कमेडी च्याम्पियन : प्रनेशको चलेन जादु

शुक्रबार, ०३ माघ २०७६, ११ : ४९ शुक्रवार
कमेडी च्याम्पियन : प्रनेशको चलेन जादु

फिल्मी समीक्षा गरेकोमा चित्त नबुझेर निर्माताले प्रहरीमा उजुरी दिँदा पक्राउ परेका कमेडियन प्रनेश गौतमको कमेडी च्याम्पियनको प्रस्तुति उनको स्तर सुहाउँदो बन्नै सकेन। उनी कार्यक्रममा बल्ल–बल्ल टिकिरहेका थिए। तर १५ औं एपिसोडसम्म आइपुग्दा उनी उत्कृष्ट ६ मा अटाउन सकेनन्। पहिल्यै स्ट्यान्डअप कमेडियनको छवि बनाएका उनी नयाँ अनुहारकामाझ कतै चेपिन पुगे, त कतै फिस्से प्रस्तुतिका कारण बिदा भए।

१४ औं एपिसोडमा भने उनी लयमा फर्कने प्रयासमा रहेको देखियो। उनले आधुनिकताको नक्कल र त्यसले पारेको प्रभावलाई आफ्नो व्यंग्यको खुराक बनाएका थिए। उनले गाउँबाट शहर आएपछि पर्ने प्रभाव खुलाउन आफ्नै बहिनी सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदा चमेलीबाट जस्मिन बनेको भन्दै व्यंग्यवाण प्रहार गरे। बालबालिकामा परेको पाश्चात्य प्रभावलाई समेत उनले सटिक रुपमा प्रस्तुत गरेका थिए। तर सुधारिन ढिलो भयो। कार्यक्रममा फर्कने उपाय वाइल्ड कार्ड इन्ट्री मात्र अब उनको भागमा बाँकी छ।

सेक्स रेसमा आदर्श
युट्युबमार्फत पहिल्यै पहिचान बनाइसकेका अर्का कमेडियन आदर्श मिश्राको प्रस्तुतिमा विविधता आइरहेको छ। तर उनको प्रस्तुति एकनासले अगाडि बढ्न भने सकेको छैन। कहिले जमिहाल्छन् त कहिले निक्कै फिक्का प्रस्तुति बोकेर आउँछन्।

चौथो एपिसोडमा उनले मधेसमा केन्द्रित दाइजो प्रथा र यौन शिक्षामाथि व्यंग्य गरेका थिए। छोरी पाए ४० लाख गयो, छोरा पाए ४० लाख आयो भन्दै दाइजो प्रथामाथि प्रहार गरेका थिए। उनका अन्य प्रस्तुतिभन्दा १४ औं प्रस्तुति सुधारिएको थियो। सुधारिएको प्रस्तुतिअनुसार उनले जजबाट प्रशंसा पनि पाए। १४ औं एपिसोडमा सुधारिएको प्रस्तुति १५ औं एपिसोडमा भने खस्कियो। यही ताल हो भने टप ५ को घोषणा हुँदा उनको नाम छुट्ने जोखिम बढेको छ।

सुमनको ट्राफिक रुप
प्रस्तुतिमा निरन्तर सुधार गरिरहेका सुमन कार्कीले मापसे गरेका सवारी चालकको व्यवहार र ट्राफिकको भूमिकालाई व्यंग्यको खुराक बनाए। उनका प्रस्तुति पञ्चलाइनले भरिदा जज र दर्शकहरुले मनोरञ्जन गरेको देखियो। प्रारम्भदेखि नै उनले आफ्नो प्रस्तुतिलाई बलियो बनाउँदै लगेका छन्। तर १५ औं एपिसोडको प्रस्तुति भने फितलो थियो।

हिमेश पन्तको प्रस्तुति दमदार थियो। उनले बेरोजगार युवाको विषयलाई प्रस्तुत गरे। उनको बोल्ने शैलीले दर्शकलाई आकर्षित गर्ने गरेको छ। कामको अभावमा बरालिँदै हिँडेकाहरु जहाँ जे देख्यो भिड लागिहाल्ने दृश्यलाई रोचक ढंगले प्रस्तुत गरेका थिए।

१५ औं एपिसोडमा सोमबार प्रकाशित कार्यक्रमका ४ प्रतिस्पर्धीमध्ये आमोगको प्रस्तुति जम्यो। उनले पागलखानाबाट भागेको व्यक्तिको अवस्था चित्रण गर्दै हँसाएका थिए। उनी आफ्नो लयमै थिए। १५ औं एपिसोडमा वाइल्ड कार्डका प्रतिस्पर्धीका रुपमा भारत असमका मोहनराज क्षेत्रीले प्रस्तुति दिए। उनले विभिन्न नेपाली र भारतीय कलाकारहरुको मिमिक्री गरेका थिए।

हराए जज
१५ औं एपिसोडमा जज ऋचासँगै मनोज गजुरेल पनि देखिएनन्। ऋचा मातृशोक परेकाले कार्यक्रममा उपस्थित हुन सकेकी छैनन्। मनोज अनुपस्थित हुनुको कारण भने खुलेको छैन। जज सन्तोष पन्त र प्रदीप भट्टराई भने निरन्तर सबै एपिसोडमा देखिने गरेका छन्।

जज नहुँदा अन्य हास्यकलाकारलाई अतिथिको रुपमा निम्त्याउने गरेका छन्। १४ औँ एपिसोडमा शिवहरि पौडेल अतिथिका रुपमा आएका थिए। १५ औं एपिसोडमा राजाराम पौडेल सहभागी भए।

Leave A Comment