डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी
स्पा शारीरिक व्यायाम गर्ने भरपर्दो उपाय हो। विशेषगरी सहरी क्षेत्रमा व्यायामको भरपर्दो उपायका रुपमा स्पाको आकर्षण बढेको देखिन्छ। स्पा गर्नाले व्यक्तिको शरीर फिट त हुन्छ नै। यसले सुन्दर रहनसमेत सहयोग गर्छ। स्पालाई नै ज्याकुजिका रुपमा समेत चिनिन्छ। ज्याकुजी स्पाको सानो रुप हो। सामान्यतः साना–साना नुहाउने किसिमका भाँडामा ज्याकुजी (नुहाइन्छ)गरिन्छ।
हाइड्रो थेरापी
प्राकृतिक चिकित्सामा पानीको माध्यमबाट उपचार गरिने स्पा हाइड्रो थेरापी विधि हो। यो विधि शरीरलाई फिट राख्ने सहज तथा आनन्दमयी विधि हो। पानीको माध्यमबाट गरिने उपचारलाई एक मुस्टमा स्पा भनिन्छ। चाहे शरीर फिट राख्न होस् वा प्राकृतिक उपचारमा नै किन नहोस् स्पा लाभदायक हुन्छ। विशेषगरी आधुनिक हेल्थ क्लबमा तयार गरिएका पोखरीलाई स्पा भनिन्छ। पछिल्लो समय आकर्षणको रुपमा रहेको स्पा युरोप, अमेरिकाजस्ता मुलुकमा लोकप्रिय छ। त्यस्ता मुलुकमा मात्रै हैन नेपालका विशेषगरी सहरी क्षेत्रका प्राकृतिक चिकित्सालय तथा हेल्थ क्लबमा स्पाको आनन्द लिएर शरीर फिट तथा स्वस्थ राख्नेको संख्या बढिरहेको देखिन्छ।
तातो पानीको पोखरी
स्पा घरमै पोखरी बनाएर शरीर फिट राख्न सकिने विधि हो। हेल्थ क्लब तथा प्राकृतिक चिकित्सालयमा भुईं वा घरको छतमा पोखरी बनाएर स्पाको आनन्द लिन सकिन्छ। तीन फिटभन्दा बढी गहिराइको स्पा पोखरी बनाइन्छ। चौडा भने ठाउँको उपलब्धताअनुसार बनाइन्छ। व्यक्ति एक्लै वा सामूहिकरुपमा स्पा गर्न सकिन्छ। पोखरीमा शरीरले सहन सक्ने किसिमको करिब ४० डिग्री फरेनहाइड तापक्रम हुनेगरी तातो पानी जमाइएको हुन्छ। पोखरीका चारैतिर तातो पानीका फोहोरा फाल्ने किसिमका मेसिन जडान गरिएको हुन्छ। पोखरी भित्रर र पोखरीको चारैतिरबाट आउने तातो पानीका फोहोराले शरीरमा चाप दिएको हुन्छ। पानीको फोहोरा आउँछ। जसलाई बाथटप पनि भनिन्छ। यसरी तातो पानीको फोहोरासहितको पोखरीमा बसेर नुहाइन्छ।
झ्याम्मै हाम नफालौं
स्पा गर्न स्पा पोखरीमा छिनुपूर्व मनतातो पानीले नुहाउनुपर्छ । मनतातो पानीले नुहाउँदा स्पा गर्नका लागि व्यक्ति मानसिकरुपमा तयार हुन्छ। ननुहाई झ्याम्मै स्पा पोखरीमा छिर्दा बाहिरि वातावरण र पोखरीको वातावरण नमिल्दा व्यक्तिलाई शारीरिक तथा मानसिकरुपमा असहजता उत्पन्न हुन जान्छ। जसले व्यक्ति स्पाको सहज आनन्द लिनबाट वञ्चित हुन्छ। नुहाइसकेपछि टाउकाको तापक्रम सन्तुलितरुपमा राख्न सहयोग गर्ने भएकाले पानीले भिजाएको रुमाल टाउकामा राख्नुपर्छ।
स्पामा पानीको तापक्रम स्वचालित रुपमा सन्तुलित हुने भएकाले नकारात्मक असर गरिहाल्ने सम्भावना अत्यन्तै न्यून हुने भए पनि पानीको तापक्रम कति छ भन्ने कुरा भने विचार पु-याउनुपर्छ।
अब बिस्तारै स्पामा छिर्न सकिन्छ। एक्कासी स्पामा छिर्नुहुन्न। पोखरीमा नुहाउँदा भने घाँटीभन्दा तलको शरीरको भाग पूरै डुबाइन्छ। घाँटीभन्दा माथिको भाग पोखरी बाहिर निकालिन्छ।
४५ मिनेट स्पामा
एक पटक स्पामा छिरिसकेपछि तातोपानी शरीरले सहन सकुञ्जेल करिब सात मिनेट बस्नु उचित हुन्छ। सात मिनेट तातो पानीमा बसिसकेपछि चिसो पानी भएको पोखरीमा सात मिनेट बस्नु उचित हुन्छ। सामान्यतः तातो पानी र चिसो पानी भएको पोखरी सँगै हुन्छन्। चिसो पानीको पोखरी नभएको अवस्थामा धाराको चिसो पानीले नुहाउन सकिन्छ। स्पा पोखरीमा छिरेर डुबुल्कि मार्दै नुहाउँदै पोखरी बााहिर निस्कँदै पुनः पोखरीमा पसिन्छ।
एक पटकमा करिब ६ चरण स्पा गर्न सकिन्छ। यसरी एक पटककोे स्पाको चरण पूरा गर्न करिब ४५ मिनेटको समय लाग्छ। तातो पानीमा नुहाउनु वैज्ञानिक र व्यावहारिक छ। स्पाभित्र स्टिमबाथ, सौंना र याकुजी पर्ने भए पनि आजकाल स्पालाई छुट्टै रुपमा वर्गीकृत गरिन्छ।
तातोपानीको चाप
तातोपानीसहितको फोहोराको चापमा नुहाउँदा पहिलो कुरा त शरीको दुखाइ कम हुन्छ। त्यसैगरी तातो पानीको चाप र पोखरीमा नुहाउँदा गरिने व्यायामका कारण शरीरको अनावश्यक बोसो पग्लिन गई व्यक्ति स्लिम हुन सहयोग गर्छ। दुखेको भाग पानीको फोहोरातर्फ फर्र्काएर नुहाउँदा तातो पानीको फोहोराको चापका कारण शरीरमा मालिसको मात्रै काम हुन्न। शरीरमा पानीको फोहोराले मज्जासँग चाप दिन्छ। जसले व्यक्ति दौडेको जत्तिकै व्यायाम पुगेको हुन्छ। स्पा गर्दा पानीमै व्यायाम गरिने भएकाले शरीरको सबै भागमा व्यायाम पुग्छ। पानीको चापका कारण व्यक्तिको शरीरमा ताप बढी शरीरको बोसो पग्लन्छ। स्पा गर्नाले शारीरिक अंगमा चोटपटक लाग्ने तथा दुर्घटनाको जोखिमबाट समेत बच्न सकिन्छ।
मजबुत मांशपेशी
अन्य शारीरिक व्यायामझैं शरीरका नसा तथा मांशपेशी लचिलो भई चलायमान हुन्छन्। यसरी नसा तथा मांशपेशी चलायमान हुँदा विशेषगरी हाडजोर्नीमा अनावश्यक रुपमा जमेको बोसो पग्लन गई जोर्नी लचिलो हुन्छ। हाडजोर्नी खुल्दा व्यक्तिको शरीरमा सहजरुपमा रक्त प्रवाह हुन्छ। जसले व्यक्तिको शरीरमा सहजरुपमा पोषण तत्वको प्रवाह हुन सक्छ। रक्त प्रवाह तथा सहजरुपमा शरीरको विभिन्न अंगमा पोषण तत्व पुग्दा व्यक्ति शारीरिक तथा मानसिकरुपमा मजबुत भई स्फूर्ति जाग्छ। स्पा गर्नाले व्यक्तिमा शारीरिक मात्रै हैन मानसिकरुपमा फिट रहन मद्दत गर्छ।
तातो पानीमा स्पा गर्दा छाला तथा मांशपेशी खुल्छन् भने चिसो पानीमा स्पा गर्दा खुम्चन्छन्। मांशपेशी खुम्चने तथा फुक्ने प्रक्रियाका कारण शरीरको विकार तत्व बाहिर जाने भएकाले शरीरको बोसो मात्रै पग्लँदैन शरीर मजबुत हुन्छ। छालाका मरेका कोषिका पुनः उत्पादन हुन्छन्। जसले छालामा चाउरिपना हट्नुका साथै छालामा चमकता ल्याउँछ। त्यति मात्रै हैन छालामा आउने घाउ, खटिरा हट्छन्। सन्तुलितरुपमा स्पा गर्नाले शरीरका हाडजोर्नी मजबुत हुने भएकाले सजिलै मर्कने, सड्किनेजस्ता जोखिमबाट समेत बच्न सकिन्छ। प्यारालाइसिसजस्तो जोखिमबाट पनि बच्न सकिन्छ। स्पा पोखरीमा तितेपातीलगायतका हर्बल इसेन्सको समेत प्रयोग गरिने भएकाले विशेषगरी छालासम्बन्धी समस्या हुनबाट बच्न सकिन्छ।
स्पा गर्दा राम्रैसँग शारीरिक व्यायाम पुग्ने भएकाले व्यक्ति थकित हुन्छ। जसले व्यक्तिमा आनन्दले निद्रा लाग्छ। जसका कारण व्यक्तिको शारीरिक तथा मानसिकरुपमा स्फूर्ति जाग्छ। वयस्क व्यक्तिले १५ दिनमा एक पटक स्पा गर्नु उचित हुन्छ। बालबालिकाले स्पा नगरेकै उचित। बालबालिकाकोे छाला कोमल हुने भएकाले छालामा नकारात्मक असर पुग्न सक्छ। त्यसैगरी दीर्घ रोगीले चिकित्सकको सल्लाहमा मात्रै स्पा गर्नुपर्छ। अन्यथा जोखिम हुन सक्छ। यसमा सचेत हुनुपर्छ।
पानी पिउँदै स्पा
स्पा गर्नु दुई घण्टा पूर्व र स्पा गरिसकेको दुई घण्टापछि मात्रै कडा किसिमका खानपान गर्नु पर्छ । स्पा गर्ने समयमा कडा किसिमका खानपान गर्नाले बान्ताको जोखिम हुन्छ।
स्पा गरिरहँदा पानीमा कागती र नुन फिटेर खानु उचित हुन्छ। स्पा गर्ने क्रममा शारीरिक व्यायाम पुग्ने भएकाले शरीरबाट पसिना शरीर बाहिर निस्कन्छ। जसले शरीरमा पानीको मात्रा कम हुन पुग्छ। यसरी स्पा गर्ने क्रममा शरीरमा पानीको मात्रा कम हुन नदिनका लागि कागती, नुनपानी पिउनुपर्छ। स्पा गर्ने क्रममा पानी पिउने कुरामा कन्जुस्याइँ गर्दा व्यक्तिमा रिंगटा–चक्कर लाग्ने जोखिम हुने भएकाले पानी पिउन कन्जुस्याइँ गर्नु हुन्न।
प्रस्तुतिः उपेन्द्र खड्का
Leave A Comment