बलात्कारी खुलेआम, गायक चाहिँ हिरासतमा ?

मङ्गलबार, २४ मङि्सर २०७६, १० : ४१ शुक्रवार
बलात्कारी खुलेआम, गायक चाहिँ हिरासतमा  ?

छोटो समयमै आफूलाई पाश्र्व गायनमा स्थापित गराएकी गायिका हुन् दीपा लामा। ‘फूलैफूलको मौसम तिमीलाई’ फिल्मको टाइटल गीतमा आवाज दिएपछि शुरु भएको उनको पाश्र्वगायन यात्रा जारी छ। ‘वीर विक्रम’को ‘सारेसारे’ बोलको गीत उनको जीवनको टर्निङ पोइन्ट बन्यो। यो गीत हिट भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन। ७ वर्षदेखि संगीतमै सक्रिय उनले दुई सय बढी गीतमा स्वर दिइसकेकी छिन्। अभिनेत्री प्रियंका कार्की, बेनिशा हमाल, दीया पुन, वर्षा सिवाकोटी लगायतलाई स्वर दिएकी दीपासँग शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंगः

हाल केमा व्यस्त हो ?
म्युजिकै त हो ! कार्यक्रम, रेकर्डिङ यस्तैयस्तै काम त हुन्छ !

फिल्मको त भैहाल्यो, बाहिरको गीततिर पनि कब्जा जमाउनु भएको छ नि ?
अँ अलिअलि गरेकी छु। दर्शकले मन पराइदिनु भएको छ। पछिल्लो पटक वर्षा राउत फिचर्ड ‘औंला गन्दैछु’, ‘कुर्दैछु म तिम्रो बाटो’ अनि ‘हजार गल्ती’ गाए। स्रोताले रुचाइदिनु भयो। खुसी लागेको छ।

पाश्र्व गायनमा तपाईँलाई चिनाएको ‘वीर विक्रम’को ‘सारेसारे’ गीतले हो नि, होइन ?
हो त। त्यसअगाडि पनि ‘फूलैफूलको मौसम तिमीलाई’ फिल्मको टाइटल गीत गाएकी थिएँ। ‘हाउ फन्नी’ फिल्मको पनि टाइटल गीत गाएँ तर ‘सारेसारे’लाई दर्शकले बढी नै रुचाउनुभयो। फिल्मको निर्देशक मिलन चाम्सले गीत रेकर्डिङ सकिनासाथ यो गीत यस्तो बनाउँछु भन्नु भएको थियो। पछि भिडियो पनि राम्रै बनेर आयो।

तपाईँले पर्दामा प्रियंकादेखि बेनिशा हमाल, वर्षा सिवाकोटीका लागि स्वर दिनुभयो। आफ्नो स्वरमा प्रख्यात कलाकारले कम्मर मर्काउँदा कस्तो अनुभव हुँदोरहेछ ?
एकदम रमाइलो लाग्छ। परिवारसँग बसेर आफ्नो गीत सुन्दा झन् गजब ! हामी त पर्दा पछाडि रहेर उहाँहरुको लागि आवाज दिन्छौं। पर्दामा आफ्नो गीतमा कलाकारले अभिनय गरेर फिल दिनुहुन्छ।

अहिले बजारमा कस्तो गीत आइरहेको छ जस्तो लाग्छ ?
अहिले त परालको आगो हुन्छ नि, स्वाट्ट सल्केपछि एकैछिनमा सकिने, हो त्यस्तै खालका गीतको बाढी आइरहेको छ। पहिलेका गीतहरु कालजयी हुन्थे। नारायण गोपालका गीतहरु अझै लोकप्रिय छन् तर अहिलेका गीत यो साल सुन्यो अर्को साल सुन्नै मन नलाग्ने हुन्छन्। अहिले बढी नै व्यावसायिकता हेर्न थाले सबैले।

स्रोता–दर्शकको रुचिले नै यस्ता गीत आएका होलान् नि !
फिल्मको गीतको कुरा गर्दा त अहिले डान्सिङ र लभ सङलाई रुचाएको देखिन्छ। आइटम भन्दा पनि यस्तै गीत चलिरहेका छन्।

कालजयी गीत नआएकोमा चित्त दुखेको देखियो। आफैं पनि किन त्यस्तो गीतमा व्यस्त हुनुभएको त ?
अब इन्डस्ट्रीमा टिक्न यस्तै गीत पनि गाउनु प-यो नि !

तपाईँको आवाजलाई स्याड सङ र मेलोडीमा बढी रुचाइएको हो ?
म सबै खाले गीत गाउँछु। मलाई पनि मेलोडी मनपर्छ। मेरो आवाज मेलोडीमा नै दर्शकले रुचाउनु भएको छ। संगीतकार पनि यस्तै गीतमा मलाई अफर गर्नुहुन्छ।

सात वर्षदेखि संगीत क्षेत्रमा सक्रिय तपाईंको प्रवेश कथा कस्तो छ ?
खोई ? एक्कासि नै भनुम्। संगीतमा आउने योजना त थिएन। अकस्मात आएँ। गाउन त पहिलाबाट मन लाग्थ्यो। राजशुक्र दाइ (लिम्बु)सँग म फेसबुकमा साथी थिएँ। सात वर्षअघि दाइ मलाई पनि एउटा गीत दिनु न गाउनु प-यो भनेर भनेर फोन गरेँ। अनि दाइले हुन्छ डमी पठाउँछु, अभ्यास गरेर आऊ भन्नुभयो। त्यसपछि पुतलीसडकको म्युजिक पार्क स्टुडियोमा गएर डमी लिएर आएँ। त्यसमा अभ्यास गरेँ। त्यसपछि पहिलो गीत ‘मेरै भन्छु खै’ रेकर्ड भयो।

पाश्र्व गायनतिर चाहिँ ?
दिनेस डिसीले निर्देशन गर्नु भएको फिल्म ‘फूलै फूलको मौसम’बाट गाउन सुरु गरेँ। त्यसमा मैले राजेश पायल राईसँग गाएकी थिएँ। संगीतकार सुरेश अधिकारीले मलाई मौका दिनुभएको हो। उहाँले मलाई फिल्मको टाइटल नै गाउन दिनुभएकाले मलाई धेरै सहज भयो।

यति मीठो आवाज कसरी बनाउनु भयो, भन्दिनु न ?
त्यस्तो विशेष त केही छैन। गड गिफ्डेट नै भन्नुप-यो। खासमा आवाज आफूले बनाएर बन्दैन नि !

कतिपय नराम्रो खालका गीत हुन्छन्, कानलाई पनि कर्कस लाग्ने गीत मिडियाले बजाइरहेका हुन्छन्। त्यस्ता गीत भाइरल पनि भइरहेका हुन्छन्, उदेक लाग्छ।

गलालाई मेन्टेन गर्न कत्तिको ध्यान दिनुपर्छ ?
चिसो खादिनँ। त्यसबाहेक बट्टाको अचार खादिनँ। त्यसले घाँटीलाई असर गर्छ। त्यसबाहेक अरु बार्ने गरेकी छैन।

स्टुडियोमा एउटा दृश्य कल्पना गरेर गीत गाउनुहुन्छ। भिडियो बनेर आएपछि त्यो कल्पना कत्तिको मेल खान्छ ?
एकदमै फरक हुन्छ। गीतको अडियो मात्र राम्रो बनाएर हुँदैन। भिडियो पनि राम्रो बन्नुपर्छ। कतिवटा भिडियो नराम्रो बनेर आउँदा दुःख लाग्छ। मनै खिन्न भएर आउँछ। त्यस्तो त धेरै पटक भा’को छ।

‘ह्याप्पी डेज’ अनि ‘ब्लाइन्ड रक्स’ त फ्लप नै भयो। तपाईँले स्वर दिएको फिल्म फ्लप हुँदा कस्तो अनुभव हुन्छ ?
नराम्रो लागिहाल्छ नि ! ब्लाइन्ड रक्सको खासै पब्लिसिटी गरेको होइन। नेपालमा बायोपिक मुभीको महत्व बुझ्नै बाँकी छ। मलाई त फिल्म मन परेको थियो तर चलेन। हाम्रो काम त पर्दा पछाडि बसेर गीत गाउने हो।

आफैँले गाएको गीतमध्ये कुन बढी मनपर्छ ?
मलाई ‘वीर विक्रम’को ‘सारेसारे’ नै मनपर्छ। अनि लास्ट टाइम क्याप्टेनको ‘तिमी छौ र जीवन छ’ मनपर्छ। अनि वसन्त सापकोटाले कम्पोज रहेको ‘बोबी’को गीत पनि मनपर्छ।

सुरुवाततिर त संगीतमा लाग्न परिवारले दिएनन् होला है ?
हो नि ! पहिला त मलाई पनि विदेश जानलाई नै दबाब दिनुभयो। संगीतमा भविष्य छैन, विदेश गइहाल भन्नु हुन्थ्यो। कराउनु हुन्थ्यो। संगीतमा लाग्ने मेरो आफ्नै किसिमको जिद्दीले यहाँसम्म आएँ। सुरु सुरुमा त धेरै गाली खाइन्थ्यो। कहिलेकाहीँ गीतको रेकर्डिङ राति अबेरसम्म हुन्थ्यो। १० बजेतिर घर पुग्दा भातभन्दा बढी गाली खाइन्थ्यो। अहिले परिवारको साथ सहयोग छ। अहिले त ढिला भए पनि बुझ्नुहुन्छ।

नेपालमा अहिलेको संगीतको अवस्था कस्तो छ जस्तो लाग्छ ?
नेपालमा व्यावसायिक रुपमा संगीत भर्खरै विस्तार हुँदैछ। अझै हामीले जुन योगदान दिनुपर्ने छ, त्यो दिन बाँकी छ। संगीत क्षेत्रबाट नराम्रो कुरा हट्दै जानुपर्छ।

नराम्रो भन्नाले ?
भाइरल बनाउने भन्ने हुन्छ। नराम्रो ट्रेन्डलाई प्राथमिकता दिनु भन्दा राम्रो कुरालाई प्राथमिकता दियो भने यो इन्डस्ट्री राम्रो हुँदै जान्छ। कतिपय नराम्रा र कानलाई पनि कर्कस लाग्ने गीतलाई मिडियाले साथ दिइरहेका हुन्छन्। त्यस्ता गीत भाइरल भइरहेका हुन्छन् नि ! त्यस्तो नगरेकै राम्रो।

हाम्रो समाजमा कतिले भिटेनका गीतलाई नराम्रो मान्छन् नि ?
भिटेनको गीतलाई म विरोध गर्दिनँ। उनको पनि राम्रो छ। विकृति फैलाउने गीत नआओस् भन्न खोजेको। भद्दा शब्दको प्रयोग गरेर गीत बनाइरहेका प्रति हो मेरो भनाइ।

पछिल्लो पटक भिटेन र पशुपति शर्माको गीत विवादमा तानियो। ती गीतमाथि राज्यले हस्तक्षेप ग-यो। एउटा गायिकाको हिसाबले कुनै गीत दबाबले हटाउन वा प्रहरीले पक्राउ गर्नुपर्छ भन्ने लाग्छ ?
त्यसो त गर्नु नहुने हो। कति बलात्कारी खुलेआम हाँस्दै हिँडिरहेका छन् तर गायकहरुले त कुनै क्राइमा गरेको होइन नि ! देशको समसामयिक विषयलाई गीतमा उठाइएको थियो। गायिका भएर भन्नुपर्दा राज्यको यस्तो व्यवहारले चित्त पनि दुख्छ। चाहिनेभन्दा बढी हस्तक्षेप गर्न नहुने। यो देशमा राम्रो गर्नेलाई भन्दा पनि नराम्रो गर्नेलाई दोसल्ला ओढाउने काम भएको देख्छु म त।

स्टेज सोको कुरा गरौं न। कत्तिको रमाइलो हुन्छ त स्टेज सोमा ?
हो नि, रमाइलो लाग्छ मलाई त स्टेज सोमा। दर्शकसँग अन्तत्र्रिmया गर्न पाइन्छ। हामीलाई त दर्शकले चिनिरहेका हुँदैनन्। तर स्टेज यस्तो प्लेटफर्म हो, जहाँ तपाईँका गीतले तपाईँलाई चिनाइरहेका हुन्छन्। विभिन्न ठाउँमा स्टेज कार्यक्रम गर्दा तपाईंको गीत सुन्छु र तपाईँको फ्यान हुँ भन्दा त एकदम रमाइलो लाग्छ।

यो क्षेत्रमा टिकिराख्न कत्तिको गाह्रो छ ?
गाह्रो त छ। गाह्रो त सबै क्षेत्रमा हुन्छ नि, होइन र ? सजिलो त कहाँ छ र ? म त कुनै फिल्डमा पनि देख्दिनँ। सुरुवातमा स्ट्रगल थियो, सबैको हुन्छ नै।

अहिले परालको आगो हुन्छ नि, स्वाट्ट सल्केपछि एकैछिनमा सकिने, हो त्यस्तै खालका गीतको बाढी आइरहेको छ। पहिलेका गीतहरु कालझैं हुन्थ्यो। नारायण गोपालका गीतहरु अझै लोकप्रिय छन् तर अहिलेका गीत यो साल सुन्यो अर्को साल सुन्नै मन नलाग्ने हुन्छन्।

दीपाले कस्तो स्ट्रगल गर्नु पर्यो ?
मैले पनि धेरै स्ट्रगल गरेँ। संगीतमा जम्न एकदम गाह्रो छ। सुरुतिर त कति व्यक्ति चिनिँदैन थियो। कोरसमा स्वर दिएँ, भिडमा। फिल्मको लागि कोरस गाइरहँदा पाश्र्वगीतमा पनि स्वर दिन पाउँछु कि पाउँदिन होला भन्ने हुन्थ्यो। सजिलै काम पाइँदैन थियो तर पनि मैले बिस्तारै व्यक्तिहरु चिन्दै गएँ। स्ट्रगलको समयमा मलाई सहयोग गरेका ती व्यक्तिहरुलाई म आज पनि बिर्सन्नँ।

यस्तो मीठो आवाजका बाबजुद पनि पाश्र्व गायनमा तपाईंको व्यस्तता कम भएको हो ?
त्यति धेरै कम पनि होइन। त्यति धेरै व्यस्तता पनि छैन। बिस्तारै यात्रा गर्दैछु। मलाई दौडेर, हतारिएर एकैचोटी आएर झाटझुट्टै गइहाल्ने कुरा पनि मनपर्दैन। बिस्तारै आउने अनि लामो समय बस्ने मन छ।

अब पारिवारिक कुरा गरौं न। भर्खरै इन्गेजमेन्ट भयो होइन ?
हो, (लजाउँदै)। राकेश राई हो उहाँको नाम। उहाँ सोसल वर्कतिर व्यस्त हुनुहुन्छ। तीन वर्षदेखि प्रेममा थियौं अनि इन्गेजमेन्ट गर्यौं।

बिहे कहिले गर्ने त ?
हुन्छ चाँडै, तपाईँलाई बोलाउँला नि (हाँस्दै) !

किन लजाउनु भएको ?
होइन (खित्का छोडेर)

गायिका भएपछि एउटा सोलो एल्बम निकाल्ने रहर हुन्छ। तपाईंले त अहिलेसम्म एल्बम निकाल्नु भएको छैन, है ?
कलेक्सन एल्बममा स्वर दिएकी छु। आफ्नै त निकालेकी छैन। अब निकाल्ने तयारीमा छु।

संगीत सिकेरै यस क्षेत्रमा आउनु भयो कि ?
मैले सुरुमा मोहन सरसँग सिकेँ। अनि तुलसी पराजुली, मनोजराज सर, डाक्टर किराँत सरहरुसँग मैले स्वरलाई निखार्ने अवसर पाएँ।

गायिकालाई कस्तो खालको भोक हुँदोरहेछ ?
सदाबहार गीत गाउने भोक। अहिलेको कमर्सियल गीत त यो इन्डस्ट्रीमा रहनलाई पनि चाहियो। सदाबहार गीत त आफू मरेपछि पनि बजिरहन्छ नि ! त्यसैले आफूलाई बचाइरहने गीत गाउन पाए हुन्थ्यो भन्ने लाग्छ।

तपाईँका लागि संगीत के हो ?
मेरालागि संगीत सबै कुरा हो। परिवारमा जन्मेपछि परिवार सबैकुरा हुन्छ। त्यस्तै मेरो लागि संगीत नै सबैकुरा हो।

मनपर्ने गायक–गायिका ?
सबैजना आफ्नो ठाउँमा राम्रो हुनुहुन्छ। मलाई फिमेलमा अञ्जु पन्त मनपर्छ। मेलमा चाहिँ राजेश पायल राई फेभरेट हुनुहुन्छ।
 
अहिले त युट्युब भ्युजको आधारमा गीतलाई लोकप्रियताको ट्याग दिइन्छ। यो कत्तिको ठीक हो ?
अब के भन्ने ? कति गीत राम्रा हुन्छन् तर त्यसमा खासै भ्युज आउँदैन। अनि जुन गीत आज सुने भोलि नसुनौं जस्तो हुन्छ, त्यस्तै गीतले धेरै भ्युज पाइरहेका हुन्छन्।

संगीतमा देखिएको विकृति ?
संगीतको विकृति सबैले देखेकै कुरा हो। अब यहाँ खुट्टा तान्ने धेरै छन्। त्यसैले मैले यस विषयमा बोल्न चाहन्नँ। स्वतन्त्रता भन्दा पनि मुख थुन्न आउनेहरु धेरै छन्।

कहिलेकाहीँ संगीतकारले यौन दुव्र्यवहार गर्ने गरेको कुरा सुनिन्छ नि ?
मैले धेरै जनाको बारेमा सुनेकी छु। कतिपय शोषणको कुरा चाहिँ आफूमा पनि भर पर्ने कुरा हो भन्ने लाग्छ। आफ्नो स्ट्यान्डमा बस्यो भने कोही पनि घोच्न आउँछ जस्तो लाग्दैन। मलाई त्यस्तो व्यक्ति नपरोस् पनि। म स्ट्रेट वेमा हिँड्ने मान्छे हुँ। सुन्न त धेरै कुरा सुनेकी छु तर म आफूलाई भने त्यस्तो कहिल्यै परेन।

Leave A Comment