सेन्सरको पक्षमा स्रष्टा

सोमबार, १४ पुष २०७६, ११ : ४७ शुक्रवार
सेन्सरको पक्षमा स्रष्टा

कलाकारिता र कलाकारका सिर्जनामाथि राज्य सेन्सरमा उत्रिए प्रतिरोध गर्नुपर्ने जिम्मेवारी बोकेको स्रष्टाहरुको संगठनका अध्यक्ष नै सेन्सरको पक्षमा उभिएका छन्। सरकारले फिल्मबाहेक अन्य सिर्जनामा सेन्सरको प्रावधान बनाएको छैन। तर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी आफैँ लोकगीत सेन्सर गर्नुपर्ने आवाज घन्काइरहेका छन्।

हालै सातौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनले प्रतिष्ठानको अध्यक्षको पदबहाली गर्दै लोकगीतमा सेन्सरको सुरुवात गर्ने घोषणा नै गरे।

उनले पदबहाली कार्यक्रममा तत्कालका लागि प्रतिष्ठानले आन्तरिक सेन्सर बोर्ड बनाएर लोकगीत अडियो र भिडियोको सेन्सर गरिने र सेन्सर नगरी कसैले लोकगीत र भिडियो रिलिज गरे कार्बाही गर्नेसमेत बताए।

सरकारी निकायबाट सेन्सर नभएसम्म आन्तरिक सेन्सर गरिने जानकारी दिएको प्रतिष्ठानले लोकगीतको सेन्सरका लागि सरकारी संयन्त्र नै बनाउन पहल गरिरहेको समेत देखियो।

उनको योजनाअनुसार लोकगीत र म्युजिक भिडियो रिलिज गर्दा प्रतिष्ठानले दिने सेन्सर भएको लोगोसमेत राख्नुपर्ने छ। सेन्सरविधि बनाउनुको कारण लोकगीतमा बढ्दो विकृति देखाए पनि उनी सिर्जनामा सेन्सरको प्रावधान हुनु घातक हो भन्ने सामान्य जानकारसमेत नभएको देखियो।

किन सेन्सर ? अध्यक्ष बिजीले आफूले सेन्सर लगाउनुपर्छ भन्ने मुद्दा उठाएको तर लागू गर्ने–नगर्ने भन्नेमा अन्योल रहेको दाबी गरे।  यस विषयमा उनले प्रतिष्ठानका अन्य पदाधिकारीसँग छलफलसमेत नगरेको उनैले खुलाए।

‘लोकगीतमा बढेको विकृतिलाई सेन्सर गर्नुपर्छ भनेर पहिलादेखि नै लागेको हुँ। यो सबैमा लागू हुन्छ भन्ने पनि छैन,’ उनले भने, ‘अहिले प्रतिष्ठानमा आबद्ध गायकगायिका र कलाकारमा लागू गर्ने कि भन्ने कुरा भएको हो।’

वर्तमान अध्यक्षको सेन्सर योजनामा निवर्तमान अध्यक्ष बद्री पंगेनी समेत सहमत देखिए। गीत संगीतमार्फत अधिकारको पक्षमा वकालत गर्ने पंगेनी सिर्जनामा सेन्सर हुनु राम्रो हो भन्छन्।

‘सेन्सर हुनु राम्रो हो,’ उनले भने, ‘हामीले पहिलादेखि नै सरकारलाई सेन्सर राखिदिन आग्रह गरेका थियौँ तर सरकारले हाम्रो कुरा नसुनेपछि आफैँले सेन्सर राख्नुपर्छ भन्न थालेका हौँ।’

गायिका देवी घर्ती मगर, सरिका कार्की पनि जस्तो पायो त्यस्तो गीतलाई लोकगीत भनेर विकृत बनाएको भन्दै सेन्सरको पक्षमा उभिए।

उता गायिका प्रीति आले मगर सेन्सरको पक्ष–विपक्षमा देखिइनन्। लोक दोहोरी गीतमा सेन्सर गर्ने हो भने कस्तो सेन्सर, कुन प्रक्रियाअन्तर्गत गरिने हो, सो खुलाउनुपर्ने उनको मत छ।

‘कुन हदसम्म सेन्सर लगाउने भन्ने निर्धारण कसरी हुन्छ ?’ उनले प्रश्न गरिन्, ‘मौलिक गीतमा रहेका अश्लीलतालाई सेन्सर बोर्डले कसरी हेर्छ ? म सेन्सरको विपक्षमा छैन तर कस्तो सेन्सर, केका लागि सेन्सर गरिने हो, त्यो भने प्रस्ट हुनुपर्छ।’

Leave A Comment