दक्षिण–उत्तरको सम्बन्ध

शुक्रबार, ०७ जेठ २०७३, ०२ : ५२
दक्षिण–उत्तरको सम्बन्ध

आफ्नो अन्त्यकालमा दिएको उपदेशमा पृथ्वीनारायण शाहले एक ठाउँमा यस्तो भनेका छन्, ‘दषिनको घाहा सिबराम बस्न्यात्का सन्तानलाई नछुटाउनु. भोटको घाहा कालु पाडेका सन्तानलाई नछुटाउनु. (वि.सं. २०२५ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेशका १३१, ३२५ पृ., वि.सं. २०५९ मा काठमाडौँबाट श्री ५ को सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभागद्वारा प्रकाशित दिनेशराज पन्तको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशको ४३ पृ.) । यहाँ पृथ्वीनारायण शाहले दक्षिणतिरको परराष्ट्र सम्बन्धको काम शिवरामसिंह बस्न्यातका सन्तानलाई लगाउनू, उत्तरतिरको परराष्ट्र सम्बन्धको काम कालु पाँडेका सन्तानलाई लगाउनू भनी बोलेका छन् । वि.सं. १८३१ मा यो उपदेश दिँदा शिवरामसिंह बस्न्यात र कालु पाँडे दुवै जीवित थिएनन् । वि.सं. १८०३ मा भएको लडाइँमा शिवरामसिंह बस्न्यात र वि.सं. १८१४ मा भएको लडाइँमा कालु पाँडे मारिइसकेका थिए (श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ८०४, ८१४ पृ., वि.सं. २०६७ मा काठमाडौँबाट खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको महामण्डलदेखि काँगडासम्मका ६–७, ३०, ७४ पृ.) । नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा प्रकाशित वि.सं. २०७२ पौष १५ गतेको अन्नपूर्ण पोस्ट् १४ वर्ष २३३ अंकको ६ पृष्ठमा छापिएको प्रेमसिंह बस्न्यातको दुई सय वर्षको सम्बन्ध भन्ने लेखमा पृथ्वीनारायण शाहको कूटनीतिअनुसार चीन र भोटसँगको कूटनीतिक सम्बन्ध हेर्न मन्त्री काजी कालु पाण्डे र उनका सन्तानलाई र दक्षिणतिरको इस्ट–इन्डिया कम्पनीलगायत सम्पूर्ण हिन्दुस्थानी राज्यसँगको कूटनीतिक सम्बन्ध हेर्न मन्त्री काजी केहरसिंह बस्न्यात र उनका सन्तानलाई जिम्मा दिइएको थियो भनी लेखिएको छ । शिवरामसिंह बस्न्यातका जेठा नाहरसिंह बस्न्यात, माहिला केहरसिंह बस्न्यात, साहिँला अभिमानसिंह बस्न्यात र कान्छा धौकलसिंह बस्न्यात नामक चारजना छोरा थिए (वि.सं. २०५८ मा काठमाडौँबाट श्रीपाली बस्न्यात समाज उपत्यका कार्यसमितिद्वारा प्रकाशित हनुमानसिंह बस्न्यात र पूर्णमानसिंह बस्न्यातको श्रीपाली बस्न्यात परिचयको १४६ पृ.) । शिवरामसिंह बस्न्यात भनी उपदेशमा प्रस्टसँग लेखिएको कुरालाई बिगारी यहाँ केहरसिंह बस्न्यात लेखिएको छ ।

प्रा. दिनेशराज पन्त

   

 

Leave A Comment