–धनबहादुर खड्का
मिस नेपाल २०१६ को ताज अश्मी श्रेष्ठको शिरमा पर्न नपाउँदै सामाजिक सञ्जालमा आयोजक संस्थाविरुद्ध आलोचनात्मक टिप्पणी आउन सुरु भयो । त्यस्ता टिप्पणी गर्नेहरू सर्वसाधारणमात्रै नभई केही नाम चलेका व्यक्ति पनि थिए । यसपल्ट पनि श्रेष्ठ (नेवार)ले ताज जितेपछि मिस नेपाल ‘जातीय’ भएको आशय स्ट्याटसमा प्रकट भएका थिए ।
कुनै समय मिस नेपालका लागि प्रतिस्पर्धासमेत गरेकी अभिनेत्री रेखा थापाले लेखिन्, ‘मिस नेपाल २०१६ को क्राउन जितेकोमा अश्मी श्रेष्ठलाई बधाइ । तर, मलाई लाग्छ, मिस नेपालमा देशका सबै युवतीले आफ्नोपन महसुस गर्न सकून् । न कि कुनै जाति र सम्प्रदायले मात्रै ।’ सन् १९९९ मिस नेपालको टप १० मा समेत पुगेकी अभिनेत्रीले यो प्रतियोगिता जातीय भएको महसुस गरेर स्ट्याटस लेखेपछि उनको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा थुप्रै पोस्ट भए ।
नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेताको परिचय बनाए राजवल्लभ कोइरालाले व्यंग्यात्मक शैली अपनाएर मिस नेपाल प्रतियोगिताको निष्पक्षतामाथि आशंका प्रकट गरे, ‘ब्राह्मण युवती मिस नेपाल नभा’कै अवस्था हो र ? ज्ञान र रूपमा कहाँनेर फेल खाँदा रहेछन् यिनीहरू ? थाहा पाए हाम्रा दिदीबहिनीहरू पनि अगाडि बढ्थे कि !’
सबैभन्दा धेरै पक्ष विपक्षमा बहस भएको स्ट्याटस थियो यो । उनले आफू जातीय नभएको तर मिस नेपालको प्रसंगमा जिज्ञासु भएको भनेर नोट लेखे । तर, उनको स्ट्याटसमाथि बहस गर्ने (कमेन्टमा) हरूको ठूलै लाम लाग्यो ।
ठोकेरै ‘मिस नेपाल कि मिस नेवार’ भनेर स्ट्याटस लेख्ने अभिनेत्री वर्षा शिवाकोटीले भने बहस लामो समय थेग्न सकिनन् । केही समयमै आफ्नो स्ट्याटस डिलिट गरेर पन्छिइन् ।
सेलिब्रिटीमात्रै होइन, ब्लगर र सर्वसाधारणले यसपल्ट मिस नेपालको निष्पक्षतामाथि घुमाउरो तरिकाले आशंका व्यक्त गरे । ब्लगर दुर्गा पंगेनीले त मिस नेपालमा बाहुन र दलितलाई आरक्षण हुनुपर्ने व्यंग्य गरे ।
आलोचना र संयोग
मिस नेपालको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको निकै भइसकेको छ । तर, अघिल्ला वर्षहरूमा प्रतियोगितामा सहभागी युवतीहरूले यस्तो प्रतिक्रिया दिन्थे । त्यसलाई आयोजक संस्थाले ‘हार्नेको गुनासो’का रूपमा लिन्थ्यो । तर, सेलिब्रिटीकै लेभलमा प्रतियोगितामाथि आशंका उत्पन्न हुनुबाट आयोजक संस्था सचेत भएको हुनुपर्छ ।
यसपल्टका आलोचनामा केही संयोग वा सत्यता जोडिएका पनि छन् । मिस नेपालको आयोजक संस्थाका सञ्चालक गोपाल कक्षपति नेवार समुदायका हुन् । हालसम्म मिस नेपाल बन्ने अवसर पाएका बहुसंख्यक युवती सोही समुदायका छन् । पछिल्लो सात वर्षमा छजना सोही समुदायकी युवती मिस नेपाल भएका छन् ।
यसपटक अश्मी श्रेष्ठ मिस नेपाल बनिन् । यसअघि इभाना मानन्धर थिइन् । सन् २०१४ मा सुविन लिम्बू मिस नेपाल भइन् । त्यसअघि २०१३ मा इसानी श्रेष्ठ,२०१२ मा सृष्टि श्रेष्ठ, २०११ मा मलिना जोशी, २०१० मा सदीक्षा श्रेष्ठ नेवार समुदायकै मिस नेपाल थिए । २००९ मा जेनिशा मोक्तान मिस नेपाल थिइन् । २००७ मा शीताष्मा चन्द, २००५ मा सुगरिका केसी मिस नेपाल थिइन् । २००४ मा पायल शाक्य मिस नेपाल भइन् । २००३ मा प्रीति सिटौला, २००२ मा माल्भिका सुब्बा, २००० मा उषा खड्गी, १९९९ मा श्वेता सिंह मिस नेपाल भए । सन् १९९८ मा ज्योति प्रधान मिस नेपाल भए पनि पछि उनको ताज खोसेर नीरु श्रेष्ठलाई दिइएको थियो ।
सन् १९९७ मा नीलिमा गुरुङ, १९९६ मा पुनम घिमिरे, १९९५ मा सुमी खड्का मिस नेपाल भएकी थिइन् । पहिलो मिस नेपाल रुबी राणा हुन् ।
किन घटिरहेको छ आकर्षण ?
यसपल्ट जातीय भएको गुनासो आयो । यसअघि सुनियोजित रूपमा आफू अनुकूल युवतीलाई मिस नेपालको ताज पहिराउने गरेको आरोप आयोजकलाई लाग्दै आएको थियो । मिस नेपाल को बन्दै छ वा बनाइँदै छ ? भन्ने कुरा पहिल्यै सार्वजनिक हुनुले पनि मिस नेपालप्रति आम युवतीको आकर्षण घट्दो छ । जसको असर मिस नेपालका पछिल्ला संस्करणमा आयोजकले समेत अनुभव गरिरहेको छ । विशेष गरी सृष्टि श्रेष्ठका पालामा मिस नेपालमा ‘म्याच फिक्सिङ’ नै भएको चर्चा चल्यो । उक्त चर्चाको खण्डन आयोजकले गर्न नसकेपछि मिस नेपाल क्षमताले होइन, आयोजकले बनाउने हो भन्ने परेको छ । जसका कारण पनि यो प्रतियोगिताप्रतिको आकर्षण ओरालो लागेको हो ।
मिस नेपालको ‘चार्म’ यसको आयोजक संस्थाका कारणले मात्रै घटेको होइन । पछिल्लो समय भइरहेका अनगिन्ती सौन्दर्य प्रतियोगिता पनि कारक हुन् । एक तहमा त ‘सौन्दर्य प्रतियोगिता’ भनेपछि नाक खुम्च्याउने अवस्था आइसकेको छ ।
जतिसक्दो चाँडो सेलिब्रिटीको लाइनमा उभिन चाहने युवायुवतीलाई आकर्षक उपहार र अवसरको लोभ देखाएर सौन्दर्य प्रतियोगिता भइरहेका छन् । विभिन्न नामका उपाधि पाए पनि उपलब्धि नपाएपछि युवायुवतीमाझ यसको आकर्षण घटेको छ ।
Leave A Comment