राजा महेन्द्रले २०१७ पुस १ मा बिपी कोइरालाको नेतृत्व सरकारलाई अपदस्थ गरेर पञ्चायती व्यवस्थाको प्रारम्भ गरे। प्रजातान्त्रिक व्यवस्था फर्काउन ३० वर्षसम्म राजनीतिक दल र दरबारबीच द्वन्द्व चलिरह्यो।
प्रजातन्त्रका लागि जनताले बलिदान दिइरहे तत्कालीन सरकार दबाउन राज्यको भरपुर स्रोतको दोहन गरिरह्यो। अन्ततोगत्वा जनताको जित भयो र २०४६ मा बहुदलीय व्यवस्था आयो। ३० वर्षे निरंकुश शासन ढाल्न सक्रियहरुले इतिहासलाई लिपिबद्ध गर्दै पुस्तक निकाल्ने क्रम सुरु भयो। कतिले गैरआख्यान लेखे, कसैले आख्यान। ३० वर्षे पञ्चायती व्यवस्थाविरुद्ध लडेकाहरुको पुस्तक आउने क्रम अझै जारी नै छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहिलो उपन्यास ‘कारा’ पञ्चायतको अन्त्यतिरको समय र बहुदलकाल वरपर घुमेको पुस्तक हो। ०४६ मा जेल बस्दा र ३० वर्ष वकालत गर्दाको अनुभवलाई आधार बनाएर लेखिएको पुस्तकले निर्दोषलाई दोषी बनाउने षडयन्त्रको कथा भन्छ।
२० अध्यायमा छुट्टाइएको ‘कारा’ उपन्यासको प्रमुख पात्र हुन्, पुष्पा अधिकारी। उनी गाउँको दाइलाई सरकारले बेपत्ता पारेपछि विरोध जुलुसमा सहभागी हुन जाँदा पक्राउ परी दुई वर्ष विराटनगर जेलमा पर्छिन्। पुष्पाका हजुरबुबा नेपाली कांगे्रस समर्थक हुन्। त्यसकारण पनि उपन्यासकी प्रमुख पात्र पुष्पामा राजनीतिक चेत पूर्ण देखिन्छ।
पुष्पा २ वर्ष जेल बस्दा ३५ जना कैदीको कथालाई उपन्यासले समेटेको छ। जेलमा कैदीको बानी व्यहोरा, नाइके, चौकीदार र जेलरको रवाफलाई कार्कीले उपन्यासमा राम्रोसँग उतार्ने प्रयास गरेकी छन्। हिरामाया, सानु माया, पार्वती, भक्तपुरे, पात्ले, शिवा, सुधा, खोटाङे, दार्जिलिङे लगायतका पात्रहरु उपन्यासका उपकथामा जोडिएका छन्।
जेल किन पर्छन् भन्नेमा पुष्पा पात्रमार्फत कार्कीले लेखेकी छन्, ‘धेरैजसो नियतभन्दा पनि परिबन्द र दुर्घटनाको सिकार भएर यहाँ आइपुग्दा रहेछन्।’ उनकोे उपन्यासका अधिकांश पात्र परिबन्द र दुर्घटनाको सिकार भएरै जेल पुगेका छन्। उपन्यासमा प्राथमिकतामा परेकी पात्र हिरामाया श्रीमान् मारेर जेलमा आइपुगेकी हुन्। श्रीमान्को हत्याको कारण बात लगाएर छोरा मार्न श्रीमान् तम्सिनु थियो।
जिउ मास्ने बेच्ने, देह व्यापार, हाडनाता करणीबाट जन्मिएको बच्चाको हत्या, सौता हत्या, मानसिक सन्तुलन गुमाएपछि छोराको हत्या, धर्म परिवर्तनजस्ता अभियोगमा जेलमा छन् उपन्यासका पात्रहरु।
उपन्यासमा नाइकेको शासन, फोहोर, कुपोषण, अभाव, औषधोपचार, लुगाफाटोमा विभेद र शोषणलाई उपन्यास चाखलाग्दो गरी उनिएको छ। जेल परेपछि महिलाले परिवारबाट हुने हेला र बेवास्तालाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ।
उपन्यासको पृष्ठ १ सय ७४ मा लेखिएको छ ‘.... जेलबाट निस्कँदा प्रायः पुरुषका श्रीमती उनीहरुलाई कुरेर बसेका हुन्छन्। उनका परिवार जोगाएर, छोराछोरी हुर्काएर, दुःख खेपेर बसेका हुन्छन्। महिला जेल परे भने दुई तीन महिनामै श्रीमती मरे जसरी अर्काे बिहे गर्न अग्रसर भइहाल्छन्। १० वर्ष जेल बसेर कुुनै महिला बाहिर निस्किइन् भने उनको परिवारै बाँकी नहुन सक्छ।’
उपन्यासले उठाएको अर्काे महत्वपूर्ण विषय जेलभित्र नाइकेको शासन हो। उनले पुस्तकमा उल्लेख गरेको नाइकेको शासन र प्रवृत्ति अहिले पनि उस्तै नै देखिन्छ। सुधारगृह भनिए पनि कारागार कालकोठरीकै अवस्थामा छ अहिले पनि। यस विषयलाई उपन्यासले गतिलो ढंगले उठाउने प्रयास गरेको छ।
२ सय २७ पृष्ठको पुस्तक पढिसक्दा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको जेल जर्नलको झल्को आउँछ। पुष्पा पात्रमार्फत कार्कीले आफ्नो राजनीतिक चेत उपन्यासमा पोखेकी छन्। वकालतमा आउनु अगाडिको राजनीतिक गतिविधिले उपन्यास लेख्न सघाएको छ।
गैरआख्यानमार्फत पुस्तक लेखनमा प्रवेश गरेकी कार्कीले दोस्रो पुस्तकलाई आख्यान भने पनि पुस्तकको भाषा र कथ्यशैलीले पूर्ण आख्यान हुन दिएको छैन।
कार्कीको आत्मकथा ‘न्याय’ पनि आलोचनारहित हुन सकेको थिएन। आत्मरतिलाई आत्मकथाको नाम दिएर पुस्तक प्रकाशन गर्ने शृंखलामै मिसिएको थियो उनको ‘न्याय’ पुस्तक पनि। उनको पहिलो उपन्यास पढ्दा सायद आत्मकथाको आलोचनाका कारण उनले ‘कारा’ लाई गैरआख्यान भन्न हच्किएझैं देखिन्छ। पुस्तक उनको पेशागत मर्यादाले थिचिएको छ।
पुस्तकमा यति धेरै उपकथा र पात्र छन् कि उपन्यासभन्दा कथा सङग्रहझँै पनि देखिन्छ। कार्कीको जेल अनुभव र पेशागत कर्मको क्रममा टिपोट गरिएको कथाहरुलाई उपन्यास बनाउन सम्पादक मण्डल चुकेको देखियो। गैर आख्यानमा सकस भए पनि उपन्यासभन्दा राम्रो कथा सङ्ग्रह बन्न सक्थ्यो कारा।
Leave A Comment