कमेडी च्याम्पियन : सेक्सकै वरिपरि कमेडी

बिहिबार, ०३ पुष २०७६, १२ : ५५ शुक्रवार
कमेडी च्याम्पियन : सेक्सकै वरिपरि कमेडी

कमेडीसम्बन्धी पहिलो रियालिटी सो दाबी गरिएको कमेडी च्याम्पियन सातौँ एपिसोडमा पुग्दा टप टेनमा प्रवेश गरिसकेको छ तर प्रतिस्पर्धीले हँसाउने खुराक सेक्सकै वरिवरि घुमिरहेको छ। अहिले प्रतिस्पर्धीहरु टप वनका लागि भिडिरहेका छन्। तर कमेडीको खुराक सेक्सभन्दा माथि उठ्न भने सकेको छैन। जसका कारण कतिपय प्रतिस्पर्धीलाई जजहरुले ‘यो त फेमिली सो हो’ भनेर सम्झाउनुपर्ने अवस्थासमेत आयो।

जजहरुले पटक–पटक प्रतिस्पर्धीलाई सेक्स कन्टेन्टबारे ध्यान दिन आग्रह गरिरहेकै हुन्छन् तर प्रतिस्पर्धीहरुले कतै न कतै घुसाइहाल्छन्। प्रतिस्पर्धी गणेश राईले ब्लास्ट हुनेवाला त मेरो जवानी छ भन्दै महिलाको भेषमा दर्शक रिझाउने प्रयास गरे। उनले जज मनोजलाई उठाएर दुई चोटी बिहे गर्नुभएको त छैन नि भन्दै उडाएका थिए। उनले ट्राफिकलाई समेत सटाएर हाने पनि जजहरु त्यत्ति रमाउन सकेनन्। जज प्रदीपले केटीको गेटअप राम्रो भए पनि कन्टेन्ट चित्त नबुझेको बताए। जज ऋचाले प्रस्तुति पहिलाको भन्दा खस्केको प्रतिक्रिया दिइन्।

अर्का प्रतियोगी क्षितिज केसीको प्रस्तुति ठिकठिकै देखिएको थियोे। उनको पफर्मेन्स जजहरुले उत्ति मन पराएनन्।

आदर्श मिश्रको प्रस्तुति भने यसपालि जमेको देखियो। उनले बाउछोराको सम्बन्ध, बाल्यकाल, अंग्रेजी र नेपालीमा सम्बोधनको फरकपन हस्यौलीमा पस्केका थिए। आदर्शले कन्टेन्ट राम्रो ल्याएको भन्दै जजहरु खुसी भए।

विष्णुप्रसाद गौडेलले सार्वजनिक बसको यात्रालाई मूल खुराक बनाएका थिए। बसका चालक र सहचालकको गर्ने व्यवहार, बसमा चढ्ने महिला यात्रु प्रतिको धारणालाई स्थानीय पारामा प्रस्तुत गरेर दर्शक र जजहरुको मन जिते।

स्टार पर्फमर मानिएका प्रतियोगी प्रनेश गौतम यसपालि पनि चिप्लिए। उनले दोहोरो अर्थ लाग्ने नेपाली शब्दलाई मुख्य खुराक बनाएका थिए। अधिकांश अश्लील शब्दलाई रचनात्मक बनाउन खोजे पनि उनको प्रस्तुति जमेन। जज मनोजले आश लाग्ने प्रतिस्पर्धी भनेर फुरुक्क पारे। जज सन्तोषले सानो कुरालाई पनि घुमाएर प्रस्तुत गरेको भन्दै मिहिनेत गर्न सुझाव दिए। प्रदीपले मुख नछाड्न सुझाव दिए। यस्तो खालको प्रस्तुतिमा ‘अकवाड’ अवस्था आउने भन्दै उनलाई कमेडी सो फेमिली सो भएको भन्दै जज ऋचाले सम्झाइन्। कैलाश कार्कीको पफर्मेन्स राम्रै थियो। साजन श्रेष्ठले आफन्तलाई हास्य खुराक बनाए पनि केही फिक्का थियो।

सुमनले तताए माहोल
सातौँ एपिसोडमा जज ऋचा उपस्थित भइनन्। विवाह पछिको व्यस्तताले उनी कार्यक्रममा आइनन्। सातौँ एपिसोडको पहिलो प्रस्तुति गर्न सञ्जु कटुवाल आइन्। उनले प्रनेशलाई पुराना कन्टेन्ट दोहो-याएको भन्दै उडाइन्। आरक्षणको कोटालाई मुख्य इस्यु बनाउँदै अन्य प्रतिस्पर्धीलाई उडाइन्। अनि पालो आयो, जजहरुको ‘आज ऋचाजी हुनुहुँदोरैनछ, जुनसुकै पोस्टमा पुगे पनि छोरी मान्छेको भूमिका त्यही हुने रै’छ’ भन्दै उडाइन्। जज मनोजलाई करोडौं खर्चिएर पात जोक्स किनेको भनेर उडाइन् भने जज सन्तोषलाई रीमाजस्ती हिरोइन लिएर फिल्म बनाउन थालेको भनेर उडाइन्। जजहरुले उनको प्रस्तुति मन पराए।

हिमेश पन्तले मेडिकल शिक्षालाई व्यंग्य गरेर रमाइलो माहोल बनाए। उनले पनि भित्री अङ्गको कुरा अलि कम गर्न सुझाव पाए जजहरुबाट। सुमन कोइरालाको प्रस्तुति ठिकठिकै देखियो। सातौँ एपिसोडमा आएका प्रनेश गौतमले छैटौँ एपिसोडको प्रस्तुति भन्दा अलि सुधारेका थिए। कामेश्वरबाट रामेश्वर भएकोमा उनले शुभकामना पाए जज प्रदीपबाट।

अमोग अर्यालको प्रस्तुतिको कन्टेन्ट ठिकै भए पनि प्रस्तुति भने जमेन। उनी बढी नै नर्भस देखिएका थिए। सुमन कार्कीले सुन्दरी प्रतियोगितालाई व्यङ्ग्य बाँण हाने। उनले जजको रुपमा ऋषि धमलाको क्यारिकेचर गरेर माहौल जमाए। लाइफ ड्यामेज बाबाको क्यारिकेचर पनि जमेको थियो। जज सन्तोषले कार्यक्रमको सबैभन्दा राम्रो प्रस्तुति भनेर प्रशंसा गरे भने अन्य जजले पनि उनलाई रुचाए।

Leave A Comment