परमिताको नक्कली प्रायश्चित

शनिबार, ०४ माघ २०७६, १२ : १७ शुक्रवार
परमिताको नक्कली प्रायश्चित

केपी ढुंगाना/प्रजु पन्त

पुस २८ गते इन्स्टाग्राममा रहेको परमितापाम अकाउन्टमा लामो कन्फेसनले भरिएको स्क्रिन सर्टहरु देखिए। १० वटा स्क्रिन सर्ट ग्लानि र पश्चातापले भरिएका थिए। त्यहाँ वेदनाका शब्द थिए, प्रायश्चित, आफ्नो विगत अनि माफीनामा पनि थियो।

कन्फेसन थियो, मंसिर २८ गते बिहान एक महिलाको ज्यान जाने गरी बुढानीलकण्ठमा भएको सवारी दुर्घटनासम्बन्धी। जुन दुर्घटनामा ४२ वर्षीया लीला देवकोटाको ज्यान गएको थियो। दुर्घटनाको करिब एक महिनापछि त्यही घटनाबारे कन्फेसन गर्ने पात्र थिइन्, नेपाली चलचित्र क्षेत्रकी परिचित नायिका परमिता राज्यक्ष्मी राणा।

घटनाकै दिन मदिराको मातले धुत् भएको अवस्थामा पक्राउ परेका थिए २१ वर्षका पृथ्वी मल्ल। घटनाका प्रत्यक्षदर्शीहरुले कारले पैदलयात्री देवकोटालाई ठक्कर दिएपछि कारबाट निस्किएर दुई महिला भागेको बताएका थिए।

त्यो खुलेलगत्तै ती भाग्ने महिला को हुन् भन्ने सोधखोज शुरु भयो। सामाजिक सञ्जाल इन्स्टाग्राममै भाग्नेमध्येकी एक परमिता भएको दाबी आयो। घटनाको दोस्रो दिन परमिता फेसन कार्यक्रममा ¥याम्पमा देखिइन्। तर सामाजिक सञ्जालमा निस्क्रिय थिइन्, मोबाइलमा सम्पर्कविहीन। उनी एकाएक सम्पर्कहीन हुँदा इन्स्टामा आएका दाबीलाई बल पुगिरहे पनि प्रहरीले भागेका को हुन् यकिन साथ नाम सार्वजनिक गरेन। कतै परमिता राना भनेर नाम आयो। तर उनी नै हुन् ? खुलेन।
०००
एक महिनाको अनुसन्धानको प्रक्रिया सकिएपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धानको फाइल जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंमा बुझायो। थुनछेकको बहस शुरु भयो। मल्लका पक्षका वकिलले धरौटीको माग गरे।  न्यायाधिवक्ताले ‘मदिरा सेवन गरी सवारी चलाएर जानजान पैदल यात्रीको हत्या गरेको’ भन्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामै राख्न माग गरे।
थुनछेकको बहस सक्किएपछि जिल्ला न्यायाधीश दीपक दाहालले आदेश दिएः
‘प्रस्तुत मुद्दामा वादी र प्रतिवादीका विद्वान वकिलहरुको बहस, घटनाका साक्षी, प्रमाण, घटनाका अभियुक्तको बयान सुन्दा र आवश्यक प्रमाणले पृथ्वी मल्ल दोषी देखिएको हुँदा पछि ठहरे बमोजिम हुने गरी उनलाई पुर्पक्षको लागि थुनामा पठाउने।’
आदेशअनुसार मल्ल डिल्लीबजार कारागार चलान भए। अनि त्यही दिन आयो परमिताको प्रायश्चितले भरिएको कन्फेसन।
००००
परमिताको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा राखिएको १० वटा स्क्रिनसटमा घटनाको समयमा जुन कारले लीलालाई ठक्कर दिएको हो, सो कारभित्र उनी भएको स्वीकार गरिएको छ। घटनाका अभियुक्त मल्ल आफ्नो साथी भएको र उनको आग्रहमा घटनाको दिन बिहान खाजा खान गएर फर्कने क्रममा दुर्घटना भएको उनले स्वीकारिन्।

तर अचम्म, जिल्ला अदालत काठमाडौंमा रहेको मुद्दासम्बन्धी कुनै पनि सरकारी कागजपत्रमा उनको उपस्थिती। उनी घटनाको प्रत्यक्षदर्शी हुन् नै, घटना कसरी घट्यो, घटना अगाडि के–के भयो ? भन्ने अनुसन्धानका क्रममा आवश्यक पर्ने महŒवपूर्ण सूचनाको स्रोतसमेत हुन्। एक बयानकर्ताले उनको नाम खुलाएका छन्। तर उनी घटना देख्ने प्रत्यक्षदर्शीको सूचीमा समेत समावेश छैनन्। न प्रहरीले नै उनीसँग घटनाबारे बयान लिएको देखिन्छ, न उनले नै प्रहरीलाई जानकारी दिएको देखियो।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले बुझाएको रायको आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पुस २१ मा दर्ता गरेको अभियोग पत्रमा देख्ने–सुन्नेको सूचीमा त्यो दिन मल्लको कारमा सवार करीश मास्केको नाम छ तर परमिताको नाम छैन।

अन्य देख्ने–सुन्नेको सूचीमा रिर्सोटका गार्ड, घटनास्थल नजिकै वर्कसप सञ्चालक लगायतका रामकुमार देवकोटा, अर्जुन पाण्डे, सन्तोषी लामा, शंकरप्रसाद देवकोटा, मदन पनेरु, सलाउद्दीन मिया र सुरज चौधरीको नाम भने छ।

नेपालको सवारी अपराधसम्बन्धी कानुनले चालकलाई नै मुख्य दोषी मान्छ, यात्रुलाई हैन। तर कहीँकतै अपराध भएको जानकारी पाए प्रहरीलाई खबर गर्नु प्रत्यक्षदर्शीको कानुनी कर्तव्य हो। यसले परमिताले यो घटनामा अनुसन्धानका लागि प्रहरीलाई सघाएको देखिएन।

परमिता आफैँले प्रायश्चित गरेर पीडित परिवारलाई न्याय दिलाउन स्वस्फूर्त सघाउन तयार त भइनन् नै, घटना घट्नु अघिल्लो समयदेखि नै अभियुक्त मल्लसँगै रहेकी परमितासँग बयान लिन प्रहरीले समेत कुनै प्रयासै नगरेको समेत देखियो। घटनाको प्रकृतिको आधारमा मल्लको अवस्था कस्तो थियो भन्ने पुष्टिका लागि परमिताको बयान महत्वपूर्ण हुने नै भयो तर प्रहरीले छूट दियो उनलाई।
किन ?
घटनाको अनुसन्धान गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालको भनाइ शंकास्पद र गैरजिम्मेवार देखियो यसमा। उनी भन्छन्, ‘कारमा भएका दुई युवती मनिषा र परमिता राज्यलक्ष्मी रानाको बयान आवश्यक नदेखिएकोले लिइएन।’
किन आवश्यक देखिएन ? खुलाएनन् उनले। ओठे जवाफ मात्र दिए।

घटनाको कुन साक्षीको बयान महत्वपूर्ण हो, कुन हैन भन्ने बयानै नलिई, घटनाबारे जानकारी नै नलिई आवश्यक नदेखिनु भनेको कानुनको परिभाषामा बदनियत हो। यसले प्रहरीसमेत परमिताप्रति नरम भएको पुष्टि हुन्छ। घटना र अभियुक्तसँग प्रत्यक्ष जोडिएको प्रत्यक्षदर्शीसँग किन नरमपन ? डिएसपी लम्सालै जानून्।
तर बयान नदिएर परमिताले घटनाका अभियुक्त मल्ललाई सघाएको भने प्रस्टै भयो यो घटनामा।

जब मुद्दाले कानुनी आकार लिएर आदेश आयो, तब मात्र प्रायश्चितले भरिएको स्टाटस लेखेर गम्भीर अपराधमा आफ्नो कुनै संलग्नता नभएको अनि यति लामो समय मौन बस्नुको कारण प्रायश्चित भएको दाबी गरिन्, परमिताले। उनले आफ्नो स्टाटसमा समेत मल्ल भलाद्मी व्यक्ति रहेको भन्दै उनको बचाउको असफल प्रयास गरेकी छन्।

कन्फेसनमा उनले आमा गुमाएका दुई सन्तान अनि श्रीमती गुमाएका श्रीमान्प्रति सहानुभूति दर्साएकी छन्। तर उनले पीडित परिवारसँग भेटेर सहानुभूति जनाउने र माफी माग्ने हिम्मत गरेकी छैनन्। पीडित परिवार निकट यादव देवकोटाका अनुसार नायिका परमिताले पीडित परिवारका सदस्यलाई फोनबाट समेत सान्त्वना दिएकी छैनन्।

घटनाको प्रत्यक्ष दोषी नभएपछि प्रत्यक्षदर्शी भएकाले अनुसन्धानमा प्रहरीलाई सघाउन बयान दिने, पीडित परिवारका सदस्यलाई प्रत्यक्ष भेट्ने हिम्मत जुटाउन नसके पनि फोनबाटै भए पनि सम्पर्क गरेर माफी नमाग्नु अनि पटक–पटक मल्लको सकारात्मक छवि निर्माणको वकालत गर्नुले इन्स्टाग्राममार्फत व्यक्त गरेको प्रायश्चित स्टारडम जोगाउन गरिएको प्रायश्चित नक्कली देखियो।

सामाजिक सञ्जालमै आएका प्रतिक्रियाले देखाउँछन्, आलोचकको मन बुझाउन अनि सार्वजनिक छविमा लागेको दाग मेट्न सामाजिक सञ्जालमार्फत चुहाएको उनको आँशुले उनका जघन्य गल्ती धुन सकेन। र धुने छैन। त्यो दिन कारमा किन बसेकोमा उनमा अहिले प्रायश्चित देखियो, भोली किन बयान दिन गइन् भनेर पक्कै प्राश्चित होला नै।

के भएको थियो त्यो दिन ?
अमेरिकाको फ्लोरिडामा बस्दै आएका मल्ल मंसिर २३ मा बिदामा नेपाल आएका थिए। मदिराका शौखिन उनी अमेरिकामै पनि विवादमा पर्दैै आएका थिए। नाइट लाइफमा रमाउने बानी परेका धनाढ्य परिवारका सदस्य उनी मंसिर २७ बेलुका साढे पाँच बजे कार लिएर बुढानीलकण्ठमा रहेको घरबाट नक्सालको नारायण चौरमा रहेको जिममा आए।

साढे ७ बजेतिर उनलाई छाउनीमा बस्ने साथी करिश मास्केले फोन गरे। यी दुवै बालुवाटारमा रहेको पलिञ्ज गार्डेन रेस्टुरेन्टमा पुगे। नौ बजेतिर उनीहरु ठमेलको कोसिस रेस्टुरेन्टमा पुगे। त्यहाँ पहिल्यै दुवैका परिचित साथीहरु थिए। उनीहरुले बियर मगाएर पिए। मल्लले पनि पिए। उनीहरु ठमेलकै एलओडी लाउन्जमा गए। उनीहरु बिहान ४ बजेसम्म एलओडी लाउन्जमै बसे।
लाउन्जबाट निस्कने क्रममा नायिका परमिता र अर्की युवती मनिषा भेट भयो।

उनीहरु ठमेलकै सेनेट क्लबमा गए। जुन क्लबमा गए पनि मादक पदार्थ पिउने क्रम जारी थियो। बिहान साढे पाँच बजे त्यहाँबाट निस्किए।

रिसोर्टमा चुप्पाचुप्पी
मदिराको मातमै उनीहरुबीच बुढानीलकण्ठमा रहेको ग्रिनल्यान्ड भ्याली रिसोर्टमा जाने सल्लाह भयो र मदिराले मात्तिएकै अवस्थामा मल्लले कार चलाएर रिसोर्ट पुगे। उनीहरु रिसोर्टमा पुग्दा साढे ८ बजिसकेको थियो।

रातभर उनीहरुले ज्याक डेनिअल्स नामको मदिरा पिएका थिए। रातभर कति रक्सी पिए भन्ने हेक्कासमेत थिएन मल्ललाई। उनको बयानबाटै उनले कुन हालतमा कार चलाएर रातभर काठमाडौँको सडक चहारे प्रस्टै हुन्छ।

नायिका परमितासहित चारै जना नशामा धुत् भएर कार चलाएर काठमाडौँका सडकमा घुमिरहेका थिए। उनीहरु रिसोर्टमा साढे ८ बजेतिर पुगे। त्यहाँ उनीहरुले खाजा अर्डर गरे।

रिसोर्टका गार्ड सुरज चौधरीका अनुसार खाजा अर्डर गरेर बस्दा चारै जना उभिन सक्ने अवस्थामा थिएनन्, मदिराको नशाले धुत् थिए। रिसोर्टमा मल्ल, मास्के आफूसँगै आएका युवतीलाई अँगालो मार्ने र किस खाने गर्न थालेपछि रिसोर्टका म्यानेजरले गाली गरेपछि खाजा प्याक गरेर साढे ९ बजेतिर हिँडेका थिए। 

बा १४ च ६१२३ को कार मल्लले नै चलाएका थिए। अगाडिको सिटमा मास्के बसेका थिए। पछाडिको सिटमा परमिता र अर्की युवती। बुढानीलकण्ठ स्कुलनजिकै पुल कटेलगत्तै मदिरामा मस्त मल्लले गाडी नियन्त्रणमा राख्न सकेनन् र सडक किनारामा हिँडिरहेकी लीलालाई ठक्कर दियो। उनलाई अस्पताल पु-याए पनि मदिराको मस्तीमा लठ्ठिएका चालकले अनियन्त्रित रुपमा तीव्र गतिमा चलाएको कारको ठक्करबाट घाइते भएकी उनको ज्यान जोगिन सकेन। पोस्टमार्टममा मृत्युको कारण देखियो, ‘तीव्र गतिले टाउको र छातिमा ठक्कर दिँदा लागेको चोट।’

अनुसन्धानका अनुत्तरित प्रश्न
प्रहरीले गरेको अनुसन्धान, जिल्ला न्यायाधिवक्ता कार्यालयको अभियोजन र बहस, संकलित तथ्य र प्रमाणकै आधारमा अभियुक्त मल्ल तत्काल पुर्पक्षका लागि थुनामा गए पनि अभियोग पत्रमा समेटिएका पक्षहरु हेर्दा अनुसन्धानका कमजोरी देखिन्छ नै।

पुर्पक्षका लागि थुनामा पठाउनु अभियुक्त अपराधमा संलग्न रहेको पुष्टि हुने सम्भावना बलियो हुने भए पनि पुष्टि नै हुनु भने हैन। भोलिका दिनमा अदालती प्रक्रियामा हुने प्रमाण र साक्षी बुझ्ने क्रम, बयान लगायतका प्रक्रिया टुंगिएपछि नै मल्लले लापरवाहीपूर्वक सवारी चलाएर निर्दोषको ज्यान लिएर या प्राविधिक र मानवीय त्रुटि दुर्घटनाको कारण हो भन्ने पुष्टि हुनसक्छ। अभियोग पत्रअनुसार सरकारले मल्ललाई तीन देखि १० वर्ष कैद र तीस हजारदेखि एक लाख रुपैयाँ जरिवानासम्मको माग गरेको छ।

सो माग पूरा हुन अभियोग पत्रमा देखिएका अनुत्तरित प्रश्नको उत्तर नआए बाधक हुनसक्छ। गाडीमा सवार चार जनामध्ये एक जना अभियुक्त आफैँ भइहाले। बाँकी तीन घटनाका प्रत्यक्षदर्शी मात्र नभई घटना पूर्वको घटना क्रमबारे जानकारसमेत हुन्। तीन जनामध्ये करिश मल्लको मात्र बयान लिइएको छ। करिशका कतिपय बयान मल्लसँगै बाझिएका छन्। कहाँ–कहाँ गएको ? के–के खाएको ? दुर्घटना कसरी भएको भनाइ नै मिल्दैन दुवैको। अन्य दुई जनाको बयान नहुँदा करिशको बयानको क्रस हुन सकेको देखिन्न। घटनाका साक्षी परमिता र अर्की युवतीको बयान लिन केले रोक्यो ?

अभियोगपत्रमा मल्ल गएका रेस्टुरेन्ट र पिएको मदिराको मात्रामध्ये करिशको बयानमा बियर मात्रै उल्लेख छ। मल्लको बयानमा ह्विस्कीसमेत उल्लेख छ। उनीहरुले रातभर चहारेका विभिन्न रेस्टुरेन्ट र रिसोर्टमध्ये बुढानीलकण्ठको रिसोर्टको गार्डको बयान मात्र उल्लेख छ। एलओडी लगायतका रेस्टुरेन्टमा अभियुक्त लगायतलाई देख्ने सुन्नेको बयान किन आवश्यक ठानिएन ?

सवारी ऐनले जानजान दुर्घटना गराउनु, प्राविधिक र मानवीय त्रुटिमा दुर्घटना हुनु अनि सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाएर दुर्घटना गराएमा भिन्नभिन्न प्रकृतिको दण्डसजायको प्रावधान छ। मल्ल पक्राउ परेको समयमा नै उनीसँग नेपालमा चार पाङ्ग्रे सवारी चलाउने अनुमतिपत्र नभएको खुलेको थियो। अभियोगपत्र यसबारेमा त्यत्ति प्रस्ट छैन।

अभियोगपत्रमा समेटिएको यातायात व्यवस्था कार्यालयको पत्रको अंशअनुसार दुर्घटनामा संलग्न बा १४ च ६१२३ नम्बरको कार मदनकुमार मल्लको नाममा छ। मल्लले ०६–५१८१४८ नम्बरको सवारी चालक अनुमतिपत्र निकालेको तर सो अनुमतिपत्र दुई पाङ्ग्रे मोटरसाइकल चलाउने अनुमतिपत्र मात्र भएको, उनले अमेरिकाबाट चार पाङ्ग्रे कार चलाउने अनुमतिपत्र पाएको र त्यसको अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख छ।

तर नेपालको विद्यमान सवारी ऐनअनुसार नेपाल बाहिरबाट जारी भएको सवारी चालक अनुमतिपत्र नेपालमा समेत स्वीकार्य हुन यातायात व्यवस्था विभागमा निवेदन दिएर अनुमति लिनुपर्छ। मल्लको हकमा उनले अमेरिकी लाइसेन्स नेपालमा चलाउन पाउने गरी अनुमति लिएको या नलिएको खुल्दैन।

अभियोगपत्रमा सजायको मागदाबीमा दफा १६१ को २ किन लिइयो ? जबकि दुर्घटनाको प्रकृतिले ऐनको दफा १६१ को उपदफा १ नै आकर्षित गर्छ। उपदफा १ अनुसारको मागदाबीका लागि ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन ज्यान सम्बन्धीको महलमा उल्लेखित म्यादभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद हुने’ उल्लेख छ।

अत्यधिक मादक पदार्थ सेवन गरी उच्च गतिमा लापरवाहीपूर्वक सवारी चलाउने मल्लको काम ज्यान मार्ने मनसाय देखिन्न र ?

‘म जिन्दगीभर पीडा भोगी नै रहनेछु’
परमिता आरएल राणा


आज‚ मभित्र बाँकी रहेको सबै हिम्मत जुटाएर गत मंसिर २८ गते शनिबार बिहान भएको घटनाको वास्तविकता सार्वजनिक गर्ने निर्णयमा पुगेकी छु। पहिला म सबैसामु माफी माग्न चाहन्छु अनि घटनालाई लिएर म कतिसम्म दुःखी छु भन्ने सबैसामु पु-याउन चाहन्छु।

चार जनाको अविवेकी निर्णयले एउटा निर्दोष व्यक्तिले ज्यान गुमाउनु प-यो। म चाहन्छु‚ यो साँचो नभइदियोस्‚ एउटा नराम्रो सपना भइदियोस् तर म पनि त्यही कारभित्र थिएँ। घटना घटेको यत्तिका दिनपछि लेखेकोमा माफी माग्न चाहन्छु। त्यो दुर्भाग्यवश घटेको घटनाले मलाई अझै पनि आघात पु-याएको छ। चार सन्तानले आफ्नी आमा गुमाएका छन्‚ श्रीमान्ले आफ्नी श्रीमती गुमाएका छन्।

सो घटनाले मेरो जिन्दगीमा एउटा ठूलो परिवर्तन ल्याएको  छ।  म प्रत्येक दिनको बिहान कस्तो मनस्थिति लिएर उठिरहेकी हुन्छु भन्ने कसैले पनि अनुभव गर्न सक्दैन। अझै पनि त्यो घटना सम्झँदा मेरो मन चिरिएर आउँछ। अब म कदापि त्यो व्यक्ति हुन्न जुन म त्यो दिन थिएँ। म आज उक्त घटनामा मृत्यु भएकी आमाप्रति मानिसहरूको संवेदनालाई बुझेर यहाँसम्म आएकी छु।

सवारी चलाउँदा मद्यपान गर्नु विकल्प होइन‚ बरु यस्ता घटनामा पीडितको रक्षा गर्नु सबैको कर्तव्य हो। कसैका कारणले एक निर्दोष व्यक्तिले ज्यान गुमाउनुको पीडा सम्झेर म पलपल मरिरहेकी हुन्छु। र‚ म यो पीडा जिन्दगीभरि भोगी नै रहनेछु।

तपाईंहरूमध्ये कतिलाई थाहा नहुन सक्छ‚ जब म २ वर्षकी थिएँ‚ कार दुर्घटनामा मेरो बुबाको मृत्यु भएको थियो। म सधैं यही पीडामा बाँचिरहेकी हुन्छु। मलाई मेरी आमाले हुर्काएकी थिइन्। परिवारको कुनै सदस्य आफूसँग नहुँदाको पीडा मलाई राम्रोसँग थाहा छ। म मेरो बुबालाई सम्झेर धेरैपटक रोएकी छु।

पीडित महिला जो सुकै भए पनि, चाहे मेरो प्रिय व्यक्ति‚ चाहे म नै। यसले मलाई ‘मैले किन उसलाई पिएर गाडी चलाउन हुँदैन भनेर सम्झाउन सकिनँ’ भनेर हरपल झस्काइरहन्छ। मानिसहरूले मप्रति देखाएको रिस र घृणा महसुस गर्न सक्छु। मलाई थाहा छ‚ मैले ठूलो गल्ती गरेकी छु, जसले मलाई हरक्षण झस्काइरहनेछ।

म त्यो बेला डराइएकी थिएँ‚ स्तब्ध भएकी थिएँ। त्यो समयमा के गर्ने भन्नेबारे मैले केही सोच्नै सकिरहेकी थिइनँ। म त्यस बखत शून्य भएकी थिएँ‚ कान एकनासले बजिरहेको थियो। म अझै भयभित‚ स्तब्ध छु।

घटना घट्दा पनि म कारबाट बाहिर निस्किएकी थिइनँ। त्यसैबीच मेरो एकजना साथीले मेरो अवस्था बुझ्यो र मेरो हात समाएर मलाई कारबाट घचेट्दै ‘जाऊ‚ गइहाल’ भन्दै चिच्याउन थाल्यो। म त्यहाँबाट निस्केर घटना भएको ठाउँनजिकै बसेर के गर्ने के नगर्नेको अवस्थामा बसिरहेँ।

एकजना महिलालाई हामी चढेको कारले ठक्कर दिएको छ भन्ने बारेमा पनि म अनभिज्ञ थिएँ। जब थाहा पाएँ, तब मैले फोनमा रिचार्ज गरेँ। आमालाई फोन गर्न डर लाग्यो। मैले आफ्ना ठानेका सबैलाई फोन गरेँ‚ तर कसैले फोन उठाएनन्। म त्यहीँ बसिरहेँ।

त्यहाँका केही स्थानीयले म त्यो कारभित्र भए नभएको बारे जान्न खोज्दा मैले कारभित्रै थिएँ भनेकी थिएँ। त्यो बेला म जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार थिएँ।

ट्याक्सीमा घर पुगेर अर्को साथीलाई फोन गरेँ। उसले ठक्कर खाएकी महिलालाई अस्पताल लगिएको र उनीहरूलाई प्रहरीले लगेको जानकारी दियो। गाडी चलाउने व्यक्ति पहिलो दिनदेखि नै हिरासतमा थियो।
त्यसपछि मैले पारिवारिक वकिललाई फोन गरेँ। उनले सबै सामाजिक सञ्जालहरू फोनबाट डिलिट गर्न र नपढ्न सुझाव दिए, तर मैले सकिनँ। सामाजिक सञ्जालमा मेरा बारेमा आएका प्रतिक्रिया पढेर म दिनरात रोएँ। त्यसपछि उनले मलाई सबै नराम्रा कमेन्टहरूलाई ब्लक गर्न भने। मैले त्यसै गरेँ।

जे भयो त्यो क्षमा दिन नसकिने घटना भयो। दुर्घटना भएको कारभित्र म थिएँ। कार चलाउने व्यक्ति मेरो नजिकको साथी थियो। भेट हुँदा राम्रै व्यवहार देखाउँन्थ्यो, बोल्थ्यो। त्यो बेला उसले राम्रैसँग ब्रेकफास्टका लागि जान आग्रह ग¥यो। मलाई पनि भोक लागिरहेकाले हुन्छ भने। यदि त्यस्तो हुन्छ भन्ने थाहा हुन्थ्यो भने म सधैँझैं ट्याक्सी बोलाएर घर जान्थेँ र सुत्थेँ।

म शान्त बसेको बेला मलाई अन्यथा सोचेर नकारात्मक धारणा बनाउनु पक्कै पनि उचित होइन। तपाईंको म प्रतिको रीस‚ आवेगलाई महसुस गर्न सक्छु। तर‚ गलत आरोप र चरित्र हत्यालाई म कदापि स्वीकार्न सक्दिनँ। तर म मेरो गल्तीलाई स्वीकार्छु र म पूर्ण रुपमा जिम्मेवार छु।

बाहिर देख्दा ठाडो शीर बनाएर हिँडे पनि त्यो दिन भित्रभित्र म मरिरहेकी थिएँ। यही कारण हरदिन मलाई पश्चातापले पिरोलिरहनेछ कि म यो दुर्घटनाको एक हिस्सा थिएँ। मैले कहालीलाग्दो घटनाबाट जीवनको पाठ सिकेँ।
त्यो बेला जे भयो, गलत भयो र यसले मलाई हरक्षण पिरोलिरहन्छ।
(राणाले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेको धारणाको सम्पादित अंश)

‘रातभरि खाइयो, कति खाइयो थाहै भएन’
पृथ्वी मल्ल


मेरो घर काठमाडौँ बुढानीलकण्ठ वडा नम्बर ८ हो। विगत एक वर्षदेखि  म अध्ययनका क्रममा अमेरिकाको फ्लोरिडा बस्दै आएको छु। म २१ वर्षको भएँ। मंसिर २३ गते बिदामा नेपाल आएको हुँ।

मंसिर २७, बेलुकी साढे ५ बजे म आफ्नै घरबाट कार हाँकी नक्सालको नारायणचौरमा रहेको जिम हलमा गएँ। त्यहाँबाट साढे ७ मा छाउनी बस्ने करिश मास्के भन्ने साथीले फोन गरेको थियो। करिशलाई लिएर बालुवाटारमा रहेको पलिञ्ज गार्डेन रेस्टुरेन्टमा गयौं। ९ बजे ठमेलमा रहेको केसिज रेस्टुरेन्टमा साथी रहेकाले दुवैजना मेरै कारमा गयौँ।

त्यहाँ केही खाएनौँ। रेस्टुरेन्टमा साथीहरुसँग भेटघाट गरेर करिशको एक साथीलाई ट्याक्सीमा राखेर थापाथली पु-याएर पुनः ट्याक्सीमा चढेर साढे १ बजे एलओडी भन्ने क्लबमा गयौं। त्यहाँ साथीहरुसँग भेट भयो।

साढे चार बजे त्यहाँबाट निस्केर  ठमेलकै सेनेठ भन्ने क्लबमा म करिश र निजका दुई जना केटी साथी गयौँ। बिहान ५.३० बजे त्यहाँबाट निस्कियौँ। कार मैले नै चलाएको थिएँ। चारै जना नारायणथान नजिक पसलमा केही खानेकुरा किन्यौँ। गुणभ्याली पार्कमा केहीबेर बस्यौँ। आफ्नो घर फर्कदै गर्दा विष्णुमती खोलातर्फ म आफैँले हाँकेको बा १४ च ६१२३ को कार चलाएर आउन लाग्दा पुल कटेपछि निद्रामा भएकाले कार अनियन्त्रित भयो।

पुल कट्न लाग्दा रातभरिको निद्राले झ्याप्पै छोप्यो। म निदाएँ। अनियन्त्रित भई लीला देवकोटालाई ठक्कर दिई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्कियो।

कारबाट झरेर हेर्दा देवकोटा गम्भीर घाइते हुनुभएको थियो। मान्छेहरु भेला भएको देखेपछि केटी साथीहरुलाई बाहिर निकालेर घर पठायौँ। तत्काल प्रहरी टोली आएर घाइतेलाई उपचारका लागि अस्पताल पठाए। म त्यहीँ पक्राउ परेँ। पछि घाइतेको मृत्यु भएको सुनेँ।

साथीहरुसँग भएकाले मादक पदार्थ सेवन गरी कार चलाएको थिएँ। मैले ज्याक डेनिअल्स नामक रक्सी खाएको थिएँ। नशाको सुरुमा भएकाले के कति खाएको थिएँ, याद भएन। मापसे गरी चलाउँदा दुर्घटना हुन सक्छ भन्ने थाहा भएरै कार चलाउँदा दुर्घटना भएको हो। मैले दुई वर्षअगाडि यातायात यातायात व्यवस्था विभाग ललितपुरबाट सवारी साधन अनुमतिपत्र लिएको थिएँ। मैले त्यतिबेला नै मापसे गरी सवारी साधन चलाएकाले मसँग अहिले सवारी चालक अनुमतिपत्र छैन।

पृथ्वीले बियर खाएको थियो’
करिश मास्के
पृथ्वीलाई ३/४ वर्षदेखि साथीहरुमार्फत भेटघाट भएको हो। एक वर्षयता हामीबीच राम्रोसँग बोलचाल भेटघाट भएको थियो। हामी  साथी हौँ। मल्ल एक वर्षदेखि अमेरिका अध्ययनका लागि गएको र बिदामा आएको बेला हामी भेटघाट गरिरहन्थ्यौं। त्यो दिन बालुवाटारमा भेट भई खाना खाई साँझ ठमेलस्थित कोसिज रेस्टुरेन्ट गएका थियौँ।

तीन–चार जना अरु साथीहरुलाई पनि भेटी मापसे गरेका हौँ। पृथ्वीले ३/४ वटा बियर खाएको थियो। त्यहाँ केहीबेर रमाइलो गरेर २/३ बजेतिर साथीहरु ठमेलको एलओडी क्लबमा गयौँ। त्यहाँ अन्य साथीसँग भेट भयो। हामी तीन जना निज पृथ्वी मल्लको कारमा बस्यौँ। केटी साथीहरु परमिता राणा र मनिषा भन्ने थिए।
बुढानीलकण्ठस्थित ग्रिन्डभ्याली रिसोर्टमा जाने क्रममा गोल्फुटारमा रहेको बिगमार्ट खुला रहेको देखेर कार रोकी चिप्स चकलेट लगायतका टन्नै खानेकुरा किनेर ग्रिन्डभ्याली रिसोर्टमा गई खाना अर्डर गरी प्याक गर्न लगाएर ८ बजेतिर प्याकिङ खाना खाँदैथियौँ।

मल्लले चलाएको कार बुढानीलकण्ठ स्कुल आइपुग्दा सडक पेटीमा कार ठोक्कियो। कार सडकको दायाँ भागतिर जाँदा म झस्केँ। कार ठोक्किएको ठाउँमा गएर हेर्दा मोटरसाइकल सडकमा ढलेको र बिजुलीको पोलमा लीला देवकोटा घाइते अबस्थामा देख्यौँ। हामी पुनः कार नजिक आयौँ। केटी साथीहरुलाई घर पठायौँ।
के कारण दुर्घटना भएको हो, मलाई थाहा भएन।

‘किस खान थालेपछि म्यानेजरले गाली गरे’
सुरज चौधरी,गार्ड
म  ग्रिनल्यान्ड रिसोर्टमा सुरक्षा गार्डको काम गर्दैैआएको छु। मंसिर २८ गते  म मेन इन्ट्री प्वाइन्टमा ड्युटीमा भएको बेला साढे आठ बजेको समयमा पृथ्वी मल्ल आफैँले कार चलाई दुई जना केटी र एकजना केटासमेत चार जना आएका थिए। उनीहरुले खाजा अर्डर गरे। उनीहरु अत्यधिक मापसे गरेको जस्तो देखिन्थे।

रिसोर्टमा बस्दा पृथ्वी र उनीसँगै आएको एक जना केटाले लिएर आएका केटीहरुलाई अँगालो मार्ने, किस गर्ने जस्ता क्रियाकलाप गरेको देखेर रिसोर्ट म्यानेजरले यस्तो हर्कत नगर्नुस् भन्दै प्याकिङ गरेको खाजाको रकम लिएर प्याक गर्न लगाए।

उनीहरु रिसोर्टबाट साढे ९ बजे हिँडेका हुन्। पृथ्वी आफैँले कार चलाइरहेका थिए।  कारको पछाडि ती केटीहरु र एक केटा बसेका थिए।

Leave A Comment