अनुवादको नाममा अपराध

शनिबार, २८ मङि्सर २०७६, ०१ : ४४ प्रजु पन्त
अनुवादको नाममा अपराध

हालै चिकित्सक डा. सन्दुक रुइतको अंग्रेजीमा प्रकाशित पुस्तक नेपालीमा अनुवाद भएर यतै छापियो। नायिका मनीषा कोइरालाको अंग्रेजीमा प्रकाशित पुस्तक नेपाली अनुवाद भएर आउने क्रममा छ।

यी मात्रै हैनन्, पछिल्लो समय अन्य भाषामा प्रकाशित पुस्तकको नेपालीमा अनुवाद गरेर प्रकाशन गर्ने होड नै चलेको छ। अनुवादको स्तर चैँ कस्तो छ त नेपालमा ? केही उदाहरण हेरौं।

डाक्टर पद्यप्रसाद देवकोटाले अमेरिकन प्लेराइट लोरेन ह्यान्स्बेरीको नाटक ‘रेजिन इन द सन’ अंग्रेजी पुस्तकलाई नेपालीमा अनुवाद गरे। उनले नेपालीमा अनुवाद गर्दा  पुस्तकको शीर्षक ‘किसमिसको बिस्कुन’ राखे।

कवि विप्लप प्रतीकले जसै अंग्रेजीमा यो नाटक पढे, ‘किसमिसको बिस्कुन’ शीर्षक कतैबाट सुहाउँदो पाएनन्। ‘अंग्रेजी पुस्तक गोरा र काला जातिको विभेदबारे छ, त्यसलाई प्रतीकात्मक अर्थ लाग्नेगरी प्रस्तुत गर्न शीर्षक राखिएको थियो,’ प्रतीकले भने, ‘बरु अंग्रेजी शीर्षकलाई नै देवनागरीमा लेखे हुन्छ तर कथाको मर्म मार्ने गरी अनुवाद गर्न त भएन नि !’  

अर्का सिद्धहस्त अनुवादक खगेन्द्र सङ्ग्रौलाले पनि ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’को अनुवादमा एक ठाउँमा चिप्लिए। अंग्रेजी ‘म्याग्जिन’ शब्दलाई उनले पढ्ने म्यागेजिनको रुपमा बुझे तर त्यो थियो, हतियारको गोली राख्ने म्याग्जिन। कतिले उनलाई उडाए पनि तर पछि सच्याए।

‘म्याग्जिनलाई पत्रिका भनेर अनुवाद गर्न  पुगेछु, हैट् त कुरो हतियारको रहेछ ! कवि हरि अधिकारीले मलाई झ्याप्पै पक्राउ गरे,’ लेखक खगेन्द्र सङ्ग्रौलाले २०७२ फागुन २१ को शुक्रबार साप्ताहिकमा  प्रकाशित अन्तर्वार्तामा स्वीकारे।

नेपाली पुस्तक अन्तर्राष्ट्रिय मञ्चमा पु-याउन अनि अन्य भाषामा प्रकाशित गहकिला पुस्तक नेपाली भाषीलाई पढाउने एक मात्रै उपाय अनुवाद नै त हो ! माथिका दुई उदाहरण काफी छन्, नेपालमा अनुवादको अवस्था दर्साउन।

नाम चलेका सिद्धहस्त अनुवादकले कन्टेनअनुसार भाव नबुझ्दा अर्थको अनर्थ लाग्ने गरी अनुवाद भएको नमीठो तथ्यले नेपालमा अनुवादको स्थिति बुझिने अनुवादक समाज नेपालका संस्थापक अध्यक्ष वसन्त थापा बताउँछन्। कच्चा अनुवाद गर्ने मात्रै हैन, अन्य भाषामा प्रकाशित पुस्तकको अनुवाद गरेर केही थपथाप गरेकै भरमा लेखक बनेकाहरु पनि प्रशस्तै भएको उनले दाबी गरे।

नेपाली साहित्यमा अनुवादको अवस्था राम्रो छैन। गुणात्मक अनुवादको त कुरै नगरौँ, संख्यात्मक रूपमा पनि हामी निकै नै कमजोर छौँ। विश्व साहित्यका उत्कृष्ट कृतिहरू नेपाली भाषामा अनुवाद गरी उपलब्ध गराउन सकिएको छैन।

उनको भाषामा यस्ता अनुवादक र लेखकले गरेका काम नेपाली साहित्यमा योगदान हैन, जघन्य अपराधै हो। ‘कथाको मूल मर्म नबुझ्ने नेपाली अनुवादकले पाठकमाथि जघन्य अपराध गरेका छन्,’ थापाले भने, ‘अनुवाद भनेको सिर्जनशीलता हो तर नेपाली पुस्तक बजारमा अनुवाद पुस्तकहरुको स्थिति कहालीलाग्दो छ। न त कुरोको चुरो छ, न त शैली र शिल्प नै छ। योभन्दा ठूलो अन्याय पाठकलाई के हुन्छ ?’

आत्मा मरेका अनुवाद
नेपाली पुस्तक बजारमा अंग्रेजी र हिन्दीबाट नेपालीमा अनुवाद भएका पुस्तकहरु छ्याप्छ्याप्ती छन्। नेपाली भाषामा राम्रो पकड नभएकाले पनि अनुवाद भएको पुस्तकको एक अंश पढ्नेबित्तिक्कै भाषामाथि कति अन्याय गरेको छ भन्ने त बुझिन्छ नै अझ। उक्त पुस्तकको सक्कलप्रति पढ्यो भने पाठकले आफू ठगिएको सहजै चाल पाउँछन्। थापा नेपालमा अनुवाद भएका ९९ प्रतिशत पुस्तकहरु कामै नलाग्ने बताउँछन्।

‘नेपाली बजारमा बिक्री भइरहेका पुस्तकका अनुवादकको हैसियत मलाई राम्रोसँग थाहा छ,’ थापाले भने, ‘मसँग एक न एक पटक अनुवादकहरु ठोक्किएकै हुन्छन्। तिनको अनुवाद मैले एक न एकचोटि हेरेकै छु। रहरले हुँदैन, क्षमता त हुन प-यो नि !’

कवि विप्लप प्रतीकले नेपालमा मूलकथाको आत्मा मारेर अनुवाद हुने गरेको बताउँछन्। ‘सबैभन्दा बढी अन्याय त बाङ्लादेशी लेखिका तसलिमा नसरिनको पुस्तकमाथि भएको छ,’ प्रतीकले भने, ‘विषयवस्तुको आत्मै मारेर अनुवाद गर्नु भएन।’

अझ कतिपयले त अनुवाद गर्ने भन्दा पनि अनुसार काटेर लेख्ने गरेको थापा र प्रतीकको मत छ। ठ्याक्कै लेखकले भन्न खोजेको कुरा नलेख्नु, आफूले कुरा थपाथाप गर्नु, छिटो पैसा कमाउने धन्दाले गर्दा अनुवाद भएका पुस्तकहरुको दुर्गति भएको उनीहरुको ठम्याइँ छ।  

अनुवादक समाज नेपालका अध्यक्ष भिक्टर प्रधान पनि नेपालमा अनुवाद हुने ९० प्रतिशत कृति विश्वास गर्न लायकको नभेटिने बताउँछन्। उनको मतअनुसार अपवादलाई छाडेर नेपालमा अनुवाद हुने पुस्तक धेरैजसो गैरकानुनी, गुणस्तरहीन छन्।

गैरजिम्मेवार अनुवादक
कवि विप्लव प्रतीक नेपालमा अधिकांश अनुदित भनेका पुस्तक अनुवाद नभई नेपाली भाषामा रुपान्तरण मात्रै भएको बताउँछन्।

आफूले अनुवाद गर्न खोजेको भाषा मात्र जानेर नहुने अनुवादक समाजका अध्यक्ष प्रधान  बताउँछन्। ‘जुन भाषाको अनुवाद गरिँदैछ त्यो भाषामा बढी दख्खल हुनुपर्छ,’ प्रधान भन्छन्, ‘भाषासँगै त्यहाँको संस्कार संस्कृति पनि बुझ्न आवश्यक हुन्छ।’

उनको भनाइलाई समर्थन गर्दै वसन्त थापा भन्छन्, ‘भाषा जान्दैमा अनुवाद गर्न जानिँदैन। हैसियत नपुगेकाहरुले अनुवाद गरेर पाठकमाथि जघन्य अपराध गरिरहेका छन्। पाठक ठगिरहेका छन्।’

अधिकांश अनुवादकले विषयवस्तु नै नबुझी अनुवाद भइरहेको प्रधान, थापा, प्रतीकसँगै लेखक हरि अधिकारीको पनि ठम्याई छ। अनुवाद गर्दा विषयवस्तु बुझ्नु र एउटै शब्दको धेरै अर्थ लाग्ने तर एक्सप्रेसनको आधारमा फरक अर्थ दिने शब्दमा ध्यान दिनुपर्ने हुन्छ तर भाषा रुपान्तरण भएका कृतिबाट एक्प्रेसन सहितको अनुवाद अपेक्षा गर्न नसकिने उनीहरुको बुझाइ छ।

वास्ता नगर्ने एकेडेमी     
खराब पुस्तक पनि विषभन्दा कम होइनन् तर बजारमा जस्तासुकै पुस्तक आऊन्,  सरकारलाई कुनै मतलब छैन। कस्ता पुस्तक निस्किएका छन्, त्यसको कुनै अनुगमन गर्ने  सरकारी निकाय छैन। नेपाल प्रज्ञा प्रतिष्ठानलाई बजारभरि छरिएका हानीकारक पुस्तकमा कुनै वास्ता छैन। प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती बजारमा जथाभावी अनुवादक पुस्तक निस्किएको भन्ने सुनेको बताउँछन्। ‘गैरजिम्मेवार तरिकाले पुस्तक अनुवाद भएको मैले पनि सुनेको छु,’ उप्रेतीले भने, ‘एकेडेमीले आफूले अनुवाद गरेका पुस्तकमा गुणस्तरमा ध्यान दिएको छ, निजी क्षेत्रले अनुवाद गरेकोमा हामीलाई अनुगमन गर्ने अधिकार छैन।’

अनुगमन गर्ने निकाय नहुँदा बग्रेल्ती अनुवाद भएका पुस्तकहरु प्रकाशित भइरहेका छन्। राम्रा अथवा नराम्रा पुस्तकले व्यक्तिको विकासमा धेरै प्रभाव पार्ने भएको हुँदा अनुगमन गर्ने निकाय हुनु पर्ने कवि विप्लव प्रतीक बताउँछन्। ‘अनुवाद गर्नेले अनुमति लिएको छ कि छैन, गलत छ कि छैन भनी अनुगमन गर्ने निकाय बनाउनुपर्छ,’ प्रतीक भन्छन्, ‘यही र यस्तै पाराले न हाम्रो साहित्य नै विश्वबजारमा पुग्छ, न त हामीले नै सत्य पढ्न पाइरहेका हुन्छौँ।’

कुन भाषाको अनुवाद बढी हुन्छ ?
अनुवादक समाज नेपालका अनुसार समाजसँग आबद्ध अनुवादकहरु ८० को हाराहारीमा छन् भने अंग्रेजीबाट नेपालीमा अनुवाद गर्नेहरु धेरै छन्।

लेखक हरि अधिकारीका अनुसार नेपाली कृतिहरू अनुवाद हुने प्रमुख भाषा पनि अंग्रेजी नै हो। अंग्रेजीपछि  हिन्दी दोस्रो भाषा र दुई चार नेपाली पुस्तक जापानी, फ्रेन्च र जर्मन भाषामा पनि रूपान्तरित भएका छन्।

प्रज्ञा प्रतिष्ठानकी अनुवादक प्रमुख उषा ठाकुरका अनुसार एकेडेमीसँग आबद्ध अनुवादकहरु सयको हारहारीमा छन्। त्यसमा पनि राम्रो अनुवाद गर्नेहरु २५ देखि ३० जनाको हाराहारीमा मात्र रहेको उनको धारणा छ।

नेपालमा अंगे्रजीबाट नेपाली, नेपालीबाट अंग्रेजी, नेपालकै विभिन्न जातजातिकै भाषाबाट नेपाली, नेपालीबाट अन्य भाषामा अनुवाद भइरहेका छन्। प्रधानका अनुसार अनुदित साहित्य भने गैरजिम्मेवार ढंगले अनुवादित भएका छन्।

स्तरहीन अनुवाद
हरि अधिकारी,लेखक


नेपालमा अनुवाद कृतिहरु कस्ता छन् ?
नेपाली साहित्यमा अनुवादको अवस्था राम्रो छैन। गुणात्मक अनुवादको त कुरै नगरौँ, संख्यात्मक रूपमा पनि हामी निकै नै कमजोर छौँ। विश्व साहित्यका उत्कृष्ट कृतिहरू नेपाली भाषामा अनुवाद गरी उपलब्ध गराउन सकिएको छैन। नेपाली साहित्यका कृतिहरू अंग्रेजी वा अरू भाषामा रूपान्तर गरी व्यापक पाठक समूहसम्म पठाउनेतर्फ पनि थोरै मात्र काम भएको छ। जति भएको छ, त्यो पनि स्तरीय छ भन्न सकिने स्थिति छैन।

स्रोत नै नखुलाई अनुवाद गर्ने प्रचलन छ, यस्तो गर्न मिल्छ ?
स्रोत नखुलाई वा कृतिको लेखक वा प्रकाशकसँग अनुमति नलिई कुनै पनि कृतिको भाषान्तर गर्न पाइँदैन। त्यसो गर्नु दण्डनीय अपराध हो।

कुनै लेखकको कृति अनुवाद गर्दा सम्बन्धित लेखक, प्रकाशकको अनुमति लिन पर्छ क्यारे, नेपालमा यस्तोे चलन छ कि छैन ?
नेपालमा अधिकांश अनुवादक र प्रकाशकले त्यस्तो अनुमति लिने गरेका छैनन् भन्ने मेरो आशंका छ।

सस्ता रुसी साहित्यको अनुवादले नेपालमा अनुवादको प्रभाव नराम्रो परेको भनिन्छ, हो ?
रुसी साहित्यको सस्तो खाले अनुवाद भएर नेपालमा अनुवादको स्थिति नराम्रो भएको हो जस्तो भन्ने लाग्दैन। रुसीबाट नेपाली अनुवाद गर्ने कृष्णप्रकाश श्रेष्ठ, जङ्गब चौहान आदिको काम राम्रै भएको छ।

नेपालमा अनुदित अथवा भावानुवाद कृतिलाई कत्तिको विश्वास गर्न सकिन्छ ?
नेपालमा अहिलेसम्म भएका अनुवादहरूमा दुई/चार लाई छोडेर सबैजसो स्तरहीन छन्।   साहित्यिक कृतिको सफल अनुवादक आफैँ पनि सिर्जनात्मक लेखनको पारखी हुनुको साथै मूल र अनुवाद गरिने दुवै भाषामा निपुण हुनुपर्ने हुन्छ। नेपालमा अनुवाद गर्न तम्सिएकाहरूमध्ये धेरैजसो शायद यी कसौटीमा राखेर हेर्दा उपयुक्त ठहरिंदैनन्।

नेपालका अनुवादकहरुलाई कत्तिको विश्वास गर्न सकिन्छ ?
मलाई हाल देखिएका र सक्रिय रहेका नेपाली अनुवादकहरूमध्ये ९० प्रतिशतको योग्यतामा विश्वास छैन।

अनुवाद हुनु कत्तिको ठीक हो ?
नेपाली पुस्तककहरू व्यापक पाठक समुदायमा पु-याउन अनुवाद मात्र एउटा उपकरण भएकोले अनुवाद त हुनै पर्छ।

सराकारी तवरबाट अनुवादको प्रयास कस्तो पाउनुहुन्छ ?
खेदको विषय, नेपाली भाषामा लेखिएका राम्रा कृतिहरूलाई अनुवादका माध्यमबाट विश्वका विशाल पाठक समुदायसम्म पु¥याउने दिशामा नेपालका अहिलेसम्मका कुनै  सरकारले पनि एउटा सिन्कोसम्म भाँचेको छैन। सरकारसँग यस मामिलालाई हेर्ने कुनै विभाग पनि छैन। यस शीर्षकमा सुको पनि गर्दैन सरकारले।

नेपालीमा अनुवाद गर्नेहरु जसले कथाको मर्म मारे, ती को हुन् त ?
प्रायः सबैले कमजोर अनुवाद गरेको देखिन्छ भने कसको नाम लिनु र ? मैले पढेकामा उल्लेख गर्नैपर्ने झुर अनुवाद भएका दुइटा किताब हुन्, डाक्टर पद्मप्रसाद देवकोटाले गरेको अमेरिकन प्लेराइट लोरेन ह्यान्स्बेरीको नाटक ‘रेजिन इन द सन’ र खगेन्द्र संग्रौलाले गरेको सत्यजीत रायका कथाहरूको संग्रह।

Leave A Comment