नेपाली फिल्मको फ्लप बहार

सोमबार, २१ पुष २०७६, ११ : ५३ भोला अधिकारी
नेपाली फिल्मको फ्लप बहार

वैशाखदेखि पुससम्म रिलिज भएका नेपाली फिल्मको संख्या ४६ छ। तर एक हातको औँला बराबरका फिल्म पनि आर्थिक रुपमा सफल भएनन्। फिल्म निर्माताहरुको दाबी पत्याउने हो भने आधा दर्जन फिल्मले पनि आफ्नो लगानी उठाउन सकेन।

एकै कलाकारको पारिश्रमिक ५० लाख दाबी गरिए पनि नेपाली फिल्मको लगानी सरदर ५० देखि ७० लाखै हो। डुबेका ४१ फिल्मको लगानी ७० लाखको दरमा राख्दा ४६ करोड ७० लाख हाराहारी आउँछ। यी फिल्मले ५० प्रतिशत लगानी उठाएको माने पनि यस बीचमा निर्माताहरुको २४ करोडले पानी भन्न नपाएको त देखिन्छ नै।

तैपनि फिल्म निर्माणको गति भने रोकिएको छैन। फिल्म बनाउँदा डुबेका केही निर्माता चुपचाप बसेका छन्। केही निर्माता अझै कस्सिरहेका छन्। हल्काफुल्का फिल्म बनाउँदा पनि लगानी सुरक्षित गर्न सफल भाग्यमानी निर्माताहरु नयाँ फिल्म घोषणामा लागेका छन्।

भाग्यमानी ५ फिल्म
लगानी उठाउन सफल फिल्मको सूचीमा छन्, ‘दाल भात तरकारी’, ‘जात्रैजात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’  र ‘छ माया छपक्कै ’। यीबाहेक अन्य फिल्मका लगानीकर्ताको लगानी सुरक्षित हुन सकेन। यीमध्ये कबड्डीको तेस्रो सिक्वेलले केही प्रशंसा पाए पनि बाँकी चार फिल्म गुणस्तरको हिसाबमा आलोचित नै भयो। कमजोर कथावस्तु भए पनि स्टारकास्ट, अनि राम्रो मार्केटिङका कारणले अन्य चार फिल्मले लगानी सुरक्षित गर्न सक्यो।

तर स्टारकास्ट हुँदा पनि केही फिल्म भने चलेनन्। वैशाखमा गत वर्ष चैतमा २९ मा रिलिज भएको दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ हलमा थिए। नयाँ वर्षको पहिलो साता नयाँ फिल्म रिलिज भएनन्। लामै समय हल पाए पनि दुवै फिल्मले सन्तोषजनक व्यापार गर्न सकेन। वैशाखमा १३ मा बल्ल फिल्म ‘कालो वर्ष’ प्रदर्शनमा आयो। तर फिल्मले राम्रो व्यापार गर्न सकेन।

आठ महिनाको अवधिमा ४६ वटा नेपाली फिल्म रिजिल हुँदा पाँच वटा मात्र सफल भए। लगानी उठाउन नसकेका ४१ फिल्मले आधा लगानी उठाएको मान्ने हो भने पनि २४ करोड डुब्यो यस बीचमा।

वैशाखमै रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ले समीक्षकहरुबाट झापड भेटे पनि लगानी सुरक्षित ग-यो। ‘दाल भात तरकारी’ रिलिजको एक सातापछि लागेको ‘पसिना’मा बगेको कलाकार र निर्माताको पसिनासँगै लगानी पनि डुब्यो। पसिनामा अभिनेत्री अनु शाह लामो समयपछि फर्किएकी थिइन्। दर्शकले उनी आएको चालै पाएनन्।

जेठमा आएका सात वटा फिल्ममध्ये फिल्म ‘जात्रैजात्रा’ले मात्र राम्रो व्यापार ग¥यो। ‘वीर विक्रम २’, ‘कप्स’, ‘कुम्भ करण ’ र ‘काउसो’को बेहाल भयो। जेठ २४ मा रिलिज ‘रेस’को गति यति सुस्त थियो कि अवस्था सुध्रिएन।

पछिल्लो समयकी हिट अभिनेत्री प्रियंका कार्की, आयुष्मान देशराज जोशी लगायत कलाकारको फिल्ममा अभिनय रहेको ‘प्रेम दिवस’ले दर्शकको प्रेम पाउन सकेन। ‘झड्का’ले दर्शकबाट झट्कै पायो। असारमा आएका ‘आप्पा र ‘कीर्तिपुर’ले पनि दर्शकलाई हलसम्म तान्न सकेन।

साउनमा धेरै फिल्म
साउन महिना फिल्म रिलिजका लागि राम्रो महिना मानिन्न। तर यही महिना धेरै फिल्म रिलिज भए। असारमा दुई वटा मात्र फिल्म मात्र रिलिज भएकोमा साउनमा ‘घर’,  ‘बदला’, ‘एकलव्य’, ‘सुपर गोर्खे’, ‘यता न उता’, ‘रातो गलबन्दी’, ‘साइनो’, ‘रे’, ‘काँचुली’ लगायत १० वटा फिल्म रिलिज भए तर कुनैले पनि लगानी उठाउन सकेनन्।

नेपाली दर्शकद्वारा अपेक्षा गरिएको फिल्म ‘हजार जुनीसम्म’ साउन २० मा आएको थियो। विकास आचार्य निर्देशित यस फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेत, सञ्चिता लुइँटेल लगायत नेपालका टप कलाकारको अभिनय थियो तर फिल्म चलेन।

भदौमा रिलिज भएका ‘जाइरा’, ‘मारुनी’, ‘सोच’, ‘हिरो न. वान’ को हालत पनि उस्तै भयो। भदौमा निकै हल्लाखल्ला गरिएको फिल्म ‘पासवर्ड’को पनि केही चलेन। भारतीय पोर्न स्टार सनी लियोनीको अभिनय भए पनि उनलाई हेर्न नेपाली दर्शक इच्छुक भएनन्।

स्टारलाई पत्याएनन् दर्शकले
असोजमा रिलिज भएको ‘कबड्डी कबड्डी  कबड्डी’ले दर्शकलाई हलमा आकर्षित ग-यो। दशैँमा व्यापार हुने आशामा रिलिज भएको अशोक शर्माको ‘रातो टीका निधारमा’ डुब्यो। उनको छोराको डेब्यु फिल्म थियो यो।

‘काले’ पनि उस्तै देखियो। फिल्म ‘शिवम्’ले पनि केही लछारपाटो लगाएन। असोजको २४ मा रिलिज ‘छ माया छपक्कै’ले राम्रो समीक्षा नपाए पनि व्यापार भने राम्रो ग-यो। लगानीकर्ताको लगानी खेर गएन।

कात्तिकमा आएका ‘लक्ष्मी रानी’, ‘पोइ प-यो काले’, ‘बादशाह’ ‘जीवन काँडा की फुल’, ‘सम्हाली राख है’ ‘घामड शेरे’, ‘मिस्टर नेपाली’ले निर्माताको लगानी जोगाउन सकेको देखिएन। ‘जीवन काँडा कि फूल’ साहित्यकार झमक घिमिरेको जीवनी थियो। निश्चल बस्नेत र स्वस्तिमाको ‘घामड शेरे’ अनि भुवन केसीको ‘मिस्टर नेपाली’ हल्लामा मात्र हिट भए।

मंसिरमा आएका ‘चचहुईँ’, ‘सरौतो’, ‘लभ यु हमेशा’, ‘मखमली मखमली’ पनि दर्शकका नजरमा परेनन्। ‘माछा माछा’को हविगत भ्यागुतो भयो। ‘माया पिरिम’ ले दर्शकको माया पाएन। रिलिजको पर्खाइमा रहेका फिल्महरु हेर्दा अब आउने तीन महिनामा कुनै चमत्कार हुने लक्षण देखिन्न।

फ्लपको बहार किन ?
निर्माता आकाश अधिकारीको विश्लेषणमा लगातार नेपाली फिल्म फ्लप हुनुको कारण राम्रो कन्टेन्टको अभाव नै हो। फिल्ममा रहरले आएका निर्माता र मुर्गा खोज्दै हिँडेका निर्देशकले गर्दा फिल्मको संख्या बढे पनि व्यापार नबढेको उनको ठम्याई छ।

‘फिल्मसम्बन्धी अध्ययन गर्नेहरु कम छन्। नयाँले फिल्म बनाउँदा विदेशमा कमाएको पैसा पोखेका मात्रै हुन्,’ उनले भने, ‘पुराना निर्माताले फिल्म बुझेका हुन्छन्। लगानी त्यही अनुसारको लगाएर फिल्म निर्माण गरे चल्न सक्छ।’

तर यस बीचमा चलेका निर्माता र नेपाली फिल्म क्षेत्र बुझेका निर्देशकले बनाएका फिल्म पनि सफल हुन नसकेकाले अधिकारीले भनेझैँ मुर्गा बन्न आएका नयाँ निर्माता र नयाँ निर्देशककै कारण मात्र नेपाली फिल्म क्षेत्रको हविगत यस्तो भएको पत्याउन सकिने आधार देखिएन।

सफल निर्देशकमा गनिने नवल नेपाल दर्शकको अपेक्षा अनुसारको फिल्महरु बनाउन नसक्दा हलसम्म दर्शक आउन रुचि नदेखाएको बताउँछन्। दर्शकको छनोट एकातिर, फिल्म अर्कोतिर बन्दा असफल फिल्मको संख्या बढेको उनको तर्क छ।

‘फिल्मका निर्देशक र निर्माताबीच समन्वय हुन नसक्दा स्तरीय फिल्म बन्न सकेनन्। जे मन पर्छ त्यही गरे,’ उनले भने, ‘दर्शकले कस्तो फिल्म रुचाउँछन् भन्नेतिर ध्यान नदिएकाले धेरै फिल्म फ्लप भए।’

लामो समयदेखि फिल्म वितरणमा संलग्न गोपाल कायस्थका अनुसार नेपाली दर्शकले नेपाली फिल्मलाई माया मारेका हैनन्, नेपाली फिल्म नै झुर बनेका हुन्। दर्शकले कुन फिल्म हेर्ने, कुन नहेर्ने पहिल्यै निर्णय गरेर मात्र हलमा आउँदा बजार शिथिल भयो। केही दर्शक इन्टरनेटमा फिल्म कुरेर बस्ने गरेकाले समेत बजार सुस्त भएको उनको तर्क छ।

निर्मात्री तथा अभिनेत्री रोशनी केसी भने अहिले नेपाली फिल्म राम्रा बनेको दाबी गर्छिन्। उनको विश्लेषणमा पहिलाको तुलनामा फिल्मको मेकिङ राम्रो भएको छ तर दर्शकको मन मनोरञ्जनतिर नहुँदा त्यसको सकारात्मक प्रभाव पर्न सकेन।

Leave A Comment