बिर्सिएको त्यो दुर्घटना

शनिबार, १२ पुष २०७६, १० : ४८ शुक्रवार
बिर्सिएको त्यो दुर्घटना

गत शनिवार बुढानीलकण्ठमा लीला देवकोटाको ज्यान जाने गरी भएको दुर्घटनाको कारण देखियो, मदिरा, मस्ती अनि कानुन प्रतिको मिचाहा प्रवृत्ति। पात्र काठमाडौंका धनाढ्य परिवारका २१ वर्षे पृथ्वी मल्ल।

काठमाडौंमा मदिरा, मस्तीमा मदहोस भएर कानुनको खिल्ली उडाउन खोज्दा अर्काको ज्यान लिने घटना भएको यो पक्कै पहिलो घटना थिएन। मदिरा र मस्तीसँग दर्दनाक दुर्घटना जोडिएका दर्जनौँ घटना बेहोरीसकेको छ काठमाडौंले। त्यस्तै एक घटना भएको थियो, काठमाडौंको भोटाहिटीमा १० वर्षअगाडि।

०६६  साउन २२। बिहान झिसमिसे भएसँगै काठमाडौं बिस्तारै ब्युझँदै थियो। साढे पाँच बजेतिर काठमाडौंको भोटाहिटीमा बत्तिदै आयो बा ४ च ८०३० नम्बरको होन्डा सिटी कार। अनियन्त्रित कार भोटाहिटीको भित्तातिर जोतियो। त्यही कारको चपेटामा पर्दा ६ जनाको ज्यान गयो।

सुरक्षा प्रणाली बलियो भएको कारका कारण चालक २० वर्षीय विप्लवमान सिंह डंगोल जोगिए दुर्घटनामा। सामान्य चोट लागेका उनी लड्खडाउँदै कार त्यहीँ छाडेर भागे। काठमाडौंमा ६ जनाको ज्यान जानेगरी भएको दुर्घटनाको गाडी समातियो तर चालक को थिए पत्तो लागेन पहिलो दिन।

प्रहरीले चालक पक्राउ नगरेपछि दुर्घटना गराउने नेपाल प्रहरीका डिआइजीका छोरा रहेको र प्रहरीले नै भगाएको जस्ता अफवाह फैलियो। आक्रोशित सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएपछि नाम खुल्यो विप्लवको। अनि खुल्यो उनी डिआइजीका बिग्रेका सन्तान हैनन्, एक व्यापारी घरानाका सन्तान हुन्।

लीला देवकोटा

कार धनीको नाम खोज्दा शान्तिदेवी सिंहको नाम खुल्यो। घटनाका मुख्य कारक प्रहरीको सम्पर्कबाहिरै रहे पनि उनको परिवारका सदस्य प्रहरीको सम्पर्कमा आयो तर विप्लव पक्राउ परेनन्। यस्ता घटनामा प्रभावको भरमा जोगिने, नक्कली चालक खडा गर्ने जस्ता काम भएका नजिरले कतै उनलाई जोगाइन लागेको त हैन भन्ने आशंका बढ्नु सामान्य नै थियो। प्रहरीले पक्राउमा चासो नदेखाउँदा शंका बढ्यो पनि।

प्रहरीको अनुसन्धानमा नगरकोटमा आफ्नो जन्मदिनमा मस्त मदिरा पिएर आएका विप्लवले दुर्घटना गराएको खुल्यो। पक्राउ नगर्दा दवावमा आएको प्रहरीले अन्ततः घटनाको करिब एक सातापछि उनलाई साथीको घरबाट नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो। घटनामा प्रारम्भमा पुर्पक्षका लागि जेल चलान भएका उनलाई अदालतले सजाय दियो। उनको परिवारले पीडित परिवारका सदस्यलाई पाँच लाखको दरले ३० लाख क्षतिपूर्ति दिइएको थियो।

Leave A Comment