कमब्याकमै ब्याडलक

शनिबार, २८ मङि्सर २०७६, ०१ : ०९ रीना माेक्तान
कमब्याकमै ब्याडलक

एक समयका स्टार हिरो आर्यन सिग्देल अभिनित पछिल्लो फिल्म ‘चचहुइँ’ले बक्स अफिसमा माखो मार्न सकेन। फ्लप फिल्मको लिस्टमा थपियो, ‘चचहुइँ’। एक जना दर्शक पनि नहुँदा कति सो त बन्दै भयो। फिल्मले देखायो अब ‘आर्यनको युग सकियो।’

चकलेटी अनुहारका कारण एकाताका पूरा बक्स अफिस नै आर्यनको भरमा थियो। उनलाई फिल्ममा लिन फिल्मकर्मीमाझ हानाथाप नै चल्थ्यो। उनको नाममा टिकट बिक्थ्यो। लेडिज फ्यान मरिहत्ते गर्थे।

तर उनी अभिनित पछिल्ला फिल्म ‘कायरा’, ‘रुद्रप्रिया’, ‘हजार जुनीसम्म’ सबै फ्लप भइदिए। अब फिल्म इन्डस्ट्रीमा न उनको नाम चल्छ, न उनले अभिनय गरेको फिल्म नै। कमब्याक गर्ने पटक–पटकको उनको प्रयास असफल मात्रै भइरहेको छ। सफल कमब्याकको आशमा उनलाई ब्याडलक मात्रै भयो।

कसरी ओरालो लाग्यो उनको करियर ?
उनी सुरुदेखि नै फिल्म छनोट गरेर मात्रै अभिनय गर्थे तर आफ्नै ब्यानरबाट फिल्म निर्माणमा लागेपछि आर्यनको स्टारडम खस्किँदै गयो। निर्माता भएपछि जब ‘नाइके’, ‘माला’, ‘सुश्री’, ‘अलबिदा’, ‘आबेगल’ लगायतका फिल्म गरे, ती सब फ्लप भइदिए। उनले निर्माण गरेको ‘नोमेम्बर रेन’ र ‘क्लासिक’ले पनि बक्स अफिसमा जादु गर्न सकेन।

हालै एक अन्तर्वार्तामा आर्यनले फिल्म छनोट गर्न नसके राम्रो कलाकारलाई अरुले विस्थापित गर्ने तर्क गरेका थिए। कमब्याकको प्रयासमा उनले गरेका फिल्मको ग्राफ हेर्दा प्रस्टै हुन्छ, स्क्रिप्ट छान्दा उनको ध्यान पनि चिप्लियो। 

‘अप्स एन्ड डाउन हुन्छ, मेरो पनि भयो म स्वीकार्छु,’ उनले भनेका थिए, ‘राम्रो फिल्म सेलेक्ट गर्न सकिएन भने विस्थापित भइन्छ र कहिलेकाहीँ भने उमेरले पनि विस्थापित गर्दो रहेछ। त्यो विस्थापनलाई चाहिँ कसैले मार्न सक्दैन।’

अब उमेरकै कुरा गर्ने हो भने आर्यन अहिले ३९ को भए तर अझै फिल्म छान्ने विषयमा भने उनमा परिपक्वता देखिन्न।

भोजपुरी स्टारको अर्को दाउ
अब कुरा गरौं, भोजपुरी स्टार विराज भट्टको। नेपाली फिल्म छाडेर भोजपुरीतिर लागेका विराज पनि अहिले कमब्याकको तयारीमा छन्। नेपाली फिल्ममा दर्शकमाझ पुरानै क्रेज फर्काउन अन्य निर्माताले नपत्याएपछि आफैँले फिल्म ‘साङ्लो’ निर्देशन गरे। यसअघि कमब्याक हुनका लागि ‘जय पर्शुराम’ मा अभिनय नगरेका हैनन् तर चलेन। ‘साङ्लो’ले उनको डुब्दै गएको करिअरको ग्राफ उकास्नेमा शंकै छ।

कुरा मात्रै गर्ने निखिल
एक्सन स्टार निखिल उप्रेती पछिल्लो समय मौन छन्। २०७२ मा प्रदर्शनमा आएको ‘भैरव’लाई कतिले उनको सफल कमब्याक माने। निखिलकै निर्माण तथा निर्देशन रहेको ‘भैरव’पछि गरेका अधिकांश फिल्मले उनलाई पछाडि धकेलिदियो।

‘किङ’, ‘निर्भय’, ‘राधे’, ‘पिँजडा ब्याक अगेन’ बक्स अफिसमा नराम्ररी चिप्लिए। यी फिल्ममा निखिलले पनि खुबै मिहिनेत गरेका थिए। गीतमा हात हल्लाउनबाहेक केही नगर्ने निखिलले कमब्याकको आशमा ‘पिँजडा ब्याक अगेन’का गीतमा कम्मरसमेत मर्काए। तर दर्शकले न त उनको एक्सन रुचाए न नृत्य नै। त्यसैले लगातार तीन फिल्म बक्स अफिसमा फ्लप भयो।

त्यसपछि भने निखिललले ‘कमिटमेन्ट सिक्स्टी आवर’ निर्देशन गर्ने भनेर हल्ला गरेका थिए। फिल्ममा बलिउड कलाकारको अभिनय रहने कुरा पनि गरिएको थियो तर अब यो फिल्मको निर्माण बीचमै रोकियो। अब यसको बन्ने–नबन्ने कुनै छाँटकाँट छैन। त्यसपछि घोषणा गरेको ‘आयो भैरव’ कहिले बन्छ, त्यो त निखिललाई पनि थाहा छैन।

कमब्याकका लागि राम्रो फिल्म
हास्य कलाकार एवं पटकथाकार दीपकराज गिरी सफल कमब्याक कुरिरहेका कलाकारका लागि राम्रो फिल्म आवश्यक रहेको बताउँछन्। पछिल्लो समय दर्शकले स्टार भन्दा पनि ब्यानरमाथि विश्वास गर्न थालेकाले मै हुँ भन्ने कलाकारले राम्रो ब्यानरबाट कमब्याक गर्नुपर्ने उनको तर्क छ। अनमोल केसीको ‘क्याप्टेन’ फ्लप हुनुमा अनि त्यसमाथि ‘ए मेरो हजुर’ हिट भएको कारण देखाउँदै उनले अब राम्रो फिल्म नै कमब्याकका लागि चाहिने बताए।

‘अहिले फिल्म नै कमजोर भएको अवस्था छ,’ उनको भनाइ छ, ‘यस्तो समयमा कुनै स्टारले केही गर्न सक्दैन। दर्शकमा नेपाली फिल्म राम्रो बन्दैन भन्ने सन्देश पुगेको छ। अब जति नै स्टारले कमब्याक गरे पनि फिल्म राम्रो भएन भने प्रभाव पार्दैन। आर्यनले स्क्रिप्ट लेख्ने होइन। अरु कमब्याक चाहिरहेका हिरोले स्क्रिप्ट लेख्ने होइन। राम्रो फिल्म नबनेसम्म केही हुनेवाला छैन।’
दीपकराजका अनुसार त अब फिल्म राम्रो नबनाए, कसैले सफल कमब्याक गर्न सक्तैन। राम्रो फिल्म नबनेसम्म कमब्याक पर्खिरहेका कलाकारको भागमा पर्ने भनेको ब्याडलक मात्रै हो।

Leave A Comment