जेल सजाय कटाउने यातना गृह हैन, अपराधको प्रायश्चित गराई जीवन सुधार्ने सुधार गृह हुनुपर्ने हो। कानुनमा जेललाई सुधार गृह भनिए पनि अवस्था भने यातना गृहबाट बदलिएको छैन। तापनि ढुंगामा पिपल टुसाएझैँ यातनागृहरुपी जेलमा बसेर पनि जीवन सुधार्न चाहनेहरु सुध्रिएकै छन्। जेलभित्रै बसेर पनि जीवन सुधारेका यस्तै तीन पात्रको संर्घषको इतिवृत्तिः
हिजो कैदी, आज प्रिन्सिपल
खिरिलो ज्यान। कलिलो मुहार। सुन्धाराको महिला कारागार आइपुग्दा भर्खर १७ वर्षकी थिइन्, मेरिना शाक्य। भर्खरै एसएलसी दिएकी उनले एसएलसीको नतिजा प्रहरी हिरासतमै चाल पाएकी थिइन्।
ख्याति श्रेष्ठको अपहरण र हत्यामा आफ्नै शिक्षक वीरेन श्रेष्ठलाई सघाएको देखिएको भन्दै काठमाडौं जिल्ला अदालतले प्रारम्भमा पुर्पक्षका लागि थुनछेकको आदेश दिएको थियो। पछि उनलाई १४ वर्ष कैद सजाय तोकियो। १० वर्षयता उनी सुन्धाराकै कारागारमा छिन्।
एसएलसीको नतिजा आउँदा ८६.८७ अंकका साथ उत्तीर्ण भएकी उनले जेल परे पनि पढाइ नछाड्ने बताएकी थिइन्। कलिलै उमेरमा जेल परेकी उनले आफूलाई सम्हाल्दै पढाइलाई कसरी निरन्तरता दिइन् होला ? कस्ती भइन् होला उनी ? अनि अहिले के गर्दै होलिन् ?
०००
रातो टिर्सट, कालो आउटर, कालै पाइन्ट, क्लोज सुज, ओठमा रातो लिपिस्टिक लगाएकी। कपाललाई जुरो बनाएर बाँधेकी उनको हातमा फाइल थियो। सुन्धारा केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाको कार्यकक्षमा आएकी युवती नजिकै सोफामा बसिन्।
जेलर बास्कोटाले नै परिचय गराइदिए, ‘उहाँ नै हो हाम्रो महिला आधारभूत विद्यालयको प्रिन्सिपल।’
जेलर बास्कोटाले जसलाई परिचय गराएका थिए, उनी उही मेरिना थिइन्। कारागारमा बस्दा उनले साँच्चिकै वाचाअनुसार पढाइलाई निरन्तरता मात्र दिइनछन्, जेल परेका महिलाहरुलाई अक्षर चिनाउने जिम्मेवारीसमेत लिएकी रहिछन्।
उनले महिला कारागारका कैदी–बन्दीलाई पढाउन थालेको पनि आठ वर्ष भइसकेछ। विद्यालयको नेतृत्व नै लिएको तीन वर्ष पुगिसकेछ।
जेलर बास्कोटाले परिचय गराइदिए पनि उनी संशयमा थिइन्, कुरा गर्ने कि नगर्ने ! उनी बितेका काला दिनमा फर्कन चाहन्नथिइन्। त्यस्तै देखियो। उनले कुराकानी अगाडि बढाउनु अगाडि नै सर्त राखिन्, ‘स्कुलको मात्र कुराकानी गर्ने हो भने मात्र कुरा गरौं, व्यक्तिगत कुरा गर्न खोजेको हो भने म अहिले गर्दिनँ।’
‘व्यक्तिगत कुरा गर्न खोजेको हैन, स्कुलकै कुरा गर्ने हो,’ भनेपछि उनी राजी भइन्।
विगत बिर्सदै, पढाउँदै
तीनवटा विद्यालय रहेको सुन्धारा केन्द्रीय सुधारगृहमा तीनवटै विद्यालय हाँक्ने तीन जना प्रधानाध्यापक छन्। श्री बन्दी विकासको आधारभूत विद्यालय, भद्रगोलका प्रधान अध्यापक महेश पराजुली, श्री जगन्नाथ माध्यमिक विद्यालयका प्रधान अध्यापक अभिषेककुमार तिवारी अनि श्री महिला विकास आधारभूत विद्यालयकी मेरिना।
मेरिनाले नेतृत्व गरेको श्री महिला विकास आधारभूत विद्यालय केन्द्रीय कारागारको कम्पाउन्डबाहिर पश्चिमतिर छ। त्यहाँ पाँच कक्षासम्म पढाइ हुन्छ भने ५ जना शिक्षक छन् र ६२ विद्यार्थी छन्।
‘यहाँ (जेल) मा आएपछि घरपरिवारले बाहिर बसे पनि पढ्नै पथ्र्याे नआत्तिई यहीँ पढ् भन्नुभयो,’ मेरिनाले भनिन्, ‘सुरुमा त अत्यास लाग्यो। पछि बिस्तारै आफूलाई सम्हाल्दै लगेँ र अहिले मास्टर क्लियर गरेँ।’
जेलभित्रैबाट मेरिनाले दुई विषयमा स्नातकोत्तर गरेकी छन्। कक्षा ११ देखि मास्टरर्ससम्म व्यवस्थापन पढिन्। उनलाई राजनीतिशास्त्र पनि पढ्न मन लाग्यो। अनि मास्टरर्समै उनले राजनीतिशास्त्र पनि सकिन्।
राजनीतिशास्त्र चैँ किन पढेको ?
मुस्कुराउँदै भनिन्, ‘यहाँबाट बाहिर निस्किएपछि अरु काम गर्नलाई सहयोग हुन्छ कि भनेर।’
उमेर पाको, बानी बच्चाजस्तै
१७ वर्षको उमेरमा जेलमा प्रवेश गरेकी मेरिना अहिले २७ वर्षकी भइन्। उनले पढाउने विद्यार्थी भने उनी भन्दा उमेरले पाकै छन्। कोही–कोही विद्यार्थीको उमेर उनको हजुरआमा समान नै छ रे ! तापनि पढाउन धक मान्दिनन् उनी।
उनी दैनिक बिहान साढे पाँच बजे उठ्छिन्। अनि विद्यालयका लागि तयार हुन्छिन्। कारागारका तीनवटै विद्यालयमा बिहान र बेलुकी कक्षा हुन्छ। दिउँसो काराखानामा काम गरेबापत केही महिना कैद मिनाहा हुने भएकाले प्रायः कैदीबन्दी काम गर्न जान्छन्।
‘मैले पढाउने प्रायः सबै हजुरआमा जस्तो उमेरको हुनुहुन्छ,’ मेरिनाले भनिन्, ‘अलि चर्काे बोल्न पनि हुँदैन, चित्त दुखाइहाल्नुहुन्छ। बच्चाजस्तै हुनुहुन्छ केही त !’
‘एकचोटी हाम्रै सहकर्मीले पढाउँदा चर्को बोल्नुभएछ,’ बेलिबिस्तार लगाउँदै उनले भनिन्, ‘भोलिपल्टबाट एक जना आउँदै आउनुभएन। के भयो आमा भनेर सोध्न गएँ। उहाँले त रुँदै मलाई गाली गरे भन्नुभयो। अनि सम्झाइ–बुझाइ फेरि कक्षाकोठामा ल्याएँ।’
जेलभित्र पनि सुध्रन सक्छ जीवन
जेलभित्रकै अर्काे विद्यालय श्री बन्दी विकासको आधारभूत विद्यालय २०१४ सालमा खुलेको हो। अहिले त्यहाँ महेश पराजुली प्रधान अध्यापक छन्। उनले पढाउने विद्यालयमा दुई सय विद्यार्थी छन् अनि १० जना शिक्षक।
बाराका उनको बन्दी जीवन शुरु भएको साढे सात वर्ष भइसकेछ। उनले यस विद्यालयमा पढाउन थालेको चार वर्ष पुग्यो। कर्तव्य ज्यान मुद्दामा परेका पराजुलीलाई सर्वस्वसहित जन्मकैदको सजाय छ।
‘अर्थशास्त्रमा स्तातक पढ्दै थिएँ,’ पराजुलीले भने, ‘बाटो बिराइयो, साथीहरुको संगतमा त्यस्तै भयो बाहिर छँदा। जेल परेपछि त्यसै दिन बिताउन अत्यास लाग्न थाल्यो। अनि भित्रै बसेर पढ्न र पढाउन थालेँ। अलि मन हल्का भयो।’
केन्द्रीय कारागारको सबैभन्दा ठूलो विद्यालय श्री जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन्, अभिषेककुमार तिवारी। उनी पढ्नमा तेज थिए। शंकरदेव क्याम्पसमा बिबिएमा पढ्दापढ्दै लागुऔषधमा फँसे र खैरो हिरोइनसहित समातिँदा जेल यात्रा शुरु भयो।
उनी जेल परेको पनि ११ वर्ष पुगिसक्यो। जसै उनी जेल परे, उनका बाबुले सम्झाए, ‘जेल पनि विश्वविद्यालय हो, हार नमान्।’ उनका बाबुले नै कलेजको फर्म भरिदिने अनि किताब–कापी ल्याइदिने गरे। म्यानेजमेन्टमा बिबिएस र मास्टर्स अनि अर्थशास्त्रमा मास्टर गरे जेलभित्रैबाट। ०६८ बाट विद्यालयको शिक्षक भएका उनी गत असारबाट प्रमोसन भएर प्रधानाध्यापकै भए।
कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा ३ सय विद्यार्थी छन् भने ११ शिक्षक।
जीर्ण भवन, धेरै विद्यार्थी
२०७२ को भूकम्पमा पहिल्यै मक्किएका कारागारका भवनहरु पनि भत्किए। मेरिनाको नेतृत्वमा रहेको विद्यालयको भवन पनि भत्कियो। अहिले केही सुधार गरिएको छ रे !
भद्र तिरको विद्यालयमा विद्यार्थीअनुसार कक्षा कोठाको अभाव रहेको सुनाए प्रधानाध्यापकले। पराजुलीका अनुसार राति सुतेकै ठाउँमा पढ्नुपर्ने बाध्यता छ, अहिले पनि। भूकम्पले थङ्थिलो बनाएर रातो स्टिकर लागेको भवनमै जोखिम मोलेर विद्यालय चलाएका छन् उनले।
जगन्ननाथ माविबाट वर्षेनी दर्जनौँले एसइई परीक्षा दिन्छन्। कक्षा ११ र १२ मा गरी ४० भन्दा बढी विद्यार्थी अध्ययरत छन्। कम्प्युटर क्लास पनि सुरु गरेका रहेछन्।
‘यहाँका स्कुलमा अनिवार्य कोर्सका अलावा काउन्सिलिङको पनि पढाइ हुनुपर्छ,’ अभिषेकले भने, ‘काउन्सिलिङ भयो भने आफूले गरेको गलत कामको प्रायश्चित हुन्छ । त्यसपछि कैदीबन्दी समाजमा घुलमिल हुन सक्छन्।’
समाजले स्वीकार्ला ?
महेश, अभिषेक र मेरिना फरक–फरक अपराधमा जेल परे। तीनै जना प्रधानाध्यापक भएकाले प्रशासनिक कामको क्रममा भेट भइरहन्छ। तीनै जना युवा उमेरमै जेल परेका थिए। अदालतले तोकेको सजाय काटिरहेका छन् जेलमा बसेर। जानेको ज्ञान बाँडेका पनि छन्। तीनै जनामा आफ्नो विगतबारे पछुतो छ।
‘शिक्षित भएपछि अपराध गर्दैनन् भन्ने छ तर म शिक्षित भए पनि अपराध गरेँ,’ महेशले भने, ‘अहिले पश्चाताप लाग्छ। कलेजको डिग्री मात्रै हैन रहेछ शिक्षा।’
अभिषेकमा पनि पश्चाताप देखियो। पश्चातापसँगै जेलमा रहेकाहरुबारे चिन्ता पनि। दुवैको चिन्ता छ, जेल त परे नै सजाय काटेर बाहिर निस्केपछि समाजले के गर्ला भन्ने अत्यास पनि छ।
‘मैले गल्ती गरेँ, त्यसको सजाय भोगिरहेको छु,’ अभिषेकले भने, ‘भोलि यहाँबाट निस्केपछि म पनि अरु जस्तै सामान्य जीवन बिताउन चाहन्छु तर समाजले स्वीकार गर्ला त ?’
मेरिना नजिकै चुपचाप थिइन्। सोचमग्न उनको ध्यान भङ्ग गर्दै सोधेँ, ‘जेलबाट छुटेपछि के गर्नुहुन्छ त ?’
उनी केहीबेर मौन रहिन्।
‘अहिलेसम्म त बुबाआमाले सहयोग गर्नुभो,’ उनले भनिन्, ‘आमाबुबा सधैँभरि मेरो साथमा हुनुहुन्न। बाहिर गएपछि के गर्ने होला सोचिराछु। अहिले नै भन्न सक्दिनँ।’
पुराना कुरा गर्दिनँ भनेकी थिइन्, पहिल्यै। तापनि केही बोली पो हाल्छिन् कि भनेर प्रश्न गरेँ, ‘जेलमा बस्दा पुरानो घटनाको रियलाइजेसन त हुन्छ होला है ?’
प्रश्न सुनेर उनका आखाँ आसुँले भरिए र भनिन्, ‘रियलाइजेसन ?’
–हजुर
सुक्सुकाउँदै भनिन्, ‘त्यो त भइहाल्छ नि ! सँगै पढेका साथीहरु कहाँ पुगिसकेँ। म बाहिर गएपछि जिरोबाट सुरु गर्नुपर्छ। सायद यो जुनीभर विगतले मलाई छोड्दैन। के मलाई समाजले स्वीकार्ला ?’
Leave A Comment