हाई, म निक्कै मोटी काठमाडौँबासी केटी हुँ। म बच्चैदेखि मोटी थिएँ। मेरो मोटोपन र केटाकै जस्तो डाङडुङ गरिहाल्ने बानी भएकाले कसैले पनि मलाई जिस्क्याउने प्रयास गरेनन्। मेरो बानीका कारण पछाडि चैँ कुरा मज्जैले काट्थे।
मुखेञ्जी मेरा टिचरले पनि केही भन्न सक्तैनथे तर पछाडि त तिनले पनि कुरा मज्जैले काट्थे। तिनको कुरा कटाइका कारण, साथी बनाउन नसक्नुका कारण मेरो रुचि खान्कीमा बढी नै हुन थाल्यो। म खाइरहन्थेँ र एउटा कुनामा धुम्धुम्ती बसिरहन्थेँ।
पछि एक्लै बस्नु हुन्न भन्ने लागेपछि मैले साथीहरु बनाउने प्रयास गरेँ तर सकिनँ। मेरा छिमेकी, नातेदार र चिन्दै नचिन्नेहरुले पनि यसरी हेर्थे कि म मान्छे होइन, कुनै अन्य ग्रहबाट आएकी प्राणी हुँ। उनीहरुका लागि अनौठो प्राणी हुँ म जस्तो गरी उदेक नजरले हेर्थे।
मोटोपनकै कारणले यस्तो भएको हो कि भन्ने लागेपछि मैले दुब्लाउने औषधी खान थालेँ। विभिन्न किसिमको वर्कआउटमा भाग लिन थालेँ। ती कुनैले काम गरेनन्। यसपछि त मलाई साह्रै दिक्क लाग्न थाल्यो। मलाई मेरै शरीर मन पर्न छाड्यो। फेरि म पत्रु खाना खान थालेँ।
एक दिन सडकम केही भुस्याहा कुकुरलाई बिस्कुट खुवाउँदै थिएँ। ९/१० वर्षको सानो केटो छेउमा आयो र भन्यो, ‘दिदी, तपाईं यी कुकुरलाई यत्ति धेरै माया गर्नुहुन्छ हो ?’ ‘हो, म यिनलाई साह्रै माया गर्छु,’ मैले भनेँ।
‘असल व्यक्ति र सुन्दर हृदयको व्यक्तिले मात्र भुस्याहा कुकुरलाई माया गर्न सक्छ, बुझ्नु भो !’ उसले भन्यो। उसको उमेर र भनाइ मेल खाइरहेको थिएन तर मलाई उसको कुरा मन प-यो।
उससँग कुरा गर्न मन लाग्यो र सोधेँ, ‘त्यस्तो चाहिँ किन ?’
‘मैले अहिलेसम्म यी कुकुरलाई बिस्कुट खुवाउन आएको देखेको थिइनँ,’ बच्चोले भन्यो, ‘म यी कुकुरसँग तीन दिन सँगै बिताएँ। कोही पनि यी कुकुरलाई माया गर्दारहेनछन् भन्ने थाहा पाएपछि मलाई दुःख लाग्यो। मसँग त्यो बेला दुई सय रुपैयाँ थियो। त्यसपछि मैले त्यो पैसाले यो कुकुरलाई केही चिज किनेर खुवाएँ। यसअघि तीन वटा कुकुर मिलेर बसेका थिए तर खानाको अभावले तिनीहरुले यो ठाउँ छाडे। यही मात्र बाँकी रहेको थियो।’
लामो श्वास तान्दै उसले भन्यो, ‘आज म यसलाई केही खुवाउन नसक्ने भएँ भनेर दुःखी हुँदै आएको थिएँ तर तपाईंले यसलाई खुवाउनु भएको देखेर खुसी लाग्यो।’
मैले ऊतिर हेरेँ, अझै उसको कुरा सकिएको थिएन। भन्यो, ‘यसलाई घर लैजाऊँ भनेर एक दिन आमालाई सुनाएँ तर मान्नु भएन। तैपनि मैले उहाँलाई सम्झाउने प्रयास गरेँ। मेरो जिद्दीका अगाडि उहाँले एक दिनका लागि मात्र घरमा राख्ने अनुमति दिनुभयो।’
उसको कुरा सुनेर म छक्क परेँ, मेरा आँखा रसाए। लाग्यो– ओहो ! यत्रो सानो फुच्चेले कुकुरप्रेमका कारण कति कुराको दुःख उठाएछ ! ऊजस्तै अरु पनि होलान्, केही सोचिरहेका होलान् वा गर्न खोजिरहेका होलान् र नसकिरहेका होलान्।
कसैले एक पाइला बढाएर केही गरिदिँदा ती मनहरुलाई कत्ति धेरै सन्तोष प्राप्त भएको रहेछ ! कति धेरै खुसी तिनले पाइरहेका रहेछन् ! यो बच्चोको कुरा सुन्दा मलाई यही कुराको महसुस भयो।
म भने मेरो मोटोपनका बारेमा चिन्तित भइरहेकी थिएँ, दिक्क मानिरहेकी थिएँ। चिन्ता गर्नुपर्ने कुरा त बाहिर कत्ति धेरै रहेछ ! खुसी हुने, सकारात्मक बन्ने कत्ति धेरै कुरा छन् तर म भने जाबो यस्ता कुरामा चिन्ता लिई बस्दिरहिछु !
यसपछि मैले आफैँलाई प्रेम गर्न जानेँ, राम्ररी एक्सरसाइज गर्ने, स्वस्थ खान्की लिने र मज्जाले वजन घटाउने अभियानमा जमेर लागेँ। नौ महिना भयो, म यतिबेला आफूलाई स्वस्थ महसुस गरिरहेकी छु। वास्तवमा जीवन त सकारात्मक कुरामा केन्द्रित हुँदा पो बाँचिदोरहेछ !
जीवन कस्तो र कसरी बाँच्ने भन्ने छनोट हामी अरुलाई सुम्पन्छौँ नि, हामीजस्तो दुःखी कोही नहुँदोरहेछ ! आफू बाँच्ने जीवन, आफैँले छनोट गरेर मात्र सही जीवन बाँच्न सक्दारहेछौँ। त्यसैले जीवनमा आशा र आफूप्रतिको विश्वास कहिल्यै नगुमाउनु होला तपाईंले पनि।
१९ वर्षीया एक युवती, काठमाडौँ
Leave A Comment