चार्टर्ड एकाउन्टेन्ट (सिए) आनन्दराज शर्मा वाग्ले करिब एक दशकदेखि चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा संलग्न छन्। इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट सिए अध्ययन गरेका वाग्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष हुन्। एक्यानले गर्दै आएका काम, लेखा व्यवसायको अवस्था, वित्तीय सुशासनमा सिएको भूमिका लगायतका विषयमा वाग्लेसँग शुक्रवारका लागि गरिएको कुराकानीः
सिएले मुलुकको विकासमा कसरी भूमिका निर्वाह गर्न सक्छन् ?
चार्टर्ड एकाउन्टेन्टसँग एकीकृत ज्ञान हुन्छ। एउटा विषयले अर्को विषयमा पर्ने प्रभावको बारेमा जानकार हुन्छ। मानौं वकिल कर्पोरेट ल मा पोख्त हुनुहुन्छ भने एकाउन्टको विषयमा थाहा नहुन सक्छ। सिए शिक्षाले लेखापरीक्षण, लागत, वित्त, कर्पोरेट ल लगायतका विषयमा विज्ञ हुन्छन्। विभिन्न क्षेत्रको अन्तरसम्बन्धलाई विश्लेषण गर्न सक्छ।
कस्तो भूमिका पाइरहनुभएको छ त ?
अहिले क्षमताअनुसार सिएलाई जिम्मेवारी दिइएको छैन। पाइलटलाई प्लेन उडान नदिएर स्पेयर्स पार्टको जिम्मेवारी दिए के होला ? सिएको क्षमताअनुसार लिडिङ रोल दिनुपर्छ। सिए पाँच वटा विषयमा विज्ञ भएकाले त्यहीअनुसार अवसर दिनुपर्छ। समाजको लिडिङ रोलमा काम गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। पारदर्शी अर्थतन्त्रमा सिएले सघाउन सक्छन्।
समग्रमा लेखा व्यवसायलाई कसरी हेर्नु भएको छ ?
चार्टर्ड एकाउन्टेन्ट भनेको लेखा र लेखापरीक्षणको विषय मात्र होइन। हाम्रो अर्थतन्त्र ग्रोइङ भैरहेको छ। राज्यले समृद्धिको नारा अघि सारेको छ। पारदर्शी अर्थतन्त्रको विषय गम्भीर रुपमा उठिरहेको छ। अर्थतन्त्रको आकार बढ्दा होस् वा कुनै समस्या देखिँदा दुवै अवस्थामा सिएको भूमिका उत्तिकै जिम्मेवार हुन्छ। अर्थतन्त्र बुम हुँदै जाँदा वित्तीय परामर्शदाताको माग हुन्छ। अर्थतन्त्र डाउन हुँदा पनि फन्डलाई कसरी व्यवस्थापन तथा उपयोग गर्ने भन्ने विषयमा पनि चार्टर्ड एकाउन्टेन्टले कन्सल्टेन्टको रुपमा परामर्श दिन सक्छन्।
अन्य पेशा व्यवसायमा भन्दा चार्टर्ड एकाउन्टेन्टको दायित्व तथा भूमिका के फरक छ त ?
वाणिज्य संकायको शिक्षामा सिएको पढाईलाई उच्चतम रुपमा लिइन्छ। चार, पाँच विषयमा विज्ञ हुनुपर्ने भएकोले चार्टर्ड एकाउन्टेन्ट एप्लाइड साइन्स पनि हो। यसमा पढ्दै काम गर्दै गर्नुपर्छ। साढे तीन वर्ष सिएको माताहतमा बसेर काम गर्नै पर्छ। विभिन्न उद्योगमा अडिटको काम गर्नुपर्छ। अध्ययनसँगै काम गर्दा सबै कुरा बुझेको हुन्छ। एउटा व्यक्ति यस्तो विज्ञ भएर निस्किन्छ, जसले अर्थतन्त्रका सबै पाटालाई बुझ्छ। फरक क्षेत्रका चार जना व्यक्तिलाई लिनुभन्दा एउटा चार्टर्ड एकाउन्टेन्टबाट उक्त काम फत्ते हुनसक्छ। यस अर्थमा सिएको माग धेरै छ। सिए अध्ययन गरेकालाई धेरै अवसर रहेकाले आकर्षण पनि छ।
चार्टर्ड एकाउन्टेन्ट अध्ययन गर्न चाहने विद्यार्थीले कहाँ, कसरी अध्ययन गर्न सक्छन् ?
यहाँ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स (आइक्यान) संस्था छ। उक्त संस्थाले अन्तर्राष्ट्रिय स्टान्डर्डअनुसार कोर्स डिजाइन गरेको छ। कन्टेन्ट तथा सामग्री दिन्छ। पाठ्यसामग्रीलाई काम गर्दै स्वअध्ययन गर्नुपर्छ। त्यसमा क्याप वान, क्याप टू र फाइनल गरेर तीन किसिमको तह हुन्छ। क्याप वानमा आधारभूत ज्ञान, क्याप टू काम गर्ने ज्ञान हुनुपर्छ। क्याप टू पास गरेको व्यक्तिले अफिसर लेभलमा जागिर खान सक्छ। फाइनल एक्स्पर्ट हुन्छ। कोर्स डिजाइन आइक्यानले गरेको हुँदा पढ्ने विद्यार्थीको सहजताका लागि कोचिङ इन्स्टिच्युट छन्। ती इन्स्टिच्युटमा विद्यार्थीले पढेर वा स्वअध्ययनबाट परीक्षा दिनसक्छन्। विदेश गएर अध्ययन गर्न पनि सक्छन्। यसअघि धेरैले आइसिएआईबाट सिए पास गरेका थिए। अहिले आईक्यान र आइसिएआइबीच सम्झौता भएपछि भारतमा पास गरेकाले यहाँ काम गर्न पाउने र यहाँबाट पास गरेकाले उता पनि काम गर्न पाउने गरी अघि बढेको छ।
सिए योग्यता तहको विषयमा केही विवाद आइरहेको छ। मुख्य समस्या के हो ?
चार्टर्ड एकाउन्टेन्ट भनेको इन्टरनेसनल डिग्रीको पदवी हो। सिए कुनै विश्वविद्यालयको सैद्धान्तिक ज्ञान मात्र होइन। विश्वविद्यालयमा सिद्धान्त पढ्छ, जागिर खाएर व्यवहारमा कार्यान्वयनमा ल्याउँछ। सिएमा सिद्धान्त अध्ययनसँगै काम पनि सिकेर विज्ञ बन्छ। स्वायत्त अटोनोमस बडीअन्तर्गत इक्यान स्थापना गरेर शिक्षा लागू गरिन्छ। यो पढाइको बारेमा शंका गर्नुपर्ने कुनै ठाउँ छैन। विगतमा त्रिभुवन विश्वविद्यालयले चार्टर्ड एकाउन्टेन्टलाई मास्टर डिग्रीको मान्यता दिएको अवस्था थियो। सिएले दैनिक कलेज गएर अध्ययन गर्दैनन्, यो स्वअध्ययन हो। यो पढाइलाई विश्वविद्यालयको कोर्ससँग तुलना गर्न मिल्दैन भनेर अहिले स्थगित गर्नु भएको छ।
खुला विश्वविद्यालयको अवधारणा आई घरमा नै बसेर अध्ययन गरिरहेको अवस्थामा बजारमा राम्रो क्षमता प्रदर्शन गरेको सिएको क्षमतामा प्रश्न उठाइएको छ। यो ठीक भएन। यसले सामाजिक रुपमा सिएलाई अपमानित गरेको छ। वैज्ञानिक ढंगले हेर्नुप-यो। छुट्टै डिग्री दिने होइन भने सरकारी निकायले पदपूर्ति गर्दा चार्टर्ड एकाउन्टेन्टकै पदमा आवेदन आह्वान गर्नुप-यो। यसले सिएलाई असर प-यो। विश्वभर सिएको कोर्सलाई मास्टर डिग्रीको मान्यता दिएका छन्। हाम्रोमा रोक्दा सामाजिक प्रतिष्ठामा असर परेको छ।
अनियमितता भएको ठाउँमा कागजी रुपमा वैधता दिन सिएले सघाइरहेका छन् भन्ने आरोप पनि छ नि ?
पेशागत व्यक्ति नैतिकवान हुनुपर्छ। सिएलाई आचारसंहिताले बाँधेको हुन्छ। सिए विज्ञ भएकाले त्यही अनुसारको शुल्क लिएका हुन्छौं। त्यसले गर्दा कुनै पनि ठाउँमा सम्झौता गर्दैनौं। भ्रष्ट वातावरण भएको ठाउँमा चार्टर्ड एकाउन्टेन्ट गयो भने त्यसलाई बाहिर ल्याउँछ। व्यावसायिक मान्छे गएको ठाउँमा नैतिकता चुकाउँदैन। टिओआर बाहिर जाँदैन। यो पेशामा दुई थरी हुनुहुन्छ। कतिपय सिएको कोर्स नगरी अडिट गर्दैआउनु भएको छ। तर, लेखा व्यवसायमा लागेका व्यक्ति पारदर्शी हुनुपर्छ।
अडिट र अनुसन्धानमा केही भिन्नता छ ?
अडिट र अनुसन्धान फरक विषय हुन्। अडिटमा सीमा हुन्छ। सतप्रतिशत हेर्ने होइन। योजनाबद्ध रुपमा अनियमितता गर्नेले त्यस्तो गरेको हुनसक्छ। अडिटको एउटा प्रक्रिया हुन्छ। त्यो पूरा गर्ने हो। शंका लागेको ठाउँमा अनुसन्धान गर्ने अर्को पाटो हो। त्यसका लागि फोरेन्सिक अडिट गर्नुपर्ने हुनसक्छ। आर्थिक वर्ष सकिएर काम पूरा गरेर आएपछि बल्ल अडिटको भूमिका हुन्छ। खर्च भैसकेको हुन्छ। पोस्ट इभेन्ट एक्टिभिटीमा अडिटको रोल आउने हो। अडिटले अनियमिततामा सघायो भन्नु ब्लड टेस्ट गरेर छातीको क्यान्सर पत्ता किन नलगाएको भने जस्तै हो। अडिटरको सीमाको विषयमा बुझाउनु पर्नेछ।
यो क्षेत्रमा समस्या के छन् ?
फाइनान्समा काम गर्ने दक्ष जनशक्ति कम छ। बुक किपिङ र एकाउन्ट मेन्टेन गर्न सक्ने जनशक्ति पर्याप्त छैनन्। सिएले त्यो तहको काम गर्दैन। एकाउन्ट बुझेको जनशक्ति कम हुँदा खातापाताको मेन्टेन हुन सकेको छैन। डेटाबेस व्यवस्थापन गर्ने जनशक्ति नहुँदा सिएले गर्नुपर्ने अवस्था छ। वित्तीय साक्षरताको क्षेत्रमा समस्या छ।
एक्यानको नेतृत्वमा बसेर काम गरिरहनु भएको छ। आफ्नो जिम्मेवारीलाई कसरी समीक्षा गर्नुहुन्छ ?
चार्टर्ड एकाउन्टेन्ट एकीकृत ज्ञान भएका विज्ञ हुँदाहुँदै पनि राज्यले हामीलाई धेरै ठाउँमा स्पेस दिएको छैन। सिएको भूमिकाको विषयमा बुझाउनु पर्ने चुनौती थियो। अर्थ मन्त्री, ऊर्जा मन्त्रीसहित सरोकारवालाको सहभागितामा मुलुकको विकासमा सिएको भूमिकाको बारेमा राष्ट्रिय स्तरको कार्यक्रम पनि आयोजना ग-यौं। सिए बैंक तथा फाइनान्समा मात्र नभएर हरेक क्षेत्रमा सिए जानुपर्ने जरुरी छ भनेर विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आएका छौं। पेशागत क्षमता विकासका तालिम सञ्चालन गरेका छौं। मलेसियसन इन्स्टिच्युट अफ मेनेजमेन्टसँग मिलेर फाइनान्सियल रिर्पोटिङ स्टान्डर्डको बारेमा तालिम लियौं। अस्ट्रेलिया, मलेसिया, सिंगापुरमा छलफल तथा तालिम लियौं। सुस्ताएको संस्थालाई चलायमान बनाएका छौं। आफ्नो अधिकार मात्र होइन, सृजनात्मक काम पनि गरिरहेका छौं। आइक्यानसँग मिलेर रचनात्मक कार्य गरेका छौं। बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलाई पनि सुझाव दिएका छौं। अर्थमन्त्रालय, राजस्व विभाग, आइक्यानसँग समन्वय गरेर वित्तीय साक्षरता बढाइरहेका छौं।
Leave A Comment