‘बाल लेखनमा तोपै पड्काएको होइन, इँट्टा थप्ने प्रयास मात्र हो’

शनिबार, २६ पुष २०७६, १२ : ३५ शुक्रवार
‘बाल लेखनमा तोपै पड्काएको होइन, इँट्टा थप्ने प्रयास मात्र हो’

फिल्मी लेखन हुँदै पुस्तक लेखनमा प्रवेश गरेका ब्रजेश खनाल बाल पुस्तक लेखनमा प्रवेश गरे ‘सुरुङको बाटो’मार्फत। करोडपति, नेपालीबाबु, बादलपारि, गोठालो, मोहनी, ‘नाता’ लगायतका दर्जनौँ फिल्म तथा टेलिफिल्म लेखेका उनले ‘यायावर’, ‘जुनेली’ र ‘साइड हिरो’ पुस्तक प्रकाशित गरेका थिए। बालउपन्यासमार्फत बालबालबालिकासम्बन्धी पुस्तक लेखनमा प्रवेश गरेका उनीसँग शुक्रवारकर्मी प्रजु पन्तले नेपालको बाल साहित्य र फिल्म लेखन लगायतका विषयमा केन्द्रित भएर गरेको कुराकानीः  

सुरुमा फिल्म, टेलिफिल्म लेख्नुभयो। पछि उपन्यास तथा संस्मरण। अहिले आएर बाल उपन्यास। एउटै विधामा किन अडिन नसकेको हो ?
ठ्याक्कै यही कारण भन्ने छैन। तर जे गरिरहेको छु लेखन विधामै गरिरहेको छु। फिल्म, टेलिफिल्म, उपन्यास सबै लेखनकै पाटा हुन्। उपन्यास लेख्दा खुला भएर लेखियो। सिनेमा लेख्दा प्राविधिक रुपमा बाँधिएर लेख्नुपथ्र्यो। विषयवस्तुको सीमितता हुने नै भयो। उपन्यासमा कल्पनशीलता र सिर्जनशीलता मिसिने भयो र स्वतन्त्र भएर लेख्दा पनि भयो। म बच्चा छँदा नेपालीमा बाल उपन्यास पाइँदैनथ्यो। अंग्रेजी र केही हिन्दीमा पाइन्थ्यो। त्यतिबेला मलाई लाग्थ्यो, नेपालीमा पनि यस्तै उपन्यास भए। अनि अहिले आफैँ लेखेँ।     

यो उपन्यास बाल्यकालको त्यही रहर मेट्न मात्र लेखेको हो कि नेपाली बाल साहित्यको अध्ययन गरेर ?
मलाई बच्चा छँदा प्रभाव पार्ने कुराले अहिलेको बच्चालाई पनि पारेको हुन्छ भन्ने लागेर त्यतिबेलाको सोचाइ–बुझाइअनुसार लेखेको हुँ। बच्चा बेलाको म र अहिलेको बच्चाको सोचाइ उस्तै हो। फरक यत्ति हो कि अहिलेको बच्चाहरु प्रविधिमा अगाडि छन्। त्यसकारण प्रविधिलाई पनि मिसाउँदै लेखेको हुँँ। तर बाहिरी ट्रेन्ड हेरेर लेखेको भने होइन।

बाल साहित्यका अग्रणी शान्तदास मानन्धरले नेपालमा लेखिएका अधिकांश पुस्तक बाल मनोभावना बुझेर लेखिएका छैेनन् भन्ने गर्नुहुन्छ। यो उपन्यास लेख्दा कत्तिको बालभावना बुझेँ भन्ने लाग्छ ?
बाल  मनोविज्ञान नै केलाएर उपन्यास लेखेको हैन। फेन्टासी, आख्यान, रोचक, रोमान्स र रहस्यको कुराले मलाई त्यो उमेरमा प्रभावित पाथ्र्याे।  त्यसैलाई मिसाएर लेखेको हुँ। मैले लेख्नुको प्रमुख कारण बालबालिकामा पठन संस्कृति बढोस् भनेर चैँ हो। मैले बाल लेखनमा तोपै पड्काएको होइन, इँट्टा थप्ने प्रयास मात्र हो।

बालबालिकाका लागि लेखिएको भनिएका पुस्तकका शब्द चयन चैँ प्रौढको हुने देखिन्छ। लेख्दा शब्द चयनमा कतिको ध्यान दिनुभयो ?
लक्षित वर्गलाई लेख्दा शब्द चयन धेरै गाह्रो हुने रहेछ। लक्षित वर्गले नबुझिने तरिकाले लेख्न भएन। ठेट नेपाली नबुझ्ने धेरै भयो हाम्रोमा। उपन्यास लेख्दा दश पन्ध्र हजार शब्द लेखेपछि दोहो-याएर हेर्थें। बाल उपन्यास लेख्दा अनुच्छेदपिच्छे हेर्न प-यो। सरल भाषा र साधारण शब्दमा अभिव्यक्त गर्न असाधारण रुपले मुस्किल हुने रहेछ।

कति बेला अलि अप्ठ्यारो हुने रहेछ ?
जति बेला पनि गाह्रै भयो। केही शब्दहरु शब्दकोष अथवा ठूलालाई सोधेर बुझून् भनेर त्यसै छोडेँ पनि।

उपन्यासको विषयवस्तु र पात्र कसरी चयन गर्नुहुन्छ ?
दिमागमा फ्रेमवर्क बनाउँछु। तर यो–यो लेख्छु भन्ने पूर्वनिर्धारित भने हुँदैन। पात्र चयनमा जुन लक्षित वर्ग हो, सोहीअनुसार त हुने नै भयो। तर मेरो कुनै पनि लेखनमा ठ्याक्कै फ्रम्याट हुँदैन। आफैँ कथा बन्दै जान्छ। यो उपन्यासमा पनि भएको त्यही हो।  

उपन्यास बजारमा गइसक्यो। प्रतिक्रिया चैँ कस्तो आइरहेको छ ?
अरु किताबमा सामाजिक सञ्जालबाट बढी प्रतिक्रिया आइरहन्थ्यो। विशेषगरी ट्वीटरमा तर बालउपन्यासको केसमा ट्वीटरमा लक्षित पाठक छैनन्। त्यसैले अहिले त्यस्तो प्रतिक्रिया पाएको छैन। स्कुलहरुबाट भने राम्रै प्रतिक्रिया आइरहेको छ।

तर तपाईंको उपन्यासमा महिला पात्रको प्रस्तुति निकै कमजोर छ नि। किन हो ?
अँ, पुस्तक प्रकाशित भएपछि धेरैले यही प्रतिक्रिया दिनुभयो तर नियतवश महिला पात्रलाई कमजोर पार्न खोजिएको भने हैन। तीन पात्रमा केटी पात्र एक वर्ष सानो भएकाले पनि लेखकले संरक्षित गरेको हुन सक्छ। अनि, अर्काे कुरा यो पुस्तकको सिरिज नै निस्कन्छ। अर्काे पुस्तकमा उसलाई बोल्ड देखाउन पनि त सकिन्छ !

इशानको आमा मधु भन्ने पात्र श्रीमानसँग धकाएको, डराएको जस्तो गरी प्रस्तुत गर्नुभएको छ नि। किन यस्तो ?
त्यस्तो छ र ?  छैन होला।

उपन्यासमा उनीहरु जोमसोम गएको बेला ईशानका बाबुले थाहा नपाउने गरी कुकुर उनको नजिक जाँदा हकार्दा मधु धकाएको होस् या ईशानका बाबु कमलकान्त लेख्नका लागि उपल्लो मुस्ताङ जाँदा होस्, श्रीमान्को सहयोगी, सहनशीलता श्रीमान्को मुड हेरेर बोल्नुपर्ने स्थिति भएकी पात्रको रुपमा चित्रित गर्नुभएको छ नि त !
त्यो होइन। श्रीमान्ले पनि श्रीमतीको मुड हेरेर कुरा गर्नुपर्छ नि हैन र ? एक प्रकारले भन्दा स्नेहले हो, एक अर्काको सम्मान गरेको हो। 

श्रीमतीको मुड हेरेर श्रीमानले कुरा गर्नुपर्ने कुरा उपन्यासमा उल्लेख नभएकै कारण उपन्यास लैंगीक रुपले समान नदेखिएको त हो नि ?
त्यो डराएको होइन एक अर्कालाई सम्मान गर्ने खालकै हो। अझ मैले सोच्दा त मधु स्ट्रङ क्यारेक्टर भनेर नै देखिरहेको छु तर त्यो इन्टेन्सनल्ली लेखिएको हैन। अगामी श्रृङ्खलामा पक्कै सुधार्नेछु।

कति सिरिजको योजना हो ?
यत्ति नै भन्ने त छैन। बालबालिकाको रुचिअनुसार लेख्दै जाने हो।

अनि हाम्रो समाज कत्तिको बालमैत्री देख्नुहुन्छ ?
हाम्रो पालामा भन्दा अहिले बालमैत्री छ। हाम्रा पालामा त आफूभन्दा ठूलाले भनेको मान्नुपर्छ भन्ने मात्र थियो। त्यसैले ठूलाले जे भने पनि हामीसँग ‘हुन्छ’ र ‘हस्’ भन्नुको विकल्प थिएन। तर अहिले मेरी छोरीहरु खुलेर कुरा गरिरहेका हुन्छन्। अहिले पहिलाको जस्तो नियन्त्रणमुखी समाज छैन।

शहरी क्षेत्रका बालबालिका एक्लिए भन्ने नि सुनिन्छ हो त ?
बा–आमाले चाहे भने बच्चाको लागि समय निकाल्न सक्छन्। मुख्य विषय त बुबाआमाले छोराछोरीलाई जे समस्या आइपरे पनि आफैँसँग घुलमिल हुन सकुन् भन्ने मित्रवत् व्यवहार गर्नुपर्छ भन्ने हो।

हिजोआज केटाकेटीहरु पुस्तकभन्दा ग्याजेटतिर आकर्षित हुन्छन्। ग्याजेटले छोराछोरी बिग्रिए भन्ने पनि सुनिन्छ। बिग्रिएकै हुन् कि माध्यम फेरिएको हो ?
मलाई बिग्रिएको जस्तो त लाग्दैन। ग्याजेट कसरी चलाउन दिइन्छ भन्ने कुराले प्रभाव पारेको भने हुन्छ। कुनै पनि नयाँ कुरालाई एक्सपोज नै गर्न दिनुहुन्न भनेर हुँदैन।

हलिउड–बलिउडतिर बालबालिकाका लागि फिल्म लेखिन्छ। तर हाम्रोमा यस्तो देखिन्न। तपाईं त फिल्म लेखक पनि हुनुहुन्छ। बालबालिका केन्द्रित फिल्म लेख्ने योजना छैन ?
हाम्रोमा बालबालिकासँग सम्बन्धित फिल्मको अभाव भएकै हो तर हिजोआज मैले फिल्म लेखिरहेको छैन। भोलि लेख्ने मुड आयो भने बालबालिकासम्बन्धी लेख्न पनि सकिन्छ।

थुप्रै फिल्म लेख्नुभएको मान्छे, चटक्कै छाड्नु पो भयो। किन ?
छाडेकै त नभनौँ। तर सरभाइभल टाइममा व्यावसायिक फिल्म लेखेको हो। त्यसमध्ये कति धेरै चले पनि। अहिले किताबतिर लागिरहेको छु। तर म फेरि फिल्म नै लेख्दिनँ भन्ने चैँ हैन।

फर्केर हेर्दा कस्तो फिल्म लेखियो भन्ने लाग्छ ?
त्यतिबेला सिनेमाको बजार जस्तो थियो, त्यस्तै लेखेँ। तपाईं व्यावसायिक लेखक हो भने बजारलाई नजरअन्दाज गर्न सकिँदैन। भारत र हाम्रो संस्कृति मिल्छ। हाम्रा फिल्म पनि त्यस्तै हुन्थे।

नेपाली फिल्महरु भारतबाट सोझै कपी भएको पनि देखिन्छ। तपाईंका फिल्म कत्तिको प्रभावित हुन्थे ? कि सिधै कपी पनि गरियो ?
त्यस्तो डाइरेक्ट कपी त हुँदैनथ्यो। प्रभाव त पथ्र्यो।

किताबमा आधारित फिल्म खासै चल्दैनन् किन ?
मेरो विचारमा लेखकले सिनेमा बनाउँछु भनेर किताब लेखेको हुँदैन। अर्कै किसिमले लेखिएको हुन्छ। डाइरेक्टरको भिजन अर्कै हुन्छ। त्यही भएर हो कि !

कस्ता फिल्म, कस्ता पुस्तक लेखिऊन् जस्तो लाग्छ ?
हामीले छुन नसकेका कुराहरु धेरै छन्। सिनेमा भनेको पाठक, दर्शकलाई आत्मसाथ गर्ने, मेरो कथा हो भन्ने हुनुपर्छ। कनेक्सन हुनु प-यो। लैंगीक समानता, यौन हिंसा, घरेलु हिंसा, अहिलेको राजनीति, व्यक्तिको साहस तथा ऐतिहासिक घटनाबारे पुस्तक अथवा फिल्म बन्नुपर्र्छ भन्ने लाग्छ।

Leave A Comment