प्रतिमानको विस्थापन

शुक्रबार, ०४ पुष २०७६, १२ : १५ प्रकाश जंग थापा
प्रतिमानको विस्थापन

यथास्थितिमा रहनु प्रतिगमनको बाटो समाउनु हो। यसबाट जीवन परिवर्तन हुँदैन। एक प्रतिशत सम्भावना पनि छैन। जीवनमा आमूल परिवर्तन ल्याउन प्रगतिको बाटो हिँड्नु पर्छ। यसमा कुनै सम्झौता हुन सक्दैन। कुनै पनि किसिमको बहानाबाजीका लागि स्थान छैन।

अधिकांश मानिस जीवनमा परिवर्तन ल्याउन चाहन्छन्। नयाँ परिणाम र अनुभूतिको खोजीमा हुन्छन्। जीवनमा अघि बढ्ने र केही बनेर देखाउने उत्कट इच्छा पनि राखेका हुन्छन्। सबै इच्छाहरु पूर्ति हुँदैनन्। रहरमा सीमित हुन्छन्। इच्छा परिपूर्ति गर्न निरन्तर काममा व्यस्त रहे पनि अपेक्षित परिणाम आउँछ भन्ने छैन। अपेक्षित परिणाम प्राप्त हुन नसकेको अवस्थामा जीवन परिवर्तनको सुनिश्चित त हुँदैन। जीवनस्तर उस्तै रहेपछि सन्तुष्ट हुन सकिने सवाल नै भएन। अस्तव्यस्तता र निराशा चरमबिन्दुमा पुग्छ। यो केवल सामान्य मानिसको जीवनमा मात्र लागू हुने होइन। निकै बौद्धिक एवं क्षमतावान् मानिसको जीवनमा पनि उत्तिकै लागु हुन्छ। अध्ययन र शैक्षिक स्तरको कुरा गर्ने नै हो भने कम्तीमा डिग्री सकेका हुन्छन्। कतिपयले पिएचडी गरेका हुन्छन्। यद्यपि उनीहरुको शिक्षा उच्चस्तरीय भए पनि उनीहरुले प्राप्त गर्ने परिणाम निम्न स्तरीय हुन्छ। जसकारण जीवन परिवर्तन हुँदैन। दयनीय जीवन बाँच्न बाध्य हुन्छन्। सिधा भन्नुपर्दा असफल मानिसको वर्गमा समाहित हुन पुग्छन्। यस्तो नहुने कुरा ! यो कसरी सम्भव छ ? तपाईँ–हामी सबैमा शंका मिश्रित जिज्ञासा उत्पन्न हुनसक्छ। यसको उत्तर हो, प्याराडाइम सिफ्ट अर्थात् प्रतिमान विस्थापन गर्न नसक्नु।

प्रतिमान के हो ? यो कसरी विकास हुन्छ ? यसले मानिसको जीवनमा कसरी प्रभाव पार्छ ? यी यावत् विषयमा बुझ्न अन्तर्राष्ट्रिय लेखक तथा पब्लिक स्पिकर बब प्रोक्टरले आफ्नो सेमिनारमा आकर्षणको नियमबारे बोल्ने क्रममा प्रयोग गर्ने एउटा चित्रको सहायता लिउँ। चित्रले मानिसको पूरा शारीरिक बनावट प्रतिविम्बित गर्छ। चित्रमा ठूलो गोलाकार मस्तिष्कको प्रतिविम्ब हो भने सानो गोलाकार शरीरको। मानवीय मस्तिष्कलाई दुई भागमा विभाजन गर्न सकिन्छ।

एक, सचेत मस्तिष्क। सचेत मस्तिष्क चिन्तनशील मस्तिष्क हो। सोच–विचार गर्न, शिक्षा लिने क्रममा साथै छनोट प्रक्रियामा यही मस्तिष्कको क्रियाशीलता बढी हुन्छ। कुनै पनि सूचना, सोच, विचार अथवा धारणा स्वीकृत गर्न वा त्यसलाई पूर्ण रुपमा अस्वीकृत गर्न सचेत मस्तिष्कको ठूलो भूमिका हुन्छ। कुनै व्यक्तिबाट नयाँनयाँ विचारहरु निरन्तर आउनुको अर्थ हो, उसको सचेत मस्तिष्क निकै सक्रिय छ। त्यसैगरी बुद्धिमताको तत्वहरुः कल्पनाशीलता, अन्तरज्ञान, तार्किक क्षमता, इच्छाशक्ति, स्मृति र अनुभूति सचेत मस्तिष्कले नै निर्धारण गर्छ।
दुई, अवचेतन मस्तिष्क। अवचेतन मस्तिष्क भावनात्मक मस्तिष्क हो। यस प्रकारको मस्तिष्कले वास्तविकता र काल्पनिकताको अन्तर पहिल्याउन सक्दैन। यसर्थ यस मस्तिष्कले कुनै पनि सूचना, सोच, विचार अथवा धारणा अस्वीकृत गर्ने क्षमता राख्दैन। कुनै पनि अवस्थामा स्वीकृति जनाउनुभन्दा अर्को विकल्प हुँदैन।

बालक अवस्थामा अवचेतन मस्तिष्क खुला रहन्छ। यस अवस्थामा सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन। बालकले वातावरणबाट जे जति सुन्छ, जे जस्तो दृश्य देख्छ, जे अनुभूत गर्छ त्यसैलाई विश्वास गर्छ। कुनै सेन्सर गर्दैन। अनि त्यसकै आधारमा एक खाले विचार, आदर्शको विकास गर्छ। त्यसैलाई प्याराडाइम अर्थात् प्रतिमान भनिन्छ। प्रतिमानले शारीरिक ऊर्जाको लहर निर्धारण गर्छ। यही ऊर्जाले तपाईँको स्वभाव निर्धारण गर्छ, जसको प्रत्यक्ष प्रभाव परिमाणमा देख्न सकिन्छ। यतिमात्र होइन, प्रतिमानले तपाईँ के कुरा आकर्षण गर्न सक्नुहुन्छ त्यसको पनि निर्धारण गर्छ। बच्चा अवस्थामा विकास भएको प्रतिमान जीवनभरि परिवर्तन हुँदैन। प्रतिमान परिवर्तन नहुनु भनेको शरीर ऊर्जाशील नहुनु हो। अपेक्षित परिणाम ल्याउन नसक्नु हो। धन, स्वास्थ्य र खुसी आफूतर्फ आकर्षित गर्न असक्षम हुनु हो। समग्रमा भन्नुपर्दा यथास्थितिमा जीवनयापन गर्न बाध्य हुनु वा जीवन परिवर्तन गर्न असफल हुनु हो। प्रायः व्यक्ति आफ्नो प्रतिमान परिवर्तन गर्न प्रतिबद्ध हुँदैन। बचपनको आदर्श त्याग्न सक्दैन। हरेक वर्ष एउटै प्रकृतिको परिणाममा रमाउँछ। जसकारण उसको जीवन कहिल्यै परिवर्तन हुँदैन। चाहे शैक्षिक स्तर जेसुकै होस्।

सचेत मस्तिष्कले पाँच ज्ञानेन्द्रियको प्रयोग गरेर विभिन्न सूचना, सोच, अवधारणाहरु प्राप्त गर्छ। ती सकारात्मक नकारात्मक दुवै हुन सक्छन्। जब यी सूचना, सोच र अवधारणाहरु सचेत मस्तिष्कमा निरन्तर सम्प्रेषण गरिन्छ, केही चरणको विश्लेषणपश्चात अवचेतन मस्तिष्कमा प्रवेश हुन्छ। अवचेतन मस्तिष्कमा बच्चा हुँदा नै प्रतिमान विकास भइसकेको हुन्छ। यस्तोमा सचेत मस्तिष्क हुँदै आएको सूचना, सोच र अवधारणाहरु बच्चा अवस्थामा विकास भएको प्रतिमानसँग मिलान हुन सक्दैन। यही कारण हो, नयाँ विचार सुन्दा हास्यास्पद लाग्ने, विश्वास गर्न नसकिने र असहज महसुस हुने। शरीरमा ऊर्जाको लहर उत्पन्न हुन सक्दैन। अर्को शब्दमा भन्नुपर्दा शरीर कत्ति पनि ऊर्जाशील हुन सक्दैन। ऊर्जाविहीन शरीरले कुनै कार्य गर्न सक्दैन। कार्यमा भावनात्मक रुपमा जोडिन सकिँदैन। फलस्वरुप अपेक्षित परिणाम प्राप्त हुँदैन। भनाइको मतलब जीवन परिवर्तन हुँदैन। त्यसैले सोच परिवर्तन गर्दैमा उल्लेख्य सफलता प्राप्त हुँदैन। सर्वप्रथम प्रतिमान परिवर्तन वा विस्थापन गर्नैपर्छ। त्यसपछि मात्र जीवन परिवर्तन हुन्छ। प्रतिमान विस्थापन गर्न निम्न रणनीति अपनाउन सकिन्छः

(क) सकारात्मकतालाई प्राथमिकतामा राख्ने
नकारात्मक धारणाले शरीरमा नकारात्मक ऊर्जाको लहर उत्पन्न गराउँछ। यस्तो अवस्थामा गरिएको कार्यले उपयुक्त परिणाम दिँदैन। त्यसैले उपयुक्त परिणाम प्राप्त गर्नको निम्ति सकारात्मक धारणाको विकास गर्नोस्। जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सकारात्मक हुनोस्। अनावश्यक प्रतिक्रिया दिने गल्ती नगर्नोस्। हरेक क्षेत्रमा सकारात्मकताको खोजी गर्नोस्।

(ख) सूचनाको स्रोत फिल्टर गर्ने
सूचनाका स्रोतहरु अत्यधिक छन्। राष्ट्रिय पत्रपत्रिका, रेडियो, अनलाइन मिडिया, सामाजिक सञ्जाल, टेलिभिजन आदि सूचनाका प्रमुख स्रोतहरु हुन्। यी तमाम स्रोतहरु तपाईँको ध्यान खिच्न डिजाइन गरिएका हुन्। सबै स्रोतमार्फत आएका सूचनाप्रति ध्यान दिन सकिँदैन। कतिपय सूचनाका स्रोतहरु त आवश्यक नै पर्दैनन्। सबैमा ध्यान दिनु भनेको समयको बर्बादी हो। त्यसैले आफूलाई उपयुक्त लाग्ने सूचनाको स्रोत मात्र फलो गर्नोस्। अरु अनावश्यक स्रोत फिल्टर गर्नोस्।

(ग) विविध क्षेत्रको अध्ययन गर्ने
अहिलेको आधुनिक जमानामा सीमित ज्ञान हासिल गर्नु मुर्खता हो। सीमित ज्ञानले सीमित अवसर दिलाउँछ। जसकारण उपलब्धि पनि सीमित हुन पुग्छ। एउटै क्षेत्र, विषयगत अध्ययन गरेमा त्यही क्षेत्र, विषयगत ज्ञान मात्र प्राप्त हुन्छ। संसारमा के चलिरहेको छ, त्यसबारे कुनै जानकारी हुँदैन। त्यसैले ज्ञानको दायरा फराकिलो बनाउनु बुद्धिमानी मानिन्छ। यसका लागि विविध क्षेत्रका र विषय बारेमा अध्ययन गर्नोस्। उदाहरणार्थ विज्ञान विषयमा मात्र महारत प्राप्त हुनुहुन्छ भने दर्शनशास्त्र, समाजशास्त्र लगायत राजनीति शास्त्रमा पनि रुचि राख्नोस्। बजारमा उपलब्ध हुने सबै पुस्तक पढ्नोस्। यसले तपाईँमा समग्र बुझाइको स्तर बढाउँदै लान्छ। आफ्नै आदर्श विपरीत जानसमेत उत्साह मिल्छ।

Leave A Comment