रोडिज् : ग्याङ फाइट गर्ने युवती

शुक्रबार, १८ पुष २०७६, ११ : ०७ शुक्रवार
रोडिज् : ग्याङ फाइट गर्ने युवती

पोखरा अडिसनका लागि पुगेको रोडिजको तेस्रो सिजनमा तालतालका प्रतियोगी आउनेक्रम जारी छ। यसअगाडि आएका एक प्रतियोगीको जेलदेखि अमेरिकासम्मको असफल यात्राले धेरैको मन छोयो। पोखरामा सबको नजरमा परिन् विद्या गुरुङ ।

आठ कक्षा पढ्दादेखि नै फाइटमा रुचि राख्ने विद्या, त्यै बेला एउटा ठूलो  ग्याङ फाइटमा घेरामा परेकी रहिछन्। विरोधी टोलीमा एक दर्जनभन्दा धेरैले उनी एक्लैलाई घेरा हाले पनि उनी भिडिन्। सिङ्गल–सिङ्गल नै होला भनेको, ग्रुपले नै अट्याक हानेको थियो उनलाई। उनी भिडिन् तर कुटाइ पनि खाइन्।

उनलाई आमाले हुर्काउँदा आमा कामबाट बेलुका नौ बजेतिर मात्र घरमा आउने भएकाले आफू अराजक भएको उनको स्विकारोक्ति थियो।

लडाइँ र भिडन्तदेखि नडराउने विद्याको बानीले उनलाई खेलकुदमा हार नमान्ने खेलाडीका रुपमा स्थापित गरेको रहेछ। विभिन्न खेलमा अहिलेसम्म उनले हारेकी छैनन्।

उनका बुबा कहिले मलेसिया जान्छन् र ऋणमा डुबेर आउँछन्, कहिले इन्डिया जान्छन् र रित्तै गोजी फर्कन्छन्। बरु अन्यत्र जानुभन्दा घरैमा बसे हुन्थ्यो भन्ने उनको मनशाय छ तर उनले बुबालाई मनाउन सकेकी छैनन्।

अहिले पनि उनको गाउँमा बुबाले खनेको चार लाखको ऋणको खाल्डो पुर्न बाँकी नै छ। त्यो सबै आमाले नै तिरिरहेकी छन्। विद्याकी आमाले छोराछोरी पढाउनेदेखि ऋणसमेत तिरिरहेकी छन्।

दोस्रो प्रतियोगी सचिन सुवेदीको कथाले पनि सबैलाई छोयो। अर्की प्रतिस्पर्धी दीपा थापा कराँते खेलाडीसमेत हुन्। उनी लाहुरेको टिममा  प्रवेश गरिन्। प्रतिस्पर्धी समीर क्षेत्रीले पुसअप गर्न सकेनन्। बिक्की गुरुङले नाचेर जजलाई रमाइलो गराए।

श्रेया महर्जनको कथाले पनि सबको मन चस्स बनायो। नौ महिनाको हुँदा आमाले छाडेर हिँडेकी उनका लागि आमा पनि बाबु पनि एकै रहेछन् उनका बाबु। उनले अहिलेसम्म आमाको मुहार देखेकी छैनन् र हेर्न पनि चाहन्नन्। कारण अब उनका लागि आमा पनि उनकै बाबु हुन् रे ! उनको कथाले जजहरुको मन छोयो। उनी दोस्रो चरणमा गइन्।

Leave A Comment