कृष्णदास पनि आफूलाई बालब्रह्मचारी भएको दाबी गर्थे। तर उनी निकट स्रोतका अनुसार उनी दैनिक यौनबद्र्धक जडिबुटी औषधी दुधसँग मिलाएर पिउँथे।

कृष्णदासका काण्ड
कृष्णदासले मच्चाएका अन्य काण्ड पनि सार्वजनिक भइरहे तर प्रभावशाली चेलाहरुको आडमा उनी जोगिइनै रहे। उनले दुई वटा नेपाली नागरिकता लिएको पुष्टि नै भएको थियो। एकै व्यक्तिले भिन्नभिन्न नाममा दुई स्थानबाट नागरिकता निकाल्नु नागरिकता ऐनअनुसार अपराधजन्य काम हो।

उनले सोलुखुम्बुबाट कृष्णबहादुर गिरीको नाममा र पछि सुनसरीबाट कृष्णदासको नाममा नागरिकता निकालेका थिए। नागरिकता नम्बर २२२७/५९५ रहेको पहिलो नागरिकतामा उनको जन्म मिति २०३० साल मंसिर १० छ।
चतरामा बस्न थालेपछि उनले २०६५ साल पुस १७ मा सुनसरीबाट श्री वैष्णव कृष्णदासका नाममा नागरिकता लिए। दोस्रो नागरिकतामा स्थायी बसोबास वराहक्षेत्र वडा नं. १ सुनसरी लेखियो। त्यसमा भने उनको जन्म मिति २०३१ फागुन १९ गते लेखियो। ०६९००४/१३२८०८ नम्बर रहेको दोस्रो नागरिकता तत्कालीन प्रशासकीय अधिकृत वेदनिधि खनालले हस्ताक्षर गरेका थिए।

दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुबाको नाम भने छविलाल गिरी नै लेखिएको छ। अन्य विवरण भने फरक छन्।

दुई वटा नागरिकता लिएको विषयमा चार वर्षअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी परे पनि कार्बाही रत्ति अघि बढेन।

ठगी धन्दा
धर्मको आडमा कृष्णदास वैदेशिक रोजगारीको आवरणमा ठगी धन्दामा समेत तानिएका थिए। २०६८ मा कृष्णदासले आफन्त सहितका १० जना नेपालीलाई अवैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरुको सहयोगमा दिल्ली पु¥याएका थिए। दिल्लीमा लगेर उनले ती सबैलाई केही दिनसम्म अलपत्र पारी सिंगापुर ट्रेनिङको नाममा जान दबाब दिए। तर, सिंगापुर जान लाखौं खर्च गरी दिल्ली गएकाहरुले आफूहरु वर्किंङ भिसामा मात्र जाने र त्यसैको नाममा पैसा लिएपछि धोकामा नपर्ने बताएपछि कृष्णदासको ठगीधन्दा बाहिर आएको थियो। भारतीय दलालसँग मिलेर ११ जनालाई अलपत्र पारेको घटना सार्वजनिक भयो तर कार्बाही केही भएन।

भाइमारा सन्त
अंश मुद्दामा आफ्नै भाइलाई ठगेको अभियोगसमेत लाग्यो उनलाई। गिरीका कान्छा भाइ ऐनकुमार गिरीले उनीविरुद्ध बैंकिङ कसुरमा उजुरी दिएका थिए। ऐनकुमारको दाबीअनुसार कृष्णदासले उनलाई अंशको जग्गाबापत दिनुपर्ने ५ लाख रुपैयाँको चेक दिएका थिए।

कृष्णदासले सगोलमा सुनसरीमा रहँदाको जमिन मासेपछि भाइलाई सो बापत ०७१ पुस ११ मा मेघा बैंकको पाँच लाखको चेक काटेका थिए। मेघा बैंकको खाता नम्बर ००१००५०२०९०१४ र चेक नम्बर २०४३७७७५ चेक भाइलाई थमाइ दिए पनि चेक साटिएन, बाउन्स भयो। पछि कृष्णदासले भाइ दिएको चेक हराएको भन्दै बैंकमा निवेदन दिए। त्यो चाल पाएपछि उनले बैंकिङ कसुरमा जाहेरी दिए तर पक्राउ परेनन्।

सात कक्षा फेल
यौन  अपराध काण्डमा तानिएका कृष्णदास गिरीको  पुख्यौली घर सोलुखुम्बुको जुबु हो। उनका बाबु छविलालका दुईवटी श्रीमती छन्। उनी कान्छी श्रीमतीपट्टिका छोरा हुन्।

उनको बाल्यकाल सोलुकै जुबुमै बित्यो। त्यहीँको स्थानीय विद्यालयमा कक्षा सातसम्म  अध्ययन गरेका उनी कक्षा ७ मा फेल भएपछि स्कुल छाडे। ०४९ मा घर छाडेर हिँडेको ६ वर्षपछि उनी सन्तको भेषमा घर फिरेका थिए।
उनी ०६३ देखि चतरामा बस्न थाले। बालसन्त देवाचार्यको सम्पर्कमा आएपछि उनी त्यही आश्रममा बस्न थालेका थिए। उनलाई बालसन्तले धर्म, कर्मकाण्ड, वेद, उपनिषद अध्ययन गरेर सार्वजनिक पुराण वाचन कार्यक्रममा सहभागी गराएका थिए। बालसन्तकै सम्बन्धबाट उनी प्रभावशाली व्यक्तिको सम्पर्कमा पुगे।

चतुर स्वभावका गिरीले आफू नेपाल नआएको समयमा भारतमा उच्च शिक्षा अध्ययन गरेको दाबी गर्दैै आफू जगद्गुरु भएकोसम्म भन्न थाले। आफूले भारतका विश्वविद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनीको विश्वविद्यालयमा स्नातकोत्तर गरेकोदेखि ०६५ देखि त विद्यावारिधि नै गरेको दाबी गर्न थाले। उनका अनुयायी त उनले भौतिक विज्ञानमा एमएसी र वनस्पति विज्ञानमा पिएचडीबाट विभूषित व्यक्ति भएकोसमेत दाबी गर्थे।

उनी केही समयअघि वैष्णव कृष्णदास महाराज भनेर चिनिदै आएका थिए। पछिल्लो समय सिद्धबाबा जगतगुरु कृष्णदासजी महाराजको रुपमा चिनिन थाले।  

भू–समाधिले चर्चामा
कृष्णदासलाई चर्चामा ल्याउने काम भू–समाधिले ग¥यो। उनले पोखरा र चतरामा भू–समाधि बसेर चर्चा बटुलेका हुन्। उनको भू–समाधि विवादमा आए पनि उनी ‘जमिनमुनि समाधि बस्न, हावामा उड्न र जलभित्र लामो समयसम्म बस्न सक्ने दाबी गर्थे। पोखरामा त उनलाई ०७५ चैतमा नागरिक अभिनन्दनसमेत गरिएको थियो।

सत्ताको शक्ति
धर्मको आडमा उनले गरेका जति बदमासी सार्वजनिक भए पनि उनी कार्बाहीबाट जोगिन सक्नुमा सत्ता र शक्तिको महत्वपूर्ण भूमिका देखिन्छ। उनका अनुयायीको सूचीमा शीर्ष नेतादेखि कूटनीतिक नियोगका अधिकारीसम्म थिए।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई त दुईपटक डाकिसकेका थिए। अघिल्लो फागुनमा महिना दिनसम्म चलेको श्रीराम तारकब्रह्म महायज्ञ तथा प्रदेश नं. १ लाई हरित क्रान्ति अभियान घोषणा कार्यक्रमको उद्घाटन राष्ट्रपति भण्डारीले गरेकी थिइन्। तारकब्रह्म महायज्ञ आयोजना गरेकै बेला उनले सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरको पश्चिम किनारको १३ बिगाहा जग्गामा रातारात आठ करोड लागतको १२८ कोठे भवन निर्माण गरेका थिए। सो भवनको पनि राष्ट्रपति भण्डारीबाटै उद्घाटन गरिएको थियो।

राष्ट्रपति भण्डारी २०७४ सालमा राम नवमीको अवसर पारेर आयोजना गरिएको भू–समाधिमा पनि सहभागी भएकी थिइन्।

०६४ ताका तत्कालीन माओवादीका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डले भैँसी पूजा गरेको भन्दै खुब विरोध भएको थियो। प्रचण्डलाई भैँसी पूजन गराउन सक्ने शक्तिशाली व्यक्ति कृष्णदास नै थिए।

त्यसै वर्ष उनले आयुर्वेदिक स्वास्थ्य साधना शिविर सञ्चालन गरेर दाहाललाई झिकाएर भैँसी पूजन गराएका थिए। २०६५ तिर अहिलेका प्रधानमन्त्री केपी ओली उनको आश्रममा पुगेका थिए। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि उनको आश्रम पुगिरहन्थे। प्रधानमन्त्री भएको बेला उनी श्रीमतीसहित आश्रममा गएर आशीर्वाद थापेका थिए।

तारकब्रह्म महायज्ञको बेला पूर्व प्रधानमन्त्री देउवासँगै, माधवकुमार नेपाल र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उनको आशीर्वाद लिन पुगेका थिए।

संसद् सचिवालयमा कार्यरत कर्मचारीको बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल पुगेका तत्कालीन सभामुख कृष्णबहादुर महरासमेत उनका खाँटी चेला थिए।

पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, कांग्रेस नेतृ चित्रलेखा यादव, एनपी साउद, विजयकुमार गच्छदार, पूर्वमन्त्री लालबाबु पण्डित, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की लगायतकाहरु उनको आशीर्वाद लिन आश्रममा पुगिरहन्थे। नेता प्रदीप नेपाल र मोदनाथ प्रश्रित पनि गिरीको आश्रम आएका थिए। उनको आयुर्वेदिक विश्वविद्यालयको सिलान्यास गर्न नेपालका लागि तत्कालिन भारतीय राजदूत रञ्जित रे समेत चतरा पुगेका थिए।

उनीसँग आशीर्वाद लिन पुग्ने यही सूची नै देखाउँछ, पटक–पटक गम्भीर आरोप लाग्दा पनि उनी किन पक्राउ परेनन् अनि यसपालि बलत्कारजस्तो गम्भीर अपराधको आरोप लाग्दा पनि पक्राउ गर्न किन यति कठिन भयो।

धर्मको आडमा अपराध
भारतमा लाखौं अनुयायी भएका सन्तहरु बलात्कारको अभियोगमा कारागारमा छन्। आशाराम बापु, रामरहिम लगायतका सन्तहरु धर्मको आडमा अनुयायीको बलात्कार गरेको अभियोगमा जेलमा छन्। कतिको अभियोग पुष्टिसमेत भइसक्यो। आशारामलाई जन्म कैद भइसक्यो। नेपालमा पनि धर्मभिरुहरु बेलाबखत अपराधमा पक्राउ पर्ने गरेका छन्।

बलात्कारी लामा
गुम्बामा उपचारका लागि आएकी युवतीको बलत्कार गरेको अभियोगमा दक्षिणकालीस्थित गुम्बाका धर्मगुरु टुल्कु लामाले सात वर्षको कैदको सजाय पाए। आफूलाई अवतारी लामा भएको दाबी गर्ने उनीमाथि दक्षिणकालीको आफ्नै गुम्बामा एक महिलामाथि वर्षौं बलात्कार गरेको अभियोग लागेको थियो।

टुल्कुले उपचारको बहानामा अरू महिलामाथि पनि यौन शोषण गरेको प्रहरी अनुसन्धानले देखाएको छ। उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंले टुल्कुलाई सफाइ दिए पनि पाटन उच्च अदालतले लामालाई ७ वर्ष कैद र ३० लाख क्षतिपूर्तिको फैसला सुनायो।

टुल्कु लामा

अदालतले डर, त्रासमा पारेर झुक्याएर अनुचित प्रभावमा पारी नौ वर्षभन्दा बढी समयसम्म गुम्बाभित्र पीडितलाई यौनदासीको रूपमा राखेको ठहर गरेको थियो।

लामाले विश्वासको दुरूपयोग गरेको, आश्वासन र लाभको प्रलोभन देखाएको, आफ्नो संरक्षण र नियन्त्रणमा रहेको व्यक्तिविरूद्ध कसुर गरेको, शारीरिक बन्धक बनाएर कसुर गरेको, सुरक्षा गर्नु पर्ने व्यक्तिविरूद्ध कसुर गरेको अदालतको ठहर थियो।

पीडितले लामाले आफूलाई तन्त्र र झारफुक गरी उपचार गर्ने भन्दै २०६६ सालमा पहिलो पटक बलात्कार गरेको र त्यसपछि २०७३ सालसम्म शारीरिक र मानसिक यातना दिएको भन्दै जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो।

आफैंलाई गोली हान्न लगाउने सन्त
नेपालमा पनि धर्मको आडमा काण्ड मच्चाउने ‘सन्त’हरुको संख्या कम छैन। कृष्णदास अगाडि गत वर्ष बालसन्त स्वामी श्रीनिवासाचार्य पक्राउ परेका थिए। उनको पक्राउको कारण धार्मिक आडमा वितण्डा मच्चाउन आफैँलाई गोली हान्न लगाउनु थियो।

श्रीनिवासाचार्य

२०७५ चैत २५ मा विराटनगरको जेतुवामा रहेको रामजानकी मन्दिरमा उनीमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धानका क्रममा उनी आफैंले भाडाका अपराधीलाई आफूमाथि गोली हान्न लगाएको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो। उनी धर्मको आडमा राजतन्त्र र हिन्दु राज्यको चर्को वकालत गर्दै आएका थिए। सोही आन्दोलन चर्काउन उनले आफैँलाई गोली हान्न लगाएको खुलेपछि २०७६ वैशाख २४ मा पक्राउ परे।

कहिले समातिन्छन् बम्जन ?
लिटिल बुद्धको रुपमा परिचित रामबहादुर बम्जनमाथि आफ्नो अनुयायीको बलात्कार र हत्या गरेको आरोप लाग्यो। उनीविरुद्ध उजुरी पनि प-यो। प्रहरीले उनको सिन्धुपाल्चोकमा रहेको आश्रममा गएर छानबिन पनि ग-यो तर उनी अझै पक्राउ परेका छैनन्।

रामबहादुर बम्जन

उनको आश्रममा बसेकी एक किशोरीले बम्जनमाथि बलात्कारको आरोप लगाएकी थिइन् भने अनुयायीका अन्य परिवारले आफ्नो परिवारको सदस्य हराएको र सूचनाअनुसार बम्जनले हत्या गरेको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीपछि बम्जन अद्र्धभूमिगत बसेका थिए। प्रहरीले छानविन गर्न समिति गठन ग¥यो तर के निस्कियो अनुसन्धानमा अहिलेसम्म गोप्य राखिएको छ। प्रहरीले छानविनपछि न बम्जनलाई पक्राउ गरेको छ, न उनीविरुद्धको निवेदन नै गलत हो भन्न सकेको छ।

Leave A Comment