पत्रपत्रिकामा यौन मनोविज्ञानमा आधारित रहेर कथा लेखिरहेकी मुना चौधरी यसपटक उपन्याससहित पाठकमाझ आइन्। तराईका दलित मुसहर समुदायलाई केन्द्रबिन्दु बनाएर उनले लेखेको उपन्यास ‘दुलारी’ उनको दोस्रो उपन्यास हो। शिक्षण पेसामा आबद्ध उनले यसअघि ‘जयवद्र्धन सलहेश’ उपन्यास लेखेकी थिइन्। पत्रपत्रिकामा उनका यौन मनोविज्ञानमाथि कथा छापिइरहन्छन्। महिला र यौन मनोविज्ञान, अहिलेको लेखन प्रवृत्ति, नेपाली सहित्य लगायतका विविध विषयमा केन्द्रित रहेर शुक्रवारकर्मी प्रजु पन्तले चौधरीसँग गरेको अन्तरंगः
‘दुलारी’ बजारमा आएपछि कस्तो प्रतिक्रिया आइरहेका छन् ?
पुस्तक बजारमा आएको डेढ हप्ता जति मात्र भयो। यस अवधिमा पनि राम्रा प्रतिक्रिया आइरहेका छन्। मुसहर समुदायबारे थाहा नपाएका कुराहरु पुस्तकमार्फत ल्याइदिनुभयो भन्दै धन्यवाद पनि पाइरहेकी छु।
तपाईंका केही कथाले सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया पनि पाएको देखिन्छ। जस्तो ‘मचान’प्रति पाठक त्यत्ति सकारात्मक देखिएनन्। किन होला ?
प्रतिक्रियाको त कुरै नगरौँ ! कति साथीहरुले त फेसबुकबाटै अनफ्रेन्ड पनि गर्नुभयो। समाज भाँड्ने भई भनेर गाली पनि खाइयो। म्यासेजमा आएको गालीको कुरा त के गर्नु ? तर कथा लेखिरहने कथाकारहरुले भने महिला यौनमनोविज्ञानलाई राम्रोसँग केलाएको भन्दै प्रशंसा गर्नुभएको थियो।
किन लेखेछु बेक्कारमा भन्ने लागेन ?
लागेन। म डगमगाइनँ। ‘मचान’को भाग ५ सम्म लेख्ने विचार गरेकी छु।
विवाद चैँ किन भयो ?
किन हुनु ? त्यही महिला भएर यौनसम्बन्धी लेखी भन्ने त हो !
कथा लेख्नुको कारण ?
पुरुषहरुले लेख्नुभएको कथामा पुरुषको फिलिङस् हुन्छ तर महिलाको फिलिङ्स खै त ? यौन सम्बधमा स्वर्गीय आनन्द हुन्छ भनेर पढ्दै गर्दा महिलालाई यौन सम्बन्धको बेला कस्तो सोचाइ आउँछ ? के महिलालाई पनि स्वर्गीय आनन्द आउँछ ? के महिलाको भागको फिलिङ्स् पनि पुरुषले लेखिदिनुपर्ने ? जसको फिलिङ्स् हो, उसैले लेख्नुपर्छ भनेर लेखेकी हुँ। यसलाई निरन्तरता दिनेछु अझै। यौन सम्बन्ध, त्यसपछि सन्तान जन्मदाको क्षण, सन्तान जन्मेपछिको श्रीमान्सँगको सम्बन्धबारे श्रृंखलाबद्ध रुपमा लेख्ने योजना बनाएकी छु।
पति–पत्नी विवादको कारण यौन मात्रै त नहोला। विवाहलगत्तै श्रीमान् विदेशिएकी श्रीमतीको यौनआवेश पोख्दा ‘मचान’ कथामा अलि ठाडो लेखाई प्रयोग भएको हो कि ? यौनलाई कलात्मक रुपमा पनि लेख्न सकिन्थ्यो नि हैन ?
मलाई यस्तो लाग्दैन। यो बुझाइको समस्या हो। योभन्दा पनि ठाडो लेखिएका पुरुषको कथालाई सहजै स्वीकार गरिएको उदाहरण छन्। महिलाले आफ्नो भोगाइ लेखी भने पितृसत्ता भएको मुलुकमा स्वीकार्य हुँदैन, कला हुँदैन। यो यौनमा मात्रै हैन। अन्य विषयमा पनि लागू हुन्छ। पितृसत्ता भएको मुलुकमा महिलाले यौनसम्बन्धी लेख्नु भनेकै अश्लील हुन जान्छ। यो कथामा पनि भएको त्यही हो। पुरुषले यौनको कुरा लेख्दा अश्लील नहुने, महिलाले लेख्दा अश्लील हुने ? यस्तो पनि हुन्छ ? साँच्चै भन्ने हो भने मलाई प्रतिक्रिया देख्दा लैंगीक हिंसामा परेको जस्तो अनुभूति भयो।
कसरी सम्हालिनुभयो त ?
मेरा श्रीमान् एकदमै समझदार हुनुहुन्छ। उहाँले तिमीलाई त धेरै पो गाली गर्दैछन्, भयो छाडिदेऊ भन्नुभयो तर म चूप लागिनँ। मचान भाग दुई लेखेँ। पढेर सुनाएँ। उहाँले हौसला दिँदै भन्नुभयो, ‘तिम्ले त लेख्नै पर्छ।’
भनेपछि लेखनमा श्रीमानबाट भरपुर सहयोग छ ?
उहाँको निरन्तरको सहयोग नभएको भए म लेखक हुने थिइनँ होला। मैले लेखी सकेपछिको पहिलो पाठक नै उहाँ हो।
लेखन पृष्ठभूमिको कुरा पनि गरौँ न। लेखन क्षेत्रमा प्रवेश कसरी भयो ?
मेरो परिवारको आर्थिक अवस्था राम्रै थियो। दाइ मै पढेको स्कुलमा पढाउनुहुन्थ्यो। घरको कान्छी छोरी भएकाले बुबा, आमा, दिदीहरुले यसलाई पढाएर सरकारी जागिर खुवाउनुपर्छ भन्नुहुन्थ्यो।
दाइ शिक्षक भएकाले स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिनुपर्ने, सर–मिसहरुले पनि अलि धेरै प्राथमिकतामा राख्थे। कक्षा ९ मा पढ्दा क्षेत्रीय स्तरको निबन्ध प्रतियोगिता भयो। त्यसमा तेस्रो भएँ। अनि मलाई लाग्यो, लेख्न पर्ने रहेछ। मनमा आएका भावनाहरु लेख्दै गइयो भने साहित्य बन्ने रहेछ भन्ने लागेपछि लेख्दै गएँ। त्यो प्रतियोगितामा पुुरस्कार स्वरुप प्राप्त भएको पैसाले दाइले कोर्स बाहिरका कथा, कविताको पुस्तक किनेर ल्याइदिनुभयो। ती किताब पढेपछि लेख्नुपर्दाे रहेछ भन्ने कुरा बुझ्दै गएँ अनि लेख्न थालेँ।
कुनै लेखकबाट प्रभावित हुनुहुन्छ ?
मलाई मनपर्ने लेखक पारिजात हुन्। सुरुमा मैले उहाँको छोटो जीवनी पढेँ। शारीरिक असक्तता भए पनि निरन्तर लेखेर नामी साहित्यकार बन्नुभएको बुझेँ। उहाँको जीवनी र अन्य साहित्यिक कृतिबाट मेरो दिमागमा एउटा प्रश्न आयो। हामीले पढ्ने साहित्यकारहरु किन चौधरी हुँदैनन् ? मेरो प्यारो ओखलढुंगा पढ्दा किन सिरहा जिल्लाबारे आउँदैन ? पशुपति मन्दिरबारे हामीले रट्दै गर्दा मेरो छेउको मन्दिरबारे हाम्रो पाठ्यपुस्तकमा किन छैन ? केही विद्रोही चेत भने स्कुले कालमा नै आयो। त्यतिबेला लाग्यो, हामीले पनि हाम्रा कुरा लेख्नुपर्छ। हाम्रो पुस्ताले साहित्य पढ्दाखेरि आफ्नो भूगोल र संस्कृति नआउँदा बिरानो महसुस ग-यो। अगामी पुस्तालाई त्यस्तो नलागोस् भनेर आफै लेखनमा सक्रिय भएँ।
तपाईंले बोल्ने भाषा थारु तर नेपाली भाषामा उपन्यास लेख्नुभयो। लेख्न कत्तिको सहज भयो ?
बच्चा बेला स्कुलमा नेपाली फिटिक्कै बुझ्दिनथेँ। वचन छुट्ट्याउन निकै गाह्रो भयो। कक्षा ११ पुगेपछि भने कर्ताअनुसार क्रियापद लाग्नेरहेछ भन्ने बुझेँ। स्नातकोत्तरसम्म नेपाली नै लिएर पढेकाले उपन्यास लेख्न त गाह्रो भएन तर लेख्दा थारु भाषामा सोचेर नेपालीमा लेखिदोरहेछ।
कस्ता विषय लेख्न जाँगर चल्छ ?
जुन विषयवस्तु लुकाइएका छन्, तिनै विषयवस्तुले छुने हो। मैले देखेको समाजभित्र भएका रुढिवादी परम्परा, विपन्नता, गरिबीबारे नेपाली साहित्यमा धेरै आएका छैनन्। यिनै विषयमा लेख्न मजा लाग्छ।
अब उपन्यासबारे कुरा गरौँ। ‘दुलारी’ पात्र कसरी जन्मियो ?
मेरो घरनजिकै मुसहर बस्ती थियो। उनीहरु हाम्रो जग्गामा काम गर्न आउँथेँ। उनीहरुको आफ्नो खेतबारी थिएन। चार पाथी धानका लागि बिहानदेखि बेलुकीसम्म काम गर्थे। हाम्रोमा आइरहने एक महिला थिइन्। म नाम चैँ भन्दिनँ। उनका तीन जना छोरी थिए। उनीहरुको घरको अवस्था राम्रो थिएन। तिनै पात्रलाई टिपेर औपन्यासिक रुप दिएँ तर उपन्यासमा केही काल्पनिकता पनि छ। जस्तो उपन्यासमा गिरहतको छोराले गरेको व्यवहार सत्य हैन, त्यो मेरो कल्पना हो।
यहाँ जुन समुदायबारे लेख्यो उसैको विरोध हुन्छ। जस्तो सरस्वती प्रतीक्षाको वादीमाथिको उपन्यास ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ विवादमा आयो। तपाईंको उपन्यास मुसहर समुदायले स्वीकार गरे कि चालै पाएनन् ?
म मुुसहरहरु सँगै हुर्किए। उनीहरुको बानीव्यहोराबारे परिचित हुँदै गएँ। अनि यो लेख्नका लागि एक दुई महिना बसेर मात्र लेखेको पनि हैन। आफूले प्रत्यक्ष देखेको विषय र परिवेश समेटेकाले न्याय गरेँ भन्ने लाग्छ। अहिलेसम्म नकारात्मक प्रतिक्रिया आएको छैन। मलाई लाग्छ, उनीहरुले यो उपन्यास पढे भने असहज महसुस गर्ने छैनन्।
तपाईं त थारु समुदायको। थारु समुदायका पनि कथा, उपन्यास आएका छैनन्। आफ्नै समुदायबारे नलेखेर किन मुसहरको ?
हाम्रो टोलमा धेरै दुःख पाउने मुसहरहरु थिए। उनीहरुको व्यथाले मलाई छोयो। मुसहरको कथा कसैले भनेनन्। मुसहरहरु आफैँ राजनीतिक आन्दोलन गरेर अन्य जातिले जस्तो छुट्टै राज्य पनि मागेनन्। अझै ८० प्रतिशत बढी मुसहरहरुको आफ्नै जग्गाजमीन पनि छैन। मलाई लाग्छ उनीहरुको कथा भनिन–सुनिनु पर्छ। मैले सुरुवात गरेकी हुँ। यो भन्दैमा थारु समुदायको लेख्दै नलेख्ने हैन। तयारी गरिरहेकी छु।
मुसहरको समस्या राज्यले सम्बोधन गर्ला त ?
राज्यले सुन्नुपर्छ उनीहरुको समस्या। राजनीति गर्नेले त अन्याय गरे नै तर अन्य नागरिक समाज र योजना बनाउनेले पनि उनीहरुको स्थिति बुझ्ने प्रयास गरेनन्, अब बुझ्नुपर्छ। उनीहरु यति शान्त छन् कि उनीहरुले कहिल्यै विद्रोह गरेनन्।
सबै समुदायले आफ्ना माग अगाडि सार्दा उनीहरु चैँ किन मौन ? के लाग्छ तपाईंलाई ?
उनीहरु आफ्नै समस्यामा अल्झिरहेका छन्, त्यसैले शान्त छन्।
त्यही भएर उपन्यासमा प्रमुख पात्रले पनि विद्रोह नगरेको हो ?
हो। जबकि त्यो समुदायकालाई हक अधिकार के हो, अझै थाहा छैन भने फूलबुट्टा किन भर्नु भन्ने लाग्यो र विद्रोह देखाइनँ तर मुसहर समुदायमा पनि हिजो र आजमा केही फरक त भएको छ। परिर्वतन भएका छन्। तर अझै देखिने गरी परिवर्तन भएको छैन।
नयाँ लेखकलाई पुस्तक छपाउन निकै गाह्रो हुन्छ रे, तपाईंको अनुभव के छ ?
पहिलो उपन्यास निकाल्दा गाह्रो भएको थियो। नाम चलेकै पब्लिसरलाई भनेकी थिएँ तर नभ्याउने भनेपछि आफ्नै सुरले छापेँ। त्यो किताब पुस्तक प्रदर्शनीमा राखेकी थिएँ। साङ्ग्रिला बुक्सले त्यो किताब देखेपछि मलाई कल गरेर बोलाउनुभयो अनि अर्को पुस्तक छाप्छु भन्नुभयो। दोस्रोमा सहज भयो।
सम्पादनमा तोडमोड गर्छन् रे हो ?
मेरोमा त त्यस्तो भएको छैन। विषयवस्तु जे हो त्यही नै छ।
अलिकति पृष्ठभूमि पनि खोतलौँ। बाल्यकाल कसरी बित्यो ?
मेरो घर लहान बजारको पश्चिम तीन किलोमिटर पर पर्छ। हाम्रो टोल पूरै थारु बस्ती थियो। त्यसभन्दा १०/१५ मिनेटको दुरीमा मुसहर बस्ती थियो। दाइ पढाउनुहुन्थ्यो त्यसकारण म सहजै स्कुल जान पाएँ। गाउँमा नै ब्याचलरसम्म पढेँ।
मास्टर्स पढ्न काठमाडौँ आउनुभएको हो ?
बिहे भएपछि २०६४ मा आएँ।
मागी विवाह कि प्रेम विवाह ?
(हास्दै....) मैले मागी विवाह गर्ने ? लभ म्यारिज हो मेरो त।
कसरी ?
खै कसरी, कसरी ! कक्षा सातमा सँगै पढेका थियौँ। त्यस्तो लभसभ भन्ने कुरा त भएन। उनी कक्षा सात पढेपछि काठमाडोैँ आए। एसएलसी दिएपछि मलाई भेट्न मेरो घर गए। त्यतिबेला गाउँमा केटी साथीको घर जाने चलन थिएन। घरकाले शंका गर्लान् भनेर स्कुल पढ्दा सँगै पढेको भएर भेट्न आएको हो भने। त्यतिबेला उनले मलाई चिठी दिएका थिए। त्यो त लभलेटर पो रहेछ ! म त डरले खङ्ग्रङै भएँ। दाजुहरुले थाहा पाए भने मार्छन् भनेर च्यातचुत बनाएर फालिदिएँ। अर्को पटक उनले जवाफ खै भने। उनले काठमाडौँ आउनुअघि पोस्ट बक्स नम्बर छाडेका थिए। मैले साथीहरुलाई एउटा केटाले मन पराउँछ भनेँ। उनीहरुले पनि लभ गर् न त भने। मैले पनि चिठी पठाउन थालेँ। अनि हाम्रो प्रेम झाङ्गिदै गयो।
विवाह सजिलै भयो कि लफडा भयो ?
कहाँ सजिलै हुनु नि ! घरमा पढ्दै गरेकालाई हैन, जागिरदारसँग विवाह गरिदिने कुरा भयो तर मैले विवाह गर्न मानिनँ। भाउजू र दिदीलाई मैले मन पराउने केटाबारे भनेँ। उहाँहरुले केटालाई बोलाउनुभयो। उहाँ बानेश्वरको विश्वशान्ति विहारमा ५ वर्ष बस्नुभएको, शान्त स्वभावको भएको पाउनु भयो। उहाँलाई भेटेपछि भाउजू र दिदीको मन बुझेछ क्यारे ! अनि विवाहका लागि राजी हुनुभयो।
त्यत्ति धेरै संघर्ष त भएनछ विवाह गर्न। प्रेम विवाह भए पनि ठाकठुक त खुब पर्छ भन्छन्। तपाईंको चैँ कस्तो छ ?
वारै पर्ने गरेर त भएको छैन। ठाकठुक त भइरहन्छ।
Leave A Comment