ढँटुवा रामकृष्ण : डिभोर्सको ट्वीस्ट एन्ड टर्न

शनिबार, १९ पुष २०७६, ११ : ४२ भोला अधिकारी
ढँटुवा रामकृष्ण :  डिभोर्सको ट्वीस्ट एन्ड टर्न

गत शनिबार सोल्टी होटलमा सबैको प्रतीक्षा थियो भारतीय चर्चित गायिका आशा भोसलेको। उनलाई सुन्न कार्यक्रममा हलमा भएकाहरुको नजर एक जोडीतिर पनि तानिइनैरहेको थियो। उनी थिए– गायक रामकृष्ण ढकाल। उनी श्रीमती नीलम शाह र छोरीसँगै कार्यक्रममा थिए।

कार्यक्रममा यी तीनै जना एकै लहरको सिटमा बसे। ढकाल र उनकी श्रीमतीका बीचमा छोरी रानी थिइन्। कार्यक्रममा आमा–छोरी खासखुस गफ गरिरहेका थिए। बीचबीचमा ढकाल पनि मिसिन्थे छोटो गफमा। झुस्स दाह्री पलाएको उनको अनुहार निन्याउरो थियो। श्रीमती र छोरीको मुहार अलि फरक देखिन्थ्यो। सञ्चारकर्मीको नजर पनि उनी माथि नै थिए। केही क्यामेरा उनी भएतिरै सोझिएका थिए। 

कार्यक्रममा गायिका भोसलेसँगै ढकालले पनि गीत गाउने कार्यक्रम थियो। उनले गायिका भोसलेलाई ‘आगे आगे तोपैको गोला’ अनि ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’ बोलको गीतमा साथ दिए। कार्यक्रम सकिएपछि ढकाल, नीलम र रानीसँगै कार्यक्रम हलबाट बाहिरिए। गाडी पार्किङ स्थलसम्म होटलको गार्डले पु-याएका थिए। मिडियाकर्मी उनको परिवारलाई पछ्याउँदै पार्किङसम्मै पुगेका थिए। गाडीका चालक सिटमा ढकाल बसे, नजिकै नीलम अनि पछाडि छोरी बसिन् र होटल सोल्टीबाट निस्किए।
आखिर किन मिडियाले यसरी ढकाल परिवारलाई पछ्यायो ?
कारण थियो बुधबार भाइरल भएको समाचार।
समाचार गायक ढकाल र उनकी श्रीमती नीलम शाहबारे थियो। शाहले ढकालविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको र सोहीअनुसार बुधबार दुवैबीच सहमतिमा छोडपत्र भएको समाचार सार्वजनिक भएसँगै उनको पारिवारिक जीवन आमचासोको विषय बन्यो।

साँच्चै हो त भन्ने शंकाका बीच ढकालले आफ्नो आधिकारिक फेसबुक पेजमा श्रीमती शाहसँगै रहेको मायालु तस्बिरमा लभ साइनसहित लेखे– 'अरुले जे सुकै भनून् हाम्रो कसिलो सम्बन्ध कहिल्यै मर्ने छैन।'

उनको स्टाटसको आशय थियो, सम्बन्ध विच्छेदको समाचार गलत हो। उनले केही मिडियामा प्रतिक्रिया दिँदै यो हल्ला मात्र हो, आफूहरुसँगै रहेको दाबी गरेपछि थप अन्योल बढाउने नै भयो।

सामाजिक सञ्जालमा ढकालका फ्यानहरुले उनकी श्रीमतीलाई गाली गर्दै लेखिरहेका थिए। बिहीबार फेरि ढकालले आफ्नो फेसबुक पेजमा लेखे, ‘नेपाली गीतसंगीत क्षेत्रमा मलाई अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती नीलम हुन्। हामी सधैँझैँ हाँसीखुशी परिवारमा सँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

बेलाबखत मिडियाले ज्युँदालाई श्रद्धाञ्जली दिएको समाचार पनि आएकै हुन्। श्रीमतीसँगै भएको तस्बिरसहित यस्तो सन्देश आएपछि सम्बन्ध विच्छेद हल्ला मात्रै रहेछ भन्ने देखियो। तैपनि चासो त हुन्छ नै ! सोल्टी होटलमा परिवारसहित ढकाल पुग्दा बढेको चासोको कारण यही थियो।

सेलिब्रिटीहरुको पारिवारिक मनमुटावबारे टीकाटिप्पणी बजारमा आइरहे पनि उनको सम्बन्धको चिसोपना कहिल्यै सार्वजनिक भएन। आर्थिक व्यवहारका कारण आएका तनाव सार्वजनिक भए तर पारिवारिक तनाव बाहिर आएनन्। मिडियामा सँगै आउँदा एक छोरीका अभिभावकसमेत रहेका दुवै बीचको सम्बन्ध सुमधुरै देखिन्थ्यो।
एकाएक डिभोर्सको समाचार सार्वजनिक हुँदा संसार छक्क पार्नु स्वभाविकै थियो।
हल्लै हो त ?
ढकालको सम्बन्ध विच्छेदको समाचार हल्लै रहेछ भन्ने लागेको हो भने यो गलत हो। यी दुवैबीच सम्बन्ध विच्छेद भएकै हो।

सार्वजनिक भएको समाचारमा स्रोतको हवाला थिएन, जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठको पुष्टिसहित आएको थियो। अदालतबाट पुष्टि भएअनुसार गत मंगलबार डिभोर्सको केस शाहले दायर गरेकी थिइन् वादी भएर। अनि प्रतिवादी रामकृष्ण ढकाल।

सर्वोच्च अदालतको वेबसाइट सुप्रिम कोर्टडटजिओभीडटएनपीमा गएर काठमाडौं जिल्ला अदालतको वेभ पोर्टलमा रहेको पेशी सूचीसँगै रहेको विस्तृत विवरणमा क्लिक गरी आउने बक्सामा मुद्दा नम्बर ०७६–सिपी–३१८८ राखेर हेर्दा पुष्टि हुन्छ यो प्रकरण।

जिल्ला अदालतमा रहेको विवरणअनुसार २०७६ पुस ८ गते मुद्दा दर्ता भयो। मुद्दा दर्ता गरेकी थिइन्, नीलम शाह ढकालले। विषय सम्बन्ध विच्छेद। अनि प्रतिवादी काठमाडौं महानगरपालिका वडा नम्बर २ निवासी रामकृष्ण ढकाल। दोस्रो दिन १० गते न्यायाधीश विदुर कोइरालाको इजलासमा सुनुवाई शुरु भयो।

कोइरालाले शाहलाई कतै कुनै करकाप वा डर धम्कीमा मुद्दा दिएको हो कि राजीखुसी भनेर जिज्ञासा राख्दा उनले राजीखुसीमै सम्बन्ध विच्छेद गर्न चाहेको बताइन्। सम्बन्ध विच्छेदको कारण खुलाउँदा उनले यस्तो कारण दिइन्, ‘ढकाल आफ्नो काममा प्रायः सधैँ नै व्यस्त रहँदा घरपरिवारलाई समय नदिएको, पति र पिताको दायित्व पूरा गर्नुस् भन्दा कामको व्यस्तताले समय नदिँदा मनमुटाव र सामान्य झैँझगडा हुन थालेको र बस्न विदेश जाऊँ भन्दा नमानेको।’

उनले श्रीमान्–श्रीमतीको रुपमा छुट्टिएर बस्नु भन्दा सम्बन्ध विच्छेद गरेर स्वतन्त्र रुपमा बस्नु ठीक लागेको भन्दै अंश दाबी नगर्ने र छोरी आफूसँग रहनुपर्ने माग गरेकी थिइन्।

शाहले विदेश जान नमानेको भन्दै खुलाएको सम्बन्ध विच्छेदको कारणमा ढकाल सहमत हुँदै छोरी आमासँगै रहने तर संयुक्त लालनपालन गर्न राजी हुँदै सम्बन्ध विच्छेदका लागि मञ्जुर भएपछि न्यायाधीश कोइरालाले निवेदक शाहको मागअनुसार सम्बन्ध विच्छेदको फैसला गर्दै सहमति गराएका थिए।

सम्पत्ति जोगाउन डिभोर्स हो त ?
ढकालको डिभोर्ससँग सम्पत्तिसमेत जोडिएर आयो। उनी र ललितपुरको श्री लालीगुराँस सहकारी संस्थाबीच ऋणको विषयमा लामै समयदेखि विवाद चल्दै आएको थियो। १० वर्षअगाडि घर किन्न ढकालले सहकारीसँग एक करोड ८० लाख ऋण लिएका थिए। तर उनले समयमा किस्ता नतिरेको भन्दै सहकारीले धितोको रुपमा रहेको उनको घर एक करोड ५० लाखमा आफैँले सका-यो।

तर विवाद साम्य भएन ढकाल र सहकारीबीच। ढकालले आफूले लिएको सबै ऋण चुक्ता गरिसकेको दाबी गरिरहेका थिए भने सहकारीले भने ढकालले अझै ३ करोड हाराहारी ऋण चुक्ता गर्न बाँकी भएको दाबी गरिरहेको थियो। घर किन्न लिएको एक करोड ८० लाख ऋणको चक्करमा उनको घरै लिलाम भइसकेको थियो।

सहकारीले २०७६ साउनमा ढकालले नाममा अझै २ करोड ३० लाख ऋण बाँकी रहेको भन्दै पत्रिकामा सूचनै निकालेको थियो। कतै सहकारीको ताकेताका कारण भएका अन्य सम्पत्ति पनि लिलाम हुने भयले कतै डिभोर्स गरेका हुन् कि भन्ने आशंका बढाएको थियो।

पत्रिकामा नामै सार्वजनिक भएपछि ढकालले पत्रकार सम्मेलन गरेर आफूले घर किन्न ऋण लिएको स्वीकार गर्दै तर सो बापत सहकारीले घर लिलाम गरेर असुली सकेको र आफूले ऋण तिर्न बाँकी नभएको दाबी गरेका थिए। सहकारीको ऋणको सूचीमा ढकालको मात्र नाम थिएन, उनकी श्रीमती नीलम शाहको नाममा पनि ऋण उल्लेख गरिएको थियो २ करोड ६२ लाख।

वैध ऋणमा यदि कसैले लिएको ऋण नतिरे श्रीमान्, श्रीमतीको सम्पत्ति मात्रै हैन सगोलमा परिवारका नाममा रहेको सम्पत्तिबाट समेत असुल गर्न सकिने कानुनी प्रावधान छ नै। त्यसैले कोही ऋणमा डुबेको हकमा श्रीमतीको नाममा रहेको सम्पत्ति लिलामी हुनबाट जोगाउन कानुनी रुपमा छोडपत्र गर्ने तर व्यवहारिक रुपमा सँगै बस्ने गरेका घटना पनि छन् नै। शुक्रवारले सम्पर्क गरेका ढकाल निकट स्रोतका अनुसार सम्बन्ध विच्छेदको कारण सहकारीको लिलामीबाट सम्पत्ति जोगाउने नियत देखिदैन।

स्रोतका अनुसार दुवै बीचको छोडपत्रको कारण सहकारीको ऋण हैन, दुवैको सम्बन्धमा आएको चिसोपना नै हो। यी दुवैबीच श्रीमान्–श्रीमतीको सम्बन्ध औपचारिक मात्रै बनेको लामै समय भइसक्यो। दुवै भैँसेपाटीस्थित घरमा बस्दै आएका छन्। तर घर एकै भए पनि दुवै अलग–अलग रुपमा बस्दै आएका थिए। यी दुवैको सम्बन्धमा आएको चिसोपना उनको परिवार निकट जानकार छन्।

सम्बन्धमा बढेको चिसोपनाको कारण ढकालको व्यस्तता नै हो। कुनै समय एकछत्र राज गरेका ढकालको लोकप्रियता पछिल्ला समय खस्किएको थियो। उनको आम्दानी घट्दै थियो। सेलिब्रिटी शैली मेन्टेन गर्नैपर्ने र उता सहकारीका कारण सम्पत्तिसमेत गुमाउँदा आम्दानी बढाउनुपर्ने तनाव थियो। यसले उनको व्यस्तता झन् बढायो।

बढ्दो दुरीसँगै श्रीमान्–श्रीमतीबीच मनमुटाव बढायो तर छोरी सानै रहेको र सम्बन्ध विच्छेद गर्दा ढकालको सार्वजनिक छविमा नकारात्मक प्रभाव पार्ने भयले मन नमिले पनि दुवै एक घरको छतमुनि बस्दै आएका थिए।

छोरी हुर्किइन्। नीलम पनि एकाध महिनामा अमेरिका जाने तयारीमा लागिन्। छोरी लिएर नीलम अमेरिका जाने भएपछि दुवै औपचारिक रुपमा अलग हुन सहमत भएको स्रोतको दाबी छ।

तर उनीहरु गुपचुप सम्बन्ध विच्छेद गर्ने योजनामा थिए। वकिलसँगको सल्लाहमा श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दिए सहज रुपमा हुने भनेपछि शाहले निवेदन दिइन्। ढकाल सहमत भएपछि सम्बन्ध विच्छेद भयो।

सम्बन्ध विच्छेदपछि पनि नेपालमा बसेसम्म सामान्य रुपमै बस्ने, नीलम अमेरिका गएपछि आफ्नो नयाँ जीवन शुरु गर्ने तयारीमा थिइन्। तर हिजोआज अदालतको मुद्दाको विषय सहज रुपमा अदालतको वेबपोर्टलमा समेत हेर्न सकिन्छ भन्ने चाल पाएनन् उनीहरुले।

सम्बन्ध विच्छेदसँगै बुधबार काठमाडौं जिल्ला अदालतको दैनिक पेशीको सूचीमा वादी नीलम शाह ढकाल र प्रतिवादी रामकृष्ण ढकाल रहेको सम्बन्ध विच्छेदको मुद्दा सहमतिमा टुंगिएको अपडेट भएसँगै ढकालले लुकाउन खोजेको सम्बन्ध विच्छेदको यथार्थ लुक्न सकेन र सार्वजनिक भयो।

सम्बन्ध विच्छेद र त्यसको कारण ढकाल बस्ने गरी विदेश जान नचाहनु भन्ने सार्वजनिक भएपछि सामाजिक सञ्जालमा शाहको आलोचना शुरु भयो। ढकालका विरही गीतका शब्द राख्दै टिप्पणी शुरु भएपछि उनले फेसबुक स्टाटस लेखे, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवनसंगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्। त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।’

ढकाल परिवार निकट स्रोतका अनुसार दुवै जना सकेसम्म आफूहरुबीच सम्बन्ध विच्छेद भएको कुरा शाहको परिवारले थाहा नपाऊन् भन्ने समेत चाहन्थे। त्यसैले सम्बन्ध विच्छेद सत्य भए पनि दाबी गरिरहे ‘हैन।’ अझै पनि ढकाल सार्वजनिक रुपमा सम्बन्ध विच्छेदको सत्य खुलाउन इच्छुक देखिएनन्।

सम्बन्ध विच्छेदै भएपछि किन ढाँट्नु त ? यसबारे प्रतिक्रिया लिन ढकालसँग शुक्रवारकर्मीले सम्पर्क राख्दा उनले भने, ‘डिभोर्सबारे अहिले केही नबोलौँ।’
उनले सामाजिक सञ्जालमा लेख्न भने छाडेका छैनन्, ‘हामी सधैँझैँ हाँसीखुशी परिवारमा सँगै छौँ।’

आत्मिक रुपमा दुवै नजिक हुन सक्छन्। दुवै छोरीका अभिभावक त रहने नै छन्। स्रोतका अनुसार सम्बन्ध विच्छेदपछि दुवै खुसी पनि छन्। अब आफ्नो रुपमा नयाँ जीवन शुरु गर्ने तयारीमा छन् दुवै। दुवैको यात्रा त जारी रहन्छ नै तर सँगसँगै हैन।

१७ वर्षदेखिको सम्बन्धमा ब्रेक
सामान्य किसान परिवारका सदस्य ढकालले १० वर्षको उमेरमा ‘गाजलु ती ठूलाठूला आँखा गाएर’ गायन यात्रा शुरु गरेका थिए। कलेज कलेजमा गीत गाउँदै संघर्ष गरेका उनी नारायण गोपालको गीत गाएर चर्चित भएका थिए।

ढकाल गायन यात्राको जीवनकै उच्चविन्दुमा थिए। उनको ‘आधार’ एल्बम निस्किएर हिट भइरहेको थियो। यहीबेला ढकालले एक विज्ञापनमा शाहको तस्बिर देखेपछि उनलाई खोज्दै कलेज पुगेका थिए। दुवैबीच फोन संवाद शुरु भयो। फोनमा कुरा गर्दागर्दै भेटघाट बढ्यो। दुवैको मनमा प्रेम टुसायो।

ढकालले शाहको बुबालाई फोन गरेर शाहसँग विवाह गर्न चाहेको बताए। नीलमका ठकुरी बुबाले ढकालसँग विवाह गरिदिन राजी भएनन्। उनको परिवारको चयन ठकुरी बिरादरीमै थियो। तर दुवैको प्रेमले शाहको परिवार विवाहका लागि राजी भयो र चिनजान भएको डेढ महिनामै ठकुरी परिवारकी नीलमसँग २०५९ मंसिर १४ मा विवाह भयो।

शाहसँग विवाह भएसँगै ढकालको लवाई–खवाई र जीवनशैली नै बदलियो। सोझो छविका उनी एकाएक कानमा कुण्डल लगाउँदै देखा परे। शाहमा पनि मोडलिङको शौख थियो। उनी ढकालसँगै ‘नजिक आउनुमा’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय पनि गरेकी थिइन्।

नगरकोटमा दोस्रो एनिभर्सरी मनाउन जाने क्रममा पूर्व युवराज शाहले नीलमलाई जिस्क्याएको विषयमा ढकाल र पारसबीच झगडा भएको चर्चा भएको थियो। विवादमा पारसले ढकाललाई कुटेको दाबी आएको थियो। तर ढकालले पारससँग आएकाहरुसँग विवाद भए पनि कुटाकुट नभएको दाबी गरेका थिए।

शाहसँगको प्रेमयात्राबारे प्रायः ढकालले भन्ने गर्थे, ‘हाम्रो प्रेम र विवाह फिल्मी छ, फिल्म बनाए पनि हुन्छ।’
पुस ८ अगाडि फिल्म बनेको भए सायद ह्यापी इन्डिङ हुन्थ्यो कि ! अब रामकृष्ण र नीलमको प्रेमयात्राबारे फिल्म बन्यो भने इन्डिङ ट्रयाजेडीमा टुंगिने छ।

‘आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने आभाष भयो’–रामकृष्ण ढकाल
मैले आफूले आफ्नो बोध भएदेखि नै गाउन थालेको हुँ। कति गाएँ त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक÷श्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिनँ तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजोदेखि मेरो पारिवारिक विषयलाई समाचार बनाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको छ।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवनसंगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन्, ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन्। त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवारप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु।

सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन्, जुन नितान्त व्यक्तिगत हुन्छन्। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ ? यति कुरा प्रस्ट पार्न चाहन्छु कि आज म जे छु दर्शक–श्रोताका कारणले नै छु। तर नेपाली गीतसंगीत क्षेत्रमा मलाई अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती नीलम हुन्। हामी सधैँझैँ हाँसीखुशी परिवारमा सँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
(ढकालको फेसबुक स्टाटसको सम्पादित अंश।)

Leave A Comment