पाका कलाकार

सोमबार, २३ मङि्सर २०७६, १२ : ०३ शुक्रवार
पाका कलाकार

अधिकांश कलाकारले बालखमै कि त युवा अवस्थामा अभिनय थाल्छन् तर फिल्म जगतमा यस्ता पनि कलाकार छन्, जसले आफ्नो अभिनय ६० वर्षको उमेर कटेपछि सुरु गरे। यतिबेला यी कलाकार नेपाली फिल्म उद्योगकै सबैभन्दा पाका कलाकारमा गनिइन्छन्। यी कलाकार हुन्, पद्मप्रसाद पौडेल।

उमेरले ६२ वर्ष कटेपछि उनी नेपाली रजतपटमा डेब्यु गरेका हुन्। शिव रेग्मीले निर्देशन गरेको ‘हामी तीन भाइ’बाट उनको अभिनययात्रा शुरु भएको थियो। उनी त्यस फिल्ममा रेखा थापाको बुबाको भूमिकामा थिए। यसपछि उनले सन्तोष पन्तको ‘हिजोआजका कुरा’मा पनि अभिनय गरे।

उनले यहाँसम्म आइपुग्दा के मात्र गरेनन् ? सखुवासभाको सरस्वती माध्यमिक विद्यालयमा ३० वर्ष अध्यापन गरे। यससँगै उनी पत्रकारका रुपमा पनि चिनिए। यतिबेला ८२ वर्ष  पूरा गरिसकेका उनी फिल्म जगतका ‘बा’का रुपमा प्रख्यात छन्।

हालै उनले दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘आमा’मा अभिनय गरेका छन्। यस्तै नवल खड्काको निर्देशनमा बन्ने फिल्म ‘तारेभार’मा अनुबन्धित भएका छन्।

फिल्म क्षेत्रमा ‘पद्म बा’को नामले परिचित उनले ‘राजु राजा राम’मा राजेश हमालको बुबा बनेर अभिनय गरेका थिए। ‘मुत्युञ्जय’, ‘चोर सिपाही’, ‘हेल्लो कासिराम’, ‘लैबरी लै’जस्ता दर्जन बढी फिल्ममा अभिनय गरिसकका उनी उमेरमा बढी नै देखिए पनि अभिनय गर्ने जोश जाँगर भने पहिलो फिल्मको बेलाको झैं छ। रोचक कुरा त के छ भने उनले आफूले अभिनय गरेको फिल्म परिवारका सबै सदस्यलाई देखाउन लैजान्छन्।

‘अहिलेसम्म मेरो कामबाट मेरो परिवार निकै खुसी छन्,’ उनले भने, ‘उनीहरुको खुसी देख्दा मेरो जोश अझै बढेर आउँछ।’

Leave A Comment