कम्पन दिने चुम्बक थेरापी

मङ्गलबार, २२ पुष २०७६, ११ : ४१ शुक्रवार
कम्पन दिने चुम्बक थेरापी

डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

व्यायामका विभिन्न विधिमध्ये एक हो, चुम्बक थेरापी। चुम्बक शरीरमा हुने चुम्बकीय तरंगको असर, प्रभाव, यसको अध्ययन, सेवा तथा उपचार चुम्बक चिकित्साअन्तर्गत पर्छ। चुम्बक चिकित्सा शारीरिक व्यायाम गर्ने विभिन्न उपायमध्ये एक भरपर्दो तथा सरल र सहज व्यायाममा पर्छ। चुम्बक चिकित्सालाई शारीरिक स्फूर्ति ल्याउने व्यायाम चिकित्साअन्तर्गत लिइन्छ।

थेरापीका बारेमा चर्चा गर्नु पहिले शरीरमा स्वचालितरुपमा उत्पन्न हुने चुम्बकीय तरंगका बारेमा चर्चा गरौं।

दुई ध्रुवीय शरीर
चुम्बकका दुई ध्रुवमध्ये एक ध्रुवले अर्को ध्रुवलाई विकर्षण गर्छ। चुम्बकीय प्रणालीकै आधारमा ब्रह्माण्डको चक्र चल्छ। त्यसैगरी चुम्बकीय प्रभावकै आधारमा व्यक्ति स्वस्थ तथा अस्वस्थताको निर्धारण हुन्छ। स्वचालितरुपमा व्यक्तिको शरीरमा चुम्बकीय तरंग उत्पन्न भएको हुन्छ।

चुम्बकीय दृष्टिकोणअनुसार शरीरको शिरतर्फको भागलाई उत्तरी ध्रुव र खुट्टातर्फको भागलाई दक्षिणी ध्रुव मानिन्छ। शरीरिकरुपमा हुने यिनै ध्रुवका आधारमा शरीरमा आकर्षण तथा विकर्षण पैदा हुन्छ। व्यक्तिको शरीरमा हुने आकर्षण र विकर्षणका कारण शारीरिक सन्तुलनमा प्रभाव पर्न जान्छ। शरीरमा स्वचालित रुपमा हुने चुम्बकीय तरंगको असन्तुलनको आकर्षण तथा विकर्षणका कारण व्यक्ति शारीरिक तथा मानसिकरुपमा शिथिलताको जोखिममा हुन्छ।  यसरी चुम्बकीय तरंगको असन्तुलनका कारण व्यक्तिको शरीरमा असन्तुलन आए पनि स्वास्थ्य जाँच गर्दा भने समस्या पत्ता लाग्न मुस्किल पर्छ। अब चर्चा गरौं चुम्बक थेरापीका बारेमा।

दुई बट्टा चुम्बक
दुईवटा समध्रुव भएका चुम्बक राखिएका साना बट्टाजस्ता भाँडा (डिभाइस) तयार गरिन्छ। सानो बट्टा आकारका चुम्बकका चक्का बट्टाको मुखतर्फ राखिन्छ। त्यसपछि व्यक्ति घोप्टोपरी सुत्छ। सुतिसकेपछि चुम्बकसहितको बट्टा चुम्बक भएतर्फको भाग शरीरमा राखिन्छ। दुईवटै चुम्बकसहितका बट्टा शरीरको दायाँबायाँको भागमा राखिन्छ। खुट्टामा चुम्बक थेरापी गर्ने व्यक्तिले खुट्टाको दुवैतर्फको भागमा राख्छ। दुवैतर्फको भागमा चुम्बक राख्दा खुट्टामा राम्रो व्यायाम पुग्छ। शरीरको एक भागमा करिब सात मिनेट चुम्बक राखिसकेपछि झिकेर अर्को भागमा राख्न सकिन्छ। यो थेरापी शरीरमा चुम्बन गरेझैँ गरिन्छ। बिहान–बेलुकी चुम्बक थेरापी गर्न सकिन्छ।

बोसै पगाल्ने कम्पन
चुम्बकको प्रयोग गरी गरिने चुम्बकीय चिकित्सा थेरापीले शरीरमा कम्पन (भाइब्रेसन) उत्पन्न गर्छ। चुम्बकको प्रयोगगरी चुम्बकीय थेरापी गरिरहेको शरीरको चुम्बकीय तरंगका कारण शरीर तात्छ। चुम्बकबाट उत्पन्न हुने कम्पन तथा तापका कारण शरीरका नसा तथा मांशपेशी खुल्छन्। नसा तथा मांशपेशी खुल्दा लचिलो हुन्छ नै। चलायमान त्यत्तिकै हुन्छ।

यसरी चुम्बकबाट गरिने थेरापीले भद्दा भएको बोसोको तह घट्न त सहयोग पुग्छ नै। भद्दा रुपमा बोसो जमेर रहेको अंगमा यो थेरापी गर्नाले बोसो पग्लन्छ। जम्न पाउँदैन। बोसो नजमेपछि व्यक्ति शारीरिक रुपमा फिट हुन्छ नै। जुन ठाउँमा बोसो जमेको छ त्यहीँ मात्रै पनि गर्न सकिन्छ। हिप, कुम, तिघ्रा, ढाडजस्ता शरीरका भागमा यो थेरापी गर्नाले त्यस्ता अंगमा बोसो कम हुन गई व्यक्ति स्लिम हुन्छ।

शरीरका विभिन्न हाडजोर्नीमा नसा च्यापिएका, जेलिएका, सुन्निएका, फुलेका तथा दुखेको स्थानमा यस्तो थेरापीले समस्या समाधान गर्न सहयोग पु-याउँछ। यसरी चुम्बक थेरापी गर्नाले लठ्ठिएको छाला सक्रिय हुन्छ। बाथको समस्या भएको अवस्थामा समस्या समाधान गर्न सहयोग पुग्छ। यस्तो थेरापीले हाडजोर्नीका नसा तथा मांशपेशी लचिलो भई मजबुत हुन सहयोग पुग्छ। जसले शरीरका हाडजोर्नी मर्किने, भाँचिने, सड्किनेजस्ता समस्याबाट बच्न सकिन्छ। यो प्राकृतिकरुपमा दुखाइ कम गर्ने उपयुक्त थेरापी हो।

म्याटमै थेरापी
आजकाल एकैपटकमा शरीरका धेरै ठाउँको व्यायाम हुने किसिमका म्याग्नेटिक म्याटसमेत पाइन्छ। म्याग्नेटिक म्याट (बेड) मा सुत्नाले शरीरको सम्पूर्ण भागमा एकैपटक कम्पन पैदा हुन गई शरीरका नसा तथा मांशपेशी चलायमान हुन्छ। जसले विशेषगरी नसासम्बन्धी समस्या हुनबाट बच्न सकिन्छ। यस्तो थेरापीले शरीरमा आलस्यता तथा शिथिलता कम हुनुका साथै व्यक्तिमा स्फूर्ति आउँछ।

म्याटमा सुतेर गरिने चुम्बक थेरापी विशेषगरी पाको उमेरका व्यक्तिलाई उपयुक्त हुन्छ। दौडने, उफ्रने, कुनै तौल उचाल्ने किसिमको व्यायामको तुलनामा म्याटमा सुतेर गरिने चुम्बक थेरापी पाको उमेरका व्यक्तिका लागि अत्यन्तै लाभदायक व्यायामको उपाय हो। यस किसिमको म्याग्नेटिक म्याटमा सुतेर गरिने थेरापीका क्रममा शारीरिक बल लगाउनुपर्ने बाध्यता हुन्न। यस्तो म्याटमा सुते पुग्छ। कम्पन म्याटमै पैदा भैहाल्छ।

विशेषगरी पाको उमेरका व्यक्तिले म्याटमा सुतेर यस्तो व्यायाम गर्नाले शरीरका अंग–प्रत्याङ्गमा कम्पन भई नसा तथा मांशपेशी चलायमान हुन्छन्। नसा तथा मांशपेशी नै चलायमान भैसकेपछि शरीरमा रक्तप्रवाह सहजरुपमा भई शरीरलाई आवश्यक पोषणको तह पुग्छ। जसले व्यक्ति शारीरिक तथा मानसिकरुपमा मजबुत हुन सहयोग पुग्छ। पेट घटाउनसमेत स–साना म्याट पेटमा बाँधी यो थेरापी गरेको पाइन्छ।

छैन असर
घडी, औंठीजस्ता सामग्रीमा समेत चुम्बक राखी बनाइएको हुन्छ। यसरी चुम्बक भएका घडी, औंठीजस्ता सामग्री व्यक्तिले लगाउँदा नाडी र औंलामा समेत निरन्तर कम्पन हुने भएकाले जेलिएका, नखुलेका नसा तथा मांशपेशी खुल्ने भएकाले हातको प्यारालाईसिस हुने जोखिमबाट बच्न सकिन्छ। यसले नाडीको कम्पन तथा अवस्था सन्तुलित गर्नसमेत सहयोग गर्छ।

चुम्बक थेरापीको शरीरमा नकारात्मक असर हुन्न। त्यसैले यो थेरापी सहजरुपमा घरमै गर्न सकिने थेरापी हो। विशेषगरी वयस्क व्यक्तिले शरीर फिट राख्नका लागि यो किसिमको थेरापी गर्नु उचित हुन्छ। बालबालिकालाई यो थेरापी गर्नु आवश्यक छैन।

विशेषगरी अफिसमा काम गर्ने, मोटोपनाको समस्या भएका व्यक्तिलाई यो थेरापी उपयुक्त हुन्छ। सन्तुलितरुपमा चुम्बक थेरापी गर्नाले प्यारालाईसिस, मस्तिष्काघातजस्ता समस्याबाट बच्न सकिन्छ।

यो थेरापीले शरीरका मांशपेशी तथा नसा लचिलो हुने भएकाले शरीरमा रक्तप्रवाह सहजरुपमा हुन्छ। शरीरमा सहजरुपमा रक्तसञ्चार हुँदा मस्तिष्कमा राम्रोसँग रक्तसञ्चार हुन्छ र  मस्तिष्काघातबाट बच्न सकिन्छ। हृदयाघातबाट बच्न सकिन्छ।

यो थेरापी घरमै गर्न सकिने सहज व्यायामको एउटा प्रकार हो। सुरुमा गर्दा भने थेरापिस्टको सहयोग लिनुपर्छ। त्यसपछि आफैँ घरमा चुम्बक ल्याएर गर्न सकिन्छ। सानो खर्चमा वर्षौंसम्म घरमै गर्न सकिन्छ।

शरीरका संवेदनशील अंगबाहेकमा यो थेरापी गर्न सकिन्छ। साना तोरीको दानाजत्रा चुम्बक टेपमा राखेर सानो सानो भागमा पनि यो थेरापी गर्न सकिन्छ। टाउको दुखेको अवस्थामा समेत यो थेरापी गर्न सकिन्छ।

यो थेरापी वैकल्पिक चिकित्साका रुपमा अमेरिका, क्यानडा जस्ता मुलुकमा प्रख्यात छ। विशेषगरी व्यायाम तथा फिजियो थेरापीको रुपमा यस्तो चुम्बक थेरापी गरिन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment