बोसो पगाल्ने सौना

बुधबार, ०२ पुष २०७६, ११ : २० शुक्रवार
बोसो पगाल्ने सौना

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

व्यक्ति विभिन्न उपाय अपनाएर शारीरिक तथा मानसिकरुपमा फिट हुन चाहन्छ। फिट रहने विभिन्न उपायमध्ये एक हो, सौना। सौना लिएको खण्डमा शारीरिकरुपमा फिट हुन त सकिन्छ नै छालामा चमकता आउने भएकाले सुन्दर बन्नसमेत सहयोग पुग्छ। विशेषगरी सहरी क्षेत्रमा सौना लिन पाइन्छ। विशेषगरी शारीरिक व्यायाम कम हुने व्यक्ति तथा अफिसियल काम गर्ने व्यक्तिका लागि यो उपयोगी हुन्छ।

यसरी लिइन्छ, बाफ
सौना लिने विधि हुन्छ। सौना लिनका लागि सबैभन्दा पहिले सौना काठ बनाइन्छ। नेपालमा सल्लाको काठ सहजरुपमा पाइने भएकाले यसै काठको सौना बनाएको पाइन्छ।

सौना लिनका लागि तयार पारिएको कोठा तताउने मेसिन हुन्छ। सौना गर्ने कोठाभित्र एउटा बक्स राखिन्छ। बक्स भित्र राखिएको स्टिम रडले सौना कोठामा ताप दिएपछि तात्दै जाँदा सौना कोठाभरि बाफ फौलिन्छ। बाफ भने तातो र सुख्खा किसिमको हुन्छ।

करिब ९० डिग्रीसम्मको तापक्रम हुने गरी मेसिनजडित स्टिम रडले सौना कोठा तताइन्छ। यसरी मेसिनले सौना बाथरुम (सौना कोठा) तताउँदा तापक्रम स्वचालित (अटोमेटिक) रुपमै सन्तुलित रहन्छ। मेसिनले सौना कोठा तातिसकेपछि सौना बाथ लिइन्छ।

अब, तातो र सुख्खा बाफ भएको कोठामा सौनाका लागि छिरिन्छ। तातेको कोठाभित्र छिरेपछि ढोका बन्द गरिन्छ। सौना कोठाभित्र बस्दा तातो र सुख्खा बाफले शरीरमा पसिना निस्कन्छ।

बक्स भित्र राखिएको रडलाई चिसो पार्न र बाफ निकाल्नका लागि केही मिनेटको अन्तरालमा पानी हालिन्छ। यसरी पानी हाल्नाले कोठामा बाफ निस्कने भएकाले अक्सिजनको मात्रामा कमी हुन पाउँदैन। त्यसैले करिब ५/१० मिनेटको अन्तरालमा पानी हालिन्छ।

कोठामा नांगै
कोठाको साइजअनुसार सौनाभित्र व्यक्ति बस्न मिल्छ। एउटा सौना कोठामा करिब ६ जनाले एकै पटक सौना लिन मिल्छ। कोठा ठूलो भए धेरै जना व्यक्ति पनि बस्न मिल्छ।

सौना लिन सौना कोठा भित्र छिर्दा सामान्य कट्टु वा डिस्पोजेबल कट्टु लगाउन सकिन्छ। तौलिया बान्न सकिन्छ। तर सामान्यतः नांगै सौनाबाथ लिनु शरीरलाई लाभदायक हुन्छ।

लुगा लगाएर बाफ लिँदा कपडा लगाएको शरीरको भागमा आवश्यक ताप नपुगी पसिना निस्कँदैन। यसरी पसिना ननिस्किँदा सौना बाथ प्रभावकारी हुन्न। टाउकोमा भने भिजेको चिसो रुमाल राख्नु उचित हुन्छ।

भित्र–बाहिर
सौना कोठामा करिब १० मिनेट बस्नु उपयुक्त हुन्छ। १० मिनेट सौना कोठाभित्र बसेपछि वाहिरी वातावरणमा आराम गर्न निस्कनु पर्छ। सौना कोठा बाहिर आराम गर्ने ठाउँको व्यवस्था गरिएको हुन्छ।

करिब १० मिनेट आराम गरेपछि चिसो पानीले नुहाउनु पर्छ। १०/१० मिनेटको अन्तरालमा ३÷४ पटक सौना कोठाभित्र बस्दै बाहिर निस्किएर नुहाउने चरण पार गर्न करिब एक घण्टाको समय लाग्छ। एक घण्टामा एक दिनको सौना कोर्स पूरा हुन्छ। एक महिनामा दुई पटक सौना लिनु उचित हुन्छ। नेपालमा एकपटक सौना बाथ लिँदा करिब एक हजार खर्च हुन्छ।

धेरै नलिएकै बेस
हप्तामा एक पटक सौना लिएको खण्डमा एक महिनामा करिब दुई किलो तौल घटाउन सकिन्छ। दैनिक आधा किलो तौल घठटाउनु स्वाभाविकै भए पनि, त्यो भन्दा बढी घटाउने उद्देश्यले धेरैपटक सौना लिँदा शरीरमा नकारात्मक असर पुग्छ। अस्वाभाविक रुपमा शरीरको तौल घटाउँदा शरीरमा प्रोटिन, भिटामिन, चिल्लोलगायत शरीरलाई आवश्यक पोषक तŒव ह्वात्तै घट्ने भएकाले व्यक्तिलाई रोग लाग्ने सम्भावना हुन्छ। त्यति मात्रै हैन अनावश्यकरुपमा तौल घटाउने किसिमले आवश्यक भन्दा बढी सौना लिँदा व्यक्ति बिहोस हुने जोखिम हुन्छ।

तुरुन्तै नखाऔँ
सौना बाथ  गर्दा शरीर रहेको पानीको मात्रा पसिनाको माध्यमबाट बाहिर जान्छ। जसले शरीरमा पानीको मात्रा कम हुन्छ। शरीरमा पानीको मात्रा कमी हुन नदिनका लागि सौना कोठामा पस्नु अघि प्रशस्त पानी पिउनु पर्छ। प्रत्येक पटक बाहिर आराम गर्न निस्कँदा एक गिलास पानीमा एक दानो कागती निचोरेर आधाचम्चा बिरेनुन घोली पानी पिउनु पर्छ। यसरी बिरेनुन, कागती, पानी पिउनाले शरीरबाट पसिनामार्फत बाहिर निस्किएको नुनिलोको मात्रासमेत पूर्ति हुन्छ। जसले शरीरलाई पुनः ताजकी गराउन सहयोग पुग्छ। सौना कोठै भित्रसमेत यसरी कागती–पानी पिउन सकिन्छ।

सौना लिनु एक घण्टा अघि र सौना लिएको एक घण्टापछि कडा किसिमको खाना खानु हुन्न। खाना खाएर तुरुन्तै सौना लिँदा तथा सौना लिइसक्ने बित्तिकै खाना खाँदा पाचन प्रणालीमा गडबडी भई झाडापखाला तथा बान्ताको जोखिम हुन्छ।

सौनाले स्लिम र फिट
मोटो व्यक्तिले त सौना लिएर मोटोपन घटाउन सकिन्छ नै दुब्लो–पातलो व्यक्ति समेत स्वस्थ र मजबुत रहन सकिन्छ। सौना लिँदा सौना कोठाभित्रको तातो र सुख्खा बाफले सौना लिने व्यक्तिको छाला फुलेर पसिना शरीर बाहिर निस्कन्छ। बाहिर निस्किएर चिसो पानीले नुहाउनाले छाला खुम्चन्छ। छाला फुल्ने र खुम्चने प्रक्रियाका कारण शरीर तथा छालामा भएका विकार तत्व शरीर बाहिर जान्छन्।

सौना गर्नाले छाला तथा शरीरका मांशपेशी खुम्चने र फुल्ने प्रक्रिया हुन्छ। जसका कारण शरीरमा भएका विकार तत्व तथा अनावश्यकरुपमा रहेको बासो पसिनाका माध्यमबाट शरीर बाहिर निस्कन्छ। सौना गर्नाले शरीरमा अनावश्यक तथा भद्दारुपमा रहेको बोसो त घट्छ नै। सौना लिनाले शरीरको कुनै एउटा विशेष भागको मात्रै नभई समग्र शरीरकै बोसो पग्लिन्छ। जसले व्यक्तिको शरीर स्लिम त हुन्छ नै शारीरिकरुपमा मजबुत भई स्फुर्ती आउँछ। समग्र शरीरको तौल नै सन्तुलित रहन मद्दत पुग्छ।

छालाभित्रको फोहोर पसिनाको माध्यमबाट शरीर बाहिर निस्कने भएकाले छालासम्बन्धी समस्या निम्तने जोखिमबाट छुट्कारा पाउन सकिन्छ। छालाभित्रका मांशपेशी मजबुत हुन्छन्। पसिनाको माध्यमबाट फोहोर बाहिर निस्किएपछि छालाभित्रका कोषिका खुल्छन्। जसले रक्त सञ्चार सहज भई सम्पूर्ण शरीरमा आवश्यक पोषण तत्व राम्रोसँग पुग्छ। जसले शरीर मजबुत हुन सहयोग पुग्छ।

सौना लिनाले हाडजोर्नीको समस्या तथा बाथको समस्याबाट छुट्कारा पाउन सकिन्छ। हाडजोर्नीको दुखाइ कम हुनुका साथै प्यरालाइसेस् (पक्षघात)को जोखिमबाट बच्न सकिन्छ।

अनावश्यक बोसोको मात्रा घट्ने तथा शरीरिक व्यायमसमेत पुग्ने भएकोले हृदयाघात, पक्षघातजस्ता समस्याबाट बच्न सकिन्छ। सौनाको तातो हावाले गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, चिसो लाग्ने, रुघाखोकीजस्ता समस्याबाट पनि बच्न सकिन्छ।

कतिपय अवस्थामा मेसिनको गडबडीले तापक्रमको सन्तुलनमा गडबडी हुनसक्छ। मिटरमै तापक्रमको इंगित हुन्छ। मिटर तलमाथि भए सजग हुनुपर्छ। यस्तो अवस्थामा छाला पोल्ने तथा सौना बाथको कोठानै जल्ने जोखिम हुन्छ। कोठाभित्र काठ हुने भएकाले जल्न सक्छ। यस्तो आपतकालीन अवस्थामा तापदिने मेसिनको स्विच अफ गरी कोठा बाहिर निस्कनु पर्छ।

सबैले नलिऔँ
सामान्यतः वयस्क व्यक्तिले सौना लिनु उचित हुन्छ। विशेषगरी ३० देखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिनु प्रभावकारी हुन्छ। पाको उमेरका व्यक्तिले चिकित्सकको सल्लाहमा मात्रै सौना लिनु उचित हुन्छ। बालबालिकाको छालामा नकारात्मक असर पर्ने जोखिम हुने भएकाले बालबालिकाले सौना लिनु राम्रो हैन। 

त्यसैगरी रक्तचाप, मुटु रोग, श्वासप्रश्वास, दीर्घरोगजस्तो समस्या भएका व्यक्ति सौना कोठामै बिहोस हुने जोखिम भएकाले यस्ता व्यक्तिले चिकित्सकको सल्लाहमा मात्रै सौना लिनुपर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment