टन्सिलको जोखिम

बुधबार, ०९ पुष २०७६, १२ : ०६ उपेन्द्र खड्का
टन्सिलको जोखिम

टन्सिलको समस्या जटिल बन्दै गएको अवस्थामा व्यक्तिको मृत्युसमेत हुन सक्ने चिकित्सक बताउँछन्। बालबालिका अझ बढी टन्सिलको जोखिममा हुन्छन्।

टन्सिलमा संक्रमण बढ्दै जाँदा रगतको माध्यमबाट शरीरका विभिन्न अंगमा संक्रमण फैलिने जोखिम हुन्छ। यस्तो अवस्थामा शरीरका अंगले काम नगरी व्यक्तिको मृत्युसमेत हुन सक्ने वीर अस्पताल नाक, कान, घाँटी विभागका डा. उशान्त आचार्य बताउँछन्। यसरी रगतमा संक्रमण फैलने प्रक्रियालाई चिकित्सकीय भाषामा ‘सेफ्टीसेमिया’ भनिन्छ।

त्यसैगरी टन्सिलमा समस्या भएको अवस्थामा मिर्गौलामा समेत समस्या निम्तिन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। टन्सिलमा पिप जम्मा भएर घाँटीमा फैलन सक्छ। डा. आचार्यका अनुसार पिप फैलिएर फोक्सोमा पुगेको अवस्थामा ज्यानसमेत जानसक्छ।

बाथ रोग विशेषज्ञ डा. अन्जल बिस्ट टन्सिलमा समस्या बढ्दा मुटुको बाथको जोखिम हुने बताउँछन्। बिस्टले भने, ‘बालबालिकामा यो समस्या बढी हुन सक्छ।’ समयमै उपचार नभएको अवस्थामा संक्रमण फैलिँदै जाँदा घाँटीको भित्री भागमा पिपका पोका जम्मा हुन पुग्छ। यस्तो अवस्थामा बढी जोखिम हुने चिकित्सक बताउँछन्।

फिजिसियन डा. देवराज घिमिरे पनि विशेषगरी बालबालिकामा टन्सिलको समस्या भएको खण्डमा जोखिम बढी हुने बताउँछन्। घिमिरेले भने, ‘शरीरमा संक्रमण फैलँदा शरीरका अंगले काम गर्न नसकी ज्यानै जान सक्छ।’ मुटुको बाथ भएको अवस्थामा शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ। बालबालिका, दीर्घरोगी तथा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा टन्सिलको समस्याको जोखिम बढी हुने भएकाले यस्ता व्यक्ति विशेषगरी सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ।

टन्सिलका डल्ला
चिकित्सकका अनुसार टन्सिल आफैँमा रोग भने हैन। यो मुखको भित्री भागमा हुन्छ। मुखभित्र जिब्रोको फेदमा दायाँबायाँ टन्सिलका दुईवटा डल्ला हुन्छन्। टन्सिल जन्मजातै हुने ग्रन्थी हो। टन्सिलमा केही हदसम्म रोगप्रतिरोधात्मक क्षमता हुने भए पनि यसको ठूलो भूमिका भने नभएको चिकित्सक बताउँछन्। ‘विशेषगरी बाल्यकालमा टन्सिलले रोगसँग लड्न सक्छ,’ डा. आचार्यले भने, ‘तर रोग प्रतिरोधात्मक क्षमतामा टन्सिलको ठूलो भूमिका हुँदैन।’

त्यसो त नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेल पनि टन्सिलले एक हदसम्म ब्याक्टेरियालाई प्रतिकार गर्ने बताउँछन्। उनले भने, ‘तर ब्याक्टेरियाको संक्रमण बढेर घाउ बनी पाकेको अवस्थामा टन्सिलमा समस्या उत्पन्न हुन्छ।’

टन्सिलको संक्रमण भई सुन्निने, टन्सिलमा पिप जम्ने, रातो हुने जस्ता समस्यालाई चिकित्सकीय भाषामा ‘टन्सिलाइटिस’ भिनिन्छ। टन्सिलमा संक्रमण भएर सुन्निएको अवस्थालाई सामान्य भाषामा टन्सिल भनिन्छ। ब्याक्टेरियल तथा भाइरल संक्रमणका कारण टन्सिलमा समस्या उत्पन्न भई ‘टन्सिलाइटिस’ हुन्छ। चिकित्सकका अनुसार जाडो मौसम ब्याक्टेरियाको वृद्धिविकास हुने उपयुक्त मौसम हो। त्यसैले यो मौसम टन्सिलको बढी जोखिम हुन्छ।

‘टन्सिलाईटिज’ भएको अवस्थामा घाँटी दुख्ने, खाना निल्नै नसक्ने गरी घाँटी दुख्ने, कतिपय अवस्थामा त घाँटीको बाहिरी भागमा समेत सुन्निएर डल्लो देखिन्छ। संक्रमणको कारण यस्तो समस्या हुने चिकित्सक बताउँछन्। अस्वस्थ वातावरणका कारण यस्तो समस्या हुन सक्छ।

लक्षण र भ्रम
चिकित्सकका अनुसार टन्सिलको समस्या भएको अवस्थामा विभिन्न किसिमका लक्षण देखिन्छन्। टन्सिलको संक्रमण हुँदा घाँटी दुखी थुक निल्नसमेत गाह्रो हुन्छ। मुखभित्र लाइटले हेर्दा टन्सिलको आकार रातो तथा पाकेको देखिन्छ। समस्या बढ्दा घाँटीभित्र गाँठोसमेत बन्छ। विशेषज्ञका अनुसार टन्सिलमा संक्रमण भएको अवस्थामा घाँटीमा रहेको ‘लिम्फ’ ग्रन्थी सुन्निएर दुख्छ। विशेषज्ञ डा. पौडेलले भने, ‘लिम्फ ग्रन्थीमा लिम्पोसाइड हुन सक्छ।’ त्यसैगरी टन्सिलको समस्या हुँदा कामज्वरो आउन सक्ने चिकित्सक बताउँछन्। डा. आचार्यले १०२ डिग्रीभन्दा माथि ज्वरो आउने लक्षण देखिन सक्ने बताए। यस्तो हुँदा सजग हुन उनको सुझाव छ।

टन्सिलका सन्दर्भमा केही भ्रमसमेत रहेको चिकित्सकको मत छ। भाइरल र ब्याक्टेरियाका कारण टन्सिलको समस्या हुन सक्छ। डा. पौडेलका अनुसार घाँटी दुखेको सबै अवस्थामा टन्सिलको समस्या हुन्न। एलर्जी, ग्याष्ट्रिकजस्ता कारणले घाँटी दुख्न सक्छ। यस्तो अवस्थालाई टन्सिलको समस्या मानिँदैन। यस्तो अवस्थामा टन्सिलको शल्यक्रिया उपचार विधि अपनाउनु लाभ नहुनेतर्फ डा. आचार्य सजग गराउँछन्।

चिसो मौसममा संक्रमणको बढी जोखिम हुने भएकाले यो मौसममा टन्सिलको समस्या बढी देखिने डा. घिमिरे बताउँछन्। उनले भने,‘तर चिसोकै कारण टन्सिल हुन्छ भन्ने हुन्न।’ प्रदूषित वातावरणका कारण संक्रमण हुन सक्छ।  चिसोमा एलर्जीका कारण घाँटी दुख्ने भए पनि यस्तो समस्या भएको अवस्थामा लगातार लामो समयसम्म घाँटी नदुख्ने डा. आचार्यले बताए।

टन्सिलमा स–साना खाल्टा हुन्छन्। ती खाल्टोमा हामीले कुनै खाद्यपदार्थ खानेक्रममा गएर बस्न सक्छ। त्यसरी अड्किएर बसेका खाद्यपदार्थले असहजता महसुस हुन्छ। यस्तो अवस्थामा स्वाससमेत गन्हाउन सक्ने चिकित्सक बताउँछन्। यसरी अड्किएका खाना बाहिरबाट हेर्दा घाउ पाकेको जस्तो देखिन्छ। तर यसरी अड्किएर रहेको खाना लामो समयसम्म रहिरहन्न। आफैँ जान्छ। ‘यो इन्फेक्सन हैन,’ डा. आचार्यले भने, ‘सामान्यतः यसरी टन्सिलमा अड्किएको खाना निकाल्न उपचारको जरुरत पर्दैन।’

टन्सिल भएको अवस्थामा खाना निल्न गाह्रो हुने भएकाले व्यक्तिले खाना खान नसक्ने हुन्छ। यस्तो अवस्थामा व्यक्ति कुपोषित हुने जोखिम त्यत्तिकै हुन्छ। चिकित्सकका अनुसार टन्सिलमा संक्रमण हुने ब्याक्टेरियाको प्रोटिन र मुटुमा हुने एक किसिमको प्रोटिन मिल्दोजुल्दो हुन्छ। टन्सिलमा ब्याक्टेरियल संक्रमण भएको अवस्थामा शरीरले ब्याक्टेरियालाई आक्रमण गर्छ।  एन्टीबडीले बाह्य ब्याक्टेरियालाई आक्रमण गर्छ। यसरी आक्रमण गर्दा झुक्किएर आफ्नै मुटुलाई आक्रमण गरेको अवस्थामा मुटुको भल्भको समस्या निम्तिन सक्छ।

टन्सिलै फाल्न सकिन्छ
टन्सिलमा पिप जमेर घाँटीमा फैलिएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्ने चिकित्सक बताउँछन्। ‘भाइरलका कारण टन्सिलमा समस्या भएको अवस्थामा सिटामोल खाँदा करिब चार दिनमा ठिक हुन सक्छ,’ डा. आचार्य भन्छन्, ‘ब्याक्टेरियाका कारण टन्सिलमा समस्या भए एन्टिबायोटिक खानुपर्ने हुनसक्छ।’ भाइरलका कारण संक्रमण भएको अवस्थामा करिब एक हप्तामा ठिक हुन्छ। मुटु, मिर्गौलाजस्ता शरीरका अंगमा संक्रमण फैलिन नदिनका लागि एन्टिबायोटिक औषधिको प्रयोग गरिन्छ। विशेषगरी बालबालिकामा ब्याक्टेरियाका कारण टन्सिलको समस्या हुने भएकाले संक्रमण फैलन नदिन एन्टिबायोटिकको प्रयोग गरिने चिकित्सक बताउँछन्।

कतिपय व्यक्तिमा टन्सिल सुन्निएर खाना निल्नसमेत कठिन भएको अवस्थामा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने हुन सक्छ। संक्रमण भैसकेपछि एन्टिबायोटिक्स नै खानुपर्ने हुन सक्छ। चिकित्सकका अनुसार वर्षमा एकपटक हुने टन्सिलाइटिस उपचारपछि ठिक हुन्छ। तर बारम्बार बल्झिरहने अवस्थामा शल्यक्रिया गरी टन्सिलका डल्लै निकालेर फ्याल्नुपर्ने हुन्छ।

डा. आचार्यका अनुसार टन्सिलको संक्रमण वर्षमा ६ पटकभन्दा बढी, लगातार दुई वर्षसम्म वर्षको पाँचपटक भन्दा बढी, लगातार तीन वर्षसम्म वर्षको तीनपटक वा सोभन्दा बढी टन्सिलको समस्या भएको अवस्थामा टन्सिल शल्यक्रिया गरी फाल्नुपर्ने हुनसक्छ। यसरी बारम्बार बल्झिएको अवस्थामा टन्सिल ग्रन्थी नै शल्यक्रिया गरी काटेर फाल्नुपर्ने अवस्था आउने डा. पौडेलको पनि मत छ। तर रुघाखोकी लाग्दैमा टन्सिल भैहाल्छ भन्ने नहुने चिकित्सक बताउँछन्। रुघाखोकी लागेर घाँटी दुखेको अवस्थामा औषधि गरेपछि ठिक हुने चिकित्सक बताउँछन्। यसको उपचार भने सहज छ। 

टन्सिल भएको अवस्थामा चिसो, काँचो जस्ता खाद्यपदार्थ खान नहुने डा. पौडेलको सुझाव छ। उमालेर सेलाएको मन तातोपानी प्रशस्त मात्रामा पिउनुपर्छ। टन्सिलमा समस्या हुँदा निमोनिया, इन्फेक्सनलगायतको समस्या हुन सक्छ। त्यसैले धुवाँधुलो तथा खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ।

Leave A Comment