कमेडी च्याम्पियन : धमलालाई उडाउँदा मुर्छा परिन् ऋचा

बिहिबार, १० पुष २०७६, १२ : ३५ शुक्रवार
कमेडी च्याम्पियन : धमलालाई उडाउँदा मुर्छा परिन् ऋचा

कमेडी च्याम्पियनको नवौं एपिसोडमा आयोजकले गेस्टका रुपमा ल्याए ऋषि धमला र उनकी श्रीमती एलिजालाई। कार्यक्रम सञ्चालनको शैलीले जोकको पात्र बनिरहने ऋषिलाई मञ्चमा पाएपछि कमेडियनहरुले के छाड्थे ! यताउता घुमाउँदै धमलालाई उडाउनसम्म उडाए।

धमलाको क्यारिकेचर गरेर चर्चामा आएका कमेडियन सुमन कार्कीले प्रारम्भमै घोचपेचको गरेका थिए। त्यसलाई निरन्तरता दिए अर्का कमेडियन सजन श्रेष्ठले। फिल्मलाई नै व्यंग्यको आधार बनाएका उनले धमलालाई मात्रै उडाएनन्, एलिजालाई पनि छाडेनन्।

धमला जोडीलाई देख्नासाथ श्रेष्ठले ‘ए धमलाजी, क्यामरा सबै यता फोकस, मलाई नदेखाए पनि धमलाजीलाई देखाउनुस्’ भन्दै उडाउन शुरु गरेका थिए। ‘म तपाईंको फ्यान, तपाईंको कारण नै म कमेडियन भएको’ भन्दै उनले ‘तपाईंको पत्रकारिता हेरेर यति हाँसे’ भन्दै उडाउनेक्रम जारी राख्दै उनको प्रश्न सोध्ने शैलीलाई उडाउन थाले, ‘जनता जान्न चाहन्छ रे, ज्योति मगर भर्जिन छन् छैनन् भन्ने कुन जनता जान्न चाहन्छ ? तपाईंको त्यो छ नि रे, के छ ?’
यत्तिभन्दा धमलाको अनुहार रातो भइसकेको थियो। यसपछि पालो आयो एलिजाको।

‘तपाईंको लभस्टोरी फिल्म हेरेको, धेरै हाँसो लागेको थियो’ भनेर शुरु गरेका उनी जब एजिलाको फिल्मी करिअरमा प्रवेश गर्दै ‘म्यामको नेपाली चलचित्रमा त्यत्तिकै योगदान छ, जति नारायण गोपालको क्रिकेटमा’ भनेर उडाउँदा उनको मुहारको रङ बद्लिएको थियो। जज ऋचा शर्माले भने निक्कै इन्जोय गरिरहेकी थिइन्, धमला जोडीलाई उडाउँदा। उनी पटक–पटक उठेर ताली पिटिरहेकी थिइन्।

पछिल्लो समय श्रेष्ठको प्रस्तुति निकै खारिँदैआएको छ। भिन्न शैलीको कमेडी गर्दै दर्शकको नजरमा परेका विष्णुप्रसाद गौडेलले नवौं एपिसोडमा वैदेशिक रोजगारीमा गएर फर्किएका युवाको हाउभाउलाई व्यंग्यको खुराक बनाएका थिए। पछिल्लो समय श्रेष्ठ र गौडेलको प्रस्तुतिका अगाडि अन्य प्रतिस्पर्धीको प्रस्तुति फिक्का देखिएको छ। यी दुवै प्रतियोगीको प्रस्तुति जजहरुले पनि खुब मन पराइरहेका छन्। क्षितिज केसी, आमोग अर्यालको प्रस्तुति भने जम्न सकेको छैन। आफ्नो प्रस्तुति सुधार्न प्रनेश गौतम संघर्ष गरिरहेका छन्।

रीमालाई स्वदेशी पोइ फापेन
खड्गबहादुर पुन मगरको अभिनय दमदार थियो। जब उनी रिसाएर बोल्थे, दर्शकहरु हाँस्थे भने जज रमाइरहेका थिए। उनले होस्ट रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दा ठुटे अंग्रेजीले टिकेको भन्दै उडाए। उनले ठुटे अंग्रेजी हानेर विदेशीसँग विवाह गर्ने विचार छ कि क्या हो भन्दै उडाउँदा रीमाले पनि स्वदेशी टिकेनन्, अब विदेशीलाई विचार गर्ने हो भन्दै जवाफ फर्काउँदा कार्यक्रमको माहोल रमाइलो भएको थियो।

Leave A Comment