कमेडी च्याम्पियन : जज नै जोकका पात्र

शुक्रबार, २७ मङि्सर २०७६, १० : ५१ शुक्रवार
कमेडी च्याम्पियन : जज नै जोकका पात्र

यस साताको कमेडी च्याम्पियनको चौथो एपिसोडमा विवेक पौडेल स्टेजमा चढे। उनले भ्वाइस अफ नेपाललाई पहिलो व्यङ्ग्यको मसला बनाए। उनको भ्वाइस अफ नेपालको व्यङ्ग्य भन्दा पनि भातको व्यङ्य राम्रो थियो। बाउआमाले छोरालाई भात खान कसरी बोलाउँछन् भन्ने कुरालाई उनले व्यङ्ग्यात्मक शैलीमा पस्केका थिए।

विवेकपछि स्टेजमा आएका अर्का खड्गबहादुर पुन मगर अरुलाई हँसाउनु भन्दा पनि बढी आफैँ हाँसे। आफैँले हाँसेर अरुलाई हँसाउने असफल प्रयास काम लागेन।

स्याङ्जाबाट आएका अर्का प्रतिस्पर्धी विष्णुप्रसाद गौडेल स्टेजमा देखा परे। उनको हाउभाउ देख्दा खत्रै कमेडी गर्न लागेछन् भन्नेझैँ देखिएको थियो तर उनले आफ्नै अगाडि बसेकी जज ऋचा शर्मालाई उडाए। धनाढ्यले ब्याचलर पार्टी दिन्छन्, आइस्यो गइस्योस् भन्ने गेटैमा उभिएका हुन्छन्। अरुलाई निम्तो पुग्यो आफूलाई पुगेन भन्दै उडाएका थिए। यता उद्घोषिका रीमा विश्वकर्मालाई चित्त बुझेछ क्यार, यसो भन्दा उनी हाँसो थाम्नै सकिनन्। ज्यादै मिल्ने साथीलाई उडाउँदा रीमालाई खुब मज्जा लागेको देखिन्थ्यो।  

प्रतिस्पर्धी विष्णु र रोशन रुपाखेती खासै जम्न सकेनन्। दुवैको प्रस्तुति हल्काफुल्का थियो। जजहरुले पनि मन पराएनन्। उनीपछि आएका योगेश उप्रेतीको प्रस्तुति पनि खल्लो नै थियो। लेडिज प्रतिस्पर्धीमा वीरता थापाले आफू क्याम्पस पढ्ने भइसक्यो तर लभ परेको छैन तर मेरो बैनीको लभ परेको छ रे भन्दै अहिलेको जेनेरेसनलाई व्यङ्ग्यको खुराक बनाइन्। उता आमोद अर्यालको  प्रस्तुति ठीकै थियो।

एपिसोड पाँचमा १५ मध्ये सात जनाको प्रस्तुति थियो। भारतको असमबाट आएका मोहनराज क्षेत्रीले भारतीय कलाकारले नेपाली गीत गाउने भन्दै विभिन्न कलाकारको क्यरिकेचर गरे। उनले गरेको क्यरिकेचर नबुझेको भन्दै जज ऋचाले प्रस्ट बोल्न अनुरोध गरिन्।

सुमन कोइरालाले रक्सी भट्टीको बारेमा व्यङ्ग्य गरेका थिए। जज प्रदीपले लोकल कन्टेन्ट ल्याउन सक्ने क्षमताको भन्दै बधाइ दिए। उनको प्रस्तुतिलाई जजले मन पराए।

दार्जिलिङबाट आएका प्रतिस्पर्धी अनिल राईले नेपाली अभिनेता अभिनेत्रीले निर्देशकलाई गर्ने व्यवहारलाई कमेडीमा हाउभाउले देखाए। उनको प्रस्तुतिमा जज ऋचाले उठेर नै ताली बजाएकी थिइन्। उनको प्रस्तुति जजहरुले पनि मनाएका थिए।

आमोद अर्यालले गरिबीका कारण परेको दुःखलाई व्यंग्यमा समेटे। महिला प्रतिस्पर्धी नारिया गिरीले मेकअपले गर्दा आफ्नै बुबाले आफैँलाई नचिनेको भन्दै मज्जाको व्यङ्ग्य पस्किइन्।

अनिलजंग थापाले सिमाना मिचेको कुरालाई मसला बनाए। उनले नेपालको सिमाना मिलाउने बहाना टारेको कुरालाई हाउभाउका साथ प्रधानमन्त्रीदेखि प्रचण्ड लगायतका नेतालाई व्यङ्ग्य गरेका थिए तर न दर्शक हाँसे, न जज नै। जजले उनको प्रस्तुति मन पराएनन्।

हिमेश पन्तको प्रस्तुति बरु रोचक थियो। उनले भूकम्प जानुको कारण राजेश हमाल भएको भन्दै हँसाएका थिए। माया बिरानी गीतलाई पनि उनले व्यङ्ग्य गर्न भ्याए। उनले त्यो मायालाई सम्झेर च्याप्छु सिरानी बनाएको भन्दै सिरानी हँसाएको कुरा उल्लेख गरे।

Leave A Comment