वर्षाले बनाइन् इतिहास

बिहिबार, ०६ जेठ २०७३, ०४ : ५३
वर्षाले बनाइन् इतिहास

मिस नेपालको इतिहासमा पहिलोपटक थारु प्रतिस्पर्धीले उपाधि जितेकी छिन् । मिस नेपाल २०१६ का प्रतिस्पर्धी वर्षा लेखीले दोस्रो रनरअपको उपाधि जितेकी हुन् । यो उपाधिसँगै उनले जापानमा हुने ‘मिस इन्टरनेसनल’मा सहभागिता जनाउनेछिन् । वर्षाले दोस्रो रनरअपको क्राउनसँगै पचास हजार रुपैयाँ र नेपाल वायुसेवा निगमको टिकट हात पारिन् ।
मिस नेपालको अन्तिम स्पर्धामा हालसम्म जम्मा तीन प्रतिस्पर्धी पुग्न सफल भएका छन् । यसअघि शिवानी सिंह थारु र अघिल्लो वर्ष निश्मा चौधरी अन्तिम स्पर्धामा पुगेका थिए । निश्माले अन्तिम पाँच र मिस बब्लीको टाइटल पाइन् । वर्षा लेखीले भने थारु समुदायको प्रतिनिधित्व गर्दै पहिलोपटक दोस्रो रनरअपको उपाधि जितिन् ।


निर्णायक राजेन्द्र थापाले सोधेको ‘महिला आरक्षण दिनुपर्छ, पर्छ र केही समयलाई दिनुपर्छ ?’ भन्ने प्रश्नमा वर्षाले आरक्षण महŒवपूर्ण भएको उत्तर दिएकी थिइन् । यसले समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने भएकाले आरक्षण दिइनुपर्ने उनको धारणा थियो ।

सप्तरी फत्तेपुरकी २२ वर्षीया वर्षा वातावरण विज्ञानमा बीएस्सी गरेकी छन् । ५ फिट ६ इन्च अग्ली वर्षा चित्रकला एवं नृत्यमा रुचि राख्छिन् । भविष्यमा राजनीतिज्ञ बन्ने लक्ष्य लिएकी वर्षाले वातावरणीय क्षेत्रमा पनि काम गर्ने बताइन् । उनलाई सारी र ब्लाउज मन पर्ने पहिरन हुन् । उनले यसअघि पनि दर्जन बढी संस्थामा आबद्ध भएर काम गरिसकेकी छन् ।

उनी यो उपलब्धिबाट सन्तुष्ट छिन् । सबै प्रतिस्पर्धी योग्य रहेको स्विकार्दै उनले मिस नेपालको प्रक्रिया मान्ने बताइन् । ‘जुन परिणाम आएको छ, यसबाट म पूर्णतया सन्तुष्ट छु । टप थ्री जितेकालाई मात्र नभनौँ टप फाइभका सबै प्रतिस्पर्धी बराबरका योग्य थिए,’ उनले भनिन् ।

मिस नेपालको बन्दसत्रमा गरेको कडा परिश्रमले अन्तिम दशभित्र जसरी पनि पर्ने अठोट उनले लिएकी थिइन् । त्यसपछि आफ्नो क्षमता प्रदर्शन गर्ने उनको अठोट थियो नभन्दै उनी अन्तिम दशमा पर्न सफल भइन् । ‘मैले चाहेको ठाउँमा म परिसकेको थिएँ, अब मलाई अन्तिम पाँचमा जसरी पनि पर्नुथियो,’ शुक्रवारसँग कुरा गर्दै वर्षाले भनिन् ।

निर्णायक प्रश्नको जवाफपछि वर्षालाई लागेको थियो– उपाधि त जित्नपर्छ । अन्य चार प्रतिस्पर्धीजस्तै उनको मन पनि ढुकढुक भइरहेको थियो । ‘त्यो बेला मुटुको धड्कन जोडजोडले धड्किँदो रैछ । जब फस्र्ट रनरअप वर्षा लेखी भनेर अन्नाउन्स भयो खुशी लाग्यो । तर, मलाई हे भगवान् ! वाला फिलिङ चाहिँ आएन,’ उनले भनिन् ।

थारु समुदायबाट प्रतिस्पर्धा गरेर पहिलोपटक उपाधि जितेको बताउँदै लेखीले कडा परिश्रम गरे जे पनि हासिल गर्न सकिने बताइन् । त्यही भएर आम थारु महिलाई आफ्नो खुबी निखार्न उनले सुझाइन् । ‘कडा परिश्रम गरे जे पनि हासिल गर्न सकिन्छ । आजको दिनमा सबै महिलाहरूलाई घुम्टोबाहिर चिआएर हेर्न आग्रह गर्न चाहन्छु । आफ्नो खुबी तिखार्न सल्लाह दिन्छु ।’

उपाधि जितेसँगै आफूमा जिम्मेवारी थपिएको बताइन् । यसअघिका प्रतिस्पर्धीले पनि इन्टरनेसनल प्लेटफर्मममा केही न केही गरेकाले उक्त जिम्मेवारी आफूमा आएको उनले बताइन् । ‘मिस इन्टरनेसनलमा सहभागी हुनका लागि धेरै तयारी गर्नुपर्ने छ । जसरी यहाँ कडा परिश्रम गरियो । त्यसका निम्ति पनि कडा परिश्रम गर्नेछु,’ वर्षाले भनिन् ।

 

    

 

Leave A Comment