हस्कि स्वर भए पनि त्यत्ति चर्चामा थिएनन् आरिफ राउफ। पाश्र्व गायनमा प्रवेश गरिसकेका उनी सानो घेराबीच मात्रै परिचित थिए। जब गायनसम्बन्धी रियालिटी सो भ्वाइस अफ नेपाल सिजन २ मा सहभागी भए, उनले टन्न प्रशंसक कमाए। विजेता त बन्न सकेनन् तर उनको व्यस्तता विजेताको भन्दा कम छैन। पाश्र्व गायनको प्रस्ताव पनि उनलाई उत्तिकै आइरहेको छ। अलि अनुदार मानिने मुस्लिम समुदायबाट गायनमा आएका उनै राउफसँग भ्वाइसको अनुभव, गायन यात्रा अनि चुनौतीमा केन्द्रित रहेर शुक्रवारकर्मी भोला अधिकारीले गरेको अन्तरंगः
साह्रै व्यस्त हुनुहुँदो रहेछ है, भेट्नै मुस्किल !
हो। अहिले अलिक व्यस्तै छु। कहिले कता, कहिले कता कार्यक्रम परिरहेको हुन्छ। सेड्युल मिलाउन नै हम्मेहम्मे छ। सरी ल, तपाईंले बोलाएको समयमा पनि आउन पाइएन।
ठीकै छ। आफ्नो समय पनि म्यानेज त गर्नैप-यो नि ! जे होस्, भ्वाइसको विजेता नबने पनि व्यस्त त बनायो नि हैन ?
हो नि ! सबैका सामु एक्कासि चिनिन पाइयो। कामको प्रस्तावहरु आइरहेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन पाइरहेको छु।
तपाईं त पहिलो सिजनमा पनि भाग लिनुभएको थियोे हैन ?
हो, म गएको थिएँ। डिजिटल अडिसन हुँदै ब्लाइन्ड राउन्डसम्म पुगेको थिएँ। त्यो भन्दा अगाडि चैँ बढ्न सकिएन। तर पहिलो सिजनको सहभागिताले आँट बढायो। साथीहरुले स्वर राम्रो छ भनेपछि अभ्यासलाई जारी राखेँ। अहिले त फाइनलसम्मै पुगियो।
पहिलो सिजनमा सहभागी भएपछि प्रस्ताव आए कि ?
टुबोर्गका कार्यक्रमहरुमा गीत गाउन पाएको थिएँ। त्यो मेरा लागि ठूलो अपरच्युनिटी थियो। त्यसपछि ‘लभ लभ लभ’ फिल्ममा पनि गाउने मौका पनि पाएँ। अफरहरु आइरहेकै थिए तर अहिले जस्तो चिनिएको थिइनँ। म सिजन २ नै कुरिरहेको थिएँ।
अहिले कामको प्रस्ताव कत्तिको छ त ?
अफर त आइरहेको हुन्छ। तर भ्वाइसले जहाँ जानु भन्छ, त्यहाँ जाने हो। अहिले भ्वाइस बाहिरको कार्यक्रममा जान मिल्दैन। कन्ट्रयाक्ट नै त्यस्तै हुन्छ। अहिलेलाई सौराहा, पूर्वी नेपाल र भारतको सिक्किमसम्मको टूर छ। त्यसपछि अमेरिका र अस्ट्रेलिया जाने योजना छ।
भ्वाइसका प्रतिस्पर्धीसँग कत्तिको भेटघाट हुन्छ ?
हुन्छ। कहिलेकाहीँ ग्यादरिङ गरिरहेका हुन्छौँ।
कस्ता कुरा हुन्छन् ?
कामलाई नै फोकस गर्छौं। टुर कता हो, कसरी पर्फमेन्स गर्ने भन्ने नै बढी कुरा हुन्छ। तर भ्वाइसमा सहभागी भएयता स्टारडमले छोएको जस्तो छ। यसलाई कसरी म्यानेज गर्ने भन्ने बारेमा पनि छलफल गर्छौं। ह्वात्तै आएको स्टारडम कसरी व्यवस्थापन गर्ने भन्ने पनि छलफल हुन्छ।
भनेपछि स्टारडम गुम्ने डर लाग्न थालिसक्यो ?
डर त भइहाल्छ नि ! सामान्य व्यक्ति एकैचोटि यति माथि पुग्दा फेरि पछारिने पो हो कि भन्ने डर त भइहाल्छ नि ! आफूलाई यही स्तरमा कसरी टिकाउने भन्ने चिन्ता हुने रहेछ।
भ्वाइसको फाइनलको दिन चारै जना प्रतिस्पर्धी मञ्चमा उभिदा तपाईंलाई जित्छु जस्तो लागेको थियो ?
लागिहाल्छ नि ! टप १२ बाट टप ४ सम्म हामी भोटिङले नै पुगेका थियौँ। सबैभन्दा धेरै भोट आएकाले नै गर्दा टप ४ मा पुग्न सफल भएका थियौँ। के थाहा, फाइनलमा विजेता भइहालिन्छ कि भन्ने त सबैलाई हुन्छ। आफ्ना सपोर्टरहरुले यत्ति भोट ग-यौँ, उति भोट ग-यौँ भनिरहनुभएको हुन्थ्यो। विदेशबाट पनि पैसा पठाउनुभएको हुन्थ्यो। मैले जित्छु कि भन्ने त लाग्छ नै।
बाहिरबाट पैसा आयो भन्नुभयो। तपाईंलाई जिताउन कति पैसा आएको थियो त ?
त्यो त थाहा भएन। आउन चाहिँ आएको थियो।
यस्ता कार्यक्रम सकिएपछि केही सहभागीले एसएमएस गर्दा ऋणै लागेको बताउँछन्। आफ्नै घरपरिवारले एसएमएसमा कति खर्च गरे ?
लेखाजोखा नै छैन। तर घरबारी र खेत बेचेर एसएमएस गरेको भने छैन। साधारण परिवारको मान्छे हुँ। आर्थिक हैसियतअनुसार गरियो।
फेम कसरी जोगाउने चिन्ता लागिसक्यो भन्नु भयो। अहो म त सेलिब्रिटी पो भएछु भन्ने कहिले लाग्यो त ?
भ्वाइसको क्याम्पमा बस्दा त केही अनुभव भएन। सामान्य नै लागेको थियो। क्याम्पबाट बाहिर निस्कदा पनि त्यस्तो अनुभव भएन। तर फाइनलमा पुगेपछि एकाएक पहिचान बदलिएको अनुभव भयो।
प्रतियोगिता सकिएपछि काठमाडौँबाहिर कन्सर्टका लागि जाँदा जताततै ‘आरिफ’ भनेर दर्शकको हुटिङ सुनेपछि लौ सेलिब्रिटी भइएछ भन्ने लाग्यो। सेल्फी खिच्नेको धुइरो नै लाग्यो। त्यस्तो बेलामा डर र खुसी एकै पटक मिसिएर आउने रहेछ। के गर्ने गर्ने भन्ने अन्योल हुने रहेछ।
कस्ता कस्ता फ्यान भेटिए अहिलेसम्म ?
भेटिन्छन् नि ! बाटोमा हतारमा हिँडिरहेको बेला दाइ सेल्फी खिचौँ न भन्दै आउनुहुन्छ। बानी परेको छैन। बडो अप्ठेरो लाग्छ। खिचिहालौँ न भन्न पनि अप्ठेरो ! आफू कुन कामले कता दौडिरहेको बेला एक्कासि सेल्फी रे ! नाइँ भनुँ भने कस्तो घमण्डी रहेछ भन्लान् ! ल खिचाैँ न त भनौँ भने आफूलाई ढिला भइसकेको हुन्छ। यस्तो घटना त कति छन् कति !
बाटोमा भेट हुँदा गीत गाइदिनु न भन्ने पनि भेटिएलान् नि ?
त्यस्ता त कति छन् कति ! जहाँ मन लाग्यो त्यहीँ गाइदिनु न भन्ने धेरै भेटेको छु। आफू कुन मुडमा कता हिँडेको हुन्छ तपाईंको स्वर सारै मीठो रहेछ, एउटा गीत गाइदिनू न भन्न थाल्नुहुन्छ। यस्तो सुन्दा चैँ कस्तो–कस्तो लाग्छ।
त्यो बेलामा रिस उठ्दो हो है ?
रिसै त नभनौँ, कस्तो नबुझेको होला भन्ने त लाग्छ नै। जहाँ पायो त्यहीँ, ल गा भन्नासाथ गाउने कुरा हुन्न नि !
यत्ति सुनेपछि प्रेम प्रस्ताव आइरहेका होलान् भनेर सोध्न पर्ला र ?
हा हा हा हा ... त्यस्तो त आउँछ नै। कसरी मिलाएर कुरा गर्ने भन्ने हो। कतिलाई सम्झाएर पठाएको छु।
अनि कसैको प्रस्ताव स्वीकारियो कि अझै दिलको ढोका खुल्लै हो ?
छैन। अहिले नै प्रेमको कुरा त के गर्नु ! यो त काममा फोकस हुनुपर्ने समय हो नि। प्रेमका लागि त टन्नै समय छ अझै।
२९ वर्षमा पनि सिङ्गल भन्दा त पत्याइएन। सिक्रेट राख्न खोज्नु भएको होला ठीकै छ। अब अलिकति परिवारको पनि कुरा गरिहालौँ। परिवारमा को को हुनुहुन्छ ?
म, बैनी र बुबाआमा गरेर चार जना छौँ। बुबा सरकारी फार्ममा काम गर्नुहुन्छ। आमा घरमा नै हो।
संगीतको औपचारिक अध्ययन गरेको हो कि शौख मात्र ?
औपचारिक कक्षा त लिइएन नि ! शौखले आफैंले गीतको अभ्यास चाहिँ गर्थेँ। गीतका भावहरु बुझ्ने प्रयास गर्थें। यसरी नै अगाडि बढेको हो म।
गीत–संगीतबाहेक अन्य केही काम नि गरिन्छ कि ?
अँ। म व्यावसायिक मान्छे हुँ। बानेश्वरमा केएचए कलेजमा ब्याचलर लेभललाई होटल म्यानेजमेन्ट पढाइरहेको छु।
गाउने क्रम बढेपछि पढाउने काममा असर गरेको छैन ?
खै मिलिरहेकै छ अहिलेसम्म। अँ मेरो अर्को काम नि छ। म स्टिलको रेलिङ बनाउँछु। तीनतिरै समय मिलिरहेको देख्दा कहिलेकाहीँ म पनि छक्क पर्छु।
तपाईं मुस्लिम समुदायको सदस्य पनि हुनुहुन्छ। गायनमा मुस्लिम समुदायबाट त्यत्ति कलाकार आएको देखिन्न। कस्तो छ परिवारको सहयोग ?
एकदमै सपोर्ट छ नि ! मेरो परिवार काठमाडौँमा ३० वर्षअघि आएको हो। यतैको वातावरणमा हुर्केर होला परिवारबाट रोेकतोक भएन।
मुस्लिम समुदायमा मनोरञ्जनमा रमाउनु हुन्न भन्ने हुन्छ रे हो ?
हो यस्तो चलन छ। त्यसैले प्रायः हाम्रो समुदायकाहरु गीतसंगीतमा आबद्ध हुन चाहँदैनन्। तर मेरो परिवारमा त्यस्तो समस्या छैन।
लास्ट प्रश्न है त, यस्ता कार्यक्रमका विजेता चाँडै नै गुमनाम भइरहेका छन्। यो कति दिनको ताप हो भन्ने लाग्दैन ?
डर लाग्छ नि ! चिन्तै यही त हो। आफूले अरुको देखिरहेको कुरा आफैँले भोग्नुपर्छ कि भन्ने डर हुने रहेछ। अहिले मेरो फोकसै यो क्रेजलाई कसरी जोगाउने भन्ने नै हो।
Leave A Comment