‘चौबिसै घण्टा कामको मुडमा हुन्छु !’

आइतबार, ३० साउन २०७३, १० : १४ दिलीप पौडेल , Kathmandu
‘चौबिसै घण्टा कामको मुडमा हुन्छु !’

आफ्ना बाबुले पोते व्यापार गरेको देखेर व्यवसायमा आएका काठमाडौँका नकिम उद्दीन शाह चलचित्र उद्योग संघका अध्यक्ष हुन् । टिम क्वेस्ट कम्पनीका निर्देशक रहेका शाह सहितको समूहले पछिल्लो पटक ललितपुरको पुल्चोकमा ‘लबीम मल’ सञ्चालनमा ल्याएको छ । ‘फ्रेन्चाइज मोडल’ अन्तर्गत क्वीएफएक्स फिल्म हल सञ्चालन गरिरहेका शाहसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः
फिल्म उद्योगको अवस्था कस्तो छ ?
अरू व्यवसायजस्तै सिनेमामा पनि आशा जागेको छ । मल्टिप्लेक्स कल्चर बढ्दै गएको छ । काठमाडौँमा मात्र नभएर राजधानी बाहिर पनि फस्टाएको छ । नेपाली फिल्म दिन नसक्ने । विदेशी फिल्मलाई छेक्ने प्रचलन थियो । त्यो अहिले अन्त्य भएको छ । गत वर्ष डेढ सय फिल्म बनेका थिए भने ८÷१० फिल्ममात्र चले । हामीलाई २५÷३० फिल्म भए पुग्छ । फिल्म गुणस्तरीय बनाउनुपर्छ भन्ने मान्यताको विकास भएको छ । सबै फिल्म मल्टिप्लेक्समै चलोस् भन्ने हाम्रो चाहना छ ।
नयाँ सिनेमा हल कति बन्दै छन् ?
तत्काल पाँचसात वटा नयाँ आउँदै छन् ।
एउटा हलका लागि कति लगानी चाहिन्छ ?
तीन पर्दाको मल्टिप्लेक्सलाई घटीमा १० करोड रुपैयाँ चाहिन्छ ।
यहाँलाई सबैभन्दा मन परेको फिल्म ?
‘कागबेनी’ ।
मन पर्ने नायक/नायिका ?
सौगात मल्ल र प्रियंका कार्की ।
तपाईंका रुचि केके हुन् ?
फुसर्द भए सुत्न पाए राम्रो । साथीभाइसँग घुम्न मन पर्छ ।
दिनमा कति घण्टा काम गर्नुहुन्छ ?
चौबिसै घण्टा कामको मुडमा हुन्छु ।
तपाईंको मासिक खर्च खर्च कति हुन्छ ?
तीन÷चार लाख रुपैयाँ ।
व्यवसायका अतिरिक्त के गर्नुहुन्छ ?
समाजसेवा ।
व्यवसायमा कति लगानी गर्नु भएको छ ?
बैंकको ऋणसहित दुई सय करोड रुपैयाँ ।
कति वर्षको उमेरमा व्यवसायमा आउनुभयो ?
२३ वर्षमा ।
व्यावसायिक यात्रामा पीडा भएको क्षण ?
भूकम्प र नाकाबन्दीले लबीम मल निर्माणमा नसोचेको घाटा भयो । ब्याजमा मात्र करिब १८÷२० करोडको घाटा भयो ।
लबीम मल कहिलेदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ ?
तीन महिना भयो खोलेको । पसल खुल्ने क्रम जारी छ । बाँकी रहेका निर्माणका काम गर्दै आएका छौँ । अगस्त २१, २२ मा औपचारिक सञ्चालनको तयारीमा छौँ ।
मलका विशेषता ?
हामीले दुई कुरालाई ध्यानमा राखेर लबीम मल बनाएका हौँ । दरबारमार्गमा रहेका ब्रान्ड र झमेलमा रहेका रेस्टुरेन्टका स्वादको समिश्रण गर्ने योजना हो ।
कति करोडको परियोजना हो यो ?
भूकम्प र नाकाबन्दीले घाटा लाग्यो । १ सय ९ करोडको परियोजना १ सय २४ करोड पुग्यो ।
मुलुकको व्यावसायिक अवस्था कस्तो छ ?
प्रत्येक वर्ष प्रगति नै भएको छ । समग्रमा सकारात्मक छ ।
मुलुकको आर्थिक विकास हुन सकेन नि ?
अमेरिका, चीन, भारत, फ्रान्स, युरोपियन युनियनका सबै नेताको प्रमुख एजेन्डा विकास र आर्थिक हुन्छ । तर, हामी त्यस्तो मुलुकमा छौँ जहाँ पहिलो प्राथमिकता राजनीति  र अन्तिम मुद्दा आर्थिक विकास हुन्छ । अनि, कसरी आर्थिक समृद्धि होला ।
के बाधक बन्यो ?
यहाँ आर्थिक नीति नै छैन । संविधानमा आर्थिक पक्षलाई तेस्रो दर्जामा राखिएको छ । अर्थतन्त्रको विकासमा न नेता न कर्मचारी कसैलाई मतलब छैन ।
व्यवसायमा आउन चाहनेलाई के सुझाव छ ?
नेपाल लगानीका लागि ‘भर्जिनल्यान्ड’ हो । जुन क्षेत्रमा पनि स्कोप छ । नयाँ व्यवसायमा आउन आँट चाहियो । आँट गरे खाडीमा ५०÷५५ डिग्रीमा काम गरिरहेका युवाका लागि यहीँ रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।

 

Leave A Comment