नाटक दृष्टि : भुसको आगो, निर्देशक चुक्दा खल्लो

सोमबार, ३० मङि्सर २०७६, ११ : २७ प्रजु पन्त
नाटक दृष्टि : भुसको आगो, निर्देशक चुक्दा खल्लो

‘स्वास्नीमान्छेका लागि प्रजातन्त्र कहिले नै पो आएको छ र ? जता पनि थिचेकै छ, मेरो झगडा पर्छ ऊसित मेरो श्रीमानसित। म भन्छु, तपाईं त्यत्तिका वर्ष झ्यालखानामा बसेर ल्याएको प्रजातन्त्र त्यतिका मान्छे मरेर भएको प्रजातन्त्र। प्रजातन्त्र नै कहाँ भयो र ? निर्धा थिचिएकै छन् मिचिएकै छन् क्यारे ! गरिबगुरुवा भोकभोकै छन्। स्वास्नीमान्छे निर्धाे भोट दिने अधिकार भएर मात्रै के गर्नु घरमा परतन्त्रै छ क्यारे !’               

माथिको संवाद नाटककार गोविन्दबहादुर मल्ल गोठालेको नाटक ‘भुसको आगो’को हो। गोठालेले यो नाटक २०१७ सालअघि लेखेका थिए। नाटक लेख्दा त्यतिबेला नेपालका प्रधानमन्त्री बिपी कोइराला थिए भन्ने नाटकमा प्रसारित समाचारले थाहा हुन्छ।

शारदा (चाँदनी शाह) नाटककी प्रमुख पात्र उर्मिला (सृष्टि आचार्य) को घर पुगेको बेला भनेको माथिको संवाद उहिलेको झैँ लाग्दैन। अहिलेझैँ नै लाग्छ।

भान्छामा सुरु भएर भान्छामै सकिने नाटकले चुलोचौकामा सीमित महिलाको जिन्दगीलाई प्रतीकात्मक अर्थ दिएको देखिन्छ।  नेवारी परम्पराअनुसार सजिएको छ भान्छा। २०१३/०१६ तिरको भान्छाझैँ माटोको चुलो, टुकी बत्ती, घैला, बस्ने मेच, खाट, चरेसका थाल, करुवा पिर्का अनि हाकुपटासी र भाङ्ग्रा सुरुवाल लगाएका महिलाको दृश्यले तत्कालीन समाजको संस्कृति मञ्चमा उतार्न मिहिनेत गरिएको देखियो।

रातोपुलस्थित शैली थिएटरमा मञ्चन भइरहेको नाटक नवराज बुढाथोकीले निर्देशन गरेका हुन्। आठ जना महिला पात्र समेटिएको नाटकको प्रमुख पात्र कलाकार सृष्टि आचार्य (उर्मिला) छिन्। अश्मिता खनाल (उर्मिलाकी बज्यै), निमा पाण्डे (नानी छोरी,  उर्मिलाकी आमा), सगुन पोखरेल (सरिता उर्मिलाकी सौताकी छोरी र फूपुकी छोरी) पोखरेलको दोहोरो भूमिकामा छिन्।

चाँदनी शाह (शारदा र रीता, उर्मिलाकी साथी र बहिनी) पनि दोहोरो भूमिका छिन् भने सरस्वती अधिकारी (राधा, उर्मिलाकी फुपूकी छोरी) को भूमिकामा छिन्। पुरुष भूमिका नेपथ्यमा निर्भिक भट्टराई (श्याम ) र सुवास सुवेदी (हीरालाल) छन्।

नाटककी प्रमुख पात्र उर्मिलाको विवाह भइसकेको हुन्छ तर उनी श्रीमानको घरमा बस्न पाउँदिनन्। माइतमा आएपछि श्रीमान् लिन नआएसम्म माइतमै बस्ने नेवारी संस्कारअनुसार उर्मिला श्रीमानको घर जान पाएकी छैनन्।

छोरीको घर नभएपछि उनकी आमा नानीछोरीले उर्मिलालाई  पढाउँछिन्। क्याम्पसबाट समयमै घर नआइपुग्दा छोरी कुनै केटासँग पो लागी कि भने आशंकाले उर्मिलाकी आमालाई पिरोल्छ तर यो शंका राधालाई बाहेक कसैलाई भन्दिनन्।

बज्यैलाई उर्मिलालाई क्याम्पस पठाएको फिटिक्कै चित्त बुझ्दैन। त्यसका बाबजुद उर्मिला महिला संघको कार्यक्रममा र क्याम्पस जान छुटाउँदिनन्। यो नाटकमा श्रीमानले धोका दिएकी उर्मिला र श्रीमान् मरेपछि घरबाटै निकालिएकी राधाको मनस्थितिलाई राम्रोसँग प्रस्तुत गरिएको छ।

उर्मिला श्रीमान् ज्युँदै छँदा पनि उसको नजिक हुन नपाउनु, श्रीमान्ले अर्काे विवाह गरेर पहिले आफूलाई छोएजस्तै सौतालाई पनि छोयो होला भन्ने कल्पना गर्न पनि सकस हुनु, क्याम्पसबाट आउँदा श्रीमान् बाटोमा देखिदा ख्याउटो अनुहार देखेर माया लाग्नु, अन्य लोग्नेमान्छेले हेरे पनि आफूले वास्ता नगर्नु जस्तो मनोभावानाबाट गुज्रेकी छन् उनी।

उर्मिलाकी फुपूकी छोरी बनेकी राधा श्रीमान्को निधनपछि सर्वश्व सकिएको भन्दै दर्शकलाई नै दिक्कै लाग्ने गरि ‘ऊ भएको भए’ भन्ने वाक्य दोहोराइरहेकी हुन्छिन्। नानीछोरी उर्मिलाकी आमाको बेचैनी, छोरीप्रतिको चिन्ताले आहत हुन्छिन्। विवाह भएकी छोरी माइत बस्दा हुने बेचैनीलाई उनले अभिनयमार्फत सशक्त रुपमा देखाएकी छन्।

नाटक हेर्दा प्रस्ट हुन्छ, ६० वर्षको बीचमा पनि महिलाको सवाल जहाँको त्यहीँ छ। राष्ट्रप्रमुख महिला भए, तर समाजमा गढेको पितृसत्ताको जरो उखेलिएको छैन अझै।
महिलाप्रतिको समाजको दृष्टिकोण, विवाहेत्तर सम्बन्ध, यौन स्वतन्त्रतामा ०१७ र ०७६ मा केही भिन्नता छैन।
०००

नाटककार गोठालेको कृतिलाई मञ्चमा उतार्न निर्देशकले निकै मिहिनेत गरेका छन्। मञ्चको सजावट र पात्रको भेषभूषामा विशेष ध्यान दिइएको छ। कलाकारको अभिनय छ्या भन्नुपर्ने अवस्थाको छैन। त्यसमा पनि विशेष सरस्वती अधिकारीले अब्बल भूमिका निभाएकी छन्।

तर लवजमा निर्देशक नराम्ररी चुकेको देखियो। जसै नाटकका पात्र सक्रिय हुन थाल्छन्, त्यतिबेला नाटकका दृश्य र लवजबीच मेल खाँदैन। पृष्ठभूमि र विषयवस्तु २०१७ अघिको भएकाले मञ्चमा त्यो समय देखाउन निर्देशकले गरेको मिहिनेत पात्रमा देखिएन। दृश्य ६० वर्ष पुरानो, परिवेश पनि उहिलेकै तर संवाद शैली अहिलेको हुँदा अलि खल्लो देखियो नाटक। जोखिम उठाउन डराउँदा मञ्च साजसज्जा र पात्रको भेषमा गरिएको मिहिनेत खेर गयो।

Leave A Comment