स्तन सर्जरीमा संक्रमण

मङ्गलबार, २२ पुष २०७६, ११ : २६ उपेन्द्र खड्का
स्तन सर्जरीमा संक्रमण

पाँच वर्षअघि एक २५ वर्षकी युवती स्वस्ती लेजर एन्ड स्किन केयरका कस्मेटिक सर्जन डाक्टर जसवन शाक्यकहाँ पुगिन्। मोडलिङ क्षेत्रमा काम गर्ने ती युवतीले भारतमा पुगी स्तनको आकार बढाउन स्तनमा सिलिकन राखेर सर्जरी गराएकी थिइन्। उनी स्तनमा संक्रमण भएर पाकेपछि उपचारका लागि डा. शाक्यकहाँ पुगेकी थिइन्।

‘संक्रमणले स्तन पाकेको थियो,’ डा. शाक्यले भने, ‘उनको स्तनमा राखेको सिलिकन निकालेँ। सिलिकन निकालेर उपचार गरेपछि उनको समस्या समाधान भयो।’

पछिल्लो समय मोडलिङ क्षेत्रमा काम गर्ने ती २५ वर्षीय युवती जस्तै स्तनको आकार मिलाउन कस्मेटिक सर्जनकहाँ पुग्नेको संख्या दिनानुदिन बढिरहेको छ। डा. शाक्यकहाँ केही वर्ष पहिले वर्षमा एक/दुई जना कस्मेटिक सर्जरीका लागि आउने गरेकोमा अहिले महिनामा औसतमा दुई जना आउने गरेका छन्।

राष्ट्रिय ट्रमा सेन्टरस्थित प्लास्टिक, कस्मेटिक, हात सर्जरी विभागका सिनियर कन्सल्टेन्ट तथा प्लास्टिक सर्जन डा. कृष्ण मानन्धर पनि पछिल्लो समय स्तनको कस्मेटिक सर्जरी गर्ने महिलाको संख्या बढिरहेको बताउँछन्।

तर स्तनको कस्मेटिक सर्जरी गर्नेमध्ये सबैले सन्तुष्टि पाउँछन् नै भन्ने निश्चित छैन। कतिपय अवस्थामा साइड इफेक्टको जोखिम हुने, सोचेजस्तो मिलेको आकारमा स्तन नहुँदा महिला असन्तुष्ट हुनसक्ने अनुभव डा. मानन्धरले सुनाए।

त्यसो त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिन तथा प्लास्टिक सर्जन डाक्टर पीयूष दाहाल पनि स्तनको कस्मेटिक सर्जरी गर्दा पूर्ण जोखिमरहित नहुने बताउँछन्। दाहाल भन्छन्, ‘हरेक शल्यक्रिया जोखिमरहित हुन्न।’

महिलाका स्तन सौन्दर्यका दृष्टिले महत्वपूर्ण मानिन्छन्। मिलेको स्तनको आकार नहुँदा महिलामा दैनिकीमा असर पर्नुका साथै तनाव उत्पन्न हुनसक्ने देखिएको चिकित्सक बताउँछन्। स्तन ठूलो हुँदा ढाड दुख्ने, हिँडडुलमा असहजता आउने जस्ता समस्या हुन्छन्। सानो आकारका स्तन भएमा महिलामा तनाव उत्पन्न हुनसक्छ। त्यसैले त डा. शाक्य, डा. मानन्धर र डा. दाहालकहाँ पछिल्लो समय स्तनको आकार मिलाउन पुग्ने महिलाको संख्या मनग्य बाक्लिन थालेको छ। ठूलो स्तन घटाएर सानो आकारको बनाउन, झोलिएको स्तन टाइट बनाउन र सानो आकारको स्तन ठूलो बनाउन स्तनको कस्मेटिक सर्जरी गरिने चिकित्सक बताउँछन्।

यस्तो छ विधि
चिकित्सकका अनुसार रिकन्स्ट्रक्टिभ र कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीअन्तर्गत पर्छन्। स्तनमा क्यान्सर, ट्युमर तथा कुनै चोटपटक लागेको अवस्थामा स्तनको रिकन्स्ट्रक्टिभ सर्जरी गरिन्छ। कस्मेटिक सर्जरी भने सुन्दरताको दृष्टिले गरिन्छ। मिलेको आकारमा स्तन ल्याउनका लागि स्तनको कस्मेटिक सर्जरी गरिन्छ। डा. शाक्यले भने, ‘रोग, दुर्घटना, आगोले पोलेको जस्ता समस्या भएर स्तनको मिलेको आकार बनाउनका लागि रिकन्स्ट्रक्टिभ सर्जरी गरिन्छ।’ यस्तो अवस्थामा कृत्रिम स्तनसमेत राखिन्छ।

कस्मेटिक सर्जरी विभिन्न तरिकाले गरिन्छ। स्तनभित्र सिलिकन वा स्लाइन राखेर र स्तनमा बोसो भरेर पनि स्तनको आकार ठूलो बनाउन सकिने डा. मानन्धरले बताए। स्लाइन र सिलिकनजस्ता इम्प्लान्टको तुलनामा स्तनमा बोसो हालेर स्तनको आकार बढाउने विधि प्राकृतिक भएको डा. मानन्धरको तर्क छ। आफ्नै शरीरको पेट तथा थाईबाट बोसो निकाली इन्जेक्सनमार्फत स्तनमा बोसो भरी स्तनको आकार ठूलो बनाइन्छ। यसरी बोसो झिक्ने यन्त्रलाई लाइपोसक्सन भनिन्छ। आफ्नै शरीरको बोसो झिकेर स्तनमा राखी ठूलो बनाउने विधिलाई फ्याट इन्जेक्सन विधिसमेत भनिन्छ। स्तनको छालाभित्र शरीरको मासु राखेर पनि स्तनको आकार बढाउन सकिने चिकित्सक बताउँछन्।

बोसो राखेको तीन महिनासम्म करिब ४० प्रतिशत बोसो पग्लिन सक्ने भए पनि तीन महिनापछि भने स्तनमा राखेको बोसो नपग्लने डा. मानन्धर बताउँछन्। ‘यसरी आफ्नै शरीरको बोसो झिकेर स्तनमा भर्दा संक्रमणको जोखिम अत्यन्तै कम हुन्छ,’ डा. मानन्धरले भने, ‘बोसो राख्ने विधि स्तन ठूलो बनाउने भरपर्दो विधि देखिन्छ।’ यो विधि अपनाई स्तनको आकार बढाउँदा लामो समयसम्म काम गर्ने चिकित्सकको तर्क छ। बोसो राख्ने विधि पनि ठूलो शल्यक्रिया भएको चिकित्सक बताउँछन्। सिलिकन तथा इम्प्लान्ट भने बाहिर आउन खोज्ने, तथा खुम्चिने जस्ता समस्या हुन्छन्। स्तनको कस्मेटिक सर्जरी गर्दा शल्यक्रिय बिग्रने तथा त्यसले ल्याउने समस्या भने अत्यन्तै न्यून हुनेतर्फ चिकित्सकको एक मत देखियो।

प्लास्टिक सर्जन डा. मानन्धरले आफूले स्तनको कस्मेटिक सर्जरी गर्ने क्रममा समस्या ननिम्तिएको अनुभव सुनाए तर सिलिकनलाई शरीरका मांसपेशीले स्वीकार नगर्दा सिलिकन राखेको वरिपरिको भागको मासु कडा हुनसक्ने भएकाले नियमित चिकित्सकको फलोअपमा हुनुपर्ने डा. शाक्य बताउँछन्। ‘यस्तो अवस्थामा सिलिकन र कडा भएको मासु शल्यक्रिया गरी निकाल्नुपर्छ,’ डा. शाक्यले भने। स्तनभित्र रगत जम्ने, घाउ पाक्ने, नीला डाम बस्ने जस्ता समस्या भएको खण्डमा सिलिकन झिक्नुपर्ने हुनसक्छ। यस्ता समस्या आइरहे पुनः सिलिकन राख्न उचित नहुने चिकित्सकहरुको सुझाव छ । स्तन मात्रै वा पूरै शरीर लठ्याएर सर्जरी गरिन्छ। डा. दाहालका अनुसार स्तनमा एक पटक राखेको सिलिकनले दश वर्षभन्दा बढी समय समस्या देखिँदैन। सिलिकनको गुणस्तरमा भने ध्यान दिनुपर्छ।

प्लास्टिक सर्जन डा. दाहालका अनुसार ठूलो स्तनलाई सानो आकारको बनाउनुपरेको खण्डमा शल्यक्रिया गरी स्तनको बोसो झिकेर आकार घटाउन सकिन्छ। स्तनको आकार मिलाउँदा शल्यक्रिया गर्नुपर्ने हुन्छ। स्तन घटाउँदा बच्चालाई स्तनपान गराउनुपर्ने अवस्थामा दुध नै नआउनेसम्मका जोखिम हुने भएकाले विशेषज्ञ तथा दक्ष चिकित्सककहाँ स्तनको कस्मेटिक सर्जरी गराउन चिकित्सकको सुझाव छ।

सिलिकनको बढी प्रयोग
डा. शाक्य स्तनभित्र सिलिकन (इम्प्लान्ट) राखेर स्तन ठूलो बनाउने उपयुक्त विधि भएको बताउँछन्। सिलिकन नरम किसिमको रबर हो। स्तनको आकार बढाउँदा आफूलाई चाहेको आकारका सिलिकन स्तनमा राख्न सकिन्छ। सामान्यतः नेपालमा करिब तीन सय मिलिलिटरसम्मका इम्प्लान्ट महिलाको स्तनमा राखिने गरेको डा. शाक्यले सुनाए।

डा. शाक्यका अनुसार दुवैतर्फका स्तनका लागि करिब सात सय मिलिलिटर बोसो आवश्यक हुन्छ। यस्तो अवस्थामा राम्रो परिणाम नआउन सक्छ। ‘स्तनमा सातसय मिलिलिटर बोसो राख्नका लागि शरीरबाट करिब डेढ लिटर बोसो निकाल्नुपर्छ,’ डा. शाक्यले भने। शरीरमा पर्याप्त बोसो नहुन सक्ने भएकाले सिलिकन विधि अपनाउनु उचित हुने उनको तर्क छ।

बिस्तारै बोसो पग्लिएर बिलाउने जोखिम हुने भएकाले सिलिकन राख्ने विधि नै उपयुक्त हुने डा. शाक्यले बताए। त्यसो त डा. दाहाल पनि सिलिकनको त्यति जोखिम भने नदेखिएको बताउँछन्। सिलिकन प्वाल परिहालेको खण्डमा पनि नबग्ने भएकाले विश्वबजारमा सिलिकन राखेर स्तन ठूलो बनाउने विधि बढी प्रयोग हुने गरेको चिकित्सकहरु बताउँछन्।

स्तनमा विभिन्न तरिकाले सिलिकन राखिन्छ। स्तनको बाहिरी भागमा छाला हुन्छ। छालाभित्र बोसो तथा टिस्यु हुन्छ। बोसो तथा टिस्यु भित्र मांशपेशी हुन्छ। सामान्यतः मांशपेशी भन्दा भित्रको भागमा सिलिकन इम्प्लान्ट गरिने चिकित्सक बताउँछन्।

स्तनका निप्पलको छेउमा रहेको कालो भागमा सानो प्वाल बनाएर इम्प्लान्ट गर्न सकिने चिकित्सक बताउँछन्। काखीमुनिबाट पनि सिलिकन राख्न सकिने डा. मानन्धरले बताए। तर अहिले भने स्तनको मुनितर्फको भागमा प्वाल बनाएर सिलिकन राख्ने चलन भएको चिकित्सक बताउँछन्। स्तनमा दाग नदेखियोस् भनेर निप्पलको छेउमा प्वाल बनाएर सिलिकन राख्ने चलन पनि उत्तिकै छ। यसरी सिलिकन राखिनु सुरक्षित तथा प्रभावकारी हुने डा. शाक्यले बताए।

खर्च र समय
सिलिकन राखेर स्तन बढाउन मनग्यै खर्च हुन्छ। डा. दाहालका अनुसार सरकारी अस्पतालमा स्तनको आकार बढाउन सिलिकनको प्रयोग गरी कस्मेटिक सर्जरी गर्दा डेढ लाख हाराहारीमा खर्च लाग्न सक्छ। सिलिकनको आकारअनुसार यसको मूल्य निर्धारण हुने चिकित्सक बताउँछन्। निजी स्वास्थ्य संस्थामा महँगो पर्न सक्छ। महिलाले दुवै तर्फका स्तनमा एक जोडी सिलिकन हाल्दा नेपालमा करिब तीन लाख खर्च हुनसक्ने डा. शाक्य बताउँछन्। विदेशमा कस्मेटिक सर्जरी महँगो पर्ने भएकाले नेपालमै सस्तोमा गुणस्तरीय सेवाका साथ स्तनको कस्मेटिक सर्जरी गर्न सकिने उनी बताउँछन्। ठूलो स्तनलाई सानो बताउँदा भने नेपालमा करिव एक लाख खर्च लाग्नसक्छ। झोलिएको स्तन टाइट गर्दा यो भन्दा कममा गर्न सकिने चिकित्सकहरु बताउँछन्।

स्तनको आकार बढाउन स्तनमा सिलिकन राख्न करिब डेढ घण्टा समय लाग्नसक्ने चिकित्सकहरु बताउँछन्। स्तन घटाउने शल्यक्रियाको समय भने साढे तीन घण्टा लाग्न सक्छ। शल्यक्रिया गरी झोलिएको स्तन घटाउँदा पुनः झोलिने सम्भावना कमै हुन्छ। तर उमेर पाको हुँदै जाँदा भने झोलिनसक्ने डा. मानन्धरले बताए। ‘स्तनको आकार घटाउँदा स्तनको बोसो र ब्रेस्ट टिस्यु निकालिन्छ,’ डा. शाक्यले भने, ‘ब्रेस्ट टिस्यु र फ्याट निकालेर स्तनको आकार घटाइन्छ।’

हार्मोन तथा स्तनमा हुने तन्तुका कारण महिलाका स्तन साना र ठूला हुन सक्छन्। कतिपयको वंशाणु, पोषणजस्ता कारणले पनि स्तनका आकार साना–ठूला हुन सक्छन्। तर व्यक्ति मोटा हुँदैमा स्तनका आकार ठूला हुने र पातलो हुँदैमा साना हुने भन्ने नहुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार किशोरावस्थामा स्तनका तन्तुमा वृद्धि हुँदैजाँदा स्तन बढ्छन्। गर्भावस्थामा हार्मोनको वृद्धिका कारण दुध उत्पादन गर्ने ग्रन्थिको विकास हुन्छ। जसका कारण स्तन बढ्ने भए पनि स्तनपानपछि स्तनका आकार घट्छन्।

सामान्यतः वयस्क महिलाले नै स्तनको कस्मेटिक सर्जरी गर्ने डा. दाहालले अनुभव सुनाए। त्यसो त स्तनको कस्मेटिक सर्जरी गर्ने टिनएजर पनि कम नभएको डा. मानन्धरले बताए। चिकित्सकका अनुसार किशोरीहरु सानो स्तनलाई ठूलो बनाउन चिकित्सककहाँ पुग्ने गरेको देखिन्छ। सामान्यतः बच्चा जन्मिसकेका ३५ काटेका महिला झोलिएको स्तन टाइट गर्नका लागि चिकित्सककहाँ पुग्छन्। ‘तर नेपालमा स्तनको अकार सानो भएका महिला कमै छन्,’ डा. मानन्धरले भने, ‘नेपालका महिला लक्की हुनुहुन्छ।’

Leave A Comment