‘लाटीलाई पनि छोड्दैनन् यहाँ’

सोमबार, ३० मङि्सर २०७६, ११ : १० शुक्रवार
‘लाटीलाई पनि छोड्दैनन् यहाँ’

अभिनयकै कारण चिनिएकी कलाकार हुन्, केनिपा सिंह। छोटो समयमै उनले नाटक अनि फिल्मको दर्शकबाट आफ्नो अभिनयको प्रशंसा बटुल्दै आएकी छन्। दुई दर्जन नाटकमा अभिनय गरिसकेकी उनले पछिल्लो पटक फिल्म ‘साइँली’मा पनि अभिनय गरिन्। धेरैले फिल्ममा उनको भूमिकाको तारिफ गरे। उनको फिल्मयात्रा अनि नाटकका विभिन्न पात्रमाथि रहेर केनिपासँग शुक्रवारकर्मी रीना मोक्तानले गरेको अन्तरंग :

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले त खासै केही काम गरेकी छैन। सायद अब एउटा प्ले(नाटक) ‘भजाइना मनोलग’ लिएर छिट्टै दिल्ली जाँदैछौँ।

‘भजाइना मनोलग’को सबै सिरिजमा काम गर्नुभयो है ?
अँ, म सबै सिरिजमा थिएँ। पहिलो सिरिजमा ब्याक स्टेजमा बसेर काम गरेँ। त्यसपछिका सबै सिरिजमा स्टेजमै थिएँ।

सिरिजमध्यकै ‘प्राइभेट इज पोलिटिकल’मा त रंगकर्मीको यौन दुव्र्यवहारको अवस्था देखाउनु भएको थियो है ?
हो। ‘प्राइभेट इज पोलिटिकल’को मञ्चमा हामी नाट्यकर्मीकै भूमिकामा देखिएका थियौं। नाटक रिहर्सल गर्ने दृश्यबाट यौन दुव्र्यवहारको विषय हामीले उक्त मञ्चबाट प्रस्तुत गरिरहेका हुन्छौं। म एक नाट्यकर्मी नै बनेकी छु।

कस्तो फिडब्याक आयो ?
भइरहेको, देखिरहेको विषय नै प्रस्तुत गरेका थियौँ। त्यसमा देखाइएका सबै घटना सत्य नै हुन्। त्यसैले गाह्रो त धेरै नै भयो। त्यो गाह्रोतर्फ नजाऔं (मुसुक्क हाँस्दै)। फिडब्याक भने मिश्रित आयो। कति जनालाई मन परेन होला तर धेरै जनाले हामीलाई साथ दिनुभयो भने। धेरैले मन पराउनुभयो।

फिल्मतिर मोडिऊँ। ‘साइँली’मा गरेकोे कामदेखि कत्तिको चित्त बुझ्यो त ?
‘साइँली’को मेरो चरित्रलाई दर्शकले रुचाइदिनु भयो तर साँच्चिकै भन्नुपर्दा आफ्नै कामबाट म खुशी भइनँ। सायद अझै राम्रो गर्न सक्थेँ तर सोचेको जति गर्न नसकेकाले म आफू चाहिँ सन्तुष्ट छैन। स्क्रिप्ट मन परेर नै काम गरेकी थिएँ। अझै बेटर गर्न सकिन्थ्यो।   

फिल्मको अफर कसरी आयो ?
रामबाबु गुरुङ दाइ (निर्देशक)ले भेटुम भन्नु भयो। म उहाँको अफिस गएँ। उहाँले फिल्मबारे भन्नु भयो। स्क्रिप्ट मन प-यो । टिम पनि मन प-यो। निर्देशक गुरुङसँग त सधैँ नै काम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। सिनेमा आर्ट्स जस्तो ब्यानर थियो। मेरो अपोजिटमा दया दाइ (हाङ राई) हुनुहुथ्यो। मेनुका प्रधान अनि गौरव पहाडी पनि हुनुहुन्थ्यो। यस्तो राम्रो टिमसँग काम गर्न पाउनु त मेरो लागि ठूलै कुरा थियो।
 
दयाको अपोजिटमा काम गर्न कत्तिको सहज रहेछ ?
सुरुमा त म नर्भस थिएँ। अब दया दाइलाई त थियटरदेखि नै चिन्दै आएको। दाइसँग काम गर्दा धेरै सिक्न पाएँ। क्यामेरा एङ्गल थाहा थिएन। उहाँले मलाई धेरै सहज बनाइदिनु भयो। एकदमै हेल्पफुल हुनुहुन्थ्यो। दया दाइसँग कुनै सिन छ भन्यो भने म पहिल्यै आज दाइसँग सिन छ भनेर नर्भस भइसक्थेँ तर मेनुकासँग घुलमिल भइसकेकी थिएँ। ऊसँग त सुटिङमा छौँ जस्तो पनि लाग्थेन। सिक्ने समय थियो मेरो लागि ‘साइँली’।

‘साइँली’को लिड भूमिका देखेर आफूले गर्न पाए हुन्थ्यो भन्ने लोभ लागेन ?
मेरालागि ‘साइँली’ मेनुका प्रधान नै हो। मेनुकाबाहेक कुनै पनि आर्टिस्टले त्यो गर्न सक्छ जस्तो मलाई लाग्दैन। ‘साइँली’ बनेकै मेनुका प्रधानका लागि हो।

‘साइँली’पछि फिल्मको अफर त आयो होला नि ?
आ’को थियो। तर राम्रो डिरेक्टर, राम्रो टिमसँग काम गरिसकेपछि अलिकति चुजी भइँदोरहेछ। एक त म नाटकमै व्यस्त हुन्छु। पहिलो नाटक ‘जार’ गरिसकेपछि नै फिल्मको अफर आउँदा पनि गर्दिनँ नै भनेर बसेकी थिएँ तर ‘साइँली’को टिमले तान्यो। त्यसपछि मैले एउटा अर्को फिल्म ‘गाइड’ भन्ने गरेँ तर त्यसको सुटिङ बीचमै रोकियो। त्यसपछि चाहिँ मैले कुनै फिल्म साइन गरेकी छैन।

‘गाइड’ बन्छ कि बन्दैन त ?
अहिले रोकिएको मात्र हो। अब फेरि सुटिङ हुन्छ। यो फिल्मको सबै टिम इन्डियाको थियो तर फिल्म नेपाली भाषामा बनाइँदैछ।

हिजोआज त कुनै कलाकारलाई जस्तो भूमिकाका लागि रुचाइयो, त्यस्तै भूमिकाको अफर आएर हैरान हुन्छ। ‘साइँली’ गरेपछि कस्ता भूमिकामा बढी अफर आए  ?
त्यस्तै त्यस्तै हो। अलि सोझी क्यारेक्टर भनेपछि त्यस्तैमा अफर आउँछ। अब फिल्मको के कुरा ? मेरो नाटकको ग्राफले पनि त्यही त देखाउँछ ! त्यस्तै, त्यस्तै क्यारेक्टर बेसी छ। अलिकति सोझी खालको क्यारेक्टर भयो भने मलाई सम्झी हाल्नुहुन्छ। सायद ‘साइँली’ चाहिँ क्यारेक्टरबाट ब्रेक थियो। त्यसमा अलि छुच्ची क्यारेक्टर थियो। म पनि कहिलेकाहीँ आफ्नो नाटकको ग्राफ हेर्दा प्रश्न गर्छु, कुन चाहिँ नाटकमा म रोइनँ (हाँस्दै) ! हो, पछिल्लो पटक एउटै रोल मन पराइदिए त्यस्तै रोलको अफर आउने समस्या छ तर मलाई यो क्यारेक्टर ब्रेक गर्नुछ। प्रायः नाटकमा त म रोएकै हुन्छु। यस्तोसम्म भयो कि मेरो भाइले त ‘अबदेखि तेरो नाटक हेर्दिनँ, जुन पनि नाटकमा रोको छ, दिमागै खराब !’ भनेर हैरान पा-यो।

तपाईंलाई कस्तो भूमिका गरौँ जस्तो लाग्छ ?
कमेडी अनी भरपूर ह्यमुर भएको। किनभने मैले त्यस्तो क्यारेक्टरमा काम गरेकी छैन। कहिलेकाहीँ कुनै च्यालेन्जिङ क्यारेक्टर लाग्छ भने जति नै सानो भए पनि गर्छु। कहिलेकाहीँ फिल्म हेरिरहँदा त्यसले भन्दा पनि अर्को कुनै क्यारेक्टर दिमागमा छाप बस्छ। फिल्म हेरेर बाहिर निस्कँदा त्यस्तो क्यारेक्टरले हान्छ अनि मलाई त्यस्तो क्यारेक्टरले तानेपछि त्यस्तै क्यारेक्टर गर्न मन लाग्छ।

नाटक ‘लाटीको छोरो’मा तपाईँले निभाउनु भएको भूमिका गज्जब थियो। त्यो भूमिकालाई विश्वासिलो बनाउन कत्तिको मिहिनेत गर्नुप-यो ?
त्यो नाटकले मलाई धेरै पाटोमा छोएको छ। नाटकमा लाटीको भूमिका निभाएँकी थिएँ तर नाटक गर्नुअघि त मलाई त्यो लाइफ थाहा थिएन। कहिलेकाहीँ मञ्चमा लाटी देखाउनु प-यो भने मान्छेहरु भावभङ्गीमाबाट गरिदिन्छन्। सबै लाटीहरु त्यस्ता हुँदैनन्। नर्मल नै देखिने कति व्यक्ति पनि लाटी हुन्छन्। त्यो चिजलाई कसरी देखाउने त भनेर, भावभङ्गिबिना नै लाटीलाई कसरी पोट्रे गर्ने त भन्दा मेथोडबाट नै जाऊँ न त भन्ने सल्लाह भयो। त्यसपछि वर्कशप राख्यौं। मैले नुहाउन बन्द गरेँ किनभने  लाटीले नुहाउँदैनन्। उसलाई फोहोरमैला थाहा छैन। यो स्टोरी त बलात्कारमाथि आधारित थियो अनि मैले लाटीलाई अरुले कस्तो व्यवहार गर्दारहेछन् भनेर अनुभव गर्न खोजेँ। त्यो अनुभव नभएसम्म म त्यो पात्रलाई न्याय दिन सक्दिनँ भन्ने लाग्यो। म राति रत्नपार्क गएँ। त्यहाँ लाटी नै भएर बसेँ। मैले त्यो राति नदेखेको दुनियाँ देखेँ। म त काठमाडौंमा जन्मेको, मलाई त मेरै वरपरका कुरा पनि थाहा थिएन, यस्तो चिज पनि रहेछ भन्ने भयो। तीन रात मैले त्यसरी सडकमा लाटी भएर उसको जीवन अनुभव गरेँ।

रातभरि नै बस्नुहुन्थ्यो ?
८ बजेतिर जान्थेँ, अनि १/२ बजे घर फर्कन्थेंँ। पहिलो रात मैले एउटा राम्रो मान्छे नै भेटिनँ अनि मलाई त एकदम गाह्रो भयो। मैले केटा मात्र होइन, केटीबाट पनि अपशब्दहरु सुनेँ। उहाँहरुले मलाई अपशब्द भन्नुभयो।

कस्तो खालको रियाक्सन ?
एक जनाले मलाई हेरेर, यो केटी त लाटीजस्तो छ, राम्री छ भनेर भन्यो। अनि अर्को केटी आएर अब यसलाई आज राति आर्मीले छोड्दैन भन्यो। अनि उहाँहरु हाँसेर त्यो ठाउँबाट जानु भयो। उहाँहरु केटी भएर कसरी अर्को केटीको यस्तो कुरा गर्न सक्या होला भनेर मलाई हान्यो। अहिले पनि त्यो सम्झँदा सिरिङ्ग हुन्छ। एकजनाले एउटा केटीसँग डिल गर्दै थियो अनि म त्यहाँ उभिरहेकी थिएँ। त्यो केटीले त्यही लाटीसँग जा भन्यो। छ्या यस्तो लाटीसँग को जान्छ भनेर त्यो मान्छे त्यहाँबाट निस्कँदै थियो। मेरो छेउबाट भएर जाँदा त्यो केटाले हात मेरो छातीतिर सोझै लेरायो। मैले छल्दाखेरि त्यसको हात मेरो गर्दधनमा प-यो। अनि मैले त्यसलाई लाटीकै क्यारेक्टरमा यस्सरी झम्टेँ कि त्यो त तर्सेर भाग्यो। ट्याक्सी ड्राइभर त मैले एउटै पनि राम्रो भेटिनँ त्यो रात। अनि त्यो रात पुलिसहरु आएर स्कर्टिङ गर्नुभयो। हामीले हाम्रो वास्तविकता खुलाएर फर्कियौँ।

दोस्रो दिन पनि रत्नपार्क ?
अर्को दिन म मैतीदेवी साइडमा बसेँ। त्यहाँ चाहिँ राम्रा व्यक्तिहरु भेटेँ। नाटकमा हामीले यस्ता क्यारेक्टर पनि राखेका छौँ। मलाई भोक लागेको थियो। एउटा किराना पसलमा मैले खानेकुरा मागेँ। एउटा केटाले दिन लागेको थियो, उसकी श्रीमतीले रोकी। त्यतिबेला मलाई साह्रै चित्त दुख्यो। मेरो आँशु झ-यो। म त लाटी थिइनँ नि। नाटक पो गर्दै थिएँ त ! अनि लाटीलाई पनि तँ उता जा दिन्नँ भन्ने, खेद्न खोज्ने ! त्यही बेला मलाई कसैले बोलायो। फर्केर हेर्दा दुईजना केटाले मलाई दुई वटा जुस र बिस्कुट दिए। अनि मैले त्यो लिएर एउटा कुनामा गएर रुँदै खाएँ। त्यहाँ पनि पुलिस आयो। स्कर्टिङ भएपछि मैले आफ्नो पहिचान खुलाएँ। अनि त्यो केटाहरुले मलाई भन्यो ‘तपाईँलाई हामी २ घण्टादेखि स्कर्टिङ गर्दै छौँ’। १५ चोटी फोन गरेपछि अहिले पुलिस आयो। उनीहरुलाई त रिस उठ्यो नि त ! मैले नाटकका हरेक पात्रलाई यसरी सडकमा भेटेँ। काठमाडौं मलबाहिर बसिरहँदा पनि नराम्रा मान्छे भेटेँ। अनि निर्देशक सुलक्षण भारतीसँग यस्तै अनुभवहरुमाथि छलफल हुन्थ्यो। आम मानिसले सडकमा मलाई लाटी नै स्वीका-यो। मैले त्यसैलाई स्टेजमा उतारेको मात्र हो।

डर लागेन राती त्यसरी बस्न ?
लाग्यो नि ! केही केटाहरु त दाउ छोपेर बसिरहेका थिए। उनीहरु त्यस्तो नहुन पनि सक्छन् तर मलाई भित्रैबाट त्यस्तो अनुभव भइरहेको थियो। मलाई तिनीहरुले समात्दा समात्दै स्कर्टिङ गर्नेहरुले लिन आउन पाएनन् भने के होला भन्ने डर हुन्थ्यो।

क्यारेक्टर स्थापना गर्न यत्रो मिहिनेत लाग्छ है ?
अँ, कहिलेकाहीँ चाहिँ के लागि भन्ने पनि हुन्छ। फ्रस्टेट हुँदा, कति कुराहरु नहुँदा केको लागि यत्ति धेरै हत्ते गरिराछु भन्ने हुन्छ। ‘लाटीको छोरा’ मेरो मनमा बसेको नाटक हो। यसमा मेरो निर्देशक सुलक्षण भारतीको ठूलो भुमिका छ किनभने निर्देशकले एउटा आर्टिस्टबाट त्यो काम निकालेको हो। त्यसैले म त निर्देशक आफैँ कलाकार हो भन्छु। सायद त्यहाँ नगएको भए मैले यी सबै कुराहरु मिस गर्थें होला। लाटी भएर त्यो पीडा महसुस गर्न पाएँ। एउटा छोरी मान्छेलाई यो लाटी हो, सुस्त हो भनेर पनि हेरिँदैन रहेछ। उनीहरु मात्र शरीर चाहन्छन्। यो कुरा मैले ती तीन रातमा अनुभव गरेँ।

यसरी एउटा क्यारेक्टरका लागि रातबिरात बाहिर रहँदा परिवारको साथ सहयोग त हुन्छ नि ?
घरमा त ममीलाई टेन्सन हुन्छ नि ! म यसरी जाँदैछु भनेपछि त ममीको फोन आइरहन्छ। त्यसैले मैले दाइलाई भनेर जान्थेँ। मैले ममीलाई यो कुरा भनिनँ। बाँकी घरका सबैलाई थाहा थियो। मेरो परिवारले मलाई साथ नै दिनुहुन्छ।

क्यारेक्टरमा डुब्न यत्तिका मिहिनेत गरेको कलाकारलाई त मूलधारे फिल्मले पात्रलाई न्याय नदिएको देख्दा चित्त बुझ्दैन होला है ?
क्यारेक्टर भनेको स्वीच अन एन्ड अफको कुरा हो। त्यो त अभ्यास नै हो। मिहिनेत त  आर्टिस्टले गरेको नै हुन्छ। टेक्निकल पक्षले कति ठाउँमा प्रभाव पारिरहेको हुन्छ। दयाहाङ राई, मेनुका प्रधान अनि लक्ष्मी बर्देवाले त मिहिनेत गरिरहेकै देख्छु। मुख्य कुरा त कलाकार इमान्दार भएर काम गर्नुपर्छ। एउटा क्यारेक्टरलाई आफैँले विश्वास गर्नुप-यो। कतिले अनमोल केसीलाई एक्टिङ गर्न आउँदैन भन्छन्। होला उनले एक्टिङ गर्दैनन् होला  तर उनी मलाई इमान्दार एक्टर हुन् भन्ने लाग्छ। किनभने उनमा आफ्नो क्यारेक्टरलाई लिएर इमान्दारिता छ नि ! उनले जति त्यो क्यारेक्टरलाई गर्छन्, त्यति त गरेकै छन् नि ! त्यो इमान्दारिता मलाई मनपर्छ। उनी सलमान खान या साहरुख खान बन्न खोजिरहेका छैनन्। उनी आफू जे हो, अनमोल केसी, त्यही भइरहेका छन्। कतिपय मूलधारे कलाकारले पनिे आफ्नो पात्रलाई न्याय दिन खोज्छन्।

कसरी नाटकतिर भविष्य देख्नुभयो ?
स्कुलदेखि नै गुरुकुलमा नाटक हेर्न जाँदा मन सधैँ नाटक गर्ने रहर हुन्थ्यो। स्कुलको नाटकमा भाग पनि लिन्थेँ, रमाइलो लाग्थ्यो। नाटकमा कसरी जाने आइडिया नै थिएन। तर नाटकमा रुचि भने थियो। अनि मैले फेसबुकमा मण्डला थिएटरमा कलाकार लिँदै हुनुहुन्छ भनेर थाहा पाएँ अनि गएँ। अडिसनमा सेलेक्ट पनि भएँ। पहिलो नाटक ‘जार’ गरेँ, त्यसको लिड क्यारेक्टर ‘ठूली’ गरेँ। जार राम्रै हिट भयो। सोहरु थपिए। त्यसपछि मेरो नाटकको यात्रा सुरु भयो। ५/६ वर्षअघि मेरी मामु पनि ‘जार’ हेर्न आउनु भएको थियो अनि मामु त दर्शकदीर्घामा बसेर रुनु भयो। म स्टेजबाटै मामु रुनुभएको सुन्थेँ, म त ड्रिस्ट्र्याक्ट हुन्थेँ ! अर्को नाटक पनि रुवाउने नै थियो। त्यसपछि मैले ममीलाई नाटक हेर्न नै बोलाउन छाडेँ।

नाटक र फिल्मको अभिनयमा के फरक रहेछ ?
माध्यम मात्रै फरक हो। क्यारेक्टरमा त काम गर्नै प-यो। फिल्ममा रिटेकको फाइदा हुन्छ। थिएटरमा त मञ्चमा गएर एउटा जीवन बाँचेर म फर्किन्छु, फिल्ममा पनि त्यो लाइफ बाँचिन्छ तर ब्रेक भएर।

‘साइँली’मा कत्ति रिटेक लिनुभयो नि ?
दया दाइसँगको दृश्यमा १० भन्दा बढी नै टेक लिएँ होला कि ! (हाँस्दै)  

नाटक गरेर बाँच्न सकिन्छ ?
सकिँदैन। कहिलेकाहीँ नाटकबाट पैसा नै आइदिँदैन। जो व्यक्ति नाटकबाटै बाँच्नुपर्छ, त्यो पक्षबाट हेर्दा गाह्रै छ। त्यसैले त थिएटर कलाकार फिल्म अनि म्युजिक भिडियो गरिरहेका हुन्छन्। कहिलेकाहीँ नाटक गर्दा आर्टिस्ट नै पाइँदैन तर तिमी कुन कुरालाई प्राथमिकता दिन्छौ भन्ने पनि हो। मलाई सोध्नु भयो भने म अलिकति कुरामा पनि चित्त बुझाउन सक्छु नि ! बरु अहिले नाटकले पनि राम्रै कमाउन थालेको छ।

फिल्ममा हिरोइन बन्ने मन कत्तिको छ ?
हिरोइन नै बन्छु अनि क्यारेक्टर आर्टिस्ट बन्छु भन्ने छैन तर कुनै फिल्मबाट च्यालेन्जिङ क्यारेक्टरको अफर आए त्यो गर्छु।

Leave A Comment