शरीर पड्काउने ट्यापिङ थेरापी

बुधबार, ०९ पुष २०७६, ११ : ५० शुक्रवार
शरीर पड्काउने ट्यापिङ थेरापी

डा. डीबी सुनुवार,अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

व्यक्ति फिट रहने विभिन्न उपायमध्ये एक हो, ‘ट्यापिङ थेरापी’। ‘ट्यापिङ’ का पनि विभिन्न प्रकार हुन्छन्। शरीर फिट हुन मात्रै नभई हाडर्जोर्नी तथा मांशपेशीको दुखाईलगायतको अवस्थामा यो थेरापी गर्न सकिन्छ। हाड जोर्नी मर्किएको तथा सड्किएको अवस्थामा समेत यो थेरापी उपयोगी हुन्छ। यो थेरापी गर्नाले शरीर लचिलो तथा मजबुत हुन सहयोग पुग्छ।

शरीर फिट राख्ने यो विधि विशेषगरी चीन, भारत तथा पश्चिमा देशहरुमा बढी लोकप्रिय छ। ट्यापिङ विधि शरीर पड्काएर स्लिम तथा मजबुत बनाउने चिकित्सकीय उपचार विधिसमेत हो।

ट्यापिङ थेरापीमा प्रयोग हुने टेप जडिबुटी तथा टिकाजस्ता म्याग्नेट राखेर बनाइएको हुन्छ। यस्ता टेपले विशेषगरी दुखेको ठाउँमा टेप टाँसिन्छ। टेप टाँसिसकेपछि करिब चार घण्टामा निकालिन्छ। यो थेरापीले शरीर तात्ने भएकाले दुखाइ कम गर्न मद्दत गर्छ। ट्यापिङ थेरापीले व्यक्ति दौडिएको जस्तै व्यायाम हुन्छ। किनकि यो थेरापी गर्दा पनि शरीरका अधिकांश अंग चलायमान हुन्छन्।

यो थेरापी टेपको सहायताले नै गर्नुपर्छ भन्ने छैन। सामान्यतः ट्यापिङ थेरापी टेपको सहायताले गर्ने विधि भए पनि हातको सहायताले समेत गर्न सकिन्छ। हातको सहायताले गर्न सकिने ‘ट्यापिङ थेरापी’का बारेमा चर्चा गरौँ।

हाडजोर्नीमा कम्पन
ट्यापिङ् गर्ने व्यक्ति सबैभन्दा पहिले कपडा खोलेर नरम ओछ्यानमा घोप्टोपरी सुत्नुपर्छ। ओछ्यान लचिलो हुनु आवश्यक छ। ओछ्यानमा सुतिसकेपछि तालिमप्राप्त थेरापिस्टले नमस्कार गरेजसरी पाँच औंला जोडिन्छ। त्यसपछि खुट्टाका औंलादेखि जोडिएको हातले थपथप हान्दै टाउकोसम्म लगिन्छ।

हातले हाडजोर्नीमा कम्पन हुने गरी जोडले हानिन्छ। ट्यापिङको कम्पनले शरीरका हाडजोर्नी तथा मांशपेशी थर्किन्छन्। यसरी थर्किँदा ट्यापिङ गरिरहेको अवस्थामा विशेषगरी हाडजोर्नी पट्याकपट्याक पड्किन्छन्। एक हिसाबले शरीरको नसामा भाइब्रेसनै पैदा हुन्छ। हातले गरिने ट्यापिङलाई नेपालीमा थप्थपाउने नामले चिनिन्छ। यो शरीर फिट राख्ने परम्परागत प्राकृतिक विधि हो।

यसरी शरीरमा भाइब्रेसन पैदा हुँदा शरीरको दुखाइ त कम हुन्छ नै। नसा चलायमान हुने भएकाले रक्त सञ्चारमा सहजता बनाउँछ। जसले शरीरमा अनावश्यक बोसो जम्न नपाउँदा शरीर स्लिम तथा फिट रहन सहयोग पुग्छ। यसले शरीरका मांशपेशी मजबुत हुन्छन्।

ट्यापिङ गर्दा आवाज आउन अनिवार्य हुन्छ। हातको ताल मिल्दा आवाज आउँछ। आवाज नआएको अवस्थामा यो थेरापी प्रभावकारी हुन्न। त्यसो त आवाज आउनुपर्छ भन्दैमा धेरै हान्नु भने हुन्न। धेरै हान्दा चोटपठक लाग्न सक्छ। त्यसैले तालिमप्राप्त थेरापिस्टले नै ट्यापिङ गर्नु उचित हुन्छ। प्रत्येक चरणका थेरापीमा खुट्टाबाट सुरु गरी टाउकोसम्म पु-याउनु पर्छ। शरीरका संवेदनशील भागबाहेकका बाहिरी अंगमा यो किसिमको थेरापी गर्न सकिन्छ।

हातको रिदम
दुवै हात जोडेर ट्यापिङ गरिसकेपछि अब हात नजोडी ट्यापिङ गरिन्छ। तबला वा मादल बजाएको जस्तै रिदम तथा तालमा दुवै हातका पञ्जाले पालैपालो शरीरमा हान्नुपर्छ। हातका पञ्जा भने कचौरा आकारमा बनाउनु पर्छ। यसरी हातको रिदम पालैपालो हान्दा एकभागमा चाप पर्दा त्यहाँको नसा तथा मांसपेशी साँघुरिने र अर्कोतर्फ फुल्ने हुन्छ। यसरी हातको रिदम मिलाएर हानेको अवस्थामा भने फुल्ने र खुम्चने दुवै भागमा चाप पुग्दा शरीरका मांसपेशी लचिलो हुन पाउँछन्। जसले शरीरमा जमेर रहेको अनावश्यक बोसो तथा विकार तत्व चलेर जान्छ।

धारिलो हात
ट्यापिङका यी दुई चरण पार गरिसकेपछि तेस्रो चरणमा खुकुरीले कुनै सामान काटेको जस्तै गरी हातका पञ्जाका धारले शरीरमा हानिन्छ। यसरी ट्यापिङ गर्दा शरीरमा अझ बढी चाप गर्छ। यसरी हात धारिलो पारेर ट्यापिङ गर्दा शरीरका भित्री सतहका मांशपेशी, नसा तथा हाडजोर्नीमा कम्पन हुन्छ। यस्तो थेरापीले अनावश्यक बोसो जम्न त दिँदैन नै हाडजोर्नी तथा नसा एक–आपसमा ठोकिने भएकाले हाडजोर्नी तथा नसाको घर्षण भई नसा च्यापिनेलगायतको समस्याबाट बच्न सकिन्छ। मजबुत हुने कुरामा त दुई मत रहेन। कचौरा जस्तो हात

सक्रिय मांशपेशी
चौथो चरणमा दुवै हातले नमस्कार गरी हातलाई हल्का खुम्च्याउँदै हत्केलाभित्र खोक्रो बनाउनुपर्छ। त्यसपछि अघिल्ला चरणको तुलनामा अझ बढी बलले थप्थपाउनु पर्छ। जसले शरीरभित्रको मांशपेशीमा बढी चाप पर्न जाँदा मांशपेशी तात्छ। यस्तो चापले सुस्ताएको मांशपेशी सक्रिय हुन गई मांशपेशी लचिलो तर साह्रो हुन्छ। यो थेरापीले मांशपेशीमा अनावश्यक बोसो जम्मा हुन पाउँदैन। यो थेरापीले शरीरको तौल नियन्त्रण गर्न मज्जाले सहयोग गर्छ।

पड्काउने विधि
ट्यापिङको प्रक्रिया सकिसकेपछि शरीरका प्रत्येक हाडजोर्नी पड्काउने प्रक्रिया सुरु गरिन्छ। यसलाई पनि ट्यापिङ थेरापी अन्तर्गतै थेरापीको एक विधिका रुपमा लिन सकिन्छ।

ट्यापिङ थेरापीको क्रममा शरीरका हाडजोर्नी तथा नसा तन्किएर एक आपसमा ठोक्किँदा आवाज बाहिर निस्कन्छ। ट्यापिङ गर्ने क्रममा शरीरका अङ्गको बीचको नसामा झड्का पुगी कम्पन हुन्छ। यसरी कम्पन हुँदा बाहिर आवाज आउँछ। यस्तो कम्पनले एक त हाडजोर्नीको कुरकुरे हड्डीमा कम्पन भई हाडजोर्नीमा बोसो जम्न पाउँदैन। जसले विशेषगरी हाडजोर्नी लचिलो भई मजबुत मात्रै हुन्न व्यक्तिमा स्फुर्ती आउँछ।  

पाइपजस्तै समाउने
शरीर पड्काउने किसिमको थेरापीमा दुवै हातले पाइप समाएजस्तै शरीरका अङ्ग समाउनुपर्छ। शरीरका अङ्ग समाएपछि बट्टाको बिर्को खोले जस्तै गरी अङ्ग दायाँबायाँ घुमाउनु पर्छ। शरीर पड्काउने थेरापीको सुरुवात खुट्टाका औंलाबाट गरिन्छ। खुट्टाका औंला हातले समाई गोलो गर्दै, घुमाउँदै तानिन्छ। यसरी घुमाउँदै तान्दा औंला पिटिक–पिटिक पड्कन्छन्। हातका चोर औंला र साहिली औंलाले खुट्टाका औंला च्यापेर तान्न’समेत पर्छ। यसरी तान्दा खुट्टाका औंला पड्किएको आवाज आउनु जरुरी हुन्छ।

औंला पड्काइसकेपछि खुट्टाको गोलीगाँठा, पिँडुला, घुँडा तथा जाङ्गसम्म पड्काइन्छ। हातले बटार्दै झड्काउँदै खुट्टाको सबै भाग पड्काइन्छ। त्यसपछि जाङ्गभन्दा माथि पड्काउन सुरु गर्नुपर्छ। जाङ्गभन्दा माथि पड्काउन सुरु गर्दा थेरापिस्ट गराउने व्यक्ति भने घोप्टो परेर सुत्नुपर्छ। किनकि पेटमा धेरै चाप दिएर पड्काउनु हुन्न।

विशेषगरी ढाडमा हातले हानेर बटार्दै ढाड पड्काइन्छ। यसले मेरुदण्डमा कम्पन हुने भएकाले च्यापिएका नसासमेत खुल्न सहयोग मिल्छ।  कम्मरसम्मको भागको ट्यापिङ गरिसकेपछि कम्मरभन्दा माथिको भागको ट्यापिङ गरिन्छ। कम्मरभन्दा माथिको भागको ट्यापिङ गर्दा दुवै हातले कुम तथा गर्धनमा बिस्तारै हान्दै मर्काउन सकिन्छ। दायाँबायाँ घुमाउँदै कुम पड्काउन सकिन्छ। गर्धन भने बडो होसियारीपूर्वक पड्काउनुपर्छ। गर्धन बटार्दा नसामा असर पुगी गर्ध नै बाङ्गिनेसम्मको जोखिम हुन्छ। त्यसैगरी टाउको पनि बिस्तारै हान्दै पड्काउन सकिन्छ। जसले टाउकाको व्यायाम पुग्न सहज हुन्छ।

हातको ट्यापिङ गर्दा दुवै हातले एउटा हात समाई बटार्दै तान्नुपर्छ। यसरी बटार्दै तान्नाले हात पड्कन्छ। यस्तो व्यायामले हातका हाडजोर्नीका मांसपेशी तथा नसा लचिलो भई  सामान्य ठोकिँदा सजिलैगरी हातका हाडजोर्नी खुस्किहाल्ने डर हुन्न।

शरीर पड्काउने किसिमको यस्तो ट्यापिङ थेरापी गर्नाले दुखाइ कम हुनुका साथै शरीरलाई आनन्द प्रदान गर्छ। शरीरका अंग सामान्य रुपमा ठोक्किँदा घाइते हुनबाट बच्न सकिन्छ। यस्तो थेरापीले मेरुदण्डको दुखाइ, काँधका मांसपेशी च्यातिएको अवस्थामा समेत उपयोगी हुन्छ। यो थेरापी गर्नाले दौड तथा खेलको क्रममा शरीरका हाडजोर्नी मर्किने तथा खुस्किने समस्याबाट त बच्न सकिन्छ नै। हाडजोर्नी मर्किएको अवस्थामा समेत उपयोगी हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment