संवेदना सिकाउने सिनेमा

शुक्रबार, ११ पुष २०७६, ११ : १८ अच्युत काेइराला
संवेदना सिकाउने सिनेमा

भर्खरै पहिलो विश्वयुद्ध निख्रिएको छ। हावामा धुँवाको तुँवालो र वारुदको गन्ध व्याप्त भएझैँ एउटा कहालीलाग्दो पीडाको मौनता सर्वत्र पसारिएको छ। सबै बेरङ छन्– समाज, मानिस, तिनका क्रियाकलाप ! र, यस्तो बेलामा एउटा रहस्यमय मानिस एड्रियन, फ्रान्जको चिहानमा श्रद्धाको फूल चढाउन आइपुग्छ। फ्रान्जका बाबुआमा स्याहार्दै आएकी एना विवाह नहुँदै विधवा जीवन बिताइरहेकी छ र ऊ पनि चिहानमा फूल चढाउन पुगेकी छ। यो रहस्यमय मानिस एड्रियन आफूलाई फ्रान्जको साथी बताइरहेको छ। कलेज पढ्दा कसरी उनीहरु नजिकिए भन्ने कथा सुनाइरहेको छ। यति सुन्दा मात्र पनि फ्रान्जको घरमा एक किसिमको रङ चढ्न थाल्छ। वर्षौंपछि बा–आमाको अनुहार उज्यालो भएको छ। प्रेमिका एनाको जीवनमा मुस्कान फर्किन थालेको छ।

यो परिवार बिल्कुलै बेखबर छ– एड्रियनले जे जति बताइरहेको छ, ती सबै झूट हुन्। फ्रान्ज र एड्रियन युद्धमैदानमा केही क्षण मात्र भेटिएका थिए। घनघोर युद्ध चलिरहेको थियो। एड्रियनको सेना अघि बढिरहेको बेला त्यही ट्रेन्जमा आत्तिदै छिर्छ र अकस्मात फ्रान्जको सामुन्ने पुग्छ। दुई देशका शत्रु सेना, तिक्तताले भरिएका यी दुई आत्मा एकअर्कालाई देख्नेबित्तिकै के गरौँ र कसो गरौँको अवस्थामा पुग्छन्। युद्ध यति खतरनाक चिज हो कि तपाईंले अघिल्तिरको व्यक्तिको हत्या गर्नु भएन भने उसले तपाईंको हत्या गरिदिनेछ। यस्तो अवस्थामा पहिलो काम युद्धमा आफू जोगिने उपाय खोजिन्छ। ती दुईले पनि त्यही काम गर्छन्। उनीहरु भर्खर युद्धको माहोलमा छिरेका नवयुवक थिए। तिनलाई हतियार दिइएको थिएन। ओठ निचोर्दा दुध झर्ने बेलामा बारुद र गोलीको आवाजले आत्तिएका यी दुवैले आफू जोगिन हतियार खोज्छन्, पाउँदैनन्। त्यसपछि अचानक एड्रियनले आफ्नो चक्कु उठाउँछ र फ्रान्जको छातिमा हान्छ। एक प्रहारले फ्रान्ज ठहरै हुन्छ। बाहिर गोलीको घनघोर वर्षा चलिरहेको छ, दुई चार बम पनि नजिकै फुटिसके। एड्रियनले गोली र बम छल्न फ्रान्जको शरीरलाई अढेस लाग्छ र बेहोस हुन्छ।

हामीमा सामूहिकता नष्ट भएको छ र बहुमत हावी छ। कठिन अवस्थामा गरेको संघर्षबाट प्राप्त ‘नाफाको जिन्दगी’लाई ‘ब्याज’मा परिणत गर्दै सुविधा मात्र खोज्ने लोभी जमातबाट समाज आक्रान्त भएको छ।

एड्रियन ठूलो धर्मसङ्कटमा छ– फ्रान्जका बाउआमालाई कसरी बताओस् कि उनीहरु पेरिसमा पढ्दै गर्दा भेटिएका थिएनन्, युद्धमैदानमा अचानकसँग केही निमेषका लागि भेटिएका थिए। एड्रियनले आफ्नो दुःख कसरी व्यक्त गरोस्– उसकी विवाह नहुँदै विधवा भएकी प्रेमिका एनालाई कि तिम्रा सारा दुःखको कारण मै हुँ। यसपछि एड्रियनले एउटा युद्धको सिपाही होइन, साथी नै बन्ने निर्णय गर्छ र बाउआमालाई थोरै खुसी बाँड्ने प्रयास गर्छ, प्रेमिकालाई थोरै उज्यालो दिने प्रयास गर्छ।

मोरिस रोस्टान्डको एउटा नाटकमा आधारित फिल्म ‘फ्रान्ज’ले एड्रियनको संवेदनशीलताको कथा भन्छ। अचानकसँग भएको ठूलो गल्तीको भर्पाई अनि पछुतो–अपराधबोधको पटाक्षेप कसरी गर्न सकिन्छ भन्ने कथा देखाउँछ।

सन् २०१८ मा प्रथम विश्वयुद्धको शतवार्षिकी पूरा भएको उपलक्ष्यमा जर्मनी र फ्रान्स दुवै देश मिलेर बनाएको यो फिल्ममा भलै काल्पनिकता होला तर यसमा व्यक्त मानिसको संवेदनशीलता काल्पनिक छैन। कतिले आफ्नो पछुतो र अपराधबोधलाई गहन जिम्मेवारीमा परिणत गर्छन् र समाजका लागि योगदान दिन्छन्, कतिले त्यसलाई छातिभित्रै दबाउँछन् र जीवनभर मानसिक रोग बोकेरै मर्छन्।
०००
संसारको इतिहासमा २००१/९/११ एउटा यस्तो मिति भएर उभिएको छ, जसको क्षति संसारको हरेक कुनोले बेहोरेको छ। अफगानिस्तानमा कयौँ नेपालीहरु रोजगारीका लागि जाँदा ज्यान गुमाएका छन्। हुन त अफगानिस्तानलाई आतंकी र अपराधीको मुलुकका रुपमा कयौँ फिल्मले व्याख्या गरेका छन्, तर मानवीय संवेदनालाई अस्ट्रेलियाबाट यसरी चिहाइएको छ कि कतै ‘महान् पश्चिमी सभ्यता’बाट मानवता त हराइहेको छैन भनी झक्झक्याउँछ। हुन त ‘जिर्गा’ निर्माणको हिसाबले उति उम्दा फिल्म होइन तर कथा जसरी भन्छ, त्यसले युद्धको विभीषिकाका बीच मानिसको संवेदनशीलता अझै कतै छँदैछ कि भनेर खोज्ने काम भने गर्छ।

केही थान वर्षअघि जब माइक अस्ट्रेलियाली सेनाको प्रतिनिधित्व गर्दै अफगानी शहर कान्दाहार नजिकको एउटा गाउँ गाजीघरमा पुग्छ, अँध्यारोमा गरिएको कार्बाहीमा एउटा निर्दोष संगीतकारको मृत्यु हुन्छ। गाउँगाउँ र शहरबजार डुलिहिँडेर गाउँदै पेट भर्ने व्यक्ति अनाहकमा मारिएको थाहा पाएपछि माइकलाई पर्नु पीडा पर्छ। कार्बाहीपछि माइक अस्ट्रेलिया फर्कन्छ र सेनाबाट राजिनामा गरेपछि ऊ पुनः कान्दाहार फर्कन्छ ताकि आफूले गरेको पश्चाताप मृतकका परिवारसँग गर्न सकियोस्। यसका लागि उसले ‘ब्लड मनी’ पनि लिएर जान्छ।

एक त विदेशी, त्यसमाथि निर्दोष अफगानीको हत्या गरेको व्यक्ति आतंककारीहरुको गढमा जान खोज्दैछ तर उसलाई त्यहाँ कोही पनि पु¥याउन तयार छैनन्। अनेक अनुनय गरेर एउटा ट्याक्सीवालालाई तयार पार्छ र माइक जागीघर पुग्छ। एउटा कुइरे गाउँमा आउनेबित्तिकै पूरै गाउँ उत्तेजित बन्न पुग्छ र जब थाहा पाउँछन्, निर्दोष व्यक्तिको हत्यारा उही हो– त्यसपछि उसको पनि ज्यान लिने प्रयास हुन थाल्छ। ‘खुनका बदला खुन’को नारा घन्किन थाल्छ।

माइकले शुरुमा गाउँका युवाको मुक्कालात सहन्छ। त्यसपछि हत्या गरेको सङ्गीतकारको विधवाबाट चप्पलको चुटाई थाप्छ। माइक चुपचाप यी सबै क्रियाकलापमा सरिक हुन्छ, सहन्छ। पछि भद्रभलाद्मीले माइकको ज्यानै जाने अवस्थाबाट जोगाउँछन्। उनीहरुको तर्क छ, यत्रो टाढाबाट ऊ क्षमा माग्न आएको छ, उसलाई क्षमाको हक दिइनुपर्छ। गाउँमा पञ्चायत बस्छ। पञ्चायतले खुनको बदला खुन गर्ने कि गुन, छलफल गर्छ। अन्तिम निर्णय सङ्गीतकारका सन्तानलाई छाडिन्छ। मृतक सङ्गीतकारको किशोर छोरो आफ्नो पिताको हत्यारो माइकलाई माफी दिने निर्णयमा पुग्छ।

सन् २०१९ मा मैले हेरेका माथिका यी दुई फिल्म यस पटकको शीर्ष फिल्मको सूचीमा राखेको छु, जसले मानिसको संवेदनशीलतालाई ज्यूँदै राखेका छन्। प्रथम विश्वयुद्धमाथि अनेकन् राम्रा फिल्म बनेका छन् तर २०१८ मा बनेको ‘फ्रान्ज’ले अपराधबोध र पछुतोलाई मज्जाले व्यक्त गरेको छ। त्यस्तै ‘जिर्गा’ले गाउँको भद्रभलाद्मीपन, त्यहाँका मानिसको इमान र संवेदनशीलता अझै मरिनसकेको देखाएको छ। कुनै निर्दोषको हत्या गर्नुपर्दाको मनभरिको पीडा बोकेर बाँच्नुभन्दा बरु गुमनाम मृत्यु नै बेहोर्नु परोस् भनी हिँड्ने माइकको मनोदशा र त्यसको मोचनका लागि उसले गरेको मिहिनेतले मन नै कोक्याइदिन्छ।
०००
प्रख्यात सोसल साइकोलजिस्ट एरिक फ्रोम उनको कम चर्चित पुस्तक ‘सेन सोसाइटी’ त्यो बेलामा लेखेका थिए, जुन बेला प्रथम विश्वयुद्ध आँखैले देखेका थिए, दोस्रो विश्वयुद्धको विभीषिका भोगेका थिए र हिटलरको उदयलगत्तै भागाभाग गरेर अमेरिकामा शरण लिनुपरेको थियो। त्यस बेलाका अन्य महान् दार्शनिक, वैज्ञानिकहरुझैं उनी पनि देशहरुको युद्धमोहप्रति विस्मित थिए कि आखिर समाजलाई के भइरहेको छ, यो कता गइरहेको छ ? हजारौँ वर्षपछि जुन ज्ञान, बुद्धि र बर्कत समाजले हासिल गरेको छ, के यही विध्वंशका लागि हो ?

उनले ‘सेन सोसाइटी’मा लेखेका छन्, ‘हो, समाज मृत भइसकेको छैन। बरु यो त बल्ल युवावस्थामा प्रवेश गरेको छ।’ उनको यो आशा हिटलरको अन्त्य, संयुक्त राष्ट्रसंघको उदय तथा उसको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिबद्धताका कारण थियो।

युद्धपछि समाज ‘जिर्गा’को माइक र ‘फ्रान्ज’को एड्रियनको मनोदशामा हुनुपर्ने हो, जहाँ गरिएका भूलप्रति एउटा गहिरो विक्षिप्तता, पछुताउ र अपराधबोधलाई निमिट्यान्न पारी नयाँ जीवन जिउने उत्साह हुनुपर्ने हो तर नेपाली इतिहासमा यो संवेदना हिजो पनि गायब थियो र आज पनि गायब छ।

२०४६ सालपछि जुन अकूत सम्पत्ति नेपालीले हासिल गरेका थिए, त्यसको अपचलनले उसलाई २०५६ साल फागुन १ मा ल्याइपु-यायो। र, २०६२/६३ को आन्दोलनपछि जुन अभूतपूर्व उत्साह नेपालीमा थपिएको थियो, संवेदनशीलताको अभावमा त्यो पनि गुमिसकेको छ। सामूहिकता नष्ट भएको छ र बहुमत हावी बन्न पुगेको छ। कठिन अवस्थामा गरेको संघर्षबाट प्राप्त ‘नाफाको जिन्दगी’लाई ‘ब्याज’मा परिणत गर्दै सुविधाको दोहन तीव्र मात्र भएको छैन, सीमित मानिसको बपौतीमा परिणत गरिएको छ।

यत्तिका वर्षमा जति जीवन नष्ट भए, चाहे त्यो ‘जनयुद्ध’का नाममा होस् या देशभित्रको सम्भावना नदेखेर विदेशिएकाको लाश होस्, नेपाली राजनीति पूर्ण रुपमा आशा सञ्चार गर्न असफल भएको छ। खतरनाक समाज त्यो हो, जसका आशा र सपना मृत छन्। नेपाली समाज थोरबहुत त्यसतर्फ लम्किरहेको छ। यतिबेला नेतृत्वमा बढीभन्दा बढी संवेदनशीलता देखिनुपर्ने हो, जति बढी शक्ति शक्ति उति नै बढी जिम्मेवारीको सिद्धान्त परिपालना हुनुपर्ने हो तर त्यो कतै दृष्टिगोचर भइरहेको छैन। अहिलेको संविधान र संविधानले परिकल्पना गरेको युग ल्याउन जति मानिसको हत्या भएको छ, त्योभन्दा बढी सर्वसाधारणको सपनाको हत्या गरेको छ। यसअघि त कुनै पनि पनि शासनमा यस्तो भएको थिएन।

यो हत्याको पछुताउ गर्ने समाज चाहिएको छ र अल्लारे समाज अब वयस्क हुनुपर्ने जिम्मेवारीमा छ। त्यो कसरी हुन्छ ? त्यसको झल्को हालै एक जापानीसँगको भेटवार्ताको दौरान महसुस भएर आयो। उनलाई यो पंक्तिकारले सोधेको थियो, ‘तपाईंहरु यति नम्र र यति मिहिनेती कसरी हुनुभयो ?’

उनले जवाफमा भनेका थिए, ‘हामी आफ्ना कारणले अरुलाई दुःख नहोस्, पीडा नभोगोस् भनेर सचेत छौँ।’

आह ! कति मीठो जवाफ ! हाम्रा अगुवा र कर्मचारीतन्त्रले जुन दिन यो कुरा लागू गर्छन्, त्यसपछि यो देश बनाउन कुनै वाद चाहिँदैन। यत्तिको संवेदनाले देश उँभो चढ्न थालिहाल्छ।

Leave A Comment