चिसोको चस्का

मङ्गलबार, ०१ पुष २०७६, ११ : ५७ उपेन्द्र खड्का
चिसोको चस्का

जाडो बढेसँगै सिभिल अस्पतालमा छालाको समस्या लिएर पुग्ने बिरामीको संख्या बढेको छ। सिभिल अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रविन्द्र शर्माले जाडो मौसममा छालाको सुख्खापन, एलर्जीलगायत समस्या निम्त्याउने छालासम्बन्धी समस्या लिएर बिरामी अस्पताल पुग्ने गरेको सुनाए।  

एस्ठेभा स्किन क्लिनिककी छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवालीकहाँ जाडो सुरु भएसँगै छालाको समस्या लिएर पुग्ने बिरामीको संख्या बढ्छ। विशेषगरी बालबालिका तथा पाको उमेर समूहका व्यक्ति छालाको समस्या लिएर उनीकहाँ पुग्छन्। ‘बालबालिका र पाको उमेरका व्यक्तिको छाला कोमल र कमजोर हुन्छ,’ डा. ज्ञवाली भन्छिन्, ‘जसका कारण यो उमेर समूहका व्यक्तिमा छालाको समस्या बढी निम्तिन्छ।’ उनले कतिपय बिरामी त छालाको समस्याले अनुहारको सुन्दरता बिग्रिएर तनावग्रस्त बिरामीसमेत आउने गरेको सुनाइन्।

यस्तो अनुभव डा. शर्मा र डा. ज्ञवालीको मात्रै छैन। छालारोग तथा सौन्दर्य विशेषज्ञ डा. जेबिना लामाकहाँ पुग्ने बिरामीको संख्या पनि कम हुन्न। डा. लामा भन्छिन्, ‘जाडो मौसम सुरु भएसँगै छालाको समस्या लिएर उपचार गर्न आउनेको संख्या बढ्छ।’ जाडो मौसममा हुने छालाका अन्य समस्या त छँदैनन्। अनुहारमा हुने खस्रो तथा फुस्रोपनजस्तो समस्याको तनाव लिएर डा. लामाकहाँ उपचार गर्न पुग्नेको संख्या जाडोसँगै बढ्छ।

चिसोको चस्का
जाडो मौसममा हावासमेत चिसो हुन्छ। अर्कोतर्फ हावामै पानीको मात्रा कम हुन्छ। जाडो मौसममा चिसो हावा तथा न्यून आद्रता(लो ह्युमिडिटी) जस्ता कारणले छालामा पानीको मात्रा घट्न गई छाला सुख्खा तथा खस्रो हुने समस्या बढ्ने डा. शर्मा बताउँछन्। चिसोका कारण छालाको एलर्जी हुन्छ। जाडो मौसममा छाला चिलाउने, फुस्रो तथा खस्रो हुने, एलर्जी, बालबालिकाको गाला फुट्ने, कपाल, नाकको खोँच, आंँखिभौंको बीच भागमा बढी चायापोतो पर्ने, कत्ला निस्कने, नङमा असर हुनेजस्ता समस्या हुन्छन्। चिसोमा देखापर्ने यस्ता समस्या विशेषगरी ‘एक्जिमा’ र ‘सोरियासिस’जस्ता छालाका दीर्घ तथा वंशाणु समस्या हुन्। डा. शर्माले भने, ‘विशेषगरी घुँडादेखि कुर्कुच्चासम्म छालामा कत्ला निस्कने, फुट्ने समस्या पाको उमेरका व्यक्तिमा बढी देखिन्छ।’ यस्तो समस्या बढ्दै जाँदा इन्फेक्सनको जोखिम हुने चिकित्सक बताउँछन्।

चिसोका कारण हात–खुट्टाका औँला दुख्ने, सुन्निने, निला, रातो हुने तथा चिलाउनेजस्ता समस्या हुन्छन्। जसलाई चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’ भनिन्छ। विशेषगरी चिसो पानी धेरै खेलाउने व्यक्ति तथा गृहिणी, बाथ रोगको समस्या भएका व्यक्तिलाई यस्तो समस्याले बढी सताउने चिकित्सक बताउँछन्। ‘चिसोका कारण हात–खुट्टाका रक्तनली सुक्ने हुँदा राम्रोसँग रक्तप्रवाह हुन्न,’ डा. लामा भन्छिन्, ’त्यसैले यस्तो समस्याबाट बच्न चिसोबाट जोगिन आवश्यक हुन्छ।’

त्यति मात्रै हैन जाडो मौसममा विभिन्न किसिमका एलर्जीसमेत देखिन्छन्। यसरी जाडोको एलर्जी हुने व्यक्तिमा छाला सुख्खा हुन्छ। जाडोमा आगो, हिटर ताप्नाले छालाको चिल्लोपना कम हुन गई छाला सुख्खा हुने समस्या आउने डा. ज्ञवाली बताउँछिन्। चिसो र शरीरमा पानीको मात्रा कम हुँदा हात–खुट्टा फुट्ने समस्या हुन्छ। कपडाको एलर्जीका कारणसमेत छाला चिलाउँछ। पसिनाबाटै पानीको मात्रा शरीर बाहिर जान्छ भन्ने हुन्न। नदेखिने किसिमले निस्किरहेको हुन्छ। जसले छाला सुख्खा हुन्छ। त्यति मात्रै हैन दम रोगको समस्या हुने व्यक्तिको समेत छाला सुख्खा हुने चिकित्सक बताउँछन्।

सिभिल अस्पतालका फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा.कमल शर्मा लम्सालका अनुसार थाइरोइड, सुगर, रक्तचापजस्ता रोगले पनि छालामा समस्या निम्तिन्छ। थाइरोइडको समस्या भएका व्यक्तिमा छाला फुस्रो हुन सक्छ। ‘सुगरको समस्या भएका व्यक्तिमा घाउ चाँडै निको नहुने, छाला पातलो हुनेजस्तो समस्याले सताउँछ,‘डा लम्साल भन्छन्, ‘विशेषगरी जाडो मौसममा छाला सुख्खा हुने भएकाले यस्ता समस्याले बढी सताउँछ।’ जाडो मौसममा ढुसीको समस्यासमेत हुन्छ।

जाडो मौसममा शरीरबाट पसिना तथा चिल्लो पदार्थ निकाल्ने ग्रन्थीले प्रभावकारी ढंगले काम नगरेको खण्डमा छालामा सुख्खापन भई छालासम्बन्धी विभिन्न समस्या निम्तिन सक्ने चिकित्सक बताउँछन्।

चिसोका कारण डाबर निस्कने समस्यालाई चिकित्सकीय भाषामा ‘कोल्ड अर्टिकेरिया’ भनिन्छ। बाथको कारणसमेत यस्तो समस्याको जोखिम हुन्छ। पहाडी भेगमा यो समस्यालाई ‘जाबे’का नामले चिनिने गरेको छाला तथा यौनरोग विशेषज्ञ डा. शर्माले बताए।

जाडो मौसममा नुहाउन अल्छी गर्दा किटाणुका कारण लुतोको जोखिम त्यत्तिकै हुन्छ। त्यसैले नियमित नुहाउन आवश्यक हुन्छ।
यति मात्रै नभएर हिउँका कारण औंला कुहिनेलगायतका समस्या हुने चिकित्सक बताउँछन्।

धेरै घाम घातक
जाडो मौसममा घाम असाध्यै प्यारो हुन्छ। न्यानोका लागि धेरै बेर घाम ताप्नाले छालामा घामको समेत एलर्जी हुने डा. लामा बताउँछिन्। जसलाई चिकित्सकीय भाषामा ‘फोटो डर्माटाइटिस’ भनिन्छ। धेरैबेर घाममा बस्दा घाँटी, छाति, निधार, हातजस्ता सिधै घाम पर्ने ठाउँमा छाला रातो हुने चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने भएकाले घाम ताप्दा सजगता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। गर्मी मौसममा बढी गर्मी हुने भएकाले घामबाट बच्ने कोसिस गर्ने तर जाडोमा बढी घाम तापिने भएकाले छालासम्बन्धी  समस्याको जोखिम हुन्छ।

यसरी बच्न सकिन्छ
विशेषगरी जाडो मौसममा छालालाई स्वस्थ तथा सफा राख्न नसकिने भने हैन। जाडो मौसममा कोठासमेत सुख्खा हुने भएकाले कोठा सुख्खा हुनबाट बचाउन ‘ह्युमिडि फायर’ मेसिनको प्रयोग गर्न सकिन्छ। ‘यो मेसिनले पानीको बाफ फाल्ने भएकाले हावामा पानीको मात्रा पुग्छ,’डा. लामाले भनिन्, ‘जसले छालामा पानीको मात्रा कम हुनबाट बच्न सकिन्छ।’

त्यसैले विशेषगरी जाडो मौसममा छालालाई बाहिरी वातावरणबाट बचाउन आवश्यक हुन्छ। चिसोबाट बच्नका लागि घाम, आगो, हिटर ताप्नाले छाला रुखो हुने तथा छालामा हुने चिल्लोपनाको कमीले सुख्खापनको समस्या बढ्छ। सौन्दर्य विशेषज्ञ डा. लामाका अनुसार धेरै तातोपानीले नुहाउँदा छालामा भएको पानीको मात्रा उडेर जाँदा छाला अझ बढी सुख्खा हुने भएकाले मनतातो पानीले नुहाउनु उचित हुन्छ। लामो समय लगाएर नुहाउँदा छालामा समस्या निम्तिने भएकाले छिटोछिटो नुहाउनुपर्छ। डा. शर्मा भन्छन्, ‘दस मिनेटभन्दा बढी समय लगायर नुहाउनु हुन्न।’ नुहाउँदा नरम साबुनको प्रयोग गर्न उनको सुझाव छ।  

नुहाइसकेपछि छाला सुख्खा हुन नदिन पाँच मिनेट भित्रैमा मोश्चराइजरको प्रयोग गर्न उनको सुझाव छ। मोश्चराइजर तथा लोसन, क्रिम प्रयोग गर्नाले छालाबाट पानीको मात्रा उडेर जान पाउँदैन।

छाला धेरै सुख्खा हुन नदिन नरिवल, बदाम, ओलिभओयलजस्ता तेल प्रयोग गर्न छाला रोग तथा सौन्दर्य डा. ज्ञवालीको सुझाव छ। सकभर तोरीको तेल प्रयोग गर्न नहुने छालारोग विशेषज्ञ बताउँछन्।

शरीरलाई एलर्जी गराउने पदार्थबाट सधैं टाढा रहनुपर्छ। डा. शर्माका अनुसार भिटामिन ‘डी’ को सप्लिमेन्टसमेत प्रयोग गर्न सकिन्छ। चिसो पानीबाट बच्नुपर्छ। बाक्लो तथा न्यानो कपडा लगाएर छालाको समस्याबाट बच्न सकिन्छ।

यो मौसममा छाला रुखो तथा सुख्खा हुने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्ने छालारोग विशेषज्ञको सुझाव छ। छालामा यस्ता समस्या बढ्दै गए हेलचेक्र्याइँ गर्नु हुन्न। छालारोग विशेषज्ञको सल्लाह लिनु नै उपयुक्त हुन्छ।

Leave A Comment