बोसो पगाल्ने कला

बुधबार, २५ मङि्सर २०७६, १० : ४४ शुक्रवार
बोसो पगाल्ने कला

डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

विशेषगरी महिलाको कम्मरको दायाँबायाँ भागमा भद्दारुपमा रहेको बोसोका कारण देखिने लुँदोले तनाव उत्पन्न गर्छ। पेटको दायाँबायाँतर्फ अनावश्यकरुपमा बोसोका कारण झुण्डिएको छालालाई लुँदो भनिन्छ। शरीरलाई व्यायाम तथा विभिन्न किसिमका योगाभ्यास नगरी सुविधा दिँदा शरीरमा व्यायामको कमी भई अनावश्यक रुपमा बोसोको मात्रा बढ्न जान्छ। यस्तै व्यायामको अभावमा बोसोको मात्रा बढ्ने क्रममा विशेषगरी महिलाको कम्मरको तल्लो भागको दायाँबायाँ बोसोको मात्रा बढी हुँदा लुँदो झुण्डिन्छ। सामान्यतः महिलाको हकमा बच्चा जन्माएपछि पोषणयुक्त खानपान तथा शारीरिक परिश्रम कम हुँदा यस्तो समस्या हुन्छ।

कम्मरको दायाँबायाँ भागको लुँदो झुण्डिँदा स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असर देखिन सक्छ। बेलैमा यस्तो अनावश्यक रुपमा बढिरहेको बोसो नियन्त्रण नगरे पेट बढ्दै जाने समस्या त हुन्छ नै। भद्दा लुँदोले तान्दै जाने भएकाले ढाड तथा कम्मर दुख्ने समस्या मात्र हुन्न। बस्न तथा हिँडडुल गर्न असहजता निम्तिन्छ। विशेषगरी कम्मरको दायाँबायाँको भागमा असर हुन्छ।

विभिन्न किसिमका यौगिक व्यायामको माध्यमबाट पेटका दयाँबायाँका भद्दारुपमा झुण्डिएको बोसोको लुँदो नियन्त्रण गर्न तथा घटाउन सकिन्छ। अब चर्चा गरौँ पेटको दायाँबायाँको लुँदो हटाउने योगाभ्यासका चरणको बारेमा।

लुँदो हटाउने योगामा प्रत्येक चरणको योगाको सुरुवात गर्दा हात नमस्कार आसनमा राखिन्छ। प्रत्येक चरणको योगाभ्यास गर्दा मन्द गतिले श्वास लिँदै छाड्नु उचित हुन्छ।  सबै चरणका योगाभ्यास १०/१० पटक गर्नु उचित हुन्छ।

हात दायाँबायाँ
सुरुमा ठिंग सिधा उभिनु पर्छ। उभिएपछि नमस्कार गरेजस्तै गरी छातीमा हात राखी दुवै हातका औँला जोड्ने। अब मन्द गतिले स्थिररुपमा श्वास फेर्नुपर्छ। टाउको भने ढाड–कम्मर तथा कुमको बीचभागमा पर्नेगरी साधा गर्नुपर्छ। त्यसपछि बिस्तारै नमस्कार शैलीमा जोडिएका हात दायाँबायाँ फैलाउँदै तेर्सो पारिन्छ। अब दुवै हात कुमकै उचाइमा सिधा तेर्सो बनाई दायाँबाट बायाँतर्फ लैजाँदै बायाँबाट पुनः दायाँतर्फ लगिन्छ। यो प्रक्रिया करिब दसपटक गर्नु उचित हुन्छ। हात घुमाइसकेपछि बिस्तारै श्वास लिँदै दुवै हात सिधा तल खुट्टातिर झारिन्छ।

यस्तो किसिमको व्यायामले कम्मरको दायाँबायाँको मांशपेशी तथा छाला बटारिने भएकाले बोसो घटी लुँदो नियन्त्रण हुँदै जान सहयोग पुग्छ।

हात माथि
नमस्कार गरी हात सिधा माथितर्फ लगिन्छ। बिस्तारै श्वास लिएर छोड्दै निहुरिएर हातले खुट्टाका औंला छुने कोसिस गरिन्छ। यो प्रक्रियाले पेटको दायाँबायाँका मांशपेशी खुम्चने तथा फुक्ने प्रक्रिया हुने भएको दायाँबायाँको बोसो कम हुन सहयोग गर्छ। त्यसपछि हात छोडिन्छ।

कुम तान्ने
कुम तान्ने योगाभ्यास गर्दा नमस्कारपछि बिस्तारै श्वास लिएर छोड्दै दायाँ हातले दायाँतर्फको कुममा समाइन्छ। दायाँ हात भने पछाडि लगी कम्मरको बायाँतर्फको लुँदोमा समाइन्छ। कम्मर पनि बायाँतर्फ मर्काइन्छ। दायाँतर्फको कुममा समाएपछि बायाँतर्फ पनि पालैपालो यस्तो योगाभ्यास गरिन्छ। यस्तो योगाभ्यासले कम्मरको दायाँबायाँ भागको बोसोमा दबाब पर्न गई तापको कारण बोसो पग्लिन्छ।

कुम उचाल्ने
कुम उचाल्ने योगामा हात नमस्कारपछि सुरुमा दुवै हात सिधा तल राखी दायाँतर्फको कुम उचालिन्छ। बायाँतर्फको हातले भने शरीर बायाँतर्फ मर्काउँदै घुँडाको साइडको भाग छुइन्छ। यसरी पालैपालो दायाँबायाँको कुम उचाल्दै गरिने योगाभ्यासले कम्मरको दायाँबायाँको भागमा दबाब पर्न गई यस भागका मांशपेशी तथा छालामा लचकता आउँछ। यसरी मांशपेशी तथा छालामा लचकता आउँदा बोसोको मात्रा स्वात्तै कम हुन्छ।

औंला च्याप्ने
यस औँला च्याप्ने किसिमको योगाभ्यास गर्दा सुरुमा नमस्कार त गर्नै प-यो। नमस्कारपछि बिस्तारै हात माथि लैजाँदै दुवै हात टाउका माथि सिधा गरी दुवै हातका आैंलाले एक आपसमा च्यापिन्छ। एक आपसमा औँला च्यापिएकै अवस्थामा टाउकोमाथि हात दायाँबायाँ घुमाइन्छ। यसरी घुमाउँदा कम्मरको दायाँबायाँको मांशपेशी तन्कन मद्दत पुग्छ। तन्कने र खुकुलो हुने प्रक्रियाले पेटको दायाँबायाँको बोसो पग्लिन सहयोग पुग्छ।

निहुरिँदै सिधा
निहुरिँदै सिधा गरिने यस चरणमा टाउकामाथि हात राखेर औँला च्यापिएकै अवस्थामा राखिन्छ। खुट्टा हल्का तन्काइन्छ। त्यसपछि निहुरिँदै टाउकोले घुँडा छुने प्रयास गर्दै सिधा हुनुपर्छ। यस किसिमको योगाभ्यासले पेटको दायाँबायाँको मांशपेशी उँभो तन्किने भएकाले बोसो घटी लुँदोको समस्या कम हुन्छ।

लुँदोमा हात
लुँदोमा हात राख्ने चरणमा कम्मरको दायाँबायाँको लुँदोमा दुवै हात राखी दुवै हातका कुइनो दायाँबाट बायाँतर्फ र बायाँबाट दायाँतर्फ पुनः घुमाउनुपर्छ। यस्तो योगाभ्यास गर्दा लुँदो घटेको कप्पनासमेत गर्नु उचित हुन्छ।

कम्मर घुमाउने
यस चरणको योगाभ्यासमा दुवै हात कम्मरमा राखी कम्मरलाई दायाँबायाँ सकेसम्म गोलाकाररुपमा पालैपालो मर्काउँदै घुमाइन्छ। यो योगाभ्यासले कम्मरका चारैतिरका मांशपेशी खुकुलो हुन सहयोग पुग्छ। जसले कम्मर सेपमा आउन सहयोग पुग्छ।

उफ्रने
उफ्रने चरणमा दुवै हात टाउको माथि लगी औँला एक आपसमा च्यापेर उफ्रन सकिन्छ। उफ्रँदा दुवै खुट्टा एकसाथ उफार्नु उचित हुन्छ। उफ्रँदा विशेषगरी पेटको दायाँबायाँको भागको बोसो पग्लिन सहयोग पुग्ने भएकाले व्यक्ति छरितो हुन सहयोग पुग्छ।

पछाडि हात
अन्तिम चरणमा कम्मरको पछाडि दुवै हात राखिन्छ। त्यसपछि हातले कम्मर ठेलिन्छ। शरीर भने पछाडि उत्तानो पर्दै धकेलिन्छ। त्यसपछि अगाडि निहुराइन्छ। यसले कम्मरको दायाँबायाँ रहेको बाँकी बोसो पगाल्न सहयोग पुग्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment