एपेन्डिक्स फुटे जोखिम

बुधबार, २५ मङि्सर २०७६, १० : १७ शुक्रवार
एपेन्डिक्स फुटे जोखिम

डा.सुशील मोहन भट्टराई,
सल्य चिकित्सक, वीर अस्पताल

पेटको सानो आन्द्रा ठूलो आन्द्रामा पुगेर जोडिने ठाउँको (ठूलो आन्द्राको) मुनिपट्टि कान्छी औँलाजत्रो सानो भाग हुन्छ। जसलाई ‘एपेन्डिक्स’ भनिन्छ।

यो पेटको दाहिने कोखोभन्दा केही तल रहने पाइपजस्तो आकारको तन्तु हो। पेटको आन्द्रामा हुने लाम्चो तथा सानो थैलीलाई नै ‘एपेन्डिक्स’ भनिन्छ। सामान्यतः यो दुईदेखि २० सेन्टिमिटर लामो हुन्छ। यसको पुच्छरतिरको भाग टालिएको हुन्छ, भने आन्द्रातर्फको मुख खुलेको हुन्छ।

मानव शरीरमा ठोसरुपमा काम नलाग्ने यो अंग विविध कारणले अवरोध भए वा थुनिएको अवस्थामा सुन्निन पुग्छ। यहि सुन्निएको अवस्थालाई चिकित्सकीय भाषामा ‘एपेन्डिसाइटिस’ भनिन्छ। सामान्यतः ‘एपेन्डिक्स’ सुन्निने क्रमलाई ‘एपेन्डिसाइटिस’ भनिएको हो। ‘एपेन्डिसाइटिस’ पेटको ‘एपेन्डिक्स’ नामको सानो आन्द्रामा हुने समस्या हो। सामान्य भाषामा यसलाई ‘एपेन्डिक्स’का रुपमा बुझिन्छ। ‘एपेन्डिसाइटिस’ हुनु व्यक्तिका लागि आपतकालीन अवस्था हो।

मिल्काए पनि हुन्छ
‘एपेन्डिक्स’को महत्वको बारेमा एकिन अध्ययन भएको नदेखिए पनि मांशाहारी जनावरमा यसको काम मासु पचाउनु हो । मानव शरीरभन्दा सिंह, बिरालोजस्ता मांशाहारी जनावरमा ‘एपेन्डिक्स’को बढी काम हुन्छ। यस्ता जनावरमा मासु पचाउनका लागि ‘एपेन्डिक्स’को आकारसमेत ठूलो हुन्छ। मान्छेलाई भने खाना पचाउने काममा यसको उपयोगिता हुन्न। व्यक्तिमा काम नहुने भएकाले यो सानो र सुसुप्त अवस्थामा रहेको हुन्छ। ठोस काम नहुनाले यो सानो हुँदै गएको पाइन्छ।

अध्ययनअनुसार व्यक्तिको शरीरमा ‘एपेन्डिक्स’को ठोस काम नभए पनि यसले रोग प्रतिरोधात्मक क्षमताको सामान्य काम गरेको भने पाइन्छ। यसले केही हदसम्म शरीरमा अनावश्यक रुपमा आउने किटाणु मार्ने कोषिका निकाल्न सहयोग गर्छ।

यस्तो छ जोखिम
ठूलो आन्द्राको दिसा बन्ने प्रक्रिया सुरु हुने ठाउँको छेउमा झुण्डिएर रहेको अवस्थामा ‘एपेन्डिक्स’ रहेको हुन्छ। दिसाको कण एपेन्डिक्स भित्र छिरेको खण्डमा दिसा बाहिर ननिस्कन सक्छ।

दिसा बाहिर निस्कन नसकी दिसामा भएका किटाणुसमेत ‘एपेन्डिक्स’ भित्रै रहन सक्छन्। यस्तो अवस्थामा ‘एपेन्डिक्स’को प्वालसमेत बन्द भई जमेको फोहोर आन्द्रातर्फ आउने मुख बन्द हुन सक्छ। त्यसपछि ‘एपेन्डिक्स’मा संक्रमण भएर यो अंग सुन्निएर फुल्दै जान थाल्छ। सुन्निँदै जाँदा ‘एपेन्डिक्स’ फुट्न सक्छ। फुटेको अवस्थामा संक्रमित पिप तथा फोहोर पेटभरि फैलन्छ।

‘एपेन्डिक्स’ नफुटेको अवस्थामा उपचार गर्दा बिरामीको मृत्युको जोखिम एक प्रतिशतभन्दा कम हुन्छ, भने फुटेर जटिलता आएको खण्डमा शल्यक्रिया गरेर उपचार गरिँदासमेत मृत्युको जोखिम १५ देखि २० प्रतिशत हुन्छ।

एक पटक ‘एपेन्डिक्स’ सुन्निएपछि ‘एपेन्डिक्स’को वरिपरि अन्य आन्द्रा आएर गाँठो परी बस्न सक्छन्। यसरी आन्द्रा गाँठो पर्नुलाई चिकित्सकीय भाषामा ‘एपेन्डिकुरल–लम्प’ भनिन्छ। सामान्यतः लक्षण सुरु भएको २४ देखि ४८ घण्टासम्ममा यसरी आन्द्रा गाँठो पर्छ।  आन्द्राको गाँठोले फुट्नबाट रोक्ने प्रयास गर्छ। गोँठोले रोक्न नसक्ने अवस्थामा पुगिसकेपछि ‘एपेन्डिक्स’ फुट्छ।

फुटिसकेपछि ‘एपेन्डिक्स’को वरिपरि गाँठोभित्र पिप जम्छ। जुन पिपलाई ‘एपेन्डिकुलर–एब्स्सेस’ भनिन्छ। ‘एपेन्डिक्स’बाट फुटेर निस्किएको पिप ‘एपेन्डिक्स’ वरिपरि नबसेर पेटभरि फैलँदा जोखिमपूर्ण अवस्था आउनसक्छ। संक्रमित पिप शरीरभरि फैलिएर शरीरका अंगले काम गर्न नसक्दा व्यक्तिको मृत्युसमेत हुन्छ।

‘एपेन्डिक्स’ ठूलो आन्द्रामा जोडिएको हुनाले कतिपय अवस्थामा ठूलो आन्द्रा गाँठो परेर बटारिँदा आन्द्रामा रहेको दिसा ‘एपेन्डिक्स’मा पस्दा संक्रमण भई ‘एपेन्डिसाइटिस’को जोखिम हुन्छ। ‘एपेन्डिक्स’मा जुका परेको अवस्थामा समेत यस्तो समस्या हुन सक्छ। फोहोरका कारण ‘एपेन्डिक्स’मा संक्रमण भई रक्तसञ्चारमा अवरोध भएर कोषिकामा समस्या भएको अवस्थामा समेत ‘एपेन्डिसाईटिस’को जोखिम हुन्छ।

विशेषगरी रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, कतिपय रोगको नियमित औषधि सेवन गरिरहेका व्यक्ति, मृगौला, क्यान्सर, चिनिरोग, मुटुरोगजस्ता दीर्घ रोगको समस्या भएका व्यक्तिमा ‘एपेन्डिक्स’ भएमा बढी जोखिम हुन्छ। यस्ता व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले छिटो फुट्न सक्छ।  व्यक्तिको जीवनभरमा पाँचदेखि दश प्रतिशत ‘एपेन्डिसाइटिस’को जोखिम हुन्छ।

अन्य उमेर समूहको तुलनामा २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा ‘एपेन्डिसाइटिस’को जोखिम बढी हुन्छ। सामान्यतः बालबालिकामा जोखिम अत्यन्तै न्यून हुन्छ। बालबालिकामा यस्तो समस्या भएको अवस्थामा भने पहिचान गर्नै मुस्किल पर्छ। पेटको सुरक्षा प्रणालीका कारण यस्तो समस्या भएको अवस्थामा बालबालिका तथा वृद्ध व्यक्तिमा जटिलता छिटो निम्तन्छ। वृद्ध अवस्थाका व्यक्तिमा ‘एपेन्डिक्स’को जटिलता आए उपचारसमेत कठिन हुन्छ। 

आजको विश्वमा रोगको दर बढ्नुको मुख्य कारण अस्वस्थकर खानपान तथा अव्यवस्थित जीवनशैली हो।  आजकाल २० वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा समेत यो समस्या बढिरहेको देखिन्छ। विशेषगरी जंकफुड (पत्रुखाना) का कारण यस्तो समस्या जटिल बन्दै गएको छ। मम, चाउचाउ, चाउमिजस्ता मैदाजन्य खाद्यपदार्थ तथा जंकफुड खानाले त्यस्ता फाइबरको कमी भएका खाद्यपदार्थ ‘एपेन्डिक्स’मा गएर जम्न सक्छन्। यसले पाचन प्रक्रियामा समस्या उत्पन्न भई बढी मात्रामा ‘एपेन्डिसाइटिस’को समस्या भएको देखिन्छ। त्यसैले यस्तो समस्याबाट बच्नका लागि हरियो सागपात, पहेँला फलफूलजस्ता फाइबरयुक्त खानपान गर्न आवश्यक छ।

गर्भवती अवस्थामा जोखिम हुने नै भयो। गर्भवती महिलामा ‘एपेन्डिसाइटिस’ भएको अवस्थामा पाठेघरले पेटका अंग ढाक्ने भएकाले यसको एकिन पहिचान गर्नै समस्या उत्पन्न हुन्छ। गर्भमा रहेको भ्रुण र आमा दुवैको स्वास्थ्यलाई बचाउनुपर्ने भएकाले अन्य व्यक्तिको तुलनामा गर्भवतीमा उपचारसमेत जटिल र ढिलो हुन सक्छ। त्यसैले विशेषगरी गर्भवती महिलाले यस्तो समस्याकोे लक्षण देखिए तुरुन्तै स्वास्थ्य जाँच गराउनु पर्छ, ता कि जटिलता ननिम्तियोस्।

यसरी थाहा पाउन सकिन्छ
‘एपेन्डिसाइटिस’ भएको हो वा हैन भनेर एकिन गर्ने केही आधार भने छन्। ‘एपेन्डिसाइटिस’ भएको अवस्थामा पेट दुख्नु यसको प्रमुख लक्षण हो। यो भएको अवस्थामा पहिलो लक्षणका रुपमा ग्यास्ट्रिकजस्तै पेट दुख्न थाल्छ। नाइटोको वरिपरि छेउमा दुख्छ। दुखाइ कडा हुँदै जाँदा पेटको दायाँतर्फको ‘एपेन्डिक्स’ रहेको ठाउँमा दुखाइ कडा हुन्छ।

ग्यास्ट्रिकजस्ता सामान्य किसिमले पेट दुखेको अवस्था तथा कहीलेकाहीँ दुख्ने र ठिक हुने अवस्थाको पेट दुखाइ सामान्यतः ग्यास्ट्रिकको कारण हुन सक्छ। यस्तो अवस्थामा पेटको पूरै भाग दुख्न सक्छ। ‘एपेन्डिसाइटिस’ भएको अवस्थामा भने दुखाइ नाइटो वरिपरिबाट सुरु भएर बढ्दै जान्छ। छ देखि आठ घण्टासम्म ग्यास्ट्रिककोजस्तै लक्षण देखिन्छ। लगातार १२ घण्टाभन्दा बढी पेट दुख्नु ‘एपेन्डिसाइटिस’को लक्षण हो।

समयमै उपचार नपाएको अवस्थामा फुटेर दिसा तथा पिप पेटभरि फैलन्छ। दुखाई बढ्दै जाँदा बिरामीको नाजुक अवस्था निम्तिने जोखिम हुन्छ।

यो समस्या भएको अवस्थामा खाना खान मन नलाग्ने, बान्ता हुने, ज्वरो आउने, कब्जियत हुने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिन्छन्। त्यसैले यस्ता लक्षण देखिनासाथ विशेषज्ञ चिकित्सकको सल्लाह लिनु पर्छ। ‘एपेन्डिसाइटिस’ भएको अवस्थामा जथाभावि ग्यास्ट्रिकलगायतका औषधि सेवन गरी हेल्चेक्र्याइँ गर्दा उपचारमा ढिला भई ज्यान जान सक्छ।  

सामान्यतः विशेषज्ञ चिकित्सकले हातले पेटमा छामेर तथा रगतको परीक्षण गरी ९० प्रतिशत ‘एपेन्डिक्स’को समस्या भए–नभएको एकिन गर्न सकिन्छ। विशेषज्ञ चिकित्सकको परीक्षणपश्चात् एकिन नभएको अवस्थामा भिडिएको एक्स–रे, सिटि स्क्यान गरी ‘एपेन्डिक्स’को समस्या भए–नभएको एकिन गर्न सकिन्छ।

जति ढिलो, त्यत्ति जटिल
सामान्यरुपमा फुलेको तथा सुरुवाति चरणको अवस्थामै पहिचान भए चिकित्सकको रोहवरमा एन्टिबायोटिक औषधिको प्रयोगले ‘एपेन्डिसाइटिस’ सामान्य अवस्थामा ल्याउन सकिन्छ। हल्का दुख्न वा सुन्निन थालेको अवस्थामा औषधिको प्रयोग गरी रोग निदान गर्न सकिन्छ।

औषधिको प्रयोगले ‘एपेन्डिक्स’को समस्या भएका ३० देखि ४० प्रतिशत व्यक्तिको समस्या समाधान हुन सक्छ। त्यसैले पेट दुखेको अवस्थामा चिकित्सकको सल्लाहबमोजिम स्वास्थ्य परीक्षण महत्वपूर्ण मानिन्छ।

‘एपेन्डिक्स’ नफुटिसकेको अवस्थामा पेटको दायाँ भागमा सानो प्वाल बनाई ‘एपेन्डिक्स’ नै निकालिन्छ। सानो किसिमको अप्रेसन गरी समस्या समाधान गरिन्छ। यस्तो सानो शल्यक्रियालाई चिकित्सकीय भाषामा ‘एपेन्डेक्टोमी’ भनिन्छ।

‘एपेन्डिक्स’ फुटेर संक्रमण भएको अवस्थामा भने पेटको ठूलो शल्याक्रिया गर्नुपर्ने हुन्छ। शल्यक्रिया गरी पेटमा फैलिएको संक्रमण सफा गरिन्छ। ठूलो शल्यक्रिया गरेको अवस्थामा लामो समय अस्पताल बस्नुपर्ने हुनसक्छ।
‘एपेन्डिक्स’ नफुटेको अवस्थामा उपचार गर्दा बिरामीको मृत्युको जोखिम एक प्रतिशतभन्दा कम हुन्छ, भने फुटेर जटिलता आएको खण्डमा शल्यक्रिया गरेर उपचार गरिँदासमेत मृत्युको जोखिम १५ देखि २० प्रतिशत हुन्छ।
(भट्टराईले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

Leave A Comment