क्यालिगुलाका नेपाली अवतार

शुक्रबार, ०३ माघ २०७६, ०१ : ३६ अच्युत काेइराला
क्यालिगुलाका नेपाली अवतार

रोमन साम्राज्यका चर्चित सम्राट क्यालिगुला बालापनमा निकै सोझासिधा व्यक्ति थिए। तर जसै उनी सत्तामा आए, उनी क्रूर शासकमा परिणत भए।

इतिहासकार सुटोनियसका अनुसार, उनी आफ्नो घोडा इन्साइटेटसलाई कति प्रेम गर्थे भने उसका लागि १८ चाकर, मार्बलले चम्चमाउँदो तबेला, एउटा व्यवस्थापक, हेर्दैको महँगो र आकर्षक गहना र लुगा व्यवस्था गरिएको थियो।

यति मात्र होइन, घोडा जहाँ–जहाँ जान्थ्यो, उसलाई सर्वसाधारणले झुकेर स्वस्ति गर्नुपथ्र्यो। उसका लागि खान्की सबैभन्दा महँगो थियो। उसका लागि छुट्याइएको ओटको खान्कीलाई सुनको धुलो मिसाएर खुवाउनु पथ्र्यो र असल रक्सी पनि उसको भागमा पथ्र्यो।

उसले शहरभरिका रइस र खानदानी मानिसहरूलाई भेला पारेको थियो र भनेको थियो– तिमीहरूको मृत्युपछि यी सारा सम्पत्ति मेरो भागमा पर्नेछ भनी लिखितम् गरिदेओ।

इतिहास भन्छ, शासनको चौथो वर्ष पूरा नगर्दै उसको हत्या भयो। रोमन साम्राज्यमा गद्दीमा रहँदारहँदै हत्या हुने उनी पहिलो शासकका रूपमा ख्यात छन्।

जे जति बिग्रियो, यिनै चार वर्षमा सबैथोक बिग्रियो। सिनेट (संसद) सबैभन्दा बढी पेलानमा यही बेला परेको थियो। संसदको आदेश नमान्ने, कुनै कुरा संसदबाट पास नगराउने, सांसदहरूलाई अपमान गर्ने उनको व्यवहार थियो।

आफ्नो स्वाभाविक मृत्युपछि घोडालाई या त सांसद या नभए पुजारीसम्म बनाउने उनको योजना थियो। अहिलेको नेकपाको शासनसत्ता क्यालिगुलाको नियति भोगिरहेको छ। घोडाहरु महत्वपूर्ण पद ओगटेर बसेका छन्। सर्वसाधारण जनता घोडाहरुको ‘ताल’ देखेर उदेक मानिरहेका छन् तर पनि उसलाई स्वस्ति गर्न बाध्य छन्। संसद्मा अनेकन् चटक भइरहेका छन्, ती दृश्य हेरेर सांसदहरु चकित छन्। जो जति उदेक र चकित छैनन्, ती या त आफू घोडा हुने तयारी गरिरहेका छन् या यी सारा कुराबाट आफूलाई विमोहित गरिसकेका छन्। उनीहरु अब यो मुलुकको मुक्ति सम्भव छैन भनेर घोर निराशामा जाकिएका छन्।

ट्रायल बाई कम्ब्याट
सन् २००२ मा बेलायतमा एउटा अनौठो घटना घट्यो। बेलायती राजधानी लण्डनमा एक जना ट्याक्सी चालकले सवारी लाइसेन्स वितरण गर्ने एजेन्सीलाई धम्क्यायो। उसको लाइसेन्स एजेन्सीले रद्द गरेको थियो, यसमा चालकले चित्त बुझाइरहेको थिएन। यस्तोमा मुद्दाको छिनोफानो गर्न उसले ट्रायल बाई कम्ब्याटको (सिंगल सिंगल खेल्ने हो ? भन्दै) निम्तो दियो। दुई सय वर्षअघि नै बेलायती कानुनले अवैध ठह-याएको ट्रायल बाई कम्ब्याटको निम्तो दिने चालक प्रहरीको फन्दामा प-यो। यो समाचारले त्यो बेला लण्डनमा निकै चर्चा पाएको थियो।

मध्यकालीन युरोपमा न्यायको यो पाटो (ट्रायल बाई कम्ब्याट) खुब चल्तीमा थियो। न्याय गर्ने यो पाटोमा दुई झगडियालाई न्यायकर्मीका सामु झिकाइन्थ्यो र झगडा मिलाउने प्रयास गरिन्थ्यो। नमिलेको खण्डमा दुई जना कुस्ती खेल्थे, कहिलेकाहीँ यो तरबारबाजी पनि हुनसक्थ्यो। ट्रायल बाई कम्ब्याटमा जसले जित्थ्यो, उही सत्य ठहरिन्थ्यो। उसैलाई विजेता ठह-याइन्थ्यो।

दुई सय वर्षअघिसम्म पनि बेलायतमा यस्तो चलन कायमै थियो। इतिहासकारहरू भन्छन्, यो चलन रोक्न संसद् बाध्य भयो किनभने जानाजान एक हत्याराले पीडित पक्षको भाइलाई ट्रायल बाई कम्ब्याटको निम्तो दियो। त्यसै पनि खुँखार हत्यारो, ऊसँग भाइ भिड्नु भनेको जानाजान ज्यान फ्याल्नु थियो। पीडित भाइले भिड्न अस्वीकार ग-यो। सोही अस्वीकृतिका कारण हत्यारो गर्वका साथ हिँड्न थाल्यो।

यो देखेपछि संसद्ले कानुन बनाई ट्रायल बाई कम्ब्याटलाई गैरकानुनी घोषित मात्र गरेन, हत्यारोलाई सजाय पनि दिलाइयो।

नेपालका ऊखु किसान र हत्या गरिएका दिलिप महतोको परिवार त्यही ट्रायल बाई कम्ब्याटको नियति भोगिरहेका छन्। अब उनीहरु भिडून् त कोसँग भिडून् ? कोसित कुस्ती खेलून् ?

स्वतन्त्रताको अंकुश
सरकारले यतिबेला अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने तरिकाले सूचना प्रविधि ऐन पास गरेको छ। सर्वत्र त्यसको विरोध भइरहेको छ। जायज विरोधका बारेमा त केही थिएन तर यहाँ सरकारले अर्को उपद्रो पनि थपिदिएको छ। उसले गाडी, ट्रकको पछाडि लेखिने सायरीमाथि पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

यसले माओ जेदोङले आफ्नो जीवनकालमा ल्याएको एउटा नीतिको झल्को दिएको छ। जसमा सयौँ फूल फुल्न दिने र सयौँ विचार फक्राउने नीति थियो। यस अभियानको मुख्य आशय थियो, माक्र्सवादी–लेनिनवादी मुख्य विचारभित्रै अन्य वैज्ञानिक विचारलाई फुल्ने अवसर दिनु। यदि अन्य विचारधाराले माक्र्सवादी–लेनिनवादी धारलाई पराजित ग¥यो भने त्यो कदाचित वैज्ञानिक नभएको प्रमाणित हुन्छ र त्यसैलाई च्यापेर हिँड्नु पर्छ भन्ने छैन भन्ने चिनियाँ नेताहरूको मत थियो।

तर यो नीतिले सोचेजस्तो रुप लिन सकेन। पूरै चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध अभियान शुरु हुन पुग्यो र माओले यसलाई नराम्रोसँग दुरुपयोग गरे। उनले कम्युनिस्ट पार्टीविरुद्ध आवाज उठाउनेहरुलाई छानी–छानी पक्राउ गर्दै जेल कोचे। कतिको त हत्या नै भयो।

नेपालमा भर्खरै निराशा ओकल्ने, आशा अभिव्यक्त गर्ने र जनप्रतिनिधिलाई सचेत गराउने सशक्त माध्यमका रुपमा सामाजिक सञ्जाल विकसित हुँदै जान थालेको छ। त्यहाँ अभिव्यक्त धारणा जनताको निराशा हो र त्यो निराशा चिर्न आफ्नोतर्फबाट सशक्त भूमिका खेल्नुपर्छ भन्ने चेत खुल्नुपर्ने हो तर चेत भने अर्कै कुराका लागि खुलेको अनुभूत भइरहेको छ।

पछिल्लो समय सूचना प्रविधि विधेयक सामाजिक सञ्जालका भित्तामाथि दुर्नियतका साथ ल्याइएको छ। खासमा सामाजिक सञ्जाल र अन्यत्र पनि नेता र सत्ताप्रतिको निराशा पोख्ने एउटै मात्र बाटो थियो। त्यसलाई रोक्ने दुस्प्रयास गरेर सरकारले जनताका अवशादलाई उजागर गर्ने, त्यसबाट पाठ सिक्नेतर्फ अग्रसर हुनु त कता हो कता त्यसैलाई हतियार बनाई जनताविरुद्ध नै उपयोग गर्ने बाटो बनाइरहेको छ।

हुँदाहुँदा सार्वजनिक सवारी, ट्रक तथा अन्य गाडीमा पोखिएका भावना र सायरीमाथि नै कुदृष्टि राख्ने सरकारको नियतले यो सही बाटोतर्फ गइरहेको छैन भन्ने सर्वसाधारणलाई लागिरहेको छ।

मानव सभ्यतामा भित्ताको महत्व छ। त्यही भित्तामा मानव जातिले आफ्नो छाप हानेर आफू हुनुको अस्तित्वबोध गराएको थियो। तिनै भित्तामा उसले मनोहर चित्र कुँदेर शताब्दीऔँसम्म आफू हुनुको आत्मगौरव बाँडिरहेको छ। त्यो अस्तित्वबोध र आत्मगौरव आफ्नो क्षमताअनुसार सबैले गर्छन्। कोही लियोनार्दो दा भिन्सी बन्छन्, कोही ड्राइभर र खलाँसी। आखिर भावना त सबैका उस्तै हुन् ! यस्तोमा आफ्ना भावना र अस्तित्वमाथि नै चोट पु-याउने किसिमले सरकारले विधेयक ल्याउन खोज्नु एउटा निर्वाचित सरकारलागि कदापि सुहाउँदिलो कार्य होइन।

समग्रमा, सत्ता सञ्चालन सही तरिकाले भइरहेको छैन। नीतिगत भ्रष्टाचार मौलाएको त स्वयं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै बताइसकेको छ। यस्तो अवस्था चिरेर जनतामाझ आशा छर्नु अहिलेको पहिलो आवश्यकता हो। सत्ता सञ्चालकले आफू क्यालिगुला हुने कि ब्याटल बाई कम्ब्याटमा ओर्लने, अहिले नै निधो गरे हुन्छ। त्यो फेरि उसका लागि अन्तिम ब्याटल हुनेछ भने जनताका लागि अन्तिम युद्ध।

Leave A Comment