दर्शक झुक्याउने ?

बुधबार, २५ मङि्सर २०७६, १० : ५४ शुक्रवार
दर्शक झुक्याउने ?

नम्रता श्रेष्ठ भन्नेबित्तिक्कै ‘नोभेम्बर रेन’, ‘होमवर्क’, ‘मेरो एउटा साथी छ’ जस्ता फिल्ममा अभिनय गरेकी नम्रताको झल्को आइहाल्छ किनभने उनी देशकै चर्चित अभिनेत्री जो हुन् !

कहिलेकाहीँ नामले गाईजात्रै गर्छ भन्या ! अब नम्रताकै कुरा गरौँ न ! नो, नो, पुरानी होइन। पुरानाका कुरा पुरानै भइहाल्यो ! अब नयाँकै कुरा गरौँ न ! यी नयाँ नम्रता श्रेष्ठलाई पुरानैको छायाँले ओझेल बनाइरहेको छ। यसको पीडा उनलाई कम छ र ?

फिल्म ‘गाँठो’को घोषणा गर्दा धेरै जना नम्रताको नाउँ सुनेपछि चनाखो भएका थिए। तर यो नामको ‘गाँठो’ यति कस्सिएको छ कि हरकोहीलाई जवाफ दिँदै हिँड्नु परेको छ, ‘म त कान्छी नम्रता !’

पहिला अर्कै नम्रता पनि थिइन्, उनलाई पनि नामको तनाव कम थिएन ! सापकोटा थरकी नम्रतालाई पनि श्रेष्ठ नम्रताको नामले सधैँ थिचिरहन्थ्यो। झन् अहिलेकी कान्छी नम्रतालाई त थर पनि मिलेपछि पर्नु पीर परेको छ।

पछिल्लो समय उनको ‘माछा माछा’ फिल्म रिलिजसम्म आइपुग्दा पनि उनलाई ठ्याक्कै कान्छी नम्रता भनेर चिन्नेको कमी नै छ। जब–जब नम्रता श्रेष्ठको नाउँ अनाउन्स हुन्छ, धेरैले उनी नै अघिल्तिर भए पनि दायाँबायाँ हेर्न थाल्छन्, अरु नै नम्रता खोज्ने अभिप्रायले।

मंसिर २० बाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘माछा माछा’ले उनलाई पुरानोको छायाँका रुपमा नभएर बेग्लै परिचय दिलाउला कि भन्ने लागिरहेको छ। झन् सौगात मल्लसँग फिल्ममा रोमान्स गर्न पाएर फुर्किएकी उनलाई यसबाट पो चिन्लान् भन्ने अपेक्षा छ।

हाम्रो त इच्छा छ, नयाँ नम्रता भनेर उनलाई चिनाइरहनु नपरोस् ! अब ‘माछामाछा’बाट माछा नै हात पर्छ कि भ्यागुता ! त्यो चाहिँ उनकै भाग्यमा भर पर्ला !

Leave A Comment