कमेडी च्याम्पियन : रीमाले मनोजलाई श्रीमान् भनेपछि..

शुक्रबार, १८ पुष २०७६, १० : २८ शुक्रवार
कमेडी च्याम्पियन : रीमाले मनोजलाई श्रीमान् भनेपछि..

१० औँ एपिसोडमा होस्ट रीमाले जज मनोजलाई श्रीमान् भनेपछि कार्यक्रममा हाँसो छायो। मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी। श्रीमान् भनेलगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले श्रीमान् कस्तो...भन्दाभन्दै आफैँ हाँस्न थालिन्। मनोजले आफूले अपेक्षा नै नगरेको कुरा आएको भन्दै भने, ‘मलाई के था’ रीमाको मन पग्लिन्छ भनेर !’ भन्दै झनै हौसिन थाले। उनको बोली यतिमा नै अडिन सकेन। रीमा आफूले बोलेको कुरा सम्झदै हाँसो रोक्न सकिनन्।  

कमेडी च्याम्पियनको ११ औँ एपिसोडमा होस्ट रीमा विश्वकर्मा हराइन्। उनी कार्यक्रममा नआउँदा होस्टको भूमिका जज ऋचाले नै निभाएकी थिइन्। रीमा नआउँदा पैसाका लागि होस्ट र जज दुवैको भूमिका निभाएको भन्दै अर्का जज प्रदीप भट्टराईले उडाएका थिए।

प्रतिस्पर्धाबाट बाहिरिएकी मारिया गिरी पहिलो प्रस्तुतकर्ताको रुपमा आएर स्टेजमा सबैलाई रोस्ट हानिन्। उनले जजदेखि प्रतिस्पर्धी कसैलाई छाडिनन्। अघिल्लो एपिसोडमा ऋषि धमलालाई उडाउँदा ऋचा मरीमरी हाँसेकी थिइन्। उनले ऋचालाई उडाउँदै भनिन्, ‘ऋचाबाट स्ट्यान्डिङ ओवेसन पाउनु छ भने ऋषिलाई जोक हाने हुन्छ। अझ निश्चल बस्नेतलाई उडाए त थप नम्बर पाउने पक्का !’

जज मनोजलाई नयाँ गर्लफ्रेन्ड नबनाउनू भन्दै व्यंग्य गर्दै उनले कसिन्, ‘गर्लफ्रेन्ड पनि नबनाउनू, कोतर्ने बानी छ रे !’ जज प्रदीपलाई भिरखोइरे भनेर उडाइन्। उनको प्रस्तुति जमेको थियो। यत्तिको प्रस्तुति प्रतिस्पर्धामै हुँदा दिएको भए पक्कै बाहिरिइसकेकी प्रतिस्पर्धीको रुपमा स्टेजमा आउनुपर्ने बाध्यता पर्ने थिएन।

११ औं एपिसोडमा टप आठ प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए। सबैको प्रस्तुति युट्युब, टिकटक लगायतका सामाजिक सञ्जाल वरिपरि घुमेको थियो। सुमन कार्कीले पहिलो प्रस्तुती दिए। उनले युट्युबका भिडियो र हेडलाइनबारे उडाउँदै भने, ‘हनिमुनपछि ऋचा शर्मा कमेडीमा, श्रीमान्ले भने मज्जा आयो।’

हरेक कलाकारले आ–आफ्नै युट्युब च्यानल खोलेर डलर कमाउन लागेको भन्दै कलाकारलाई पनि छाडेनन्। युट्युबरलाई हेप्ने भन्दै उनले मज्जाले उडाए। उनले युट्युबरलाई उडाउन भगवान्को पालाको समयसँग जोडेर उडाए। उनले छवि ओझालाई कृष्णसँग, युट्युबमा छाइरहने मुकुन्द, सुरेन्द्र केसी र दिलनिशानी मगरलाई नन्दी भृंगी, यज्ञ हुन् भन्दै सोत्तर पारे। वृन्दाको सतित्वलाई कृष्णबहादुर महरासँग जोडे। प्रत्येक एपिसोडमा उनको प्रस्तुति खारिँदैआएको देखिन्छ। पहिलो कमेडी च्याम्पियनको टाइटलका उनी बलिया दाबेदार देखिन्छन्।

अर्का प्रतियोगी अमोग अर्यालले पनि उस्तै हँसाए। उनले आफू सेलिब्रेटी भएपछि कामबाट सबैतिरबाट निकालिदिएको प्रसंगलाई नेपालका सेलिब्रिटीको हैसियतसँग दाँजेका थिए। उनले भने, ‘अरु बेला कलाकारहरु बाटोमा पानी पुरी खान लाज मान्छन् तर फिल्म चल्ने बेलामा चोकचोकमा पानी पुरी बेचिरहेका हुन्छन्।’

पछिल्लो समय वास्तविक सेलिब्रिटीहरु पछाडि परेको र लाइफ ड्यामेज जस्तालाई सेलिब्रेटी बनाएको भन्दै कस्नु व्यङ्ग्य कसे। उनको प्रस्तुति जज प्रदीपलाई यति मन प-यो कि उनीसँग सेल्फी नै खिचे।

अर्का प्रतियोगी विष्णुप्रसाद गौडेलले आफ्नो प्रभावकारी प्रस्तुतिको क्रमलाई निरन्तरता दिए। ११ औं एपिसोडमा उनी बाबाको अवतारमा आएर युट्युब, टिकटकबाट भाइरल भएका बाबाहरुलाई उडाए। उनको प्रस्तुति सबै जजहरुले मन पराए। सबैको प्रतिक्रिया थियो– बबाल भो।

अर्का प्रतियोगी आदर्श मिश्रले चोरलाई व्यङ्ग्यको खुराक बनाए। उनका सामग्री अग्र्यानिक बन्दै गए पनि प्रस्तुति एकैखालको देखिँदा गौडेल र कार्कीका अगाडि कमजोर देखिएका छन्।

Leave A Comment