तानाशाहले रोपेको विष

शुक्रबार, ०४ पुष २०७६, ११ : ०९ शुक्रवार
तानाशाहले रोपेको विष

तानाशाह आफू शक्तिमा हुन्छ अरुलाई झुण्ड्याउँछ, जब ऊ शक्तिहीन हुन्छ आफैँ झुण्डिन्छ। पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको हकमा पनि यही भयो। सैनिक बलको भरमा सत्तामा पुगेर निरंकुश बनेका उनले आफ्ना विरोधीलाई विभिन्न बहानामा झुण्ड्याए। सत्ताच्युत भएर शक्तिहीन भएपछि झुण्डिने पालो उनकै आयो।

पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वका अहमल सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिमको बेन्चले देशद्रोहको मुद्दाको सुनुवाई गर्दै उनलाई मृत्युदण्डको सजाय सुनाइसकेको छ।

कुनै समय उनै मुर्सरफले अदालतलाई प्रयोग गरेर आफ्नो गैरकानुनी कामलाई वैधानिक बनाएका थिए। आज उनी त्यही अदालतबाट दोषी ठहर हुँदै मृत्युदण्डको लायक भए।

मुसर्रफको सत्ता यात्रा सन् १९९९ को अक्टोबरबाट शुरु भएको थियो, सैन्य विद्रोहमार्फत। उनले सैनिक विद्रोह गराएर सत्ता हातमा लिएपछि उनको निरंकुश शासन शुरु भएको थियो। सन् २००१ को जुनमा उनले सैन्य प्रमुखको हैसियतमै आफूलाई पाकिस्तानको राष्ट्रपति घोषणा गरेर शक्तिशाली भए। सन् २००२ को अप्रिलमा जनमत संग्रह गराएर पाँच वर्षका लागि राष्ट्रपति बनेका थिए। उनको जनमत संग्रह विवादित भए पनि उनले सन् २००७ को चुनाव जितेका थिए।

तर उनले गराएको चुनावबारे सर्वोच्चमा मुद्दा दायर भएपछि पाकिस्तानमा संकटकाल लागू गरेर मुख्य न्यायाधीश इफ्तिखार चौधरीलाई हटाउँदै नयाँ न्यायाधीश नियुक्त गरेर चुनावलाई संवैधानिक बनाए।

तर सन् २००८ मा मुशर्रफ राष्ट्रपति पदबाट राजीनामा दिन बाध्य भएसँगै उनको ओरालो यात्रा शुरु भएको थियो। जुन ओरालो यात्रा सन् २०१९ मा पुग्दा मृत्युदण्डसम्म पुग्यो।

मृत्युदण्ड मानवताविरोधी अपराध हो। तापनि केही देशले यसलाई अझै कानुनी मान्यता दिइनैरहेका छन्। शासकले आफूअनुकूल यो अधिकारको उपयोग गरेर आफ्ना विरोधी सक्काउँछ। कहिले उनीहरु यही मानवताविरोधी कानुनको शिकार बन्छन्।

हिजो सत्तामा रहँदा मुर्सरफले यही कानुनको दुरुपयोग गरे। आज उनी यही कानुनको फन्दामा परे। अहिले उनी दुर्लभ रोग लागेर दुबईमा उपचाररत छन्। जीवनमरणको दोसाँधमा रहेकै बेला मृत्युदण्डको सजाय सुन्नुप-यो। जे रोपेका थिए, त्यही फल फल्यो।

जति बलियो होस्, तानाशाहको अन्त्य सुखद् पक्कै हुँदैन। पटक पटक पुष्टि भइरहेको यो आहान मुसर्रफको यात्राले समेत यही देखायो। लोकतन्त्रको आवरणमा तानाशाही सत्ता सञ्चालन गर्ने अभ्यासप्रति लालायितहरुको आँखा कतै यो घटनाले खोल्छ कि !

Leave A Comment