छिन्नभिन्न कार्टुन्ज क्र्यु

मङ्गलबार, ०८ पुष २०७६, १० : ५० भोला अधिकारी
छिन्नभिन्न कार्टुन्ज क्र्यु

एकअर्कालाई आर्थिक हिनामिना र अपमानित गरेको आरोप लगाउँदै नेपाली म्युजिक भिडियोमा बेग्लै स्थान बनाएको कार्टुन्ज क्र्युका सदस्यहरु छिन्नभिन्न भएका छन्।

यस्तै विवादमा सविन कार्की दुई वर्षअघि नै समूहबाट छुट्टिएका थिए। अहिले आएर समूहका अन्य चार सदस्य पनि अलग भएका छन्। अब समूहमा सरोज अधिकारी र आश्मा विश्वकर्मा मात्रै भएका छन्।

सविन बाहिरिँदा समूहको विवाद सार्वजनिक भएको थिएन। लाक्पा डि. लामा बाहिरिएलगत्तै समूहका सदस्यबीच युट्युब वार नै शुरु भयो। लामाले आफूले समूह छाड्नुको कारण खुलाउँदै युट्युबमा भिडियो राखेपछि सरोजले पनि प्रतिउत्तरमा अर्को भिडियो राखेपछि बाँकी भएका विकास राई सहितका तीनै सदस्यले पनि समूह छाडेको घोषणा गरे। यी चारै जनाले युट्युबमा सामूहिक रुपमा आफ्नो भनाइ राखेपछि समूहको विवाद छाताछुल्ल भयो।

एकअर्काप्रति विभिन्न आरोप लगाए पनि समूह टुक्रिनुको मुख्य कारण आर्थिक अपारदर्शिता देखियो। सरोज र आश्माले भने प्रतिवाद गर्दै आर्थिक रुपमा आफूहरु पारदर्शी रहेको दाबी गरिरहेका छन्। लामा लगायतका समूहका सदस्यले सरोज र आश्माले आफूहरुलाई कोरस डान्सरझैँ व्यवहार गरेको, युट्युबबाट भएको आम्दानी पारदर्शी नगरेको लगायतको आरोप लगाइरहेका छन्।

कसरी बढ्यो विवाद
सन् २०१० ताका कीर्तिपुर बस्दै आएका सरोज अधिकारीको ‘ब्वाइज अफ कीर्तिपुर’ भन्ने समूह थियो। यो समूहले बि बोइङ डान्स गथ्र्यो। केही समयभित्रै आफ्ना साथी छिन्नभिन्न भएपछि अधिकारी एक्लो भए। पछि उनीसँग सविन कार्की जोडिन आइपुगे र नयाँ समूह बनाउने निर्णयमा पुगे र नाम जु-यो, ‘कार्टुन्ज क्रु’।

समूह बनेपछि सन् २०११ मा कार्टुन्ज क्र्युले राष्ट्रव्यापी बी बोइङ प्रतियोगितामा भाग लियो। यो उपाधि यही समूहले जित्यो। जितका कारण भारतको चेन्नईमा ‘ब्याटल अफ दि इयर’मा भाग लिने अवसर मात्र पाएन, समूहले सेमिफाइनलसम्म आफ्नो उपस्थिति जनायो।

त्यस्तै सन् २०१५ मा चीनमा भएको वल्र्ड लिजर गेममा समेत यो समूहले भाग लियो। १७ भन्दा धेरै देशका प्रतियोगीसँग भिडेर दोस्रो स्थान बनाउन क्र्यु सफल भयो। चीनमा सोलो ब्याटलमा आश्मा बी बोइङतर्फ केटाहरुलाई समेत पछारेर सेमिफाइनलसम्म पुगेकी थिइन्।

सबिन कार्की ग्रुप

त्यसपछि हौसिएको यो टोलीले सोही बेला पहिलो कभर भिडियो ‘जालमा’ बनाएको थियो। युट्युबमा भिडियो भाइरल भएपछि कभर भिडियोमा समूहले बढी जोड दिन थाल्यो।

यसको चर्चा त्यो बेला चुलियो, जब ‘पानी प-यो असिना झ-यो’ र ‘नाइँ मलाई थाहा छैन’ रिलिज भयो। यी दुवै भिडियो युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ।

ह्वात्तै हासिल भएको यो सफलताले कार्टुन्ज क्र्युको हौसला बुलन्द भयो। यसपछि त राम्रै लगानी गर्न सक्ने र नाचूँ लाग्ने गीतमा यो समूहले भिडियो बनाइदियोस् भन्नेहरु लाइन लाग्न थाले।

कतिसम्म भने ठूलो बजेटको फिल्मले पनि यो समूहसँग सहकार्य गर्न थाल्यो। यसबाट उत्साहित समूहले सामाखुसी–कपुरधारामा स्टुडियो उभ्यायो। यस स्टुडियोमा उनीहरुले नृत्य सिक्न चाहनेलाई सिकाउनेदेखि सुटिङसम्मका काम गर्थे।

कुरा यहीँ आएर बिग्रियो। कसलाई महत्व दिने, समूहलाई कसरी हिँडाउने र लामो समयसम्म कसरी बाँध्ने भन्ने कुनै व्यवस्थापकीय कौशल नभएको यो समूहमा असन्तुष्टि मौलाउँदै जान थाल्यो।

अगुवाले छाडेपछि...
भिडियो निर्देशनमा सविनको हात हुने गथ्र्यो। उनले भिडियो खिच्थे र सम्पादन गर्थे। नृत्य–अभिनय लगायतका कोरियोग्राफीमा उनलाई  सरोजले सघाउँथे। पछि सविन आफ्नो अध्ययनलाई निरन्तरता दिने मनशायका साथ स्टुडियो जान छाडे।

डान्स स्टुडियोमा जान छोडेपछि सरोजले गु्रपलाई अघि बढाउन थाले। सरोजको लिडरसीपलाई भने धेरैले रुचाएनन्। चित्त नबुझेपछि बिस्तारै लाक्पा लगायतले पनि छाडे। यतिबेला युट्युबमा कार्टुन्ज क्र्युका सदस्यहरुको आरोप–प्रत्यारोपले भरिएको छ। ट्रेन्डिङमै छ उनीहरुको युट्युब वार। साजन चौहान सहितले सरोजलाई सर्पले छाला फेरेजस्तो बोली र व्यवहार फेरेको र आफूहरुलाई कोरसमा मात्र सीमित गरिदिएको आरोप लगाएका छन्।

विवादित आर्थिक पाटो
कार्टुन्ज क्र्युको सफलतासँगै यसमा जोडिनेका अनेक स्वार्थ त थिए नै, आर्थिक पाटोले पनि टोलीलाई ध्वस्त बनाउन सहयोग ग¥यो। आर्थिक पाटोमा गुनासो गर्ने लाक्पा डि. लामाको समूहमा आबद्ध टोलीको मात्र होइन, स्वयं सरोज अधिकारीले पनि आफूले पाउनुपर्ने पारिश्रमिक नपाएको आक्रोश पोखेका छन्।

यी सबै आरोपलाई उनले सविनमाथि थोपरेका छन्। यता सविनले भने आफूले कुनै हिनामिना नगरेको बताएका छन्।

लाक्पा टोलीको बढी गुनासो
चार वर्षअघि कार्टुन्ज क्र्युले कपुरधारामा लाखौँ रुपैयाँ डान्स स्टुडियो खोलेको थियो। युट्युबबाट आएको आम्दानी सबै स्टुडियोमा लगानी खन्याएपछि टोलीबीच मतभिन्नता शुरु हुन थालेको जानकारहरु बताउँछन्।

शुरुको सात जनाको टोलीले म्युजिक भिडियो बनाउनेदेखि डान्सका कक्षा चलाउन थाले। सबैले आफ्नो भागको जिम्मेवारी पूरा गरिरहेका थिए तर सोचेजस्तो आम्दानी भने हुन सकेन। व्यवस्थापनको जिम्मा सविन कार्कीलाई दिइएको थियो। डान्समा सरोजले सविनलाई सघाउँदै आएका थिए। अध्ययनको कारण देखाउँदै सविनले दुई वर्षअघि स्टुडियोलाई समय दिन छोडेका थिए।

उनले छाडेपछि सरोज र आस्माले सविनको जिम्मेवारी लिन थाले र भिडियोमा मोडलिङ गर्न थाले। उनीहरुले एउटा भिडियो बापत कम्तीमा १ लाख ५० हजार पारिश्रमिक लिने गरेका थिए। भिडियोको सम्पूर्ण जिम्मा लिनुपरे ६ देखि १० लाख शुल्क लिन्थे। यी सबै आम्दानीमा युट्युबको पैसा पनि जोडिदा जम्मा हुन आउने रकमको लेखाजोखा हुन छाडेपछि समूहका साथीहरु बिच्किन थालेको जानकार स्रोत बताउँछ।

लाक्पा ग्रुप
यसबाहेक नयाँ बनेका भिडियोमा आश्मा र सरोज लोकप्रिय हुन थाले। सरोजले आफूहरु दुई जनालाई मात्र फोकस गर्न थालेपछि समूहका अन्य सदस्यहरुमा असन्तुष्टि बढ्न थाल्यो।

आफूहरुलाई कोरसमा मात्र सीमित पारेको भन्दै लाक्पा, राम, सुविन र साजनले सार्वजनिक रुपमा नै आक्रोश पोखेपछि यो टोलीको असन्तुष्टि सार्वजनिक रुपमा विष्फोट भएको उनीहरुको भनाइबाट पुष्टि हुन्छ।

यति मात्र होइन उनीहरुले सरोज र आश्माले आफ्नो आर्थिक शोषण गरेको खुलासा गरेपछि त उनीहरु प्रश्नको घेरामा परिहाले। पाउनुपर्ने पारिश्रमिक नपाएपछि आम्दानी–खर्चको हिसाबको खर्च रामहरुले उठाउन थाले। ‘हामीले पैसाको हिसाब माग्यो भने अनेक बहाना बनाउँथे,’ रामले भने, ‘स्टुडियोबाट आएको पैसा माग्यो भने रिसेप्सनलाई सोध्नू भन्ने ठाडो जवाफ दिन थाले। यसपछि त चित्त दुख्न थाल्यो।’ समूह फुट्नुको कारण खुलाउँदै रामले भने।

उनले थपे, ‘रिसेप्सनको काम त पैसा उठाउने मात्र हो नि ! आखिर हामीले पैसा लिने त सरोजबाटै हो नि ! जति भने पनि पैसाको हिसाब देखाउनै चाहेनन्। यत्रो डेढ वर्षसम्म आफूले जम्मा ५० हजार पायौँ।’

सरोजले भने कार्टुन्ज क्र्युका सबै सदस्यले उनीहरुले पाउनुपर्ने उचित रकम पाएको दाबी गरेका छन्। लाक्पाको टोलीका एक सदस्य साजन चौहानले पछुताउँदै युट्युबमा भनेका छन्, ‘हामीले सविन कार्की दाइलाई छोडेर अरुको विश्वास गर्नाले धोका पायौँ।’

यता आश्मा र सरोजले पैसा र अन्य सबै किसिमको हिसाब किताब भइसकेको र आपसी सहमति भएको बताएका छन्। यस विषयमा कागज गरेर टिम छाडेको तथ्य भिडियो आफूले सार्वजनिक गर्ने सरोजको भनाइ छ।

युट्युबमा वार, बाहिर चुपचाप
एकअर्कालाई आरोप लगाउँदै कार्टुन्ज क्र्यु टुक्रिएपछि अहिले चुपचाप बसेका छन्। उनीहरुले एकअर्काको फोन सम्पर्कमा नरहेको बताएका छन्। उनीहरुको विवाद यतिसम्म चुलिएको छ कि एकअर्काको कुरा गर्न समेत चाहँदैनन्। युट्युबमा जति उफ्रे पनि भेटको बेला एकअर्काको बारेमा नबोल्ने र बोल्दा बोल्दा थाकेको बताउन थालेका छन्। आश्मा पनि यस विषयमा मुख खोल्न चाहदिनन्। उनले शुक्रवारसँग यसबारे केही नबोल्ने बताइन्।

सविन नयाँ टिम बनाउँदै
यता १० वर्षसम्मसँगै काम गरेका साथीहरुसँग छुटेर सविनले नयाँ टिम बनाउने तयारी गरेका छन्। आफू पुरानासँग भन्दा पनि नयाँ टिम बनाएर काम गर्न लागेको उनले बताए। पुरानो टिमसँग आफू अलग्गिएपछि त्यत्तिकै बस्न नसक्ने र नयाँ साथीहरुसँग चाँडै नै काम गर्ने उनको भनाइ छ। उनले भने, ‘मैले यत्रो वर्ष कमाएको नाम त्यसै छोड्न सक्दिनँ। पुराना गए पनि नयाँ साथीहरु आफूसँग काम गर्न चाहेका छन्। सायद चाँडै नै नयाँ साथीहरुसँग भिडियो निर्माण गर्नेछु।’ यता सरोज र आश्माले भने नयाँ टिम बनाउने–नबनाउनेबारे केही खुलाएका छैनन्।

Leave A Comment