नेपाल आइडल : चटपटेवालीले जमेको एपिसोड

शुक्रबार, ०३ माघ २०७६, १२ : १३ शुक्रवार
नेपाल आइडल : चटपटेवालीले जमेको एपिसोड

झापाको बिर्तामोड पुगेको नेपाल आइडलको तेस्रो सिजनमा पुराना असफल प्रतियोगी अडिसनमा आउने क्रम जारी रह्यो। झापाको अडिसनमा सहभागी इलामका विजय राई सिजन दुईमा पनि सहभागी भएका थिए। थिएटर राउण्डबाट उनी आउट भएका थिए। उनले ‘कहिले फूल बनेर फुलिदिन्छु’ बोलको गीत गाएर अर्को राउन्डका लागि सेलेक्ट भए।

नेपाल आइडलकै पहिलो सिजनमा आएकी सविना योङहाङले ‘कहिले भेट होला र राजै’ बोलको गीत गाएर थिएटर राउन्डका लागि चयन भइन्।

पहिला भाग लिएकाहरु नै फेरि अडिसनमा आएको पाएपछि एकपछि अर्कोलाई खोज्न थाले। पहिलो अडिसनमा नै फालिएका गणेशले ‘गल्ती हजार हुन्छन् यहाँ, होश हराएको बेला’ बोलको गीत गाए। उनीपछि मिलनले ‘सुन साइँली’ गाए।

नयाँ प्रतियोगी पनि सहभागी नभएका भने हैनन्। झापाका सिद्धान्तले ‘जाऊ माया सरर’ बोलको गीत गाएर अर्को राउन्डका लागि चयन भए।

अडिसनमा क्षेत्रीय प्रतियोगिताका विजयीहरु पनि सहभागी भएका थिए। २०७४ मा पूर्वाञ्चलमा भएको खुला गायन आधुनिक प्रतियोगीकी विजयी सुनिता लिम्बु पनि सहभागी भइन् र थिएटर राउन्डका लागि चयन भइन्।

चपटेवालीकै घुम्तीमा न्ह्यु  
झापा भद्रपुरकी रचना रिमाललाई धेरैले चटपटेवाली भनेर चिन्छन्। कक्षा ११ मा पढ्दै गरेकी रचनालाई धेरैले नामबाट चिन्दैनन्। उनको परिचय पेसाले बद्लिएको हो। बुबा अटो चालक, आमा लुगा सिलाउने र उनी पढ्दै चटपटे व्यापार गर्छिन्। चोकमा रहेको एउटा घुम्तीमा चटपटे बेचिरहेकी रचना यस पटक नेपाल आइडल सिजन ३ मा सहभागी भइन्। उनको गायनको तारिफ सुनेर न्ह्यु बज्राचार्य उनकै चटपटे पसलमा पुगे। जज वज्राचार्यलाई आफ्नै पसलमा देखेर रचना छक्क परिन्। उनलाई न्ह्युले त्यहीँ गीत गाउन लगाए। पछि स्टुडियोमा ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘सपना हो यो भनेदेखि’ लगायतका गीत गाइन्। उनको गायनको सबै जजले तारिफ गरे। उनी थिएटर राउन्डमा प्रवेश गरिन्।

Leave A Comment