पोखरामा लिटरेचर फेस्टिभल : मञ्च एक, बहस अनेक

शुक्रबार, ०४ पुष २०७६, ०१ : २१ मनोज घर्तीमगर
पोखरामा लिटरेचर फेस्टिभल : मञ्च एक, बहस अनेक

कुनै बेला नेपाल (राजकीय) प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय गोष्ठीलाई नै साहित्य महोत्सव मानिन्थ्यो। आजभोलि त्यस्ता साहित्य गोष्ठी र महोत्सव हुँदैनन्, ‘लिटरेचर फेस्टिभल’ हुन्छन्। नाम र शब्दले मात्रै फरक छैनन् यस्ता फेस्टिभल, गरिने तौरतरिकामै नयाँपन छ।

साहित्यको व्यापारीकरणसँगै अहिले निजी क्षेत्र पनि साहित्य महोत्सवमा सक्रिय हुन थालेका छन्। हरेक महिना कहीँ न कहीँ, कुनै न कुनै नाममा साहित्य महोत्सव भइरहेकै हुन्छन्।

गत साता साहित्यमय हुने पालो पायो पोखराले।  बुकवर्म फाउन्डेसनले हरेक वर्ष गर्ने ‘नेपाल लिटरेचर फेस्टिभल’ पुनः पोखरा आइपुगेको थियो। चार दिन चलेको पाँचौं संस्करणको फेस्टिभल अन्तक्र्रियात्मक र विदेशी लेखकको उपस्थितिले रोचक बनेको थियो। फेस्टिभलमा लेखक, विषयविज्ञ दर्शक, पाठकवर्गसँग आमनेसामने भएको अन्तक्र्रिया र ओजिला बहसले धेरैको मन छोयो।

फेस्टिभलमा साहित्यसँगै मनोरञ्जन, समाज, राजनीति, संस्कृति, पत्रकारिता क्षेत्रबारे पनि गहकिलो बहस भयो। महोत्सवमा नेपाल र भारतका चर्चित लेखक, कवि, समाचोलक, पत्रकार अनि नयाँ पुस्ताका युवाको बाक्लो उपस्थिति थियो। महोत्सवमा ३८ सेसनमा भएका बहस र अन्तक्र्रियाले साहित्य, सिनेमा, समाज, संघीयता, समानता, लोकगीत, राजनीति सबैलाई छोएको थियो।

मञ्च एक, बहस अनेक
महोत्सवको सुरुवातमा पूर्व अर्थमन्त्री एवं नागरिक अगुवा देवेन्द्रराज पाण्डेको विद्वत्प्रवचन थियो। उनले ‘लोकतन्त्रको विकास र सार्वजनिक दायित्व’ शीर्षकमा प्रवचन दिए। महोत्सवको पहिलो सेसन ‘लेक रहे पो लेकसाइड’ मा देवेन्द्रराज लामिछाने, किशोर थापा, विश्वप्रकाश लामिछाने र गणेशबहादुर भट्टराईले लेकसाइडको कथा व्यथा बताए।

लेकसाइडको छलफलमा वक्ताबाट आएको ‘ढलको पानी फेवामा, फेवाको पानी दालमा’ भन्ने भनाइले फेवामाथिको बढ्दो अतिक्रमण र त्यसले पोखरावासीको स्वास्थ्यमा पारिरहेको नकारात्मक प्रभाव झल्काएको थियो।  

महिला हिंसामा केन्द्रित भएर ‘समानताको लडाइँ’ शीर्षकमा चन्द्र भद्रा, भारती सिलवाल गिरी, बिन्दा पाण्डे र अमित ढकालले छलफल गरे। साहित्यकार अमर न्यौपाने र रोचक घिमिरे हास्यव्यङ्ग्य : भैरव अर्याल मीमांसा शीर्षक सेसनमा गफिएका थिए।

‘संघीयताको सकस’ मा टीकाराम यात्रीसँग प्राध्यापक कृष्ण खनाल र संविधानविद् भीमार्जुन आचार्यले छलफल गरे। तीर्थ श्रेष्ठ, मणि काफ्ले, ज्योति जंगल र अक्षर काकाको ‘काव्यिक आन्दोलन’ को बहसले सहभागीको मन जितेको थियो।

लोकगीतको बदलिँदो स्वरुपबारे ‘लोकगीत कि लोकप्रियता’ सेसनमा सञ्चारकर्मी नारायण अमृतसँग गायक हरिदेवी कोइराला, प्रकाश सपुत र झुमा लिम्बूले छलफल गरेका थिए। लोकगीतको आफ्नोपन र वर्तमानमा यसमा आएका परिवर्तन र अहिलेका कतिपय विकृतिविसंगतिप्रति रचनात्मक बहस भएको थियो यो सेसनमा। हिजोको पुस्ताको प्रतिनिधित्व गरेकी गायिका हरिदेवी र अहिलेको पुस्ताको प्रतिनिधित्व गरेका प्रकाश सपुतबीच लोकगीतबारे केही मत बाझिएको थियो।

मोबाइलमा झुम्मिने अहिलेका बालबालिकाको पुस्ताबारे ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक’ शीर्षकमा भएको बहसमा करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे गफिए।

‘सपनाको सम्मान’ सेसनमा डा. रुपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए। ‘अध्ययनको भोक’, ‘कारागारमा किताबी संसार’, ‘दृष्टिदान’ ‘बतासमा बारुदको गन्ध’, राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण र ‘जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श’ लगायतका विषयमा रोचक र गहकिलो बहस भएको थियो।

हिट भए मनोरञ्जन व्यापारी
यस पालिको महोत्सवमा सबैको नजरमा परे भारतीय लेखक मनोरञ्जन व्यापारी। देश परिवर्तन गर्छु भन्दै नक्सल विद्रोहमा लागेका र गुजारा चलाउन रिक्सा चलाउने यी ‘अनपढ’ लेखकको जीवनयात्रा अनि उनको विद्रोही स्वभावको रापले चिसो भएको पोखरा महोत्सवमा सहभागीहरुको मन तातो बनाएको थियो।

हुन पनि रिक्सा चालकबाट सफल लेखकसम्मको उनको यात्रा रोचक छ। फुर्सदमा पुस्तक पढ्ने बानीको क्रममा रिक्सा यात्रीको रुपमा भेटिएकी बंगाली साहित्यकारको प्रेरणाले उनी जसरी अहिले हस्तक्षेपकारी साहित्यकारको रुपमा उभिए त्यो यात्रा असम्भव झैं देखिन्छ।

‘दृष्टिदान’ शीर्षकमा सहभागी चिकित्सक सन्दुक रुइतसँग रवि लामिछानेले गरेको संवाद धेरैको रोजाइमा प¥यो। २ लाख १५ हजारको मोतियाबिन्दुको सफल उपचार गरेका रुइतले राष्ट्रपति हुने मौका आए के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा ‘अहिले मलाई फुर्सद छैन, धेरै काम गर्नुछ’ भनेर माहोल रमाइलो मात्रै हैन गम्भीर पनि बनाए।

अमिताभलाई ‘डिएससी’
महोत्सवको अन्तिम दिन वितरण गरिएको दक्षिण एसियाको प्रतिष्ठित ‘डीएससी साहित्य पुरस्कार’ भारतीय लेखक अमिताभ बाग्चीको उपन्यास ‘हाफ द नाइट इज गन’ ले पायो।

पुरस्कार २५ हजार अमेरिकी डलरसहितको हो। पुरस्कारका लागि अन्तिम सूचीमा ६ किताब परेका थिए जसमा एउटा पनि नेपाली पुस्तक परेन। मनोनयनमा चार भारतीय, एक पाकिस्तानी र एक अफगानी लेखकको कृति अन्तिम सूचीमा परेको थियो।

Leave A Comment