जीवन परिवर्तनको साइकल

सोमबार, २३ मङि्सर २०७६, १२ : ५७ प्रकाश जंग थापा
जीवन परिवर्तनको साइकल

परिवर्तनले नयाँ जीवनको ढोका खोल्ने काम गर्छ। अर्को शब्दमा भन्नुपर्दा परिवर्तन नै अर्थपूर्ण जीवनको सुनिश्चितता हो। त्यसैले वर्तमान जीवनशैली र त्यसबाट प्राप्त परिणामप्रति खुसी एवं सन्तुष्ट हुन नसकिने स्थिति छ भने जीवन शैलीमा परिवर्तन ल्याउनुको विकल्प छैन। जीवनलाई हेर्न नयाँ लेन्सको प्रयोग गर्नुपर्छ। नयाँ कोणबाट सोच्नुपर्ने हुन्छ। आचरण परिवर्तन गर्नुपर्ने हुन्छ। यतिमात्र होइन सधैँ गर्दै आएको व्यवहार तथा गतिविधिमा आमूल परिवर्तनको आवश्यकता हुन्छ।

अधिकांश मानिस जीवन परिवर्तनका लागि इच्छुक हुन्छन्। उत्साहित हुन्छन्। नयाँ वर्षमा विभिन्न सङ्कल्पका बुँदा पनि तयार गर्छन्। यद्यपि त्यस बुँदाहरू अक्षरशः पालना भने गर्दैनन्। उही पुरानै दैनिकी, गतिविधिमा फर्कन्छन्। उही पुरानै आचरण देखाउँछन्। फलस्वरुप उनीहरुको अवस्था उस्तै रहन्छ। वर्षको क्यालेन्डर परिवर्तन हुन्छ तर जीवन परिवर्तन हुँदैन। आखिर के कारणले यस्तो हुन पुग्छ ? यसको लागि परिवर्तनका चरणहरु बारेमा राम्रोसँग अध्ययन र बुझ्न अत्यन्तै जरुरी छ।

ट्रान्सथियोरेटिकल मोडेलअनुसार स्वभाव परिवर्तनका पाँच चरणहरु क्रमशः पूर्व चिन्तनको अवस्था, चिन्तन, तयारी, कार्य र अनुरक्षण हुन्। यी चरणहरु चक्रमा (साइकलमा) प्रस्तुत गर्न सकिन्छ, जुन चित्रमा पनि प्रस्ट देख्न सकिन्छ। प्रत्येक व्यक्तिले अनुभूत गर्ने यिनै पाँच चरणहरु संक्षेपमा व्याख्या गरौँ।

पूर्व चिन्तनको अवस्था
एकै नकारात्मक परिस्थितिमा रहँदा, एउटै अस्वस्थ व्यवहारमा संलग्न हुँदा निकट भविष्यमा आइपर्न सक्ने सम्भावित परिणामबारे यथेष्ट जानकारी नहुँदा प्रायः मानिसहरु यस चरणमा रहने गर्छन्। यस चरणमा रहने मानिसले परिवर्तनको आवश्यकता देख्न सक्दैनन्। केही उदाहरणहरूबाट प्रस्ट हुन सकिन्छ। अत्यधिक चुरोट, रक्सी पिउने व्यक्तिलाई त्यसो नगर्न सल्लाह दिइयो भने गम्भीरतापूर्वक लिँदैन। मलाई के हुन्छ र ! मलाई के नै भएको छ र भनेर प्रतिक्रिया दिन थाल्छ। त्यसैगरी नियमित रुपमा अफिस ढिलो आउने व्यक्तिलाई अफिस समयमा आइपुग्न सुझाव दिइयो भने त्यस व्यक्तिले सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्न सक्दैन। नेपाली समय हो। कुन कर्मचारी समयमा आउँछ ? कहिलेकाहीँ १० देखि १५ मिनेट ढिलो हुँदा के नै हुन्छ ? आखिर अफिस चाँडै आउँदा कसको बढोत्तरी भएको छ ? अफिसले कौनसा छलाङ मारेको छ र भनेर तर्क वितर्क गर्न थाल्छ।

यस चरणमा रहेका कोही व्यक्ति भेट्नुभयो भने त्यस व्यक्तिलाई परिवर्तित नहुँदाको नकारात्मक परिणामबारे सजग गराउनुस्। त्यस व्यक्तिलाई अर्को चरणमा प्रवेश गर्न ठूलो हौसला मिल्न सक्छ। हौसलाकै कारण यस चरणमा रहने व्यक्तिले परिवर्तनका लागि केही प्रयास गरे पनि असफलता प्राप्त हुन सक्छ। यस्तोमा त्यस व्यक्ति हतोत्साहित हुने र आफ्नो क्षमतामा शङ्का गर्ने हुँदा उचित प्रेरणा दिनुहोस्।

चिन्तन
यस चरणमा अवस्थित मानिसलाई स्थिरताका कारण निकट भविष्यमा आइपर्न सक्ने सम्भावित नतिजाबारे सम्पूर्ण जानकारी हुन्छ र पनि परिवर्तनका लागि भने पूर्ण रुपमा प्रतिबद्ध रहँदैनन्। यस चरणमा रहेका मानिसहरु परिवर्तनको बाटो रोज्दा आइपर्न सक्ने सकारात्मक तथा नकारात्मक परिणामहरु केलाउने गर्छन्। परिवर्तनबाट प्राप्त सकारात्मक परिणामले स्थिर रहँदा उत्पन्न हुन सक्ने नकारात्मक परिणामलाई मेटाउन सक्छ भन्नेमा उनीहरु विश्वस्त हुन सक्दैनन्। जसकारण उनीहरुमा दुविधा उत्पन्न हुन्छ र लामोसम्म पनि परिवर्तनका लागि तयार हुँदैनन्। सामान्यतः उनीहरु ६ महिनापछि परिवर्तनको बाटो समाउन तयार हुन्छन्।

तयारी
यस चरणमा अवस्थित मानिस एक महिनालगत्तै कार्य गर्न तयार हुन्छन्। मुख्यतः यस चरणमा जीवन परिवर्तनका लागि स्पष्ट योजना तय गरिन्छ। यसका लागि अध्ययन अनुसन्धान, विकल्पहरूको खोजी, निकट भविष्यमा आइलाग्ने चुनौतीहरूबारे सचेत रहने लगायत कार्ययोजना कापीमा उतार्ने जस्ता गतिविधि यही चरणमा गरिन्छ। जति उत्कृष्ट तयारी हुन सक्यो त्यत्ति नै चाँडो र ठूलो सफलता प्राप्त गर्न सकिन्छ। तयारीबिना केही सम्भव छैन।

कार्य
तयारी चरण पछिको चरण हो, कार्य। यस चरणमा अवस्थित मानिसमा व्यवहार परिवर्तनको सङ्केत देखिन थाल्छ। उनीहरु लक्ष्य प्राप्तिका लागि ठोस कदम चाल्न उद्धत रहन्छन्। जस्तो बिहान सबेरै उढ्ने, व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भरणपोषणमा विशेष ध्यान दिने, विज्ञबाट परामर्श लिनेजस्ता गतिविधिहरु सञ्चालन गर्छन्। जतिसुकै उत्कृष्ट तयारी पूरा गरे पनि कार्यमा जोड दिन सकिएन भने उपलब्धि शून्य नै रहन्छ। त्यसैले अपेक्षित परिणाम प्राप्त गर्न कार्य गर्नोस्।

अनुरक्षण
कुनै पनि कार्यलाई निरन्तरता दिने वा नदिने भन्ने कुरा प्रेरणामा निर्भर रहन्छ। प्रेरणाको स्तर हरदम एकै प्रकृतिको हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन। उतारचढाव आइरहेको हुन्छ। कहिले प्रेरणाको स्तर न्यून हुन्छ त कहिले चरम विन्दुमा। कहिले भने प्रेरणाको स्तर न न्यून न चरम विन्दुमा रहन्छ। कार्यको सुरुवाती समयमा उत्साह र प्रेरणा निकै बढी हुन्छ तर केही समयपछि त्यो स्तरको उत्साह र प्रेरणा शून्य स्तरमा झर्छ। यसर्थ परिवर्तनका लागि अनुरक्षण चरण विशेष महŒव रहन्छ। यस चरणमा प्राप्त परिणाम अर्थात् उपलब्धि मूल्यांकन गरिन्छ। निकट भविष्यमा सामना गर्नुपर्ने चुनौतीको पूर्व तयारी गरिन्छ। परिवर्तनका लागि समर्पित हुँदा धेरै गल्तीहरु हुन सक्छन्। गलत बाटो हिँड्न सकिने सम्भावना पनि नकार्न सकिँदैन। यस्तो परिस्थितिमा कस्तो कदम चाल्ने भन्ने खाका यही चरणमा निर्माण गरिन्छ। परिणामस्वरूप परिवर्तनलाई दिगो राख्न अथवा संस्थागत गर्न सकिन्छ।

कार्यान्वयन कसरी गर्ने?
ट्रान्सथियोरेटिकल मोडेल स्वयं आफू र अरु व्यक्तिको व्यवहार परिवर्तनका निमित्त प्रयोग गर्न सकिन्छ। मानौँ तपाईँ जीवनमा परिवर्तन ल्याउन उत्सुक हुनुहुन्छ रे ! त्यसका लागि व्यवहारमा परिवर्तन ल्याउनसमेत प्रतिबद्ध हुनुहुन्छ रे ! यहाँ प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। सर्वप्रथम त तपाईँ स्वयंलाई आफ्नो परिवर्तनको चरण थाहा हुनु आवश्यक छ। पूर्व चिन्तनको अवस्थामा हो कि चिन्तनको ? तयारी चरणमा हो कि कार्य चरणमा ? कि अनुरक्षण चरणमा ? आफ्नो परिवर्तनको चरण यकिन गर्नोस् अनि जुन चरणमा हुनुहुन्छ त्यहाँबाट अर्को चरणमा फड्को मार्न आवश्यक कार्य योजना बुन्नमा केन्द्रित हुनोस्।

त्यसैगरी सबै व्यक्तिको व्यवहार हामीलाई मन पर्छ भन्ने छैन। मानौँ तपाईँले कुनै एक व्यक्तिमा व्यवहार परिवर्तनको आवश्यकता महसुस गर्नुभयो। कुनै पनि हालतमा त्यस व्यक्तिको व्यवहार परिवर्तन गर्न प्रतिबद्ध हुनुहुन्छ रे ! यस मामिलामा पनि प्रतिबद्धता पर्याप्त हुँदैन। तपाईँलाई त्यस व्यक्ति परिवर्तनको कुन चरणमा छन् त्यो थाहा हुनु आवश्यक छ। त्यस व्यक्ति पूर्व चिन्तनको अवस्थामा हो भने चिन्तनको अवस्थामा लैजाने कोसिस गर्नोस्। चिन्तनको अवस्था चरणमा भए तयारी चरणमा प्रवेश गराउन सहयोग गर्नोस्। त्यसपछि कार्य चरण हुँदै अनुरक्षण चरणमा प्रवेश गराउन भरपूर मद्दत गर्नोस्। परिवर्तन रातारात हुने कुरा होइन। निश्चित समय लाग्छ नै। त्यसैले प्रत्येक चरणमा धैर्य रहन र अर्को चरणमा प्रवेश गर्न प्रेरित गर्नोस्। अनि मात्र त्यस व्यक्तिको जीवनमा परिवर्तन आउँछ।

Leave A Comment