अवार्डको नाममा मजाक

सोमबार, १४ पुष २०७६, ११ : २७ भोला अधिकारी
अवार्डको नाममा मजाक

नेपालमा संगीत र कलासम्बन्धी कुनै अवार्ड समारोह आयोजना हुनु तर विवादमा नपर्नु सम्भव छ र ? अहं, छैन। फिल्मसम्बन्धी होस् या संगीत, स्वदेशमा होस् या विदेशमा, जहाँ कार्यक्रम भए पनि विरोध पक्कै हुन्छ। गत शनिबार काठमाडौँको कमलादीमा संगीत उद्योग संघले गरेको आमिन नेसनल म्युजिक अवार्ड पनि विवादबाट कसरी जोगियोस् !

अहिले संगितकर्मीमाझ यही अवार्डबारे चर्को बहस चलिरहेको छ। आरोप–प्रत्यारोप जारी छ सामाजिक सञ्जालमा। कसैले अवार्ड चयनको विश्वसनियतामाथि प्रश्न उठाइरहेका छन् त कतिले भेदभाव गरेको भन्दै विरोध गरिरहेका छन्।

मौलिक लोकगीतको विधामा तुलसी घर्ती मगरको ‘यानी माया’, कुमारी चेपाङको ‘बेनीको बजार’, सीता थापाको ‘चोली मलमलको’, सीता गुरुङको ‘लुगा धुने साबुनले’ र बिमाकुमारी दुराको ‘मर्छु बाँच्दिनँ’ उत्कृष्ट पाँचमा परेका थिए।

उनीहरुले नोमिनेसनको प्रमाणपत्र पाइसकेका थिए। गीत नोमिनेसनमा परेपछि अवार्ड वितरण कार्यक्रममा सरिक हुने नै भए। अमेरिका गएकाले सीता गुरुङ आइनन्। यी पाँचमध्ये एकजनाले अवार्ड पाउनुपर्ने हो तर कसले अवार्ड पायो नोमिनेसनमा परेका कसैले चालै पाएनन्। अवार्डको घोषणा नै नगरी कार्यक्रम सक्कियो। आयोजकका अध्यक्ष सूर्य मगरले समेत सो विधामा कसले अवार्ड पायो भन्न सकेका छैनन्।

बिमाकुमारी दुरा

गायिका बिमाकुमारी दुरा सो अवार्ड आफूले पाएको हल्ला सुने पनि जानकारी नभएको बताइन्।
‘खै, मैले पाएँ रे भन्ने हल्ला सुनेकी छु,’ उनले भनिन्, ‘तर आधिकारिक रुपमा मलाई कसैले खबर गरेका छैनन्।’

विरोध चर्कंदै गएपछि आयोजकले आफ्नो फेसबुक पेजमा मौलिक लोकगीतमा बिमाकुमारी दुरा, मगर भाषाको गीतबाट कविता आले र  लोकगीतबाट सीता थापाले अवार्ड पाएको लेखेको थियो तर अवार्ड विजेताहरुलाई यसबारे जानकारी दिने मिहिनेत गरेको देखिएन।

‘खै कुन चैँ बिमाकुमारीलाई अवार्ड दिएको हो मलाई थाहा छैन,’ गायिका दुराले भनिन्, ‘मलाई त न कसैले अवार्ड कार्यक्रममा बोलाएको छ न कसैले चिठी नै दिएको छ। अवार्ड कार्यक्रम भएको पनि थाहा छैन।’

सिता थापा

अर्की लोक गायिका तुलसी घर्ती मगरले अवार्ड आयोजकको नियत नै ठीक नभएको आरोप लगाइन्। कार्यक्रममा आफू उपस्थित भए पनि आयोजकले नोमिनेसनमा परेको गीत पनि नबजाएको र कार्यक्रम हलमा विजेता पनि घोषणा नगरेको बताइन्। ‘भोटले नभई नोटले चलेको अवार्ड भएकाले यस्तो भएको’ आरोप गायिका मगरको थियो।

अर्की गायिका सीता गुरुङले आयोजकसँग कस–कसले अवार्ड पायो, यसको समाचार र भिडियो पाऊँ न भनेर संगीत उद्योग संघका सचिव तथा कार्यक्रम सञ्चालक उमेश गुरुङसँग मागेकी थिइन्। तर उनले अवार्डबारे कुनै जानकारी नभएको भन्दै अध्यक्ष सूर्य मगरसँग सोध्न भने। उनले सूर्य मगरलाई फोन गर्दा मोबाइल बन्द थियो। अहिले उनी आफू ठगिएको अनुभव गरिरहेकी छन्।

तुलसी घर्ती मगर

‘नोमिनेसनमा परेको भनेर अवार्ड लिन जाँदा कसैको नाम नआएपछि आफैँ बुझ्न सक्नुहुन्छ, त्यो अवार्ड कस्तो र के भएको रहेछ,’ उनले दिक्क मान्दै भनिन्, ‘यो ठगी नभए के हो त ?’

अवार्डबारे भइरहेको विवादबारे बुझ्न संगीत उद्योग संघका अध्यक्ष सूर्य मगरसँग सम्पर्क गर्ने प्रयास सफल भएन। कार्यक्रम सकिएको दिनयता उनको मोबाइल अफ थियो। संगीत उद्योग संघका महासचिव खगेन्द्रकुमार लिम्बुका अनुसार, अध्यक्ष १८ दिनका लागि विदेश गएका छन्। महासचिव लिम्बुले अवार्डका बारेमा आफूलाई थाहा नभएको र अध्यक्ष मगर आएपछि उनैलाई सोध्न आग्रह गरे।

Leave A Comment