रियालिटि चेक : कोच प्रमोदले लिए बदला

शुक्रबार, २७ मङि्सर २०७६, ११ : ०० शुक्रवार
रियालिटि चेक : कोच प्रमोदले लिए बदला

भ्वाइस अफ नेपाल सिजन २ मा कोच प्रमोद खरेलले अर्का कोच दीप श्रेष्ठसँग पहिलो सिजनको बदला लिए। पहिलो सिजनमा खरेलको टिमबाट दीपले स्टिल गरेका प्रतियोगी सिडि विजय अधिकारीले आफ्नो नामलाई साकार बनाएका थिए। दोस्रो सिजनमा कोच दीपको टिमबाट कोच खरेलले स्टिल गरेका राम लिम्बु विजेता बने।

कोच दीपका विकास लिम्बु, कोच राजुबाट सनिश श्रेष्ठ र कोच आस्थाबाट आरिफ राउफ फाइनलमा पुगेका थिए। राम सिजन २ का विजेता बन्दा सनिश हाँसिरहेका थिए तर विकासको मुहार मलिन थियो।

कार्यक्रममा लफडा
काठमाडौंको चुच्चेपाटीमा रहेको होटल हयातको खुला चौरमा भएको फाइनल खेल चुस्त व्यवस्थापनको अभावमा प्रारम्भमै भद्रगोल भएको थियो। फाइनल हेर्न पुगेका दर्शकले कार्यक्रमको प्रारम्भमै कुर्सी उचालेर लफडा गर्न थालेपछि कोच राजु लामा मञ्चमै आएर ‘प्लिज’ भन्दै त्यसो नगर्न आग्रह गरिरहेका थिए। आयोजकले भने लफडा गर्ने को हो क्यामरामा देखिइरहेको, प्रशासनले कार्बाही गर्ने भन्दै तर्साइरहेका थिए।

हैरान भए स्थानीय
पहिलो सिजन नेपालबाहिर गरेको आयोजकले दोस्रो सिजनको फाइनल नेपालमै गर्ने जमर्को ग-यो तर स्थानको छनौटमा चुक्दा स्थानीयबासीको गाली पाए।

हयात होटल मध्यरातसम्म यस्ता कार्यक्रम गर्न कुनै संरचना छैन। खुला चौरमा सेट बनाएर गरिएको कार्यक्रम बेलुका ११ बजेसम्म चलेको थियो। कार्यक्रमको उच्च ध्वनिले चुच्चेपाटी, टुसाल र महांकालबासीको निद्रा खल्बलाएको थियो।

प्रायः खाली स्थानमा कार्यक्रम गर्दा नौ बजेभित्र सकाउन लगाउँछ स्थानीय प्रशासनले। मध्यरातसम्म चर्को स्वरमा कार्यक्रम भइरहँदा सुरक्षाकर्मी रमिते बनेका थिए। सशस्त्रका डिआइजी त मञ्चमै पुगेका थिए।

मञ्चभरि आगन्तुकलाई बोलाउँदा मञ्चमा भद्रगोल देखियो। विजेता र फाइनल पुगेका प्रतियोगीलाई मञ्चमा डाकिएका आगन्तुकले छेकेका थिए।

Leave A Comment