वीर अस्पतालमा बिल तिर्ने काउन्टरअगाडि लामो लाइन थियो। लाइनमा बसेकाहरुलाई मिलेर बस्न आग्रह गर्दै थिए सुरक्षा गार्ड तिलक परियार।
वृद्ध–वृद्धालाई लाइनमा प्राथमिकता दिने सिस्टम रहेछ अहिले। एक युवा हतारिँदै आएर एक वृद्ध अगाडि गएर लाइनमा बसिदिए। परियारले ‘पहिला वृद्ध आमाबुवालाई पालो दिउँ है, धेरै हतार नगर्नु’ भनेका मात्र के थिए, ३०÷३५ वर्ष हाराहारीका व्यक्ति जोसिदै ‘खेल्ने भए सिङ्गल–सिङ्गल फाइट खेलुम्’ पो भन्न थाले ! परियार ‘हजुरले बुझिदिनुहोला’ भन्दैथिए, ती व्यक्ति भने पाखुरा सुर्केकोसुर्कै ! जबर्जस्ती लाइनमा बसेर बिल तिरेर उनी हिँडे।
‘मान्छे हेर्दा पढेलेखेका नै हुन्छन् तर मिलेर लाइनमा बसौं भन्दा कोही मान्दैनन्,’ परियारले अनुहार बिगार्दै भने, ‘कोहीकोही त मुर्खै आउँछन्। जति भने पनि मान्दैनन्।’
०००
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पश्चिमतिरको कोठामा मापसेमा सवारी चालक जफत भएकाहरुको सचेतना कक्ष चलिरहेको थियो। कोठाको अगाडिको भित्तामा टेलिभिजन सेट थियो। सेटको दायाँबायाँ सबैले देख्ने गरी मोबाइल साइलेन्ट मोडमा राख्न र फोन नउठाउन सूचना टाँसिएको थियो।
टेलिभिजनको स्क्रिनमा ट्राफिक सचेतनासम्बन्धी सामग्री प्रसारण भइरहेकै बेला एक चालकको मोबाइलको घण्टी बज्यो। कक्षामा रहेका ट्राफिक प्रहरीले कक्षा बीचमै रोकेर मोबाइल साइलेन्टमा राख्न र आएको फोन नउठाउन सम्झाए। उनले सम्झाएको पाँच मिनेट पनि भएको थिएन, अर्को कसैले मोबाइलमा कुरा गरेको कक्षामा प्रस्टै सुनियो।
ती ट्राफिक प्रहरीलाई सही नसक्नु भयो। उनले मोबाइलमा कुरा गर्ने चालकलाई उठाएर सोधे, ‘पढ्नु भएको छैन ?’
‘म कक्षामा छु मात्र भनेको हो।’
‘मैले सम्झाएको सुन्नु भएन ?’
‘सुनेको थिएँ तर फोन आयो। पछि कल गर्छु भनेको मात्रै हो।’
दैनिक जीवनमा सामान्य अनुशासन पालना नगर्दा ज्यानै जानेसम्मका घटना घटिरहेका छन्। तापनि किन सुधार हुन्न हाम्रो बानी ?
‘यस्तो छ अनुशासनको ताल ! धैर्यता भन्ने छँदैछैन। सडकमा सवारीसाधन लिएर जाँदा यस्तै अधैर्य हुँदा धेरैको ज्यान जाने हो। अनुशासन पालना गर्न सिक्नुस्’ भन्दै उनले ती युवाको त्यस दिनको कक्षा रद्द गरिदिए।
०००
सामाजिक सञ्जाल, सार्वजनिक मञ्च जताततै जाने हो भने सुनिने एक आम वाक्य छ– ‘हाम्रा नेता अनुशासितै भएनन्।’ नेताहरुका सानासाना बानी र व्यवहारलाई लिएर लामा लामा प्रवचन चल्ने गर्छ। तर के आम नागरिक चाहिँ अनुशासित छन् त ?
सार्वजनिकस्थल, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय, बस स्टेसनमा आधा घण्टा मात्र उभिने हो भने देखिने दृश्यले प्रस्टै देखाउँछ– अहँ, बिल्कुलै छैनन्।
हर्न नबजाउने संकेत राखेको अस्पताल र विद्यालय परिसर वरपर ट्वाँट्वाँ–टुँटुँ बजिरहन्छ, कृपया लाइनमा बस्नुहोला लेखिएको सेवा प्रदायक अस्पताल, खानेपानी कार्यालय मात्रै हैन, विश्वविद्यालयमा जाँदासमेत तँछाडमछाड गरेर पहिला आफ्नो काम सक्न लागिपरेका योद्धाहरु टन्नै देखिन्छन्।
सार्वजनिकस्थल धूमपान निषेध भएको धेरै भइसक्यो तर सडकमा फ्वाँफ्वाँ धुँवा उडाउन कुनै धक मान्दैनन्। मोबाइल साइलेन्ट राख्न निर्देशन दिइने फिल्महलमा साइलेन्ट नराख्ने त सामान्य नै भयो, अझ मोबाइल कल उठाएर चर्को स्वरमा हलै थर्कने गरी ‘अँ म फिल्म हेर्दैछु’ भनेर चिच्याउने महाशयहरुको पनि कमी छैन।
०००
सार्वजनिक स्थलहरुमा कस्ता–कस्ता व्यवहार हुन्छन् भनेर शुक्रवारले एक साता विद्यालय, सरकारी अस्पताल, सार्वजनिक यातायात, सडकमा अनुगमन गर्दा यस्तै यस्तै दृश्य टन्नै देखिए।
गत विहीबार काठमाडौँको पुरानो बसपार्क पुग्दा यात्रुहरुको भिड थियो। तर सार्वजनिक यातायात चढ्न कतै लाइन देखिएन। एउटा गाडी आयो। भिड हुर्रिंदै जान्थ्यो। कोचाकोचमै चढ्न सक्ने चढ्थे, चढ्न नसक्ने हारेका योद्धाझैँ लुत्रुक्क परेर फर्किन्थे।
वीर अस्पताल अगाडिको सडक सवारी दुर्घटनाको दृष्टिले जोखिमपूर्ण मानिन्छ तर त्यहीँ निर्धक्क जताततैबाट बाटो काटेका पैदलयात्रीहरु देख्नु सामान्य दृश्य नै हुन्। त्यहाँ बाटो काट्न पैदल यात्रुलाई सहज बनाउने जेब्रा क्रससमेत छैन। सोमबार शुक्रबारकर्मी एक घण्टा त्यहाँ बस्दा अधिकांशले जोखिम मोलेरै बाटो काटिरहेका थिए। पैदलयात्रु यसरी हुत्तिएर बाटो काटिरहेका थिए, दृश्य हेर्दा देखिन्थ्यो– गाडी उनीहरुसित ठोक्किदा पैदलयात्री हैन, गाडी हो घाइते हुने।
केहीपर आकाशे पुल छ, जहाँबाट सुरक्षित रुपमा सडक वारपार गर्न सकिन्छ। अलिकति उत्तरतिर लाग्ने हो भने भूमिगत मार्ग पनि फेला पर्छ नै तर कसैलाई वास्तै छैन ज्यानको। ह्या मरे मरिएलाझैँ गरेर गाडीको भिडमा बाटो काटेकोकाट्यै थिए सर्वसाधारण।
केही यात्रुलाई रोकेर यसरी किन जोखिम मोलेर बाटो काटेको ? अलिमाथि आकाशे पुल छ त भन्दा उल्टो कुटौँलाझैँ गर्दै ‘तँलाई के खाँचो, मन लागेको छ भने तँ पनि हिँड् न ! कसले रोकिदिएको छ ?’ भन्ने जवाफ फर्काए।
एक युवाले सबै जनाले यहीँबाट बाटो काटेकाले आफूले पनि यतैबाट बाटो काटेको बताए।
त्यही चोकमा उभिएका ट्राफिक प्रहरी जवान शेरबहादुर बस्नेत यता र उता दौडिरहेका थिए। उनले पैदलयात्रुलार्ई बाटो काट्न रोक्न सकेनन्। जोखिमपूर्ण रुपमा बाटो काटिरहेका पैदल यात्रुलाई किन नरोकेको भन्ने जिज्ञासामा उनले भने, ‘हैरान बनाइसके। कसरी रोक्नु ? जति भने पनि सुन्ने हैनन् !’
सुरक्षित रुपमा सडक आरपार गराउन काठमाडौँका सडकमा केही आकाशे पुलहरु छन् तर पैदलयात्रु आकाशेपुललाई जिल्ल पार्दै सडकबाटै बाटो काट्छन् जोखिम मोल्दै।
नयाँ बसपार्क अगाडिको आकासेपुल नजिकैको दृश्य पनि उस्तै थियो। शनिबार दिउँसो ३ बजेतिर पुग्दा पुलबाट भन्दा पुल तलबाट बाटो काट्नेको संख्या धेरै थियो। पैदलयात्रुले सकेसम्म आकाशे पुल प्रयोग गरुन् भनेर त्यहाँ पनि जेब्राक्रस बनाइएको छैन तर पैदलयात्रुहरु यत्ति हतारमा देखिन्छन् कि लाग्छ, एकै सेकेन्ड ढिला भयो भने पनि बर्बाद हुन्छ।
क्यापसको हाल पनि उस्तै
क्याम्पस पढ्ने विद्यार्थीहरु अनुशासनको मामिलामा कत्तिको गम्भीर होलान् ? यही जिज्ञासा मेट्न गतसाता प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पस पुग्दा शिक्षित वर्गको पारा पनि देखियो। भित्र कक्षा रित्तैझैँ थिए। बाहिर घाम तापेर गफ गर्नेहरुको संख्या सभा बराबर थियो।
क्याम्पसका सहायक प्रमुख गोविन्दप्रसाद आचार्यका अनुसार धेरै विद्यार्थी भएका कारण अनुशासनमा कडाई गर्नै गाह्रो छ रे !
‘ठूला भएका विद्यार्थीले आफैँले बुझेर पढ्ने कुरा हो,’ उनले भने, ‘पढ्ने विद्यार्थी पढिरहेका छन्। हल्लाकारी विद्यार्थीहरु हल्ला गरिरहेका छन्।’
उनका अनुसार कक्षामा सबैभन्दा हैरान मोबाइलले बनाउँछ। कक्षा शुरु भएलगत्तै मोबाइल साइलेन्टमा राख्न आग्रह नगरिने हैन। तर थोरैले मान्छन् यस्तो निर्देशन। कक्षामा पढाइरहँदा मोबाइलको रिङटोन बजेर हैरान हुन्छ रे ! कतिपय विद्यार्थीले जानाजान अर्को साथीलाई फोन गरेरसमेत हैरान बनाउँछन्।
जयबागेश्वरीमा रहेको कैलाशकुट कलेजका पुग्दा पनि दृश्य उस्तै। विद्यार्थी भागेर हैरान भएपछि कलेज प्रशासनले अलि कडाई गरेको रहेछ। तर बदमासहरुका अनेक उपाय !
शुक्रवारकर्मी कलेज पुग्दा दुईजना विद्यार्थी तल बसेर कलेजको झ्यालतिर हेरिरहेका थिए। एकछिनमा माथिबाट कलेजकै अर्का विद्यार्थीले झोला तलतिर फालिदिए। कक्षा बंक हानेका विद्यार्थी झोला लिएर टाप कसे।
कलेजकी प्रिन्सिपल डाक्टर शोभा ढुङ्गानालाई सोधियो, ‘तपाईंको कलेजबाट विद्याथीहरु निस्केर गए त ? रोकतोक छैन ?’ उनले जवाफ फर्काइन्, ‘कोहीकोही अलिक अनुशासनहीन छन्। जति गरे पनि रोक्नै सकिन्न।’
मित्रपार्कको पशुपति कलेजको दृश्य पनि अन्य कलेजको भन्दा फरक देखिएन। अनुशासनहीन विद्यार्थीबाट हैरान रहेछन् प्राध्यापकहरु।
कस्ताे हतार हाे सडकमा
सबैभन्दा बिजोग सडक अनुशासनमा देखिन्छ। न पैदल यात्रु, न चालक नै सडक नियममा गम्भीर देखिन्छन्। त्यसको मूल्य पैदलयात्रु अनि चालकले बेहोरिरहेका छन् प्रत्येक दिन।
दुई साताअगाडि बुढानीलकण्ठमा निजी कारको ठक्करले लीला देवकोटाको ज्यान गयो। शनिबार बिहान सडक किनारमा हिँडिरहेको बेला अनियन्त्रित रुपमा आएको बा १४ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो। उपचारका क्रममा उनको निधन भएपछि कार चालक पृथ्वी मल्ल प्रहरी हिरासतमा छन्।
कार त्यसरी अनियन्त्रित हुनुको कारण खुल्यो– रातभर मदिरा पिएर मदहोस हुँदा पनि सवारी चलाउनु। मदिरा पिएर सवारी चलाउन निषेध भएको १० वर्ष बढी भइसक्यो काठमाडौंमा। मदिरा पिएर सवारी चालकलाई फन्दामा पार्न चोक र गौँडामा अझै ट्राफिक बस्छन्। तापनि रातभर मदिरा पिएर बिहानै सवारी चलाउने दुस्साहस गर्ने मल्लको दुस्साहस रोकिएन र अनाहकमा एक महिलाको ज्यान गयो।
सोमबार नै सुकेधारामा लेन मिचेर हुत्तिदै आएको सार्वजनिक बसको ठक्करले क्याम्पस पढ्न जाँदै गरेकी सृष्टि पन्तको ज्यान गयो। यो साउनयता काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउने ७६ जनामा ३४ जना त पैदलयात्री नै छन्।
प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष १३ हजार हाराहारी दुर्घटना हुन्छ। जसमा दुई हजार बढीले बर्सेनि ज्यान गुमाउने गरेका छन्। गत वर्षको तथ्यांक हेर्ने हो भने १३ हजार ३ सय वटा दुर्घटना भए जसमा दुई हजार तीन सयले ज्यान गुमाए।
केही दुर्घटनाको कारण प्राविधिक देखिए पनि अधिकांश दुर्घटनाको मूल कारण चालक या यात्रुको अनुशासनहीन व्यवहार नै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाल बताउँछन्।
सडकमा सवारी चलाउँदा हतारिने, लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, जथाभावी सडक पार गर्ने, वन वेमा जबर्जस्ती सवारी लैजाने, गलत रुपमा ओभरटेक गर्ने लगायत नै दुर्घटनाको मुख्य कारण देखिन्छ। पैदल यात्री र चालक सामान्य सडक नियममा सजग हुने हो भने दुर्घटना घटाउन सकिने उनको तर्क छ।
ओभरटेक गर्दा दायाँ साइडबाट गर्नुपर्छ भन्ने सामान्य नियम भए पनि सवारी चालकले नियम नमानिदिँदा दुखद् दुर्घटना हुने गरेको ढकालले बताए। तीन दिन अगाडि सुकेधारामा विद्यार्थीको ज्यान जानुको कारण सवारीले गलत दिशाबाट ओभरटेक गर्नु देखिएको उनले बताए।
‘सडक अनुशासन मात्रै पालना गरिदिने हो भने पनि धेरै दुखद् दुर्घटना टार्न सकिन्छ,’ एसएसपी ढकालले भने, ‘तर जति सम्झाए पनि सडक अनुशासन पालना गराउनै सकिन्न।’
Leave A Comment